Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमहामारी र रोजगारी

महामारी र रोजगारी


काठमाडौं ।
देशमा महामारी बढेको छ । कामको खोजीमा झण्डै ७० लाख नेपाली विदेशमा छन्, विगत एक वर्षमा विश्वभरि फैलिएको कोरोनाका कारण साँढे चार लाख नेपाली स्वदेश फर्किसकेका छन् तर सरकार यिनको व्यवस्थापनामा मौन छ । बच्चा पाउनुभन्दा पहिले भोटो सिउने हतारोझैं सरकारले वृद्धभत्ता र श्रमिकको दैनिक ज्याला आउने श्रावणदेखि नै बढाउने घोषणा गरिसकेको छ ।

देशैभरि आफ्नालाई राजनीतिको लिस्नो चढाउन हतारिएको सरकार कोरोना युद्धमा नहोमिइकनै आफूले हात उठाइसकेको छ । एक/डेढ वर्षसम्मको कोरोनाको मिसकललाई सम्बोधन नगरेको सरकारले आफैँ भीड जम्मा गरेर सडक ततायो ।

एक दुई महिनाको पनि प्रेडिक्सन गर्न नसकेको सरकार यति बेला देशलाई आम निर्वाचनमा होम्दै हुन्थ्यो, यदि अदालतले नरोकेको भए ६० वर्षको इतिहासमा पहिलोपल्ट राष्ट्रिय जन गणनालाई स्थगित गर्न पुगेको सरकारसामु आर्यघाटमा लास जलाउने स्थान नहुँदा कत्ति पनि होसमा छैन ।

जब भारतमा कोरोनाले उग्ररूप लिँदै थियो यहाँका राजनीतिकर्मीहरू तडकभडकको भीड जम्मा गर्दै उग्राइरहेका थिए । नेपाली भूमि भई भारतीयहरूले विदेश शयर गर्दा आफू मौन बसेको सरकार दक्षिण एसियाकै उत्कृष्ट भई ९४ प्रतिशत जनतालाई भूटानले कोरोना खोप दिइसक्दा पहिलो डोजको खोप पूरा पनि गर्न सकेन यहाँ ।

गत वर्ष क्वारेन्टिनमै मान्छे बलात्कृत हुँदा, आइलोशेन बेड र सर सामग्रीमा धाँधली हुँदा मौन बस्ने सरकारले आफूले उठाएको करले जनतालाई कुनै राहतको प्याकेज दिन नसक्ने, घरभित्रै तड्पिएर बस भनिरहँदा कर उठाउने नैतिकता पनि गुमाइसकेको छ । जनता अभिभावकविहीन बनिरहँदा प्रदेश सरकार र स्थानीय सरकार मौन छन्, आफ्नो भूमिकामा संलग्न हुनुको सट्टा देशैभरि राजीनामा र पुनर्नियुक्ति प्रकरणहरू देखापरेका छन् ।

महँगी र कालोबजारीयाले सर्पलेझैं फणा उठाइरहँदा सरकार बेमौसमको चुनाव र बेमौसमकै विश्वासको मत लिन तम्सिरहेको छ । आफ्नो दलका कारण सरकार पिरोल्लिएको हो, तर ऊ भने जनताको बलको आत्मश्लाघामा रमाएको छ र भन्छ देशैभरि अस्पताल बनाउँछु भनेर ! हुने बिरुवाको चिल्लो पात, बिहानीको सूर्यले दिनभरिको संकेत भनेझैं हालको सरकारले अभिभावकत्व लेला भन्ने छाँट पटक्कै देखिएन ।

जनताको रक्षा गर्न नसक्ने सरकारलाई कर उठाउने बाटो हुन्न, उठाएको कर केवल सवारी साधनमा, इन्धनमा, मर्मत खर्चमा, भोज भतेर र राजनीतिक आसेपासेहरूका लागि बनाइने भवनहरूमा खर्र्चिँदा ढुकुटी रित्तो हुन्छ नै । अस्थायी अस्पतालहरू बनाउने धेरै ठाउँहरू छन् । सरकारी आवासक्षेत्र, प्रहरी, सेनाका क्षेत्रहरू, निजी अस्पताल, सार्वजनिक विद्यालयहरू, मेडिकल कलेजहरू, कैयन प्रशिक्षण केन्द्रहरू, पार्टी प्यालेस, सिनेमा घरहर कति छन् कति अस्पताल बनाउन सकिने स्थानहरू ।

सरकार कुर्सीमा छ जनता कोठामा थुनिएर निसास्सिएका छन् । पानी पर्ने मौसम छ, किसानका बारीमा मकै, भटमास, खेतमा आलु, गहुँ, मल, बीउबिजनको बेला छ । गोठहरूमा गाई भैँसीको चटारो, दुधको व्यवस्थापन, घाँस, चरन, कुखुरा, अन्य पशुपालन, तिनको संरक्षण, आफू र तिनका खानाको व्यवस्थापन, मलको व्यवस्था, धानको बीउ छर्ने काम सबै असरल्ल छ, किसानको जीवन, लाला बाला भोकै छन्, दिनभरि काम गरेर बिहान–बेलुकी हात मुख जोर्नुपर्ने अवस्थामा घर, कोठाभित्र थुनिएर कति दिन रहने ? सधैँ अर्कोले दिएको अनाजले कतिजनालाई पाल्ने, मनोवैज्ञानिक त्रासले गाउँ, घर, समाज पूरै त्रसित बनेको छ ।

लगानीकर्ताको लगानी, बैंकको ब्याज, कामदारको रकम भुक्तानी यावत समस्याहरू थपिएका छन् । उद्योगक्षेत्रहरू धराशायी छन् । कुटिर, घरेलु, साना, मझौला उद्योग अन्य सेवा उद्योगहरू सञ्चालन भइरहनुपर्नेमा देश बन्दाबन्दीमा भइरहँदा बेरोजगारीको सामना देशले कसरी गर्ने हो । खाने पानी, बिस्कुट, चाउचाउ, दुग्ध पदार्थ, केही औषधि उद्योग चलाएर देश औद्यौगिकीकरण हुँदैन, न बजारको बेरोजगारी नै धानिन्छ ।

सहरमा कोठाभाडा, स्कुल फि, औषधि, दैनिक जीवन असरल्ल परेको अवस्थाले साँच्चै देश डुब्नलागेको अवस्थामा छ । असहाय, बिरामी, वृद्धहरूको अवस्था नाजुक छ । सरकार भने आफ्ना साथीहरूसँगको इगो साध्न तम्सिएको छ र जनताले त्यसको मूल्य तिरिदिनुपर्ने अवस्था छ ।

सरकार अध्यादेश काण्डमा मुिछएको छ, प्रतिनिधिसभाको गला रेटिएको छ । चाहिँदा खुलेजस्तो हुन्छ, तुरुन्तै बन्द भइहाल्छ । पञ्चायतका पालामा महिनौँ बहस हुन्थ्यो, अहिले सभामुखले अधिवेशनको बैठक डाकिरहेका हुन्छन् त्यो बैठक बस्नुअघि नै प्रतिनिधिसभा बन्द भइसक्छ । बिग्रिएका अक्सिजन प्लान्ट राखिन्छ अस्पतालहरूमा, कोरोना खोप लगाउँदा ठूलै जात्राको तमासे भए खोप लाउनेहरू, कुनै भौतिक दूरी थिएन व्यवस्थापकीय कौशलताको अभाव र चरम लापरबाहीले कोरोनाको फणा उठेको हो । न मास्क गुणस्तर, ठीकरूपमा यसको प्रयोग, न गुणस्तरीय स्यानिटाइजर, न भौतिक दूरी, कर कलेक्सन गर्ने अड्डाहरू त्यस्तै रहे ।

रात्रिका कामहरू सबै खुले, बसको ताँती, यात्रुहरूको खचाखच, सरकारी गाडी प्रयोग गरी नेपालीहरूलाई आफ्नो बस्तीमा जानू भन्न सकेन सरकारले । दुःखको पीडा नबुझ्ने सरकारले कसरी आफ्ना मतदाता भन्दै भोलि भोट माग्न घर–घर जाने, कि आफ्ना कार्यकर्ताले मात्र चुनावको बाकस भर्ने ।

संस्थागत जिम्मेवारीको सर्वथा अभाव भयो । बिरामी कोरोनाका मात्रै छैनन्, अरु बिरामीलाई नुनचुक कसरी लाउने, औषधि महँगो भयो, किन्ने सामर्थ्य छैन, डल्लो परेर सहेर बाँच्ने कसरी, मनोवैज्ञानिक त्रासले मान्छे आत्महत्या गर्न विवश छ ।

मानव सभ्यतालाई नै चुनौती दिँदै विज्ञानमाथि विजय गर्दै, मानव विकासलाई ठाडै उपहास गर्दै संसारमा फैलिएको कोरोना साम्य हुने छाँट छैन, दोस्रोपछि तेस्रो र त्यसपछि अर्को रूप लिएर नआउला भन्ने अवस्था छैन । सरकारको कुनै पूर्वतयारी देखिएन । संसारभरि रोजगारी गुमेको छ ।

यस्तै अवस्था केही समय जारी भए देश कंगो, सोमालिया, इथियोपिया नहोला भन्न सकिन्न, सरकारको राजनीति भक्ति, जनताप्रतिको निर्दयताले सीमा नाघेको छ । अर्थतन्त्रलाई टेवा पु-याएको पर्वतारोहण, ट्रेकिङ व्यवसाय, होटेल लथालिङ्ग भइसकेको छ भने विप्रेषणमा तत्काल असर नपरे पनि निकट भविष्यमै यसले उग्ररूप लिने पक्का छ ।

भारतमा यत्रो महामारी हुँदा यहाँ कोरोना संक्रमण परीक्षण नगरी आवागमन गराइयो, सीमा नाका बन्द गरिएन, यसो भनिरहँदा सरकार आफैँले कोरोना फैलाएको भन्नुपर्ने हुन्छ ।

आईएलओको भनाइमा नेपालमा हरेक पाँच जनामा दुई जनाले रोजगारी गुमाएका छन् । कोरोनाकै कारण संसारमा करोडौँ मानिसले रोजगारी गुमाएको तथ्याङ्क आईएलओले प्रेषित गरेको छ ।

गत वर्षको प्रक्षेपण गर्दा सन् २०२० मा संसारमा दुई करोड ५० लाख मानिसले रोजगारी गुमाउने आकलन गरिएको र नेपालमै १० लाखले रोजगारी गुमाउनुपर्ने भनिएको थियो । रोजगारी गुम्नेमा धेरैजसो होटल, पर्यटन क्षेत्रकै देखिएका छन् । पछिल्ला दिनहरूमा सबैको आँखा पर्यटनमा लाग्यो तर कोरोनाको आँखा धेरै यसैमा लागेको छ ।

अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघले सन् २०२१ मा एक करोड ३० लाखले रोजगारी गुमाउने भनेको छ । साँच्चै एक वर्षको अवधिमा नेपाली श्रमिकहरू संसारका ६० देशहरूबाट चार लाख ५३ हजार आठ सय ४७ जना स्वदेश फर्किएको एक तथ्याङ्क सार्वजनिक भइसकेको छ ।

धेरै मजदुर संयुक्त अरब इमिरेट्सबाट एक लाख ४० हजार, कतारबाट एक लाख पाँच हजार । त्यस्तै मलेसिया, साउदी अरब, कुबेत, भारत, टर्की, जापानबाट पनि नेपालीहरू फर्किएको अवस्था छ । सिँगापुर, ओमान, दक्षिाण कोरिया, चीन, हङकङ, मकाउ, बंगलादेश, बहराइन, अष्ट्रेलिया, माल्दिभ्स आदिबाट धमाधम नेपालीहरू स्वदेश फर्कँदै छन् । नेपालीहरू सबै स्वदेशमा फर्किने हो भने देश थप संकटमा फस्नेछ ।

राजनीतिक अदूरदर्शिता, ०५२ पछि भएको सशस्त्र युद्धले विदेशिन बाध्य भएका नेपालीहरू कोरोनाका कारण स्वदेशको मायातिर लाग्न बाध्य भएका छन्, तर तिनको उचित व्यवस्थापनका खातिर, नेपालीहरूको पूर्ण राजगारीका खातिर, नेपालीहरलाई परेको समस्याका खातिर देशमा बहस हुँदैन, दलहरू यसमा ध्यान दिँदैनन्, केवल सरकामा जाने र रमाउने मात्र चिन्ता छ ।

देशमा विगत लामो समयदेखि भएको खर्चिलो व्यवस्था र नागरिकहरूकोे भने पुरानै अवस्थाले वाक्क भइसकेका छन् । चुस्त, कम खर्चिलो, सानो आकारको सरकार र सानै आकारको संसद, स्वतन्त्र नागरिकहरूको समूहले देश सञ्चालन गर्दै कोरोना जस्तो महामारीमा जुध्नुपर्ने बेला आएको छ । जनता नै नभए अन्य संस्थाहरूको औचित्य नै के हुन्छ र ।

बजार नियन्त्रणमा सरकार असफल छ । दिन दिनै भाउ बढेको छ । जनतामा क्रयशक्तित छैन, साना बचतकर्ताहरूको बैंक ब्याज घटाइएको छ, बैंकहरूले लगानी गर्न सकिरहेका छैनन्, देशमा विज्ञता, क्षमता र योग्यताको शासन कहिले आउने हो । आफू र आफन्त ठीक भएपछि सबै ठीक हुने देख्नु र सरकारी संयन्त्रहरू समन्वयमा पूरै कमजोरी हुनु नेतुत्वको असफलता हो । कोरोना नियन्त्रणमा वर्षभरि के–के सावधानी अपनाइयो, जनतालाई कति आश्वस्त पारियो, राजनीतिक भीडभाड किन रोकिएन, मेलम्ची र धरहरा उद्घाटनमा किन हतारिएको, अस्पताल र देशैभरिको सडक उद्घाटनमा देशको विकास हुने हो र ? आम नागरिकहरू चरम निराशामा छन् ।

देशमा पहिलो पल्ट बहुमतको कम्युनिस्ट सरकारको यो हविगत देख्दा जो कोहीलाई अचम्मित बनाएको छ । लिडरसिपमा हुनुपर्ने गुण देखिएन । बालुवाटारबाट शीतल निवास पुग्दैमा कोठैबाट एकै पटक सबैको होलसेलमा परियोजनाहरूको उद्घाटन हुँदैमा देशको विकास हुने भए चुट्कीकै भरमा देशमा कायापलट भइहाल्थ्यो । उद्योगहरू ठप्प छन् दशकौँ अघिदेखिका औद्योगिक क्षेत्रहरूमा झिँगा भन्किएको छ, न कच्चा पदार्थ छ, न उत्पादन, न रोजगारी, न बजार ।

दैनिक आश्यकताका वस्तुहरू विदेशबाट आयात गरी त्यसकै भन्सार राजस्वमा रुमल्लिएको सरकारले न निकास दिन सकेको छ न विकास । सालबसालीका केही योजना परियोजनाको समय पुग्दैमा, केही सडक चिल्लो देख्दैमा विकास हुने होइन।

प्रशासनको विकास र विकासको प्रशासन, क्षमताको प्रशासन सञ्चालन भएको भए कोरोनाले मिसकल गर्दैमा देश कोमामा सुत्नुपर्ने थिएन । फ्रन्ट लाइनमा संलग्न स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल उँचो राख्न के–के योजना ल्याइयो, जनतालाई घरभित्र थुन्दा राहतका के–के प्याकेज ल्याइयो, सार्वजनिक परिबहनहरूका टायरहरू महिनौँ जाम भएर कुहिँदा के–के सम्बोधन भए, रोजगारी गुमाएर हात, मुख जोर्न नसक्नेलाई के राहत दिइयो, व्यवसायमा कहाँ कति कर छुट दिइयो, बन्दाबन्दीमा पनि इन्धनको भाउ बढाउनेलाई उल्टै पुरस्कृत किन गरियो ? रोग र भोकबाट त्राण दिन नसक्ने सरकारबाट नागरिकले के अपेक्षा गर्ने ? यस्तो विषम परिवेशमा पनि सांसद लुकाउने, आईसीयूमा देखाउने आफ्नालाई मरिहत्ते गरेर सत्तामा पु-याउने, टिकाउने खेल भइरहँदा आज सबैतिर चरम निराशाको बादल मडारिएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया