Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोरोनाको अचुक औषधि ‘निषेधाज्ञा’ नै हो त ?

कोरोनाको अचुक औषधि ‘निषेधाज्ञा’ नै हो त ?


काठमाडौं ।
सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट फैलिन सुरु भएको ‘नोभेल कोरोनाभाइरस’ (कोभिड–१९) नेपालमा पनि दोस्रो लहर चलिरहेको छ । यसै क्रममा नेपालको केही जिल्लाबाट सुरु भएको निषेधाज्ञा हाल आंशिक र पूर्ण गरी लगभग ७३ वटा जिल्लामा लागू भएको अवस्था छ । हुन त हामी नेपालीहरूको बानी कस्तो छ भने, वास्तवमा हामी आफू केही नजान्ने भए पनि हामी आफूले नजानेको कुरोलाई जानेको छैन भन्न जान्दैनौँ, नबुझेको कुरोलाई बुझेको छैन भन्न जान्दैनौँ/मान्दैनौँ । हामी नेपालीहरूको गुण भनेकै अरुका अगाडि आफू जसरी पनि जान्नेसुन्ने हुनैपर्छ ।

गत वर्ष पनि कोरोनाको व्यापक फैलावटका कारण पटक–पटक नेपालका विभिन्न जिल्लामा निषेधाज्ञा लागू भएको थियो । त्यसअघि नेपाल सरकारले विसं २०७६ चैत ११ गते देखि विसं २०७७, जेठ ३२ सम्म एक्कासि ‘लकडाउन’ लागू गरेको थियो ।

त्यो बेला सरकारले आफ्नो देशका जनताका लागि अत्यावश्यक चिजबिजहरू जस्तैः खान्तेपिन्ते, अन्य सेवासुविधा, औषधोपचार, सार्वजनिक यातायात नचलेको अवस्था, राहत प्याकेज व्यवस्थापनविनाको लकडाउन, कोही पनि व्यक्ति काम गर्न जान सक्ने अवस्था नभएको लगायतको अवस्थामा त्यो लकडाउनका करण धेरै सर्वसाधारण नेपालीहरूले आफ्नो जीवन धान्न आच्छु–आच्छु भएको थियो ।

केही निमुखा, गरिब दुःखीको त लकडाउनका कारण काम नपाएर र काम नपाएपछि खान नपाएर मृत्यु समेत भएको थियो । उदाहरणका लागि कीर्तिपुरको बाघभैरव स्कुलको पेटीमा मरेका धादिङका सूर्यबहादुर तामाङलाई लिन सकिन्छ । जो भरियाको काम गरे जीविका चलाउँथे ।

यस पटक पनि सरकारले त्यसरी नै आफ्नो देशका जनताका लागि अत्यावश्यक वस्तुहरूको व्यवस्थापनविनाको निषेधाज्ञा लागू गरेको छ । यस्तो अवस्थामा विनाराहत प्याकेज र सहुलियतले गर्दा कोही पनि व्यक्ति काम गर्न जान सक्ने अवस्था नभएकोले लगर्दा यो विस्तारै निषेधाज्ञाका कारण धेरै सर्वसाधारण नेपालीहरूले आफ्नो जीवन धान्न गाह्रो हुँदै जाने पक्का छ । कति निमुखा, गरिब, दुःखीको त निषेधाज्ञाका कारण हुनेछ । जुन कुन दिनदेखि समाचारमा आउन थाल्ने हो ? अहिले नै किटेर भन्न सकिने अवस्था छैन ।

गत वर्ष सरकारले कोरोना महामारीको असरको लेखाजोखा गरेर र अवस्था हेरेर लकडाउन र निषेधाज्ञा लागू गर्दै हटाउँदै गरेको थियो । तर, यस पटकको निषेधाज्ञा वा लकडाउन हत्तपत्त खोलिहाल्न पनि नमिल्ने भन्ने विषय विज्ञहरूको भनाइ रहेको छ । त्यसलै सरकारले हचुवाको भरमा खोल्यो अथवा भनौँ हटायो भने हालका भन्दा तीन/चार गुणा बढीले मानवी हताहती हुने पक्का छ । गत वर्ष पनि तर, लकडाउन खुलेपछि नेपालमा कोरोनाको फैलावटले अरु बढी तीव्रता पायो । फलतः पछि फेरि देशका लगभग ५६ प्रतिशत जिल्ला र ती जिल्लाका स्थानीय निकायहरूले निषेधाज्ञा लागू गरेका थिए ।

यस पटक सरकारले जारी गरेको पछिल्लो एकहप्ते निषेधाज्ञा थपेर दुई हप्ता लागू ग-यो । यो समय पनि गुज्रन आँट्दा अब एकैचोटी अर्को दुई हप्ता थप्ने भनी गृहकार्य हुँदै गरेको भन्ने समाचारहरू बाहिर आएको छ । यस खाले निषेधाज्ञाले मात्रै त मान्छेहरूमा कोरोना महामारीको दोस्रो लहरका कारण बिरामी भएरभन्दा पनि खान नपाएर मरिएला कि भन्ने पीर सुरु भएको छ ।

हुन पनि आधारभूत तहबाट हेर्दा गत वर्ष पनि सबैभन्दा तल्लोस्तरमा जीवन निर्वाह गरिरहेका अति गरिब, दुःखी र निमुखा जनताहरूलाई कोरोना भाइरसबाट भन्दा पनि खान नपाएर भोकले मर्ने चिन्ता बढी रहेको थियो भने यो वर्षको निषेधाज्ञाले पनि आखिरमा तल्लोस्तरमा जीवन निर्वाह गरिरहेका अति गरिब, दुःखी र निमुखा जनताहरूलाई अहिले फैलिरहेको कोरोना भाइरसको दोस्रो लहरको महामारीले पार्ने/गर्ने असरबाट भन्दा पनि खान नपाएर भोकैले धेरै मर्ने सम्भावना पो छ कि ?

यो वर्ष सबैभन्दा ठूलो भुल भनेको राजनीतिक दलहरूले गरे । त्यसमा पनि सरकारपक्षले स्वयम् पनि यो पटक पार्टीको आन्तरिक द्वन्द्वलाई सही किसिमले निप्टारा लाउनुको सट्टा शक्ति देखाउने नाममा भीड जम्मा पारेर ठाउँ–ठाउँमा आमसभा र कार्यक्रमहरू ग-यो ।

सरकारको विपक्षमा भएकाहरूको त झनै के कुरो भयो र ? उनीहरूले झनै धेरै र ठूलो भीड जम्मा पारेर देशैभरिका ठूला सहरबजारमा जुलुस, आमसभा तथा विरोध सभाहरू ग-यो । अर्को भनेको जब भारतमा कोरोनाभाइरसको दोस्रो लहर चल्न सुरु भएपछि भारतको विभिन्न राज्यमा रोजगारीमा गएका नेपालीहरू फर्कन थाले, उनीहरूलाई निश्चित अवधिसम्म व्यवस्थित ढंगले सीमा क्षेत्रमै होल्डमा राख्ने काम गर्नुपर्ने थियो ।

साथै काठमाडौं उपत्यकामा कोभिड–१९ को दोस्रो लहर अलिक बढी नै चलिरहेको अवस्थामा र सरकारले निषेधाज्ञा लागू गर्ने लगभग पक्का भएपछि काठमाडौँ उपत्यका छाडेर आ–आफ्नो जिल्ला गएका लगभग छ लाख मानिसहरूमध्ये कतिले कोभिड–१९ को दोस्रो लहर पनि आफूसँगै लगेर गए ? कसैले, कुनै निकायले यो सम्बन्धमा अध्ययन, अनुसन्धान गर्ने कुरो त परै जाओस्, रेकर्डसम्म राखेको छैन ।

अझ स्पष्टसँग भन्नुपर्दा जसरी गत वर्ष सरकारले अत्यावश्यक चिजबिचको व्यवस्थापन नगरिकनै लकडाउन गर्दा नेपालका साँच्चैका गरिब अर्थात् दिनदिनै काम नगरिकन बिहान–बेलुका खान नपाउने सर्वसाधारण मानिसहरूले मात्रै नभएर निम्नमध्य वर्ग र मध्यम वर्गले समेत लकडाउनको व्यापक विरोध गरेका थिए, यस पटक पनि कहिलेदेखि सरकारले खालि लकडाउन र निषेधाज्ञा मात्रै गर्ने तर आफ्ना जनताहरूलाई अत्यावश्यक वस्तुहरूको व्यवस्थापनचाहिँ सर्वसुलभ ढंगले नगर्ने हो भने कुन दिनदेखि लकडाउन र निषेधाज्ञाको विरोधमा स्वरहरू सुनिन थाल्ने हो ? अहिले नै केही भन्न सकिन्न ।

हुन पनि भाइरल रोग विज्ञहरूले कोरोना संक्रमणको बारेमा धेरै कुरो बताइसकेका छन् । फेरि कोरोना भाइरस कति व्यापक र खतरनाक छ भन्नेबारेमा मान्छेहरूले आफैंले बुझेर अनिवार्य मास्क लगाउने, निश्चित दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने/भीडभाडमा नजाने हो भने र, हामी नेपालीहरूले अनुशासन पालना गर्ने र नैतिकता लागू गर्ने हो भने वास्तवमा निषेधाज्ञा लगाइरहनै पर्दैन थियो । तर हामी नेपालीहरूको गुण भनेकै अरुका अगाडि आफू जसरी पनि जान्नेसुन्ने हुनैपर्छ ।

खासमा कोरोना महामारी सुरु हुँदा केही विषयविज्ञहरूले कोरोना महामारीले सन् २०२२ देखि २०२५ सम्म पनि आफ्नो प्रभाव कायम राख्न सक्छ भनेका थिए । केही विषयविज्ञहरूले यो महामारी एचआईभी एड्सजस्तै दीर्घकालसम्म रहनसक्छ भनेका थिए । त्यसै समयमा संयुक्त राष्ट्र संघअन्तर्गत रहेको ‘विश्व स्वास्थ्य संगठनका प्रमुखले पनि कोरोना ठीक हुन अझै दुई वर्ष लाग्ने भनेका थिए ।

तर, अहिले आएर त प्रायः सबै विज्ञहरूले खासगरी भाइरल रोग र जनस्वस्थ्य बिज्ञरूले अब यो महामारी हामीसँगै, सधैँ रहनसक्ने भन्न थालेका छन् ।त्यसैले कोरोना संक्रमणको अचुक उपचार निषेधाज्ञा मात्रै होइन रहेछ ! भन्ने बुझेर नै होला, हाल कतिपय देशहरूले आफ्नो देशमा लागू गरेको ‘निषेधाज्ञा’ हटाएर कोरोना भाइरसको संक्रमणबाट बच्न अनिवार्य मास्क लगाउने, निश्चित दूरी कायम गर्ने, अनावश्यक भीडभाड नगर्ने, भीडभाडमा नजाने आदि नियम लागू गरेका छन् । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया