Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगडोलेश्वर : नेपालको लागि नयाँ गौरव

डोलेश्वर : नेपालको लागि नयाँ गौरव


काठमाडौं ।
२०७० साल असार २ गते भारतको उत्तराञ्चल र नेपालको सुदूरपश्चिममा भएको ठूलो वर्षा र बाढीको कारणले भारतको उत्तराञ्चलमा रहेको केदारनाथजीको पूजा खण्डित भई हजारौँ मानिसको मृत्यु भएको खबर त्यति पुरानो भइसकेको छैन । तर जुनसुकै बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने कथनलाई पुष्ट्याइँ हुनेगरी यो दुःखद् घटनाबाट पनि नेपालको लागि एउटा सुखद् समाचार उजागार भयो ।

केदारनाथ पीठका पीठाधिश्वर जगत् गुरु १००८ भीमाशंकर लिंगसिवाचार्यज्यूले २०७० साल असार २२ गते श्री डोलेश्वर महादेवलाई केदारनाथको शिरको रूपमा मान्यता प्रधान गरी डोलेश्वर महादेवमा केदारनाथ धाम पूजा आरम्भ विशेष (क्षमापूजा) गर्नु भनेर भनेअनुसार सोही दिनबाट डोलेश्वर महादेवमा केदारनाथजीकै पूजा पद्धतिअनुसार पूजा सञ्चालन भएको छ ।

नेपालभाषामा (नेवारी) सिपारे माद्यो भनिने डोलेश्वर महादेवको मन्दिर भक्तपुरनगरको आग्नेय कोणमा डोलाशिखर पर्वत शृङ्खलाको दक्षिणभागमा डोलपरेको पहाडको काखमा रहेको छ । अरनिको राजमार्गको जगतेबाट तीन किमि दक्षिणको डाँडाको काखमा गुम्बज शैलीको सानो मन्दिरमा रहेको छ ।

पाण्डवहरूले समेत तीर्थाटन गर्न आएको भनिने यो मन्दिर राजा भुपतिन्द्र मल्लको पालामा विसं १६२९ मा राखेको शिलालेखमा डोलेश्वर मन्दिरको जीणोद्धार गरी सुनको कलश चढाएको कुरा उल्लेख भएबाट त्यो मन्दिर उनीभन्दा तीन/चार शताब्दीअगाडि नै निर्माण भएको हुनसक्छ भन्ने कुरा पुष्टि हुन्छ ।

लिच्छवि तथा मल्ल राजाको पालामा डोलेश्वर महादेवको छानायुक्त तीनतले मन्दिर रहेको कुरा ऐतिहासिक विवरणमा फेला परे पनि । तर त्यो मन्दिर कहिले र कसको शासनकालमा बनेको थियो भन्ने कुरा भेटिएको छैन । तीनतले सो मन्दिर ९० सालको भूकम्पबाट क्षतिग्रस्त भई आजभन्दा लगभग ७० वर्ष जति अगाडि गुम्बज शैलीको वर्तमान मन्दिर निर्माण भएको हो ।

ऐतिहासिक विवरणअनुसार यो मन्दिरको इतिहासलाई सात/आठ सय वर्षअगाडिको समय मात्रै अनुमान गर्न सकिने भए पनि किम्बदन्तीअनुसार यहाँको शिवको मूर्ति द्वापर युगको पाण्डवकालीन मूर्ति हो भन्नेगरेको पाइन्छ ।

महाभारतकालमा पाण्डवहरूले अर्जुनपुत्र अभिमन्युको छोरा परिक्षित महाराजलाई राज्यव्यवस्था जिम्मा लगाई स्वर्गारोहणको निम्ति उत्तरापन्थको यात्रा गर्दै जाने क्रममा केदारनाथको दर्शन गर्ने इच्छा व्यक्त गर्दा स्वजनको हत्या गर्ने पापी पाण्डवलाई आफ्नो दर्शन दिन्न भन्ने विचार गरी राँगोको रूपमा जंगलविहार गएका केदारनाथको बारेमा थाहा पाएपछि सोहीरूपको भए पनि दर्शन गरिछाड्ने हठका साथ पछि लागेर पुच्छर समाती तान्नखोज्दा भगवानले आफ्नो शिर मात्र लुकाई पृथ्वीतर्फ धस्सिँदै आफ्नो शरीरलाई तीन टुक्रा बनाई अलग हुनुभयो । शिर, ढाड र पुच्छर तीन टुक्रामध्ये ढाड र टाउकोचाहिँ बेपत्ता भयो । ढाड सोही ठाउँमा रहेको भीमसेनको हातमा रहेको पुच्छर समेत अन्यत्रै पछारिन पुगेपछि यो अनर्थबाट भयभीत भएका पाण्डवहरूले भगवानको आरधना गरी क्षमा माग्न थालेपछि तिमीहरूले पाप ग-यौ साँच्चै मेरो दर्शन गर्न आएका हौ भने उत्तराखण्ड हिमालको काखमा (वर्तमान नेपाल) जाऊ भनी आकाशवाणी भएपछि त्यहाँबाट पाण्डवहरू पूर्वतर्फ लागेको कुरा शिव पुराण र महाभारतको स्वर्गारोहण पर्वमा स्पस्ट उल्लेख भएको छ । नेपालमा केदारनाथको शिरभाग कुन हो भन्ने कुरामा लामो समयसम्म कुनै स्पष्टता नभए पनि धेरैले पशुपतिनाथलाई केदारनाथको शिरभाग मान्दै आएका थिए ।

मानव सृष्टिसँगै उत्पत्ति भएको ज्योर्तिलिंग पशुपतिनाथको लाखौँ वर्षको इतिहास भएको र केदारनाथको उत्पत्ति द्वापरको अन्त्य र कलीको प्रारम्भ अर्थात् करिब पाँच हजार वर्षको मात्र हुँदा पशुपतिनाथको इतिहास केदारनाथको इतिहासमा जोडिन नसक्ने स्पष्ट देखिन्छ ।

हालै हिमवत केदार वैराग्यशिंहासनाधिश्वर रावलपदविविभूषितश्री १००८ भीमाशंकर शिवाचार्य स्वामीजीबाट २०६६ साल भाद्र ६ गते केदारनाथको शिरभाग डोलेश्वर महादेव भएको विधिवत् घोषणा गरेपछि विश्वमा रहेका एक अर्ब २० करोड हिन्दुहरूको भ्रम निवारण भएको छ । शिव पुराणमा उत्तराञ्चलमा जुन रूपमा म छु त्यही रूपमा म नेपालमा पनि रहनेछु भनिएको छ । त्यसैले ज्योर्तिलिंग केदारनाथमा शरीरको मात्र दर्शन हुने शिरभागको दर्शन, पूजा र आरधनाको निम्ति डोलेश्वरको पूजा आरधना गर्नुपर्ने देखिन्छ । त्यसपछि ज्यर्तिलिंग पशुपतिनाथको दर्शन गरेमा जीवनलाई सार्थक बनाउन सकिन्छ ।

हिमालको काखमा परापूर्वकालदेखि नै पवित्र भूमिको रूपमा रहँदै आएको नेपाल ऋषिमुनिको तपोभूमि थियो भन्ने कुरा सर्वविधितै छ । यो भूमि महादेव शिवको प्रिय भूमि रहेको कुरा स्वस्थानीलगायत धार्मिक ग्रन्थहरूमा पाइन्छ । दक्षप्रजापतिको यज्ञमा सतीदेवीले प्राण त्यागेपछि सतीदेवीको शव बोकी हिँडेका महादेव सतीको शरीर र महादेवलाई रोक्न भगवान विष्णुका शक्तिले सतीका अंगहरूलाई टुक्रा–टुक्रा पारेर पतन गराएपछि विभिन्न ठाउँमा शक्तिपीठहरूको उत्पत्ति भएको कुरा स्वस्थानीलगायत अन्य धार्मिक ग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । त्यसरी नेपाल विभिन्न शक्तिपीठको केन्द्रको रूपमा विकसित भएको कुरा पौराणिक कालदेखि नै उल्लेख भएको पाइन्छ ।

यसरी अनेक शक्तिकेन्द्रहरू विकास भएर नेपाल परापूर्वकालदेखि नै पवित्र धार्मिकस्थलकै रूपमा रहेको छ । नेपालका महत्वपूर्ण धार्मिकस्थलहरूमध्ये भक्तपुर जिल्लाको सिपाडोलमा रहेको डोलेश्वर मन्दिर पनि एउटा महत्वपूर्ण केन्द्रको रूपमा विकास गर्न नेपालीहरूले पहल गर्नुपर्ने देखिन्छ । यस ठाउँको प्रर्याप्त विकास गर्नसकेमा सो ठाउँ नेपालीहरूको मात्र नभई विश्वका सम्पूर्ण हिन्दु समुदायको पवित्र धार्मिकस्थलको रूपमा विकास गर्न समस्त नेपालका धार्मिक तथा पर्यटकीय विकासमा महत्वपूर्ण योगदान पुग्ने कुरामा दुईमत हुन सक्दैन ।

डोलेश्वरको स्मरण गर्दा व्यक्तिगतरूपमा मेरा आफ्नै पिताको स्मरण गर्न पनि उपयुक्त हुन्छ । २०२५ सालमा आध्यात्मिक चिन्तकको रूपमा लिन सकिने मेरा पिता स्व. कृष्णबहादुरले २०२५ सालमा शिव पुराण लगाउने इच्छा व्यक्त गर्दा योग्य पण्डितको खोजी गर्ने क्रममा चौकोटे पण्डित प्रेमनाथ कुइँकेललाई वाचक बनाई आफ्नो घरमा शिव पुराण लगाइएको थियो त्यतिखेरको वाचनक्रममा डोलेश्वरसम्बन्धी कुराहरू पहिलोपटक सुनिएको थियो । डोलेश्वरलाई एउटा आकर्षक धार्मिक केन्द्रको विकास गर्ने गुरुयोजना बनाउनुपर्ने देखिन्छ । मुख्य मन्दिर आकर्षक र सुविधासम्पन्न बनाउनुपर्नेछ । दीर्घकालीन योजना बनाई विभिन्न देवदेवीका मन्दिरहरू व्यवस्थितरूपमा बनाउनु उपयुक्त हुनेछ । जमघटको लागि सुविधासम्पन्न हल, तीर्थयात्रुको लागि विश्रामगृह, स्नानगृह, पूजा सामग्रीहरूको व्यवस्थित बिक्रीकक्ष, सुविधासम्पन्न शौचालय आदि निर्माण गरिनुपर्दछ ।

डोलेश्वरको विकासलाई अवसर र चुनौतीकै रूपमा लिएर डोलेश्वरलाई नेपाली गौरवको प्रतीकका रूपमा विकास गर्नुपर्ने देखिन्छ । धार्मिक पर्यटनको आकर्षण थलोको रूपमा व्यवस्थित गर्ने जिम्मेवारी पनि नेपालीहरूले आफ्नो काँधमा बोक्नुपर्ने देखिन्छ । विज्ञहरूको टोली बनाई त्यहाँ के–कस्तो भौतिक पूर्वाधारहरू तयार पार्नुपर्ने हो भन्ने निर्धारण गरिनु युक्तिसंगत हुन्छ । गलत मनसाय बोक्नेहरूले पनि सुध्रिने बुद्धि प्राप्त गर्ने स्थलको रूपमा विकास गराउनुपर्ने देखिन्छ । यो मन्दिरपरिसर र सम्पूर्ण संरचना नमूना र हेर्नलायक बन्नुपर्छ । यसको लागि ज–जस्ले जे–जे गर्नुपर्ने हो क्षमताअनुसार गर्न पछि हट्नु हुँदैन । धर्मनिरपेक्षता भनिए पनि ऐतिहासिक सम्पदाहरूको कसरी सुरक्षित संवर्द्धन गर्ने भन्ने सम्पूर्ण हिन्दू बुद्धिजीवी समाजको दृष्टि पु-याउनुपर्ने देखिन्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया