सुखमा सहर, दुःख पर्दा गाउँ
काठमाडौं ।
गाउँदेखि सहरमा सपना खोज्न आएकाहरूलाई फेरि दोस्रो पटक कोरोनाले नराम्ररी झापट हानेको छ । गाउँमा केही छैन भनेर सहर पसेकाहरू फेरि आफ्ना पुटुरापुन्तुर बोकेर रातारात गाउँ फर्किएका छन् । जो जहाँ छन् ती त्यहीँ नै बस्नु भन्ने सरकारको उर्दीलार्ई फेरि एक पटक जनताले उलंघन गरिदिएका छन् ।
सरकारलार्ई कुनै चासो हुन्न कि मानिसहरू सहर बसून् या गाउँ पसून् । तर सहरमा सपनाको महल उभ्याउन आएकाहरूले जब कोरोनालाई कोसेलीका रूपमा गाउँ लिएर जान्छन् समस्या त्यहाँनिर उत्पत्ति हुन्छ । अहिले त्यस्तै भइरहेको छ । सुख पर्दा सहर दुःख पर्दा गाउँ ।
कोरोना सहरी रोग हो जहाँ मानिसहरूको भीडले प्रकृतिको पवित्रतालाई नै अपवित्र बनाइरहेको हुन्छ । मानव सभ्यताको अहिलेको कुरूप रूप नै सहर हो । सहरमा लाज, घिन, मानवता, धर्म, सद्भावना, अनुशासन सबै मर्न थालेका छन् । बेस्यावृत्ति समेत सहरमा मौलाइरहेको हुन्छ । फेरि यहीँ आतङ्क पोखरीमा जिन्दगीको न्यानो खोज्न गाउँदेखि सहर धाउनेको लर्को व्यापक बन्दै गएको छ । सहरमा व्यापार छ ।
अहिलेको २१औं शताब्दीको मनुष्य व्यापार चाहन्छ चाहे त्यो मान्छेसँग मान्छे साट्ने व्यापार नै किन नहोस् । जब सहर आफैँ बिरामी हुन्छ अनि सहर आएकहरू फेरि जिन्दगी लम्ब्याउन गाउँ नै जान्छन् । उनीहरू त्यतिबेलासम्म गाउँ नै बस्छन् जबसम्म सहरलार्ई लागेको रोग निको हुँदैन । हामीले विगतलाई हे¥यौँ भने काठमाडौँबाट करिब छ लाखजति मानिस गाउँ पसे । आफ्नै थाकथलोमा र अहिले कोरोनाको दोस्रो लहर फैलिँदा पनि लगभग साँढे पाँच लाखजति मानिसले कान्तिपुर सहरलार्ई बाइबाइ गरेका छन् ।
अहिले रुकुम र हुम्ला जुम्लाका कतिपय विकट गाउँमा समेत कोरोना फैलिएको समाचार आइरहेको छ । एउटा चोखो मानव सभ्यतालार्ई फेरि बिटुल्याउने काम भएको छ । सपना सजाउन सहर पसेकाहरूले फेरि रोग र भोक बोकेर गाउँ फर्किएका छन् र सहरको जुठोले गाउँको पवित्रतालार्ई बलात्कार गरेका छन् । यहाँ यस्तै हुन्छ ।
२०७२ सालको महाभूकम्पदेखि अहिले कोरोनाको दोस्रो लहर फैलिँदासम्म सहर पसेका स्वार्थी मनुष्यहरूले पुनः गाउँको इज्जतलार्ई अपहरण गरिरहेका छन् । सुखमा नाच्नेहरूमाथि जब एक्कासि विपत्ति र महामारी रोग फैलिन्छ तब उनीहरूलार्ई आफ्नो पुरानो थाकथलो राम्रो र सुरक्षित लाग्न थाल्छ । यसरी दुःख र विपत्तिमा गाउँ नै चाहिने भएपछि कमसेकम गाउँको विकास र समुन्नतिका लागि केही गरुँ भन्ने भावना किन जागृत नभएको ? दुःख पर्दा छाती थाप्ने गाउँको पवित्र आँगनलाई सहरको स्वार्थी सभ्यताको बुटले मात्रै किन कुल्चिएको ? गाउँ त पवित्र तीर्थ हो, नेपाली सभ्यताको चिराग हो र हाम्रो सभ्यताको जग हो ।
गाउँ हाम्रो पहिलो पाठशाला हो । हामीले जे सिक्यौँ त्यही प्रथम ध्वनि गाउँले ओठबाट नै सिक्यौँ । सहर आउनेसम्म योग्य त हामीलार्ई गाउँले नै बनाएको हो । सरकार गाउँबाट भोट मात्रै लिन्छ र चुनावी बेलामा मात्रै पुग्छन् नेताहरू हेलिकोप्टर चढेर । आज सहरले लखेट्दा गाउँकै काख प्यारो भो अनि त्यो प्यारो काखलाई नै लात्ती हानेर मानिस जंगली बन्न सहर पस्छ र आउँदा मान्छे र जाँदा कुमान्छे बनेर गाउँ पस्छ । सहरको श्राप बोकेर गाउँमा राजनीति गर्नेहरू यहाँ थुप्रै छन् । यहाँ कतिले कोरोनालाई कमाइखाने भाँडो बनाएका छन् । भूकम्पमा रातारात धनी हुनेहरू यस्तो महामारी बारबार आइरहोस् भन्ने चाहन्छन् ।
कोरोनाको यो महामारीमा अघिपछि हजार रूपैयाँमा पाइने अस्पतालको बेड अहिले एक रातको पचास हजार रे ! खोइ कहाँ छ सरकार ? खै कहाँ छ मानवता ? रोगीहरू भनिरहेछन् ‘हामीलार्ई खालीचौरमा पाल हाल्देऊ र एक बोतल अक्सिजन दिइदेऊ ।’
गाउँको आनन्दलार्ई लात हानेर सहरमा सुख र धन खोज्न पल्केकाहरू फेरि गाउँ नै फर्किन थालेका छन् । आखिर काम लाग्ने तिनै पाखा, पँधेरो, तिनै बुढ्यौलीले आँखामा पानी चढेका बाबुआमा, मेलापात । सहरमा पानी मागेर पाइन्न तर गाउँमा पानीले स्वागत गर्छे प्रकृति । अहिले विश्व जगत कोरोनाको दोस्रो संक्रमणबाट अक्रान्त छ । खासगरेर कोरोनाको भयावह सहरी क्षेत्रमा व्यापक फैलिँदै गइरहेको छ । अहिले विश्वका ठूला–ठूला सहरमा बसोबास गर्ने मानिसहरूलार्ई सहर अभिशाप साबित हुनथालेको छ र उनीहरू बिस्तारै पहाडी जनजीवन नै उत्तम रहेछ भन्ने कुरामा सहमत हुनथालेका छन् ।
कोरोनाको विश्वव्यापी महामारीपछि विश्व सहरका केही मानिसहरू गाउँतर्फ आकर्षक भइरहेको खबर प्राप्त हुनथालेका छन् । जहाँ जनघनत्व बढी छ त्यहीँ नै कोरोनालगायत अन्य सरुवा रोगहरू सबैभन्दा धेरै फैलिने पनि सम्भावना रहन्छ । सयौँ वर्षअगाडिको युरोपेली देशहरूमा फैलिएको प्लेग भन्ने रोगले युरोपेली सहरका लाखौँ मान्छेलार्ई ध्वस्त पारेको कुरा इतिहासमा लेखिएका छन् । यस्ता रोगहरूका कारण कहिलेकाहीँ सहर अभिशाप बन्न जाँदोरहेछ र ग्राम्य जीवन र ग्रामीण बसोबासको महत्व झल्किँदोरहेछ ।
सहर आफैँ पनि मृत अवस्थामा बाँचेको हुन्छ किनकि त्यहाँ मानवता, बन्धुत्व, सहयोग, भाइचारा, आपसी सद्भावना र माया हुँदैन । सहरले आफ्नो चिन्दैन भने झन् पराइ चिन्ने त कुरै भएन । सहरले मानिसको आदिम लयलार्ई निलम्बित गरेको हुन्छ र त्यसलाई भौतिकता र यौवनको जलपले छोपेको हुन्छ । सहर आफैँ कृत्रिम बाँच्छ । सहर आफैं एकलास बाँच्छ । सहर आफैं दरिद्र बाँच्छ । सहरमा पैसा बाँच्छ तर मानवता मरिसकेको हुन्छ । सहर आँखाको मात्रै झिलिमिली हो । यो झिलिमिलीभित्र आँसु र पीडाको नदी बगिरहेको हुन्छ ।
सहर तिनै व्यक्तिहरूको जमघट हो जहाँ धन बोल्छ मानवता मौन बस्छ । आदर्शले हार्छ अनि नौटङ्कीले जित्छ । सहर कृत्रिम अभिनय गर्न जान्नेका लागि मात्रै हो । सहरमा मृत्यु धेरै सस्तो छ । सहरमा तिनै रमाउँछन् जो कृत्रिम जिन्दगी जिउन सिपालु हुन्छन् । यस्तै चरित्र बाँचेका मानिसलाई पनि कहिलेकाहीँ जीवनदेखि वाक्क लाग्छ र ऊ कतै पर हिमालको नजिक भएर पहाडको काखमा सुस्ताउन खोज्छ । मन बहलाउन खोज्छ । सहरको त्यो वितराग बिर्सेर लाटो र अन्जान पहाडी भू–भागमा रम्न खोज्छ ।
यतिबेला उसलार्ई ग्रामीण ग्राम्य जीवनको शान्त अनि सरल जीवनको प्यास लाग्छ । वास्तवमा तिनै कलाकारका लागि हो गाउँमा निर्माण हुने सामुदायिक तथा निजी होमस्टे । तिनीहरू त्यहाँ शान्ति खोज्न जान्छन् । तिनीहरू त्यहाँ ग्राम्यता खोज्न जान्छन् । तिनीहरू त्यहाँ सोझा मानिसहरूको आनन्दको सामाजिक जीवन हेर्न बुझ्न अनि आफैँलाई केही समय त्यहीँ ग्राम्य लयमा मिसाउन जान्छन् ।
एक/दुई दिन भए पनि एक स्वस्थ मानिस भएर बाँचूँ भन्ने हेतुले जान्छन् । ग्रामीण पर्यटन हाम्रो नेपालमा मात्रै होइन । विश्वका पूर्ण विकसित देशहरूमा समेत यो व्यवसाय सुरु भइसकेको छ । संसारभरका मुलुकमा ग्रामीण जीवन छ । ग्रामीण जीवन भन्नासाथ हामी आधुनिक भौतिक सभ्यताको छिटो नपरेको एक सरल, शान्त, सामाजिक सनातनी सास्कृतिक आदिम भूमिलाई सम्झन्छौँ, जहाँका प्रायः सबै मानिसभित्र दया, माया, मानवता र पवित्र संस्कार हुन्छ । त्यहाँका मानिस अविकसित होइनन् । त्यो स्थान पनि अविकसित होइन, मात्रै त्यो स्थानलार्ई आधुनिकताले बलात्कार नगरेको एक शालीन इतिहास सदैव बाँचिरहेको पुन्य भूमी हो । त्यहाँको सरल जीवन हेर्न सधैँ केक, पिज्जा, बर्गर, मासु र फास्टफुड जंकफुड खाएर सहरमा कृत्रिम बाँचेका अत्याधुनिक अर्ध मनुष्यहरूका लागि ग्रामीण पर्यटन एक तीर्थ गएजस्तै आनन्दको एउटा यात्रा हो ।
अहिले आएर कोरोनाको भयावह अवस्थामा गाउँ र गाउँले परिवेशको झनै महत्व बढ्न थालेको छ । सहरमा कोरोनाको हाहाकार छ तर गाउँ आफ्नो पुरानै लयमा छ । गाउँम भौतिक दूरीका लागि विज्ञापन गर्नै पर्दैन । गाउँमा न मास्क चाहिन्छ न स्यानेटाइज । गाउँमा कसैका घर जोडिएका छैनन् तर सहरमा मानिसका ओछ्यान जोडिएका छन् किनकि सहर महँगो छ । सहरमा जमिन छैन ।
सुविधाजन्य जीवन भोग्न सहर पसेको मान्छे आज आफैं रोगी भएको छ । हिजो कसैको बिहेमा जन्त जाँदा मइन्टोल बालेर बारीको पाटामा लाइन बसेर धोतीपाटा फेरेर टपरीमा दालको झोल चुहाउँदै एक चोक्टा काउली भातसँग मुसेर खाँदाको आत्मीय अपनत्व र स्वर्गीय आनन्दले आज होटेलमा बुफे आफ्नै हातले पस्केर खाँदाको कृत्रिम जिन्दगीलाई धिक्कारी रहेकोे छ । खोइ त्यो दिव्य आत्मसात् ? खै त्यो सरलता ? खै त्यो अभिन्न साथीत्व र भाइचारा ?
हिजो टपरीबाट दालको झोल चुहिएजस्तै आज आधुनिक मान्छेको आँखाको कोपराबाट आँसुको पिसाब चुहिन्छ । हो, यिनै आँखाको कोपराबाट आँसुको पिसाब चुहाउनेहरूलाई सरल जीवन र ग्रामीण सस्कार के हो भनेर चिनाउन पनि ग्रामीण पर्यटनको विकास गर्नु अत्यन्तै आवश्यक छ ।
अब कोरोनाको दोस्रो लहरले विश्राम लिएपछि ग्रामीण पर्यटन व्यवस्थापनलार्ई राज्यस्तरबाट प्रचारप्रसार गर्नुपर्छ । ग्रामीण पर्यटनको विकास र विस्तारका लागि जनस्तरबाट मात्रै पहल भएर पुग्दैन यसमा सरकारको तर्फबाट अनुदान, योजना, तालिम, सेमिनार, गोष्ठी, प्रचारप्रसार, ग्रामीण बाटोको सुधार, दक्ष जनशक्ति उत्पादन तथा विदेशस्थित नेपाली कूटनीतिक आयोगबाट पनि विशेष पहल गर्नु जरुरी छ ।
नेपालको अधिकांश कृषियोग्य भूमि ग्रामीण भेगमा नै भएकोले त्यहाँ उत्पादन भएका स्थानीय फलफूल, दुध, तरकारी, मासुजन्य पदार्थ अनि खाद्यान्न गाउँमा नै खपत र उपयोग गर्नेगरी ग्रामीण पर्यटनको योजना ल्याउनु अत्यन्तै आवश्यक छ । सहर विकास भइसकेको छ । अब गाउँको विकासको लागि ग्रामीण पर्यटन प्रवर्द्धन गर्नु अनिवार्य छ ।
नेपाल घुम्न आउने भविष्यका पर्यटकलाई ठमेल होइन गाउँ जाने वातावरण मिलाउनु राज्यस्तरबाट नै पहल हुनुपर्छ । ग्रामीण पर्यटनका लागि विदेशी नै आउनुपर्ने भन्ने जरुरी छैन । सहरमा बसेकाहरू सहरदेखि वाक्क भएर कहिलेकाहीँ हप्तान्त मनाउन पनि गाउँ जान थालेका छन् । नेपालको अर्थ व्यवस्थालार्ई चलायमान बनाउन ग्रामीण पर्यटनले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
कोरोनाको कारण विदेशीहरू अबको केही वर्ष नेपाल भ्रमणमा आउनसक्ने अवस्था रहनेछैन । नेपाल भ्रमणमा विदेशी नआए पनि हाम्रो आन्तरिक पर्यटनलार्ई चलायमान बनाउन सकिने एकमात्र आधार भनेको ग्रामीण पर्यटन नै हो ।
नेपाल सरकारले आफ्ना कर्मचारीहरूलाई वर्षको १५ दिन अनिवार्य बिदा दिई नेपाल भ्रमणका लागि अभिप्रेरित गर्ने हो भने यस्तै सिको अन्य संघसस्था बैंकिङ क्षेत्र र निजी कम्पनीहरूले पनि गर्नेछन् अनि अवश्य पनि नेपालको आन्तरिक पर्यटन मौलाउनेछ । दुःखका बेला गाउँ जानेहरू उतै बसौँ र गाउँको उन्नतिका लागि काँधमा जिम्मेवारी उठाऔँ । अहिले नगरे कहिले गर्ने र हामीले नगरे अरु कसले गर्ने ?
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया