लकडाउन : हुनेखानेलाई मस्ती, हुँदाखानेलाई सास्ती
काठमाडौं ।
कोभिड—१९ संक्रमणको जोखिमबाट जोगिन सरकारले लकडाउन गर्ने चलन विश्वव्यापी अभ्यास नै हो । लकडाउनबाट सर्वसाधारणलाई पर्ने मर्काको आकलन र राहतको वैकल्पिक उपाय नसोचिकन गरिने लकडाउन हुनेखानेलाई मस्ती छ तर हुँदाखानेले सास्ती खेप्नुपरेको छ । दैनिक मजदुरी गरेर बिहान–बेलुकाको छाक टार्दै आएका जनसमुदायको लागि लकडाउन अभिशाप नै भएको छ । विपन्न वर्गको लागि सरकारी राहतको व्यवस्था नहुँदा विचल्लीमा परेका टीठलाग्दा दृश्य र समाचारहरू सञ्चारमाध्यममा बग्रेल्ती छाएका छन् ।
सरकारले अहिले स्मार्ट लकडाउनका नाममा आवश्यकताअनुसार संवेदनशील क्षेत्र पहिचान गर्दै क्रमशः खोल्दै जाने नीति लिएको छ । लकडाउन पूर्णरूपमा खोल्नका लागि संक्रमणदर ५ प्रतिशतभन्दा कम रहनुपर्ने सीसीएमसीका कार्यकारी अधिकृत बालानन्द शर्माको भनाइ छ । अहिले नेपालको संक्रमणदर २५ देखि ३० प्रतिशतको हाराहारीमा छ । अर्कोतर्फ नयाँ म्युटेन्टसहितको घातक कोरोनाको दोस्रो लहर आउने विज्ञको चेतावनीले झन् त्रास थपिएको छ । पर्याप्त खोपको व्यवस्था नभएको हाम्रोजस्तो देशमा लकडाउनको पूर्णतः अन्त्य तत्काल हुने छाँट देखिँदैन । त्यसकारण सरकारले जीवन र जीविका धरापमा परेका सर्वसाधरणलाई राहत पुग्ने विविध प्याकेजहरूको व्यवस्था गरेर अभिभावकीय भूमिका निर्वाह गर्न पछि पर्नुहुन्न ।
कोरोना भाइरसको नयाँ भेरियन्टको दोस्रो लहरले जनजीवनलाई अक्रान्त बनाउँदै छ । । कोरोना कहरले मानव दिनचर्यालाई अस्तव्यस्त बनाउँदै लगेको जगजाहेर नै छ । कोरोना आक्रमणबाट धनी गरिब, ठूलो सानो, शक्तिशाली निमुखा, महिला पुरुष, जातजाति, भौगोलिक अवस्थिति आदिमा विभेद नगरी आक्रमण गरिराखेको छ । विश्वव्यापीरूपमा आइलागेको यस महासंकटले सर्वत्र अस्तव्यस्त र अन्यौलता छाएको छ । अदृश्य काल बनेर अहिले कोरोना विश्वभर घुम्दै छ । चिकित्सा क्षेत्रमा मानवले गरेको वैज्ञानिक चमत्कारलाई समेत बहुरूपी कोरोना चुनौती बन्दै गएको छ ।
सर्वत्र संक्रमणको त्राहीमाम छाइराखेको अवस्थामा केही मतिभ्रष्टहरू व्यक्तिगत लाभका लागि कमिशन र कालोबजारीमा कमाउन र रमाउन तल्लीन देखिएका छन् । औषधिलगायतका स्वास्थ्य सामग्री खरिद, अस्पतालहरूले प्रदान गर्दै आएका सेवाहरूमा अस्वभाविक शुल्कको असुली आदि भ्रष्टाचारजन्य गतिविधि मौलाउँदै गएको दिनप्रतिदिन सार्वजनिक हुँदै छ । घातक भाइरस आक्रमणले जनजीवन त्राहीमाम बनाएको बेलामा पनि भ्रष्टचारजस्तो अमानवीय र अनियमिततामा लिप्त जोकोहीलाई कठै मात्र भन्न सकिन्छ । यस विपत्को घडीमा जनतालाई सहयोग गरेर मानवीयता देखाउन नसक्ने भ्रष्टचारीहरू कोरोना भाइरसभन्दा खतरनाक असमाजिक तत्व हुन् ।
कोरोना लकडाउनको दुरूपयोग गर्दै गलत बाटोबाट कालोबजारी गरेर फाइदा लिने तत्वहरको लागि अहिले चिठ्ठा परेको छ । कोरोना कहरको चपेटामा परेका व्यक्तिहरूलाई सहयोग गर्नेको कमी नभए पनि अनेक तिकड्म रच्दै संकटमा सम्पत्ति थुपार्नेहरूको जमातको कमी पनि समाजमा छैन । मास्क, औषधि, खाद्यवस्तुहरूमा कृत्रिम अभाव बनाएर अत्यधिक मूल्यमा बिक्री गर्नेहरू सलबलाएका छन् । यस कुकृत्यमा लाग्ने केही कारबाहीको दायरामा आए पनि स्थितिमा सुधार आएको छैन ।
मानव सभ्यता र समाजलाई तहसनहस पार्नेगरी दिनानुदिन फैलिदै गएको अदृश्य शत्रु कोरोनालाई परास्त पार्ने ठोस उपाय र औषधि अहिलेसम्म पत्ता लाग्न सकेको छैन । खोपको विकास भए पनि नयाँ नयाँ भेरियन्टमा रूपान्तरित कोरोनाले मानव जीवन खोस्दै छ । नेपाल, भारत, ब्राजिललगायतका देशहरूमा यसको प्रकोप झन् डरलाग्दो हुँदै गएको छ । कोरोना संक्रमितको संख्या दिनप्रति दिन थपिँदै छ । स्वास्थ्य सामग्री तथा औषधिहरूको अनिकाल बढ्दै गएको छ । दैनिक उपभोग्य सामग्रीहरूको अभाव पनि विस्तारै खटकिंदै छ । कोरोना संक्रमणको दुश्चक्रीय साङ्लो तोड्न लकडाउन नै रोकथामको अहिलेसम्मको उत्तम उपाय ठहरिएको छ ।
आपूर्ति व्यवस्था सहज नभएको कारणबाट खासगरी दैनिक काम गरेर बिहानबेलुकी छाक टार्ने विपन्न परिवारलाई लकडाउनले नराम्रोसँग अस्तव्यस्त बनाएको जगजाहेर छ । विपन्न, सुकुम्बासी, दैनिक ज्यालादारी, साना व्यवसायीलगायतका निम्न आय वर्गका परिवारलाई लकडाउनको निरन्तरताले कोरोना भाइरसको त्रासलेभन्दा बढी भोकले पिरोलेको छ । यस वर्ग रोग र भोक दुवै शत्रुको सामना गर्न विवश छन् । आफ्ना अबोध बालबाच्चाको भोक मेटाउन झिनो आस गरेका सरकारी राहत प्राप्तिमा नागरिकता, सिफारिस आदिको अनेकौँ झमेलाले टाठाबाठालाई फाइदा पुग्ने देखिन्छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विपन्न ८० करोड जनतालाई आगामी तिहारसम्म निःशुल्क खाद्यवस्तु वितरण गर्ने घोषणा गरेका छन् । तर नेपाल सरकारले विपन्न जनताका लागि त्यस्तो ठोस कार्यक्रम ल्याउन सकेको छैन ।
नेपालमा कोरोना परीक्षणको पर्याप्त प्रयोगशालाहरू नभएकोले संक्रमणको खास स्थिति पत्ता लागेको छैन । घरमा आगो लागेपछि इनार खन्ने प्रवृत्तिको कारण कोरोना पहिचान र उपचार समयमा नहुँदा ठूलो विपत्तिको जोखिम उत्तिकै छ । विगतमा चीनबाट ठेकेदारमार्फत ल्याइएको चिकित्सकको सुरक्षाको लागि आवश्यक पीपीई तथा कोरोना भाइरस परीक्षण किटमा गुणस्तर र भ्रष्टाचार बारेको बहस चुल्लिएको थियो । यस्तो राष्ट्रिय शंकट र जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने संवेदनशील विषयमा भ्रष्टाचारजस्तो गम्भीर प्रश्न उठ्नु निन्दनीय छ । महामारीको रूपमा फैलिएको कोरोना भाइरसभन्दा पनि मानवताविरोधी यस्ता प्रकृतिका भ्रष्टाचारको खतरा डरलाग्दो हो । महामारी संकटबाट अक्रान्त देश र जनतालाई यो वा त्यो बहनाबाट लुट्ने यस्ता भाइरसहरूको उपचार बेलैमा गर्न सरकार चुक्नुहुन्न ।
कोरोनाविरुद्धको लडाइ प्रभावकारी बनाउन सरकार र सरोकार पक्ष चनाखो हुनुपर्दछ । बुद्धिमान् देखेर र मुर्ख परेर चेत्छ भनेझैं हामीले पनि अरुको अवस्थाबाट सिकेर बेलैमा कोरोनाविरुद्धको मार्गचित्र बनाएर नै रोकथामको उपाय अवलम्बन गर्न विलम्ब गर्नु हुँदैन । विश्वका कतिपय देशहरूले कोरोना संक्रमणलाई गम्भीरतापूर्वक लिएर आवश्यक पूर्वतयारी गरेर कोरोना संक्रमणको गतिलाई निस्तेज पार्न सफल भएका छन् । वर्तमानमा खोपको सीमितता तथा भाइरसको तीव्र रूपान्तरणका कारण कोरोनाको प्रभावकारी उपचार होला भन्ने शंका नै छ । रोग लागेपछिको उपचारमा ढुक्क हुने अवस्था नहुन्जेल रोकथामका उपायको अबलम्बन नै उत्तम उपाय ठहर्छ ।
अहिलेसम्मको अध्ययन र अनुभवबाट कोरोना संक्रमितमध्ये २ देखि ३ प्रतिशतको मात्र मृत्यु हुने देखिए पनि संक्रिमितमा नयाँ–नयाँ जटिल रोगहरू देखिँदै छन् । पछिल्लो समय कालो ढुसी नामक रोगको संक्रमणले भारतमा थप आतंक फैलाउँदै छ । खासगरी कोरानाको कारण रोग प्रतिरोधात्म क्षमता कम भएका र तंग्रिंदै गरेका बिरामी यसका सिकार भएका छन् । अप्रत्यासित देखिएको यस रोगको उपचारका औषधि पर्याप्त पाउन सकेको अवस्था छैन् । स्वास्थ्यकर्मीको भनाइअनुसार यसको उपचारभन्दा पनि रोकथामका उपायहरू प्रभावकारीरूपमा अवलम्बन गर्नुको विकल्प छैन । रोगको लक्षण र सर्ने माध्यम तथा बच्ने उपायहरूबारे व्यापक जनचेतनाको खाँचो टड्कारो देखिन्छ । मानिसले आफ्नो बानीबेहोरा र आहारविहार स्वस्थकर बनाएमा कोरोना भाइरस संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीको सुझावलाई आत्मसात गर्नेतर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ ।
जनसम्पर्कबाट सहजै सर्ने यस भाइरसबाट बच्ने उपाय भनेकै मानव जमघटलाई बन्देज वा कम गर्नु नै हो । अहिले देशमा लकडाउन चलेको छ । साथै सभासम्मेलनलगायतका भीडभाडजन्य कार्यक्रम नगर्न नगराउन सरकारले अपिल गरेको छ । तथापि सर्वसाधारणको जमघट र बेफिक्री चहलपहल हेर्दा थप कडाइको खाँचो देखिन्छ । सरकारी निकायको आदेश, निर्देश र अपिलका कागजी झटारोले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्ने छैन ।
कोरोनाविरुद्धको भाषण र आश्वासनभन्दा एक्सन अहिलेको आवश्यकता हो । लकडाउनलाई अनुशासित बनाउन, आपूर्ति व्यवस्थालाई भरपर्दो बनाउन तथा अनियमितताहरूलाई निर्ममतापूर्वक नियन्त्रण गर्न अन्य देशहरूको जस्तै आवश्यकताअनुसार स्वास्थ्य आपतकाल लगाउन पछि हट्नु हुन्न । विपत्तिमा नियमकानुनको खिल्ली उडाउँदै देश र जनतालाई लुट्ने जो कोही भ्रष्टाचारीलाई निर्मम कारबाही गर्न सरकारले साहास देखाउने बेला आएको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया