Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगऔद्योगिक समूहमा कोभिड–१९ को असर

औद्योगिक समूहमा कोभिड–१९ को असर


काठमाडौं । महामारीजन्य कोभिड–१९ को कारण मानव जीवनका हरेक क्षेत्रमा ऋणात्मक असर पर्नगई प्रतिकूल परिस्थितिको जन्म भएको तथ्यसँग हामी अनभिज्ञ रहेका छैनौँ । यसका बाबजुद पनि मुलुकको आर्थिक पक्षलगायतका नागरिक समाजको दैनिकीलाई सुचारु गर्ने क्रममा मानव मात्रले सम्बद्ध समूहको शैक्षिक योग्यता, दक्षता र सीपको अभिवृद्धि गर्दै सोहीअनुरूपको सेवा व्यवसायमा आबद्ध रहँदै हरेक समूहविशेषले राष्ट्र एवं आफ्नो व्यक्तिगत पारिवारिक जीम्मेवारीलाई अत्यन्त कुशलतापूर्वक निभाउन आवश्यक पर्ने अनेकन विधिहरूलाई अपनाउँदै असहज परिस्थितिमा पनि सहजीकरणको प्रयास गर्दै आएका छन् ।

जसका लागि अन्य सेवा–समूहको साथै सरकारी एवं निजी तहमा खुलेका औद्योगिक प्रतिष्ठानमा एक्काइसौँ शताब्दीको प्रविधिमैत्री व्यवहारअनुरूपको आवश्यक पर्ने उच्च प्रविधिको समुचित विकास हालसम्म पनि हुन नसकेकै कारण उत्पादकत्व अभिवृद्धिका लागि श्रमशक्तिमा निर्भर रहँदै व्यावासायिक यात्रालाई क्रमशः सुचारु गर्नुपर्ने बाध्यतात्मक परिस्थितिको निर्माण भएको वर्तमान अवस्था हो ।

सामान्यतया उत्पादकत्वमा अभिवृद्धि हुनु भनेको प्रतिष्ठानमा रहेका श्रमशक्तिको सीप तथा दक्षता वृद्धि हुनुसरहको अवस्था हो । गुणस्तरहीन श्रमशक्तिले कुनै पनि हालतमा उच्च औद्योगिक प्रतिफल हासिल गर्न नसक्ने ठोकुवा गर्न सकिन्छ । तसर्थ उच्च उत्पादनयुक्त प्रतिफल प्राप्तिको चाहना राख्ने हरेक औद्योगिक समूहरूले राष्ट्रको आवश्यकता एवं जनमानसको चाहनाअनुरूपको वस्तु तथा सेवा उत्पादन गर्ने स्रोत तथा सोचको आवश्यक मूल्यांकन गर्दै सोही प्रविधिमा आधारित दक्ष जनशक्ति निर्माणको प्रक्रियालाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्नुपर्ने हुन्छ ।

प्रस्तुत प्रविधिको उपयोगमा नेपाल पनि अछुतो रहन हुँदैन भन्ने औद्योगिक मुलमन्त्रलाई व्यवहारमा उतार्ने चेष्टा गर्ने हो भने सफलता प्राप्त नहुने भन्ने प्रश्न नै उठ्दैन  । तदुपरान्त उत्पादनको सिलसिलामा आवश्यक पर्ने पुँजी, श्रम, स्रोत, साधन र सम्भाव्यताको अध्ययन, सरक्षण र सदुपयोग गरी उचित प्रतिफलको सम्भावनालाई मूर्तरूप दिने अवस्था प्रारम्भ हुने देखिन्छ । जसको मुख्य उद्देश्य भनेको मुलुकको आयातजन्य अर्थव्यवस्थालाई क्रमशः रूपान्तरण गर्दै निर्यातजन्य वस्तु उत्पादनको प्रविधि विकासलाई समयसापेक्ष उत्पानशीलतातर्फ अग्रसर गराउनु हो ।

उपरोक्त तथ्यगत व्यवहारको न्यूनताको कारण राष्ट्रको आर्थिक विकासको क्षेत्रमा औद्योगिक समूहको भूमिका विश्वका अन्य सफल औद्योगिक राष्ट्रको तुलनामा पछाडि पर्नगएको मात्र हो । भर्खर–भर्खर मात्रै औद्योगिकीकरणतर्फ सकारात्मक पाइलो चाल्ने प्रयास गरेको नेपालले कोभिड–१९ को ऋणात्मक प्रभावका कारण विगत वर्षदेखि घाटा व्यवस्थापनको सामना गर्नुपरेकोे तितो यथार्थलाई हामी कसैले पनि भुल्न सक्दैनौ ।

एकातिर हरेक श्रम विशेषको दैनिकीमा कुनै प्रकारको अभाव एवं अवरोध सिर्जना नहोस् र भोको बस्न नपरोस् भन्नाको खातिर रोजगारदाता समूहमा अतिरिक्त नैतिक दायित्व बहन गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने, अर्कोतर्फ बैंकिङ कर्जालगायतका विषयगत विधाहरूमा राज्यको उचित ध्यान पुग्न नसकेकै कारण कोभिड–१९ जन्य असरका कारण मुलुकका औद्योगिक प्रतिष्ठान दिनप्रतिदिन धराशायी बन्नसक्ने देखिन्छ ।

कतिपय साना तथा मझौला उद्योगको अवस्था रुग्ण हुँदै जानुको साथै त्यसमा आबद्ध श्रमशक्तिको रोजगार गुम्ने परिस्थितिको निर्माणले औद्योगिक समूहलाई उचित संरक्षण एवं सम्बर्द्धन प्रदान गर्दै टाट उल्टिन सक्ने भयावह परिस्थितिबाट पृथक राख्नुपर्ने हुन्छ ।

कोभिड–१९ को पहिलो लहरको तुलनामा दोस्रो लहरमा मानव क्षति अधिक भएको र त्यसमा पनि १९ वर्षदेखि ४० वर्ष उमेरसमूहका युवाहरू अन्य उमेरसमूहको दाँजोमा अत्यधिक मात्रामा प्रभावित भएको देख्न सकिन्छ । यी समूह भनेका निश्चित रूपमा काम गर्न योग्य दक्ष सीपले भरिपूर्ण युवा जमात नै हुन् भन्दा हामी कसैको पनि दुईमत हुन सक्दैन ।

एकातिर आधुनिक प्रविधियुक्त मेसिनहरू पूर्णरूपमा मुलुकमा भित्रिनसकेको अवस्था तथा अर्कोतर्फ मानवपुँजीको रूपमा रहेको श्रमिक जनस्वास्थ्यको उचित व्यवस्थापन सही समयमा गर्न नसक्ने हो भने निश्चय पनि औद्योगिक समूहले घाटा व्यवस्थापनको कहालिलाग्दो अवस्थालाई नचाहँदा नचाहँदै पनि सामना गर्नुबाहेक अर्को कुनै भरपर्दो वैकल्पिक व्यवस्थापन हुन सक्दैन भन्दा फरक नपर्ला ।

त्यसो भएको हुँदा मानवपुँजीको जनस्वास्थ्यसँग प्रत्यक्ष साक्षत्कार रहँदै उक्त समूहमा पर्नसक्ने सम्भावित कोभिड–१९ को उच्च जोखिमको खतरा न्यूनीकरणको लागि भरपर्दो उपायको रूपमा नेपाललगायत विश्व जनसमुदायले प्रयोगमा ल्याएको खोपको आवश्यक पहुँच वृद्धि गर्दै श्रम एवं उत्पादकत्व वृद्धिमा गर्ने कार्यमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने परिस्थितिको निर्माणले यस क्षेत्रमा धेरै नै सफलता हासिल गर्न सकिनेछ ।

खोपको महता अन्य क्षेत्रमा जस्तै औद्योगिक समूहमा पनि रहेको हुँदा यसको अभावमा श्रमिकलाई कुनै पनि हालतमा रोजगारीको क्षेत्रमा समाहित गर्न नसकिने अवस्था प्रारम्भ भइसकेको छ भन्दा फरक नपर्ला । यसप्रकारको व्यवहारको विकास दैनिकरूपमा वृद्धि हुने प्रबल सम्भावना रहेकोले स्वदेशी एवं वैदेशिक रोजगारीको क्षेत्रमा उच्चस्तरको बेरोजगारीको दर बढ्ने खतरालाई ध्यानमा राखी सतर्कतापूर्वक समस्या समाधानका लागि कार्य गर्नु श्रम–व्यावसायिकमैत्री कार्य मान्न सकिन्छ ।

महामारीको चपेटामा उब्जेको बेरोजगारीको उग्रताले श्रम समूहको औद्योगिक अनुशासनलाई पनि केही हदसम्म प्रभावित पार्नसक्ने हुँदा जसको ऋणात्मक असर अन्नत औद्योगिक उत्पादकत्वमा समेत पर्नसक्ने तथ्यगत विशेषतालाई कुनै पनि हालतमा नजरअन्दाज मिल्दैन । जटिलताका कारण सिर्जित प्रस्तुत समस्या निराकरणका लागि औद्योगिक समूहका छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ तथा साना तथा मझौला औद्योगिक समूहको हक–हितका लागि प्रतिबद्ध रहने समूह विशेषले आवश्यक व्यवस्थापनलाई प्रमुख प्राथमिकतामा राखी कार्य गर्नुपर्ने हुन्छ ।

अन्यथा तेस्रो वा चौथो लहरको डरले अन्य क्षेत्रलाई जस्तै औद्योगिक समूहलाई पनि नराम्ररी प्रभाव पार्नसक्ने हुँदा सम्भावित जोखिमको कहरलाई मध्यनजरमा राखी औद्योगिक सुरक्षाका अतिरिक्त स्वास्थ्य सुरक्षाका अब्बल उपायलाई अवलम्बन गर्नुपर्ने हुन्छ । जसले सम्बद्ध क्षेत्रलाई धराशायी हुनबाट बचाउन मदत पु-याउनेछ । किनकि श्रमको प्रतिफल उत्पादनशीलता नापिने गर्दछ । यदि सन्त्रासका कारण न्यून संख्यामा मानवपुँजीको उपस्थिति रहन्छ भने निश्चितरूपमा आशलाग्दो उत्पादकत्वको परिकल्पना गर्न सकिँदैन । जसले औद्योगिक सीप, जाँगर र प्रतिफलमा ऋणात्मक असर गर्दै श्रमको मिहिनेत एवं उद्योगीको पुँजीलाई डुबाउने अवस्था तयार गर्नेछ ।

स्वास्थ्य सुरक्षाका विविध उपायलाई अवलम्बन गर्दै सफल औद्योगिक वातावरण तयार गर्नु श्रममैत्री सुरक्षा अवधारणा समेत हो । जसले श्रमिकको जीवनस्तरमा उल्लेखनीय सुधार गर्दै लगानीयोग्य वातावरण तयार गर्नुको साथै आधुनिक प्रविधिमा आधारित प्रविधि विकासको क्षेत्रमा ठूलो फड्को मार्न सहयोगीको भूमिका निर्वाह गर्नेछ  । जसको सफल प्रयोगले मात्र श्रमको उत्पादकत्व क्षमतामा वृद्धि गर्दै समग्र मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउँदै कोभिडको जोखिमलाई न्यून गर्न सक्दो सहयोग गर्नेछ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x