कृषिमा लकडाउनको प्रभाव
काठमाडौं ।
विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर आइरहँदासम्म कुल संक्रमितको संख्या हालसम्म झण्डै १७ करोड पुग्न लागिसकेको छ भने मृतकको संख्या ३५ लाखभन्दा बढी नाघिसकेको छ । यसले विश्वमा नै जनधनसहित अर्थतन्त्रमै ठूलो असर पु¥याउने निश्चित छ । मूलतः आ–आफ्ना देशका सरकारलाई अहिले अर्थतन्त्र जोगाउँदै कोभिड–१९ विरुद्ध लड्ने चुनौती छ किनभने कोरोना महामारीले करोडौँ नागरिकलाई लकडाउनमा बस्न बाध्य पारेको छ ।
अहिलेको संकट टार्न सरकार तथा अन्तर्राष्ट्रिय संघसंस्थाले अकस्मात कदम चालेका छन् । यसले देखाउँछ कि अब हामीले अर्को विश्वस्तरीय संकटविरुद्ध पनि यही स्तरको कदम चाल्नुपर्छ । हाम्रो सरकारले भने कोरोनासँग जुध्न अवलम्बन गरेको एउटा प्रभावकारी उपाय निषेधाज्ञाको विभिन्न जिल्लाहरूमा सबैभन्दा पहिले बाँके जिल्लाबाट गत वैशाख १४ गतेबाट सुरु भई जेठ महिनाभरि नै हुनेछ । यसबीच देशको अर्थतन्त्रका सबैजसो अवयव ठप्प प्रायः छन् ।
उत्पादनका सबैजसो मुख्य शाखा बन्द छन् । सामानको ओसारपसार घटेको छ । बजार बन्द भएसँगै दैनिक उपभोगका सामानबाहेक अन्य वस्तु तथा सेवाको माग घटेपछि आयात पनि घट्ने नै भयो । तर, लकडाउनलाई सफल पार्ने हो र मानिसबाट मानिसमा सर्ने भाइरसको संक्रमणलाई नियन्त्रण गर्नेगरी मानिसबीचको भौतिक दूरी बढाउने हो भने लकडाउनको विकल्प पनि छैन । यो कष्टबाट विश्वका सबैजस्तो जीवनमा खतरा उत्पन्न भएको मात्र होइन, विश्व अर्थतन्त्र नै नराम्रोसँग प्रभावित भएको छ ।
विश्वको एक तिहाइभन्दा बढी जनसंख्या अहिले बन्दाबन्दी (लकडाउन)को अवस्थामा छन् । यसले गर्दा दुनियाँभर रोजगारी गुमाउनेको संख्या बढ्दै छ । यसको साथसाथै बेरोजगारीको संख्यामा विकसित र अविकतित देशहरूमा बढ्दो रूपमा रहेको छ । यो संख्या उच्च दरमा बढ्ने देखिएको छ । तर, नेपालजस्ता अतिकम विकसित मुलुकलाई कोरोना भाइरसको प्रभाव तीव्र देखिने भएको छ ।
फलतः आर्थिक वृद्धिदर घट्दो क्रममा रहेको छ । महँगी चर्किंदै छ । झन्डै ८ खर्ब रुपैयाँ औपचारिक माध्यमबाट वर्षेनी विप्रेषण आउँथ्यो भने अनौपचारिक तवरले आएको विप्रेषणको कुनै लेखाजोखा थिएन । झन्डै ५० लाख नेपाली भारतबाहेकका तेस्रो मुलुकमा रोजगारी र अध्ययनका लागि पुगेका थिए । भारतमा रहेका नेपालीको कुनै तथ्यांक छैन । तर, १०औं लाखको संख्यामा भारतमा नेपालीले रोजगारी पाइरहेका छन् ।
नेपालजस्ता अतिकम विकसित मुलुकमा कोरोना भाइरसको प्रभाव तीव्र देखिन सक्छ । विश्व नै अहिले कोरोना भाइरसका कारण आक्रान्त भइरहेको बेला यसले कृषि क्षेत्र मात्र नभएर पर्यटन, उद्योग व्यवसाय, जलस्रोत, शिक्षा, स्वास्थ्यलगायत धार्मिक, सामाजिक, आर्थिक क्षेत्र प्रभावित भएको छ । कोरोनाको कारण कृषि क्षेत्रमा परेको तात्कालीन र दीर्घकालीन प्रभावका सन्दर्भमा यहाँ चर्चा गर्ने प्रयास गरिएको छ ।
हाल मुलुकमा पाकिसकेको खाद्यवस्तुहरू बेलैमा थन्क्याउन नपाउनु, समयमा बाली लगाउन नपाउनु, थोरै क्षेत्रफलमा बाली लगाइनुजस्ता कारणबाट हुनजाने न्यून उत्पादनका कारण आपूर्तिमा समेत कमी आउँछ । यसले गर्दा बजार माग धान्न नसक्दा खाद्यवस्तुको बजार मूल्य बढ्न जाने हुँदा अधिकांश नेपालीको दैनिक जीवन संकटपूर्ण र कष्टप्रद हुनपुग्छ ।
पहाडी क्षेत्रमा घैया, मकै छर्ने समय घर्किसकेको छ । तथापि, उच्च पहाडी क्षेत्रमा धानको ब्याड राख्ने काम सुरु भएको छ । तराई र मध्यपहाडमा चैतेधान भित्र्याउने समय बितिसकेको छ । फलस्वरूप अदुवा, बेसार, पिँडालु लगाउने समय पनि यति नै बेला हो । बीउ जोहो गरेर लगाउनुपर्ने कृषकहरूले बिउको जोरजाम गर्न सकेका छैनन् भने बीउ बिक्री गरेर त्यसको आम्दानीबाट अर्को कृषि वस्तु किनेर लगाउने सोच भएका कृषकहरूलाई पनि समस्या सिर्जना गरिदिएको छ । समयमै खेती हुन नसक्दा र बीउ किन्ने र बेच्ने कृषकहरूको तालमेल मिल्न नसक्दा खेती गरिने क्षेत्रफलमा पनि कमी हुन जाने देखिन्छ । तसर्थ, कोरोनाको कारण देशभर लकडाउन भइरहेको बेला अहिले तराईदेखि पहाडसम्म वर्षे धानको ब्याड राख्ने समय घर्किन लागेको छ । सिञ्चित जमिनमा किसानहरू धानको ब्याड राख्न तल्लीन छन् ।
यसैगरी, अर्कोतिर भने किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने समय भइसकेको छ । यो समय किसानका लागि खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण उनीहरू खेतसम्म पुग्नसक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ । विषम परिस्थितिका कारण सिर्जित व्यापारघाटालाई राज्यले संरक्षण दिई कृषि व्यवसायीको मनोबल उच्च बनाउन सके कृषि व्यवसाय बिस्तारै अघि बढ्न सक्छ । देशमा आइलागेको सम्भावित संक्रमण रोक्न सरकारले देशैभरिका विभिन्न जिल्लाहरूमा निषेधाज्ञाको घोषणा गरेपछि यतिखेर सहर बजार मात्र होइन, ग्रामीण क्षेत्रका किसान पनि नराम्ररी प्रभावित भएका छन् । कतै दुधले बजार नपाउँदा सडकमा दुध पोखेका त कतै अन्य कृषिजन्य उत्पादनले बजार नपाएका समाचार आइरहेका छन् ।
मूलतः देशैभरका किसानको समस्या पनि यस्तै छन् । यहाँका धेरै किसानलाई अहिले पशुलाई दाना नपाइने समस्याले सताएको छ । यसरी लकडाउनसँगै गाईभैँसीलाई आवश्यक पर्ने पराल तथा दाना आपूर्ति हुन नसक्दा अब के खुवाउने भन्ने चिन्ता एकातिर छ भने अर्कातर्फ आवश्यकताअनुसारको दाना खुवाउन नपाएकाले दुध उत्पादन पनि ह्वात्तै घटेको छ ।
सरकारले एक्कासि लकडाउनको घोषणा गरेपछि दानाको बन्दोबस्त गर्नै पाइएन, गाईलाई दाना जति खुवाउन सक्यो उति धेरै दुध आउने हो, अहिले त दाना खुवाउनै नपाउँदा दिन दिनै दुध घट्दै गएको छ । पशु चौपायालाई पर्याप्त दाना खुवाउन नपाउँदा उत्पादन घटेकामा कृषकले गुनासो गरेका छन् । गाउँमै बसेर केही व्यवसाय गरौं भनेर पशुपालनमा लागेका कृषक यतिखेर भने लकडाउनको मारमा परेका छन् । विपत्को यस्तो बेलामा त स्थानीय सरकार तथा राज्यका निकायले दानापानी, चोकर आदि गोठगोठसम्म लैजाने प्रबन्ध गरिदिनुपर्ने कृषकको माग छ ।
कृषि व्यवसायमा लागेका कृषि उद्यमीहरू अहिलेको लकडाउनकै कारण मात्र ले पनि प्रभावित भएका छन् । अवस्था सहज भएर जनजीवन सामान्य बन्न पनि लामै समय लिने अनुमान गरिएको छ । उत्पादन भएको कृषिवस्तु सहजरूपमा बिक्रीवितरण गर्न नसकिएको स्थिति, आउँदो सिजनको उत्पादन योजना बनाउन बजारको माग तथा आपूर्ति प्रणाली अस्तव्यस्त रहेको, श्रमशक्तिको अवस्था अहिले आकलन गर्न नसकिएको र बाहिरबाट ल्याउनुपर्ने कच्चा पदार्थको आपूर्ति स्थितिमा अन्योल रहेको अवस्थामा कृषि उद्यमीहरू हतोत्साही हुन पुगेका छन् । अहिलेको विषम परिस्थितिका कारण सिर्जित व्यापारघाटालाई राज्यले बेलैमा सचेत भई कृषि व्यवसायीको मनोबल उच्च बनाउन सके कृषि व्यवसाय बिस्तारै अघि बढ्न सक्छ ।
समग्रमा भन्नुपर्दा देशको औपचारिक तथ्यांकमा जनसंख्याको ६५ प्रतिशत मानिस कृषि पेसामै आश्रित भएको देखाउँछ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान अहिले पनि २७ प्रतिशत छ । उद्योगको अवस्था राम्रो नभए पनि सेवा क्षेत्रले बिस्तारै शिर ठाडो गर्दै लगेर अर्थ व्यवस्थामा सहयोग पु-याएको थियो । तर, उद्योग र सेवा क्षेत्र खतरामा परेका छन् । अतः बाहिरबाट आएका युवाले अझ बेरोजगारीको चाप बढाउनेछन् । त्यसैले अब कृषिलाई पुनः ब्युँताउनुको विकल्प देखिँदैन । यसर्थ विश्वमै खाद्य संकटको खतरा बढ्दै गएको छ र नेपाल अझै त्यस्तो उच्च खतरामा रहनेछ । कुनै बेला खाद्यान्न निर्यात गर्ने देश आयातमा निर्भर रहन थालेको छ । विदेशबाट विप्रेषणले आयातमा आधारित अर्थतन्त्र बनाएको थियो ।
कृषि उत्पादन नाजुक बन्दै गएको थियो । अब कृषिलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने अवस्था छ । तर, यसबीच दुईटा पक्ष छन्, जसले मानिसको जीवनरेखा जोड्छन् । पहिलो हो कृषि र दोस्रो हो उपभोग्य सामानको ओसारपसार । कृषि क्षेत्रमा हरेक दिन केही न केही उपज थन्क्याउने बेला भइरहेकै हुन्छ । तरकारी आज नटिपेर दुई दिनपछि टिप्दा उपभोगयोग्य नरहन सक्छ । पालिरहेका कुखुरा धेरै दिन पाल्नुपरे अनावश्यक खर्च बढ्छ । गाईभैंसी दिनदिनै बिहानबेलुकै दुुहुनै पर्छ । अन्डा लामो सयम भण्डारण गरेर राख्न सकिन्न । गहुँ थन्क्याउनै पर्छ । धान समय आएपछि रोप्नै पर्छ । गोडमेल गर्नै पर्छ । यसैक्रममा बन्दाबन्दीको समयमा आ–आफ्ना छोराछोरीलाई कौसी र करेसाबारीमा कृषिकर्महरू सिकाउने बेला पनि आएको छ ।
यसको साथसाथै विकसित अर्थतन्त्र पनि थला पर्ने अवस्थामा पुगेका बेला कृषि जीवनलाई मुख्य आधार बनाउनुपर्ने बेला आएको छ । यसमा नागरिक समाज, सरकार, निजी क्षेत्र र अरु सबै मिलेर कृषिलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्दा मात्र हाम्रो भविष्य सुनिश्चित हुनेछ । यसबाट नै खाद्य संकट टर्नेछ । यसको विकल्पमा विदेशीको मात्र मुख ताक्नुपर्ने छैन । मुलुकमा रहेको खेतबारी बाँझो भएको अवस्थामा सिँचाइ र बन्दोबस्तीका लागि सरकारले बेलैमा यस संकट घडीमा युद्धस्तरमा लागि पर्नुपर्ने कुरामा कसैको पनि दुईमत नहोला ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया