Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकोभिड–१९ एवं जल सङ्कट

कोभिड–१९ एवं जल सङ्कट


काठमाडौं ।
देशमा कोभिड–१९ को प्रलयकारी महामारीको प्रसारमाथि नियन्त्रणका लागि लागू गएिको लकडाउनको बेला स्वच्छ, सफा, खानेपानीको उपलब्धता एवं यसको व्यवस्थापन निकै नै चुनौतीपूर्ण देखिन्छ । काठमाडौँ उपत्यकामा भलै हामी मेलम्चीको पानी उपत्यकाको खानेपानी वितरण सञ्जालमा मिसाइएको आत्मरतीमा छौँ । यो पानी जनसमुदायको धरामा बग्नुभन्दा पुरानो खानेपानी वितरण प्रणालीका पाइप फुटेर सहरका टोल–टोलका बाटामा चुहिएर बगेको दृश्य त हाम्रा सामु छँदै छ ।

सरकारले जारी गरेको कोभिड–१९ विरुद्धको स्वास्थ्य सचेतना, सुरक्षा निर्देशिका जुन जनसमुदायले साबुनपानीले नियमित हात धुनुलाई कोभिड–१९ को महामारी प्रसारण नियन्त्रित गर्ने सबैभन्दा प्रभावकारी उपाय मानिएको छ । यस कुरालाई मनन् गर्ने एवं कार्यान्वयन गर्ने हो भने देशका सबै जनसमुदायहरूका लागि स्वच्छ एवं पिउनयोग्य पानीको उपलब्धता सुनिश्चित गर्ने कुरामा जोड दिनुपर्ने दायित्व त राज्यको हुनुपर्ने हो तर वर्तमानको हाम्रो राज्य व्यवस्थापनको स्थिति हेर्दा आम नागरिकलाई ढुक्क हुने भन्ने झिनो आशा पनि छैन, घुम्ती ट्यांकर, जार अनि बोतल बन्द पानी आपूर्ति निजीक्षेत्रले गरेको आपूर्तिबाहेक ।

आजको हाम्रो आफ्नो परिवेशमा संघीय, प्रादेशिक एवं स्थानीय सरकारको प्राथमिकता यस प्रलयकारी कोभिड–१९ को महामारीको बेला स्वच्छ खानेपानी संकटसँग जुधिरहेका क्षेत्रहरूमा खानेपानीको आपूर्ति बढाउने प्रयासहरूलाई प्राथमिकता दिनुपर्ने हुन्छ । सरकारले समाजका कमजोर वर्गहरू, रातह शिविर, क्वारेन्टाइन केन्द्रहरू, अस्पतालहरू, वृद्धाश्रम एवं सहरका सुकुमवासी सहरका झुपडी बस्तीहरूमा बस्नेहरूका लागि विशेष ध्यान दिनुपर्ने त हो । यसका लागि आवश्यक रसायनहरू जस्तै : क्लोरिन चक्की, ब्लीचिङ पाउडर, सोडियम हाइपोक्लोराइट झोल र फिटकिरी पोटास आदि सहजरूपमा निर्बाधरूपले उपलब्ध गराउनुपर्ने हुन्छ ।

यसबेला सामाजिक दूरी राख्ने नियमलाई पालन गर्नका लागि जलआपूर्ति स्रोतहरू धारा, ट्याङ्कर आदि नजिक मानिसको संख्या बढ्नसक्ने, घुँइचो लाग्नसक्ने स्थितिमा खानेपानी आपूर्तिको समय बढाउनपर्ने हुन्छ । ग्रामीण क्षेत्रहरूमा टेपट कीट उपलब्ध गराएर जलस्रोतहरूको नियमित जाँच गर्ने अनि २४ घण्टा नै खानेपानी आपूर्ति गर्नुपर्ने आवश्यक कदम चाल्नुपर्नेछ । यो जनस्वास्थ्य संरक्षणका लागि सामाजिक दायित्वका रूपमा यद्यपी हातहरूको स्वच्छता अर्थात् हात नियमितरूपले सफा राख्नलाई कोभिड–१९ को कोरोना भाइरसबाट बच्ने एउटा प्रभावकारी तरिका मानिएको छ तर सबैका लागि स्वच्छ खानेपानी उपलब्ध हुन नसक्नु पछिल्लो कैयौँ वर्षदेखि देशका लागि एउटा चुनौती बनेको छ ।

हाम्रो देश विश्वका ती देशहरूमध्ये एक पर्दछ, जसमा समुदायको बसोबास नजिक स्वच्छ खानेपानीको उपलब्धता सबैभन्दा कम छ । हाम्रो आफ्नो परिवेशमा वर्तमान खानेपानी संकटको प्राकृतिक कारणहरूमा पछिल्ला केही वर्षहरूमा अनियम एवं न्यून वर्षा हुनु, खडेरी पर्नु एवं जलवायु परिवर्तनको नकारात्मक प्रभाव प्रमुख मानिएको छ । मानवीय गतिविधिहरूका कारण हुने प्राकृतिक स्रोतहरूको प्रदूषण साथै कृषि तथा औद्योगिक क्षेत्रहरूमा उत्पादन वृद्धिका लागि जलको अनियन्त्रित दोहनले जल संकटमा कैयौँ गुणा वृद्धि गरिएको छ ।

खानेपानी आपूर्ति, सिँचाइ अनि नहरहरू, जलनिकास एवं तटबन्ध, जल संग्रहका आधार मानिसको छ । जसको जनसमुदायमा उपलब्धता एवं व्यवस्थापन गर्नु एउटा लोककल्याणकारी राज्यको नैतिक जिम्मेवारी मनिन्छ तर हाम्रो परिवेशमा भने राज्य संवेदनशील देखिँदैन ।

वर्तमानमा कोभिड–१९ को प्रलयकारी महामारीबाट सबैभन्दा बढी खतरा आर्थिकरूपले कमजोर वर्गलाई छ । यस समूहका मानिसहरू प्रायः घना सहरी आबादी भएका क्षेत्रमा बसोवास गर्दछन् । जहाँ सबैका लागि स्वच्छ खानेपानीको उपलब्धता धेरै गाह्रो हुन्छ । त्यसै भएर होला भारतको मुम्बई सहरमा कोभिड–१९ को महामारी फैलिदा सुरुका दिनमा झुपडी बस्तीका जनसमुदाय बढी प्रभावित भएको दृष्टान्त हाम्रोसामु छ । त्यसैले राज्यले यस्ता क्षेत्रहरूमा प्रत्येक परिवारसम्म स्वच्छ खानेपानी आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ ।

स्वयंसेवी संस्था एवं यस क्षेत्रमा काम गर्ने अन्य गैरसरकारी संस्था एवं समाजिक संस्थाहरूसँग सहकार्य एवं सहयोग लिई पानीलगायत अन्य आवश्यक वस्तुहरूको आपूर्ति सुनिश्चित गर्नुपर्ने हुन्छ । यसका साथै कोभिड–१९ का बारेमा सचेतना कार्यक्रम समुदायहरूमा यथेष्ट मात्रामा सञ्चालन गरिनुपर्छ । जसले गर्दा यस रोगबाट संक्रमित समुदायको पहिचान गरेर तिनलाई चिकित्सकीय सहायता बेलैमा उपलब्ध गराउन सकियोस् । पानीको अनियन्त्रित दोहन एवं प्रदूषण वर्तमान जलसंकटको सबैभन्दा प्रमुख कारण हो । त्यसैले स्वच्छ खानेपानीको आपूर्ति सुनिश्चित गर्नका लागि यसलाई नियन्त्रण गर्नु अति आवश्यक छ । प्राकृतिक जल संरक्षण एवं पानीको पुनः प्रयोगलाई प्रोत्साहित गरी जलसंकटको दबाबलाई कम गर्न सकिन्छ ।

यस कोभिड–१९ को महामारीले हामीलाई एउटा पाठ सिकाइराखेको छ कि हामी यस शृङ्खलामा त्यति नै कमजोर छौँ जति दुनियाँका सबैभन्दा कमजोर मानिस छन् । हामीलाई यो सुनिश्चित गर्नुपर्ने आवश्यकता छ कि प्रत्येक सबैसँग सार्वजनिक स्वास्थ्यसम्म पहुँच होस् अनि कोही पनि यस भाइरसको सिकार नबनुन । पानीसँग पनि यस्तो समस्या छ । यदि जनसमुदायसँग सफा पानीसम्मको पहुँच छैन भने तिनीहरूले महामारी फैलनलाई रोक्न सक्ने छैनन् । सबै कुराको चुरो यति मात्र हो कि स्वच्छ सफा पानी सबैका लागि सस्तो एवं सुलभ हुनुपर्दछ । अन्यथा यो कसैका लागि पनि लामो समयसम्म उपलब्ध रहने छैन । (वरिष्ठ पशुचिकित्सक)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया