जनगणना र जनशक्तिको प्रयोग
काठमाडौं ।
हरेक वर्ष असार ८ गतेलाई जनगणना दिवसको रूपमा हेर्ने गरिएको छ । जनगणना विगतमा पनि कहिलेकाहीँ रोकिएको इतिहास छ । विसं २००८ मा हुनुपर्ने जनगणना राजनीतिक परिवर्तनका कारण २००९ र २०११ गरी २ चरणमा भएको थियो भने विसं २०१८ सालदेखि हरेक १० वर्षमा हुँदै आएको बाह्रौँ जनगणना भने यसै जेठमा हुनुपर्ने इतिहासको ६० वर्षको कालखण्डमा रोकियो ।
०७८ जेठ २५ देखि आरम्भ गरी असार ८ गते सम्पन्न गर्नेगरी योजना बनाइएको कार्यक्रम संसारभरि फैलिएको कोरोनाको दोस्रो लहरका कारण यसै वैशाख २० गतेको मन्त्रिपरिषद्को निर्णयानुसार यही साउन १५ देखि असोज १५ सम्म सम्पन्न गर्नेगरी सारिएको छ । यसका लागि ७७ जिल्ला र ७ वटै प्रदेशहरूमा केन्द्रीय तथ्यांक विभागले कार्यालय स्थापना गरिसकेको र यसका लागि आवश्यक जनशक्ति तयार गरिसकेको जनाएको छ । यसका लगि आठ हजार सुपरीवेक्षक र ३९ हजार गणकको व्यवस्था तिनको तालिम आदि कार्य भइसकेको जनाइएको छ । यस वर्षको जनगणनाको नारा मेरो गणना, मेरो सहभागिता रहेको छ । जनगणना सम्पन्न गर्न सरकारले एक अर्ब ६० करोडको बजेट व्यवस्था गरेको देखिन्छ ।
नेपालको संविधानले जनसंख्याको व्यवस्थापन कार्य संघ, प्रदेश र स्थानीय तह सबैको जिम्मेवारीको रूपमा राखेको छ । हरेक नेपाली नागरिकले गुण्स्तरीय जीवनयापन गर्ने अवसर पाउने भनेको छ । यसका लगि जनसंख्यासम्बन्धी दीर्घकालीन योजना २०६७ । २०८७ कार्यान्वनमा छ । राष्ट्रिय जनसंख्या नीति २०७१ लागू छ । व्यक्तिगत घटना जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँसराइ दर्तासम्बन्धी तथ्यांक व्यस्थापन गर्ने पन्ध्रौँ योजनामा पनि साबिकझैं लक्ष्य किटान गरिएको छ ।
राष्ट्रिय जनगणना २०६८ अनुसार यहाँको जनसंख्या वृद्धि दर १ः३५ प्रतिशत छ । नेपाल जनसांख्यिक स्वास्थ्य सर्भेक्षण २०७३ ले प्रजनन उमेरका महिलाको कुल प्रजनन दर २ः३ प्रति महिला रहेको देखिन्छ । जनसांख्यिक लाभांशको रूपमा रहेको उत्पादनशील जनसंख्या ५७ प्रतिशत र विदेशमा रहेको उत्पादनशील जनशक्ति ७ दशमलव ३ प्रतिशत बताएको छ । यहाँ तीव्ररूपमा बसाइँसराइको समस्या छ जुन बहुसरोकारको विषय हो प्रजनन दर घट्दै रहेको, औसत आयु बढ्दै रहेको अवस्थामा देनिक अवश्यक सामानको उत्पादन र वितरणमा नकारात्मक प्रभाव पर्न दिइनुहुँदैन ।
अहिले हाम्रा छिमेकी मुलुक चीन र भारत जनसंख्याको हिसाबले अग्रस्थानमा छन् । चीनले साबिक नीतिमा परिवर्तन गरी प्रजनन बढाउने नीति लिएको छ । जनसंख्याको हिसाबले अमेरिका तेस्रो स्थानमा छ । विश्वको जनसंख्या भने सात अर्ब ८२ करोड नाघेको छ । अमेरिकामै ३३ करोड पुगिसकेको अनुमान छ । भारतमा एक अर्ब ३९ करोड नाघेको छ । हाल कोभिडको महमारी छ । सन् १९१८ मा सुरु भएको इन्फ्लुन्जा भाइरसले त्यतिबेलाको एक तिहाइ जनसंख्या भनौ पाँच करोडलाई निलेको थियो । अमेरिकामै छ लाख ७५ हजारको ज्यान गएको थियो ।
अहिलेको कोभिड १९ ले विश्वमा ४० लाख जतिलाई निलेको छ, पछिल्लो समय भारत र नेपालमा पनि मृत्युवरण गर्नेको संख्या धेरै रह्यो, त्यसो त भूकम्पले पनि अहिलेकै हाराहारीमा निलेको थियो नेपालीहरूलाई । बाँच्नेहरू सक्रिय रहनसके देश विकामा टेवा पुग्छ तर देशमा श्रमयोग्य जनशक्ति प्रशस्त भए पनि त्यसको सदुपयोग हुनसकेको छैन । हामीकहाँ युवाशक्ति नभएको होइन । युवाशक्तिको प्रचुर सम्भावनाकै कारण मुलुकले ठूलाठूला ऐतिहासिक परिवर्तन गर्नसकेको छ । दक्ष र प्रविधियुक्त युवा जमातको कारण एसियाको सम्पन्न मुलुक थाइलैण्डले प्रशस्त आर्थिक विकास गर्नसकेको छ । थाइलैण्डको बैंकक सहरमा अधिकांश युवा नेतृत्वको बाहुल्यता छ र युवा जनशक्तिको इच्छा र आकांक्षालाई अन्य समूहले प्रशस्त सहयोग र समर्थन गरेका छन् ।
हामीकहाँ धेरै युवाशक्ति बेरोजगार छन्, कष्टकर जीवन बिताउन बाध्य छन्, बाध्यतावश वैदेशिक रोजगारमा संलग्न छन् । शिक्षित र तालिमप्राप्त जनशक्तिको प्रतिभा पलायन भएको छ । विकासको मूल प्रवाहबाट बाहिर रहेका नयाँ पुस्ता एवं नयाँ जोस र जाँगर भएका यस्ता समूहलाई सामूदायिक कार्यमा सरिक गराउन सके राष्ट्रनिर्माण कार्य भरपर्दो बन्न सक्छ । उत्पादनशील रोजगारीको अवसर सिर्जना गर्नु सरकारको काम हो । कृषि र ग्रामीण क्षेत्रमा रहेको अर्धबेरोजगारी र बेरोजगारी समस्या हाम्रो ठूलो चुनौती हो । प्रशासनयन्त्रमा दक्ष र भरपर्दो जनशक्ति परिचालन भएन भने मुलुकको स्तर माथि उठ्न सत्तैmन । समग्रमा जीवनशैलीमा परिवर्तन आउन सक्तैन । मानव शक्तिको सकारात्मक सोच, तिनको सदुपयोगकै कारण आजको विश्व समुन्नत हुनसकेको परिप्रेक्षमा मानव संशाधन विकासमा हामी धेरै पछाडि छौँ ।
हामीकहाँ जनसंख्या व्यवस्थापनमा संलग्न संस्थाहरू भनौँ सरकारी, निजीक्षेत्र, गैसस, नागरिक समाजबीच समन्वय र आन्तरिकीकरणको अभाव छ । प्रतिनिधिमूलक अनुसन्धान कर्ताहरूलाई प्रभावकारी सञ्चालन गर्न सकिएको छैन । भौगोलक विकटता छ । यहाँको अशिक्षा, गरिबी, अव्यवस्थित बसाइँसराइ, आप्रवासको समस्या, अव्यवस्थित सहरीकरण, सामाजिक कुरीति, विकास र जनसंख्याबीच तालमेल नहुनु, कमजोर संगठनात्मक संरचना, खण्डीकृत तथ्यांक, कृषि र गैरकृषि क्षेत्रमा उत्पादनशील जनशक्तिको कमी, असन्तुलित विकास, प्रकिृतिक प्रकोप, जलवायु परिवर्तन भनौँ धेरै समस्या छन् । उच्च दरमा ज्येष्ठ नागरिक जसबाट सामाजिक सुरक्षामा चुनौती, स्वास्थ्य, शिक्षा, रोजगारी, खानेपानी वितरण, आधारभूत अन्य सुविधामा कमी, किशोरकिशोरीको सुरक्षामा चुनौती, बाल विवाह, बलात्कार, हत्या, हिंसा, दाइजोप्रथा, बालशोषण धेरै समस्या छन् । कुल १५ देखि ५९ वर्षसम्मका उमेरका समूह उच्च रहेको तर तिनकै व्यवस्थापनमा अनेकौँ समस्या छन् भने उर्वर जनसंख्या विदेशिएको छ र उनीहरूले पठाएको विप्रेषण रकमले देशको अर्थतन्त्र धान्नुपरेको अवस्था छ ।
लैंगिक हिंसा र यसको असमानता, एकीकृत बस्ती विकासको समस्या, अपाङ्ग, लोपोन्मुख जन जातिप्रति पर्याप्त ध्यान दिन नसक्नुजस्ता धेरै समस्या छन्, जसले हाम्रो जनशक्ति योजना भरपर्दो बन्न सकेको छैन । यति हुँदाहुँदै पनि सरकारी हाल चालू पन्ध्रौँ योजनाले मानव विकास सूचकांक शून्य दशमलव ५७९ बाट शून्य दशमलव ६२४ मा उकास्ने नागरिक सन्तुष्टिको सूचकांक ४ बाट ५ दशमलव १ माथि पु-याउने, कुल प्रजनन दर प्रतिष्ठापन स्तर २ दशमलव १ कायम राख्ने, ५ वर्षमुनिका बाबालिकाको जन्मदर्ता ६३ बाट एक सय मा पु-याउने र जनसंख्याको अद्यावधिक तथ्यांक उपलब्ध गराउने लक्ष्य लिइएको छ । यहाँको जनसंख्या तीन करोड नाघेको छ । सिर्जनशीलता अनि साहस सिक्ने क्षमता र उच्च आत्मविश्वास युवाशक्तिमा रहेको हुन्छ ।
उद्यमशीलताको विकासमा नेतृत्व विकासमा उनीहरूलाई प्रयोग गर्ने सकिए मुलुकको समृद्धि टाढा हुन्न । नेपालको कुल जनसंख्यालाई विश्लेषण गर्दा १६ देखि ४० वर्ष उमेर समूहका मानिसहरू ४१ प्रतिशत बढी छन् । हाम्रा सबै युवा शिक्षित, सीप सम्पन्न, अनुसाशित र उद्यमशील हुने हो भने हामीले सोचेको विकासको रफ्तार टाढा हुन्न । युवा जनशक्ति भनौँ मानव पुँजी पलायन हुन नदिने र श्रमशक्ति मुलुकमै प्रयोग हुने वातावरण सिर्जना गर्ने काम सरकारको हो । सबैलाई सरकारले रोजगारी दिन नसके पनि रोजगारीका अवसर सिर्जना गर्नसक्छ ।
मुलुकमा सरकार स्थिर भएन, स्थिर भनिरहँदा पनि नीति स्थिर भएन । नाना, खाना र छानाकै लागि युवाशक्ति विदेशिएको छ । आफू र आफन्त आश्रित बुढाबुढीहरूको सपना पूर्तिका लागि पनि घरजग्गा बेचेर युवाशक्ति पलायन छ । उद्योग, उद्यमशीलता, लगानी र रोजगारीको क्षेत्र युवामैत्री भएन । कुनै पनि सरकारी काम बढी प्रक्रियामुखी, झन्झट र अपारदर्शी छ । यहाँ कष्ट सहनुभन्दा विदेशमा भाँडा माझ्नु राम्रो भन्ने सोच छ, युवा शक्तिमा ।
रोजगारी सिर्जना गरी उद्यमशीलतामा, उद्योगमा युवाशक्ति सरिक गराउने काममा लघु, घरेलु साना उद्योगहरूको बढी हात हुनसक्छ । हाल मुलुकका केही क्षेत्र भनौँ सञ्चार, दूर सञ्चार, शिक्षा, सहकारी एवं बैंकहरूमा युवाशक्ति परिचालित छ । मुलुकमा पछिल्लो समय देखिएको निजी क्षेत्रको संलग्नताले युवा रोजगारी सिर्जनामा धेरै सहयोग पुगेको छ । स्वदेशमा उच्च शिक्षाकोे वातावरण तय भएन । मध्यम र उच्च शिक्षा प्राप्त युवा शक्ति विदेश पलायन रोक्नुपर्छ । मुलुकमै आर्थिक, उत्पादन, सेवा क्षेत्रमा संलग्न हुने अवसर पाए विदेश जाने रहर हुँदैन । व्यावहारिक र व्यावसायिक शिक्षाको अभाव छ मुलुकमा । युवा जोस जाँगरको प्रयोग हुनेगरी दिइने शिक्षण, प्रशिक्षणको अभाव छ । तालिम, शिक्षण, प्रशिक्षण संस्थाहरू भए पनि समन्वयको अभाव छ । पर्यटन क्षेत्रमा युवाशक्ति अत्याधिक प्रयोग हुनसक्छ ।
लोकतन्त्र स्थापनाका लागि धेरै युवा शक्तिले आफ्नो जोस, जाँगर देखाए तर त्यही जनशक्तिलाई मुलुकले विकासको अभियानमा लगाउन सकेको छैन । राजनीतिक इच्छा शक्तिको कमी भयो । युवाको सक्रिय जोस जाँगर मुलुकको रूपान्तरणमा प्रयोग भएन । राजनीतिक दलहरूसँग सक्रिय हुन पाएकाबाहेक अरु श्रमशक्ति खेर गइरह्यो । युवाशक्तिको प्रयोगबाटै राष्ट्र निर्माण सम्भव छ । यो शक्ति मुलुकको सम्बाहक हो । मुलुकमा जलस्रोत कमी छैन । विद्युत् उत्पादनमा, सडक निर्माणमा खानेपानी आपूर्तिदेखि पूर्वाधार विकासका क्षेत्रमा हाम्रै युवा शक्ति प्रयोग हुन जरुरी छ ।
मेलम्ची, अरुण, सिक्टा आयोजना–राजमार्ग, दु्रतमार्गजस्ता विकास निर्माणमा नेपाली शक्ति परिचालन गर्नुपर्दथ्यो । राष्ट्रभित्रै रोजगारीको अवसर दिएर राष्ट्रहितमै प्रयोग गरिनुपर्छ नयाँ पुस्तालाई । युवामा प्रविधिमैत्री शिक्षाको जरुरी छ । सीपमूलक तालिमबाट आत्मनिर्भर बनाउने अवसर दिनुपर्छ । राज्यका हरेक तहमा युवा पहुँच हुनुपर्छ । खेतबारी सबै बाँझो छ अहिले । कृषि जमिनको उपयोग, पशुपालन, मत्स्यपालन, भेडा, चौरी, फलफूल खेती, चिया, अलैची, उत्पादन, बजार विविधीकरणमा युवाशक्ति प्रयोग हुनसक्छ । समाजमा विद्यमान गरिबी, अशिक्षा, विभेद, हिंसा, छुवाछुत अन्त्यका लागि सामाजिक अभियानमा युवा शक्तिको प्रयोग गर्नुपर्छ । असल शिक्षाको अभावमा हाम्रा युवा शक्ति पश्चिमीकरणतिर लागेको छ । पश्चिमी संस्कृतिलाई सर्वस्व ठानिरहेको छ । धुम्रपान र मद्यपान, दुर्व्यसनमा सरिक छन् ।
दक्ष प्रशासनिक जनशक्तिविना मुलुककोे उद्देश्य सम्भव छैन । नयाँ चुनौतीसँग मुकाबिला गर्ने प्रशासनिक जनशक्ति तयार गर्न ढिलो भयो । भौगोलिक समस्याको कारण स्वास्थ्यकर्मीलाई दुर्गम क्षेत्रमा टिकाइराख्न सकिएन जसका कारण स्वास्थ्यसेवा सञ्चालन भरपर्दो बन्न सकेन । दुर्गम क्षेत्रका अन्य सेवा हुलाक, शिक्षा, सञ्चार, कृषिसँग सम्बद्ध संगठनहरू जनशक्तिविहीन बन्नपुगे, त्यसतर्फ राज्यले चासो दिनुपर्ने भयो । स्थानीय तहमा जनप्रतिनिधिहरू खारिएका छैैनन् । सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रका संगठनहरूबीच जनशक्ति तालमेल भएन विकासको मार्ग अवरुद्ध बनेको छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया