Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोना महामारी र जेष्ठ नागरिकका सवाल

कोरोना महामारी र जेष्ठ नागरिकका सवाल


काठमाडौं ।
विश्वव्यापीरूपमै प्रमुख चिन्ता र चासोको विषय बनेको कोरोना महामारीबाट कसरी सुरक्षित रहने भन्नेतर्फ नै यतिबेला सबैको ध्यान गएको छ । सबैभन्दा ठूलो कुरा भनेको आफ्नो स्वास्थ्य नै रहेछ भन्ने बोध पनि भएको छ । झण्डै डेढ वर्षअघिदेखि विश्वको प्रमुख चुनौतीको रूपमा रहँदै आएको कोरोना भाइरस विभिन्न भेरिएन्टमा आउन थालेकाले विकसित खोपको प्रभावकारितामा पनि सन्देह उत्पन्न भएको छ । लामो अनुसन्धानपछि विकास गरिएको खोपले विभिन्न स्वरूपमा आउने कोरोनाको रोकथाम र नियन्त्रण गर्न सकेन भने आम जनतामा थप त्रास उत्पन्न गर्नेछ ।

सबै उमेर समूहका मानिसलाई कोरोना भाइरसले संक्रमण रहने गरेको छ । गत वर्ष बढी मात्रामा ज्येष्ठ नागरिकमा यसको असर बढी देखिए पनि दोस्रो लहरमा बालबालिका र युवामा पनि जोखिम बढी देखिएको छ । यद्यपि जेष्ठ नागरिकमा पहिलेदेखि नै दम, मधुमेह, मिर्गौला, फोक्सो, कलेजोको दीर्घरोग, मुटुको रोगजस्ता स्वास्थ्य समस्या रहने भएका कारण यो भाइरसले गम्भीर बिरामी बनाउने जोखिम उच्च हुन्छ । कतिपय ज्येष्ठ नागरिकहरू जसले क्यान्सरविरुद्धका औषधिहरू सेवन गरिरहेका छन् उनीहरूलाई पनि उच्च जोखिम हुनसक्छ ।

परिवारको दायित्व : कोरोनाले ज्येष्ठ नागरिकहरूमा बहुआयामिक असर पार्छ । ज्येष्ठ नागरिकहरू उमेरसँगै शरीरका विभिन्न प्रणालीमा आउने परिवर्तनका कारण कमजोर हुन्छन् । कोरोना भाइरसको संक्रमण सबै उमेर समूहका व्यक्तिलाई भएको छ, तापनि बढीजसो संक्रमण जेष्ठ नागरिकहरू र प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा देखिएकाले उनीहरू त्रसित हुनु स्वभाविकै हो ।

यस अवस्थामा परिवारका अन्य सदस्यहरू संयमित हुँदै जेष्ठ नागरिकको थप स्याहारसुसार गर्नुपर्ने र उनीहरूको मनोभावनालाई बुझेर सोही अनुकूल व्यवहार गरेको अवस्थामा जोखिम न्यूनीकरण गर्न सकिन्छ । ज्येष्ठ नागरिकहरूलाई कोरानाको संक्रमणबाट बचाउन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन परिवारको दायित्व महत्वपूर्ण हुन्छ ।

उचित खानपान जस्तै पौष्टिक आहारविहार जस्तै ताजा सागसब्जी तथा फलफूल दिने, अन्य रोगबाट पनि ग्रसित हुनुहुन्छ भने त्यसको उपचारमा ध्यान दिनेदेखि घरभित्रै पारिवारि वातावरणमा राख्ने, एक्लोपनको अनुभव हुन नदिने हो भने रोगसँग लड्न सक्ने क्षमता बढ्छ ।

जेष्ठ नागरिक हाम्रा अग्रज हुन्, ज्युँदा इतिहास पनि भन्ने बुझ्न जरुरी छ । उनीहरूसँग विगतका अनुभवहरू छन्, परम्परागत ज्ञान र सीपहरू छन् । अहिले सरकारले बन्दाबन्दी गरी अत्यावश्यक काममा बाहेक बाहिर निस्कन रोकेको छ । परिवारका सदस्यहरू घरमै बसेका छन् । यस्तोबेला उनीहरूसँग भएको ज्ञान, सीप र धारणालाई हस्तान्तरण गर्ने अवसरका रूपमा प्रयोग गर्न सकिन्छ । यसले उनीहरूलाई एकलो महसुस नहुने मात्र होइन, आफूले जानेका कुराहरू आफ्ना सन्तानलाई सुनाउन पाउँदा निकै हर्षित हुने गर्दछन् ।

घरमै पनि कोही मानिसलाई पनि ज्वरो तथा रुघाखोकी लाएको छ भने सकेसम्म ज्येष्ठ नागरिकहरूको नजिक नजाने, स्वस्थ्य मान्छेले पनि ज्येष्ठ नागरिकहरूलाई भेट्नुभन्दा पहिले साबुन पानीले हात धोएर जाने गरियो भने पनि कोभिडको संक्रमणबाट बचाउन सकिन्छ ।

कतिपय जेष्ठ नागरिकहरू नियमितरूपमा औषधि सेवन गर्नुपर्ने, थेरापी गर्नुपर्ने, शारीरिक व्यायामलाई निरन्तरता दिनुपर्ने अवस्थामा रहेको हुँदा उनीहरूको शारीरिक र मानसिक स्वास्थ्यलाई सन्तुलित बनाउन परिवारका अन्य सदस्यहरूले आहारविहार, सरसफाइ र उचित हेरविचारमा ध्यान दिनुपर्ने हुन्छ ।

कोभिड–१९ र त्यसको संक्रमण रोक्न भएको बन्दाबन्दीले शारीरिक मात्र नभई मानिसक स्वास्थ्यमा पनि गम्भीर असर पर्नेगर्छ । ज्येष्ठ नागरिकहरू लामो समयसम्म घरभित्र बसिरहँदा उनीहरूको सामाजिक अन्तरक्रिया कम हुने, एक्लै घरमा बस्नुपर्दा मनमा अनेक कुराहरू खेल्ने, रोगको भयले आत्तिने वा चिन्तामा डुब्ने, उदासी (डिप्रेसन) लगायत मानसिक समस्या देखिएका छन् ।

ज्येष्ठ नागरिकमा मानसिक समस्या बढ्नुको कारण सञ्चार माध्यमहरूमा आउने कोरोनासँग सम्बन्धित मृत्यु र मृत्युदरको समाचार पनि भएकाले उनीहरूलाई त्यस्ता विषयबाट टाढा राखी भजनकीर्तन वा धार्मिक कार्यक्रम, मनोरञ्जनका कार्यक्रमहरूतर्फ लगाउन सकिन्छ ।

सामान्यतया जेष्ठ नागरिकमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता कम रहेको हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अहिलेको परिस्थितिमा जेष्ठ नागरिक र अन्य रोग लागेका बिरामीहरूको विशेष सुरक्षा गर्न आग्रह गरेको छ । गत वर्षको तथ्यांक हेर्दा ८० वर्षमाथिका ज्येष्ठ नागरिकहरूमा झण्डै १५ प्रतिशत मृत्युदर भेटिएको छ ।

त्यसैगरी ७० देखि ८० वर्ष उमेर समूहमा आठ प्रतिशतमा मृत्यु देखिएको छ । समग्र जनसंख्यामा भने लगभग चार प्रतिशत मृत्युदर छ । त्यसैले ज्येष्ठ नागरिकलाई यस रोगको संक्रमणबाट जोगाउन बाहिरी व्यक्तिको सम्पर्कमा परिवारका सदस्यहरूले बाहिर ननिस्कन र प्रत्यक्ष भेटघाटबाट टाढै रहन, मास्क र स्यानिटाइजर तथा साबुन पानीले हातमुख धोएर मात्रै नजिक जाने गर्नुपर्छ । उनीहरूलाई व्यस्त बनाउनका लागि रुचीअनुसारका पुस्तक पढ्न दिने, घरभित्रैका गर्न सक्ने काममा सहभागी गराउने, भजनकीर्तन गाउन र बाध्यबादन बजाउन लगाउने साथै घरभित्रका धार्मिक संस्कारमा आबद्ध गराउन सकिएमा धेरै हदसम्म बचाउन सकिन्छ ।

नेपालको कानुनले ६० वर्षभन्दा माथिका व्यक्तिलाई जेष्ठ नागरिक मानेको छ । नेपालमा लगभग नौ प्रतिशत जति ६० वर्षभन्दा माथिका अर्थात् ज्येष्ठ नागरिक रहेका छन् । नेपालको लगभग पौने ३ करोडको जनसंख्यामा २७ देखि ३० लाख नेपालमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरू हुनुहुन्छ । ज्येष्ठ नागरिकको संख्यामध्ये १७ प्रतिशतजतिको जीवन जटिल तथा संवेदनशील रहेको छ ।

अहिलेको कोरोना संक्रमणको जटिल अवस्थामा ज्येष्ठ नागरिकमा जोखिम बढी हुनुमा व्यक्तिको प्रतिरोधात्मक शक्तिको साथै अन्य सामाजिक, सांस्कृतिक पक्ष पनि उत्तिकै महत्वपूर्ण हुनेगर्दछ । पश्चिमा देशका ज्येष्ठ नागरिकहरूको तुलनामा हाम्रो देशका ज्येष्ठ नागरिकमा जोखिमको मात्रा बढी हुनसक्छ । ती देशहरूमा आफ्ना दैनिक आवश्यकता परिपूर्ति गर्न आफैँ लाग्नुपर्ने एकप्रकारको बाध्यतात्मक अवस्था हुन्छ ।

तर हाम्रोमा सामाजिक संस्कार एवं धार्मिक अवसरमा सहभागी हुने, छोराछोरीमा आश्रित रहने परिपाटी रहेको छ । पूजा, भजनकिर्तन, जात्रा, पर्व, विवाह समारोह जहाँ ज्येष्ठ नागरिकहरू जानुपर्ने अवस्था रहन्छ । यदि त्यो भीडभाडमा कोही कोरोना संक्रमित छ भने ज्येष्ठ नागरिकहरूलाई पनि फैलिन सक्ने एकदम बढी हुन्छ ।

राज्यको भूमिका : कोरोना संक्रमणबाट ज्येष्ठ नागरिकलाई सुरक्षित राख्न परिवारको साथै राज्यको पनि उत्तिकै भूमिका रहन्छ । सरकारले कोरोना भाइरस संक्रमणको कारण संकटमा ज्येष्ठ नागरिकलाई सहयोग र सहायता प्रदान गर्न सरोकारवालाका लागि तयार गरिएको मार्गदर्शन, २०७७ ल्याएको छ ।

कोरोना भाइरसको महामारीको विरुद्धमा लड्न, संक्रमणबाट जोगिन र जोगाउन ज्येष्ठ नागरिकलगायत सबै सरोकारवालाहरूको लागि तयार गरिएको मार्गदर्शनको कार्यान्वयन हुन आवश्यक छ ।

बन्दाबन्दीको समयमा ज्येष्ठ नागरिकले नियमितरूपमा सेवन गरिरहेका आवश्यक आवश्यक औषधिहरू सेवन गर्नबाट वञ्चित हुने अवस्था, सवारी साधनहरूको अभावमा नियमितरूपमा अस्पतालहरूमा जँचाइरहनु पर्ने ज्येष्ठ नागरिकहरूलाई अस्पतालमा जाने समस्या, दानदातव्यबाट सञ्चालित वृद्धाश्रमहरूमा सहयोग प्राप्त नहुँदा आउने कठिनाइ, स्वास्थ्य सुरक्षाका लागि आवश्यक सर्जिकल मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायतका सामग्री अभाव हुन नदिन स्थानीय सरकारदेखि राज्यका निकायहरूले पनि उपयुक्त व्यवस्था मिलाउनुपर्ने हुन्छ ।

पहिले–पहिले वृद्ध बा–आमा, हजुरबा, हजुरआमालाई माया, मानसम्मानका साथ आफ्नै घरमा पालनपोषण तथा हेरचाह गरिन्थ्यो तर आधुनिक जीवनशैलीले एकल परिवारको चाहना, स्वार्थीपना, रोजगारको व्यस्तता, विदेशी संस्कारको प्रभाव बसाइँसराइ, कमजोर आर्थिक अवस्था, जनचेतनाको कमी, फिक्का नैतिक शिक्षा, राज्यको कमजोर कानुनी प्रक्रिया आदिले ज्येष्ठ नागरिक एक्लिँदै गएका छन् । त्यसैले परिवार, समाज तथा राष्ट्रले ज्येष्ठ नागरिकका पक्षमा ठोस पहलको खाँचो रहेको छ ।

नेपालको संविधान २०७२ को धारा ४१ मा ‘ज्येष्ठ नागरिकलाई राज्यले विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ । जेष्ठ नागरिकसम्बन्धी बनेका अन्य कानुनहरू मजबुद भए पनि कार्यान्वयन तह फितलो हुँदा उनीहरू राज्यले प्रदान गरेका सेवासुविधाबाट वञ्चित भएका छन् । यातायात, औषधि उपचारमा राज्यले ५० प्रतिशत छुटको व्यवस्था गरे पनि कार्यान्वयनमा आउन सकेको छैन ।

नीति निर्माण तहमा पुग्ने कर्मचारीदेखि राजनीतिज्ञहरू सबै भोलि आफू ज्येष्ठ नागरिकको वर्गमा जानुपर्ने हुँदा अहिले नै उनीहरूको बारेमा गरिने नीतिगत व्यवस्थाको उपयोग भविष्यमा आफैँले गर्ने भएकाले कुनै कन्जुस्याइँ गर्नु आफैँलाई ठग्नु हो भन्ने कुरा बिर्सन हुँदैन ।

सरकारले छिटै नीत कार्यक्रम तथा बजेट ल्याउँदै छ । यसमा ज्येष्ठ नागरिकका विषयमा उठाइँदै आएका सवालहरूको सम्बोधन तथा कोरोनाबाट प्रभावित ज्येष्ठ नागरिकको निःशुल्क उपचारका लागि ठोस कार्यक्रम ल्याइनु पर्दछ । निरक्षरताका कारण विभिन्न अवसरबाट वञ्चित ज्येष्ठ नागरिकहरूका लागि आधारभूत शैक्षिक कार्यक्रमको सञ्चालन गर्नुपर्ने देखिन्छ । ज्येष्ठ नागरिक परिवार, समाज र राष्ट्रका लागि बोझ होइनन्, ज्ञान, सीप र अनुभवका सम्पदा हुन् भन्ने मान्यतालाई स्थापित गराउने सोच बन्नु आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया