Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगरोस्टोको आर्थिक वृद्धिको चरणसम्बन्धी विकासको सिद्धान्त—एक विवेचना

रोस्टोको आर्थिक वृद्धिको चरणसम्बन्धी विकासको सिद्धान्त—एक विवेचना


काठमाडौं ।
प्रत्येक देशले विकासको चरम सीमा पुग्नुअघि अनेक चरणहरू पार गर्नुपर्दछ । आजको विकसित अर्थव्यवस्था पनि एक समयमा अविकसित थियो । यो विकासका अनेक चरण पार गरेर आजको विकसित अवस्थामा आइपुगेको हो । आर्थिक विकासको क्रममा विभिन्न राष्ट्रहरू विभिन्न अवस्थामा हुँदै पूर्ण रूपमा पुगेका हुन्छन् । एक अवस्थामा रहेको आर्थिक स्थितिबाट अर्को अवस्थामा पुग्न त्यस अवस्थाको पूर्णतया मूल्यांकन नभई त्रुटिहरूको निराकरण गर्दै नवीन नीति र नियमलाई अवलम्बन गरिएको हुन्छ । आर्थिक विकासको अवस्थालाई बुझ्न पहिलेको स्थितिसँग तुलना गरिन्छ ।

अमेरिकी अर्थशास्त्री डब्लु रोष्टोले आर्थिक वृद्धिका चरणसम्बन्धी सबभन्दा बढी वैज्ञानिक तथा तर्कपूर्ण विश्लेषण प्रस्तुत गरेका छन् । रोष्टोले ऐतिहासिक आधारमा कसरी एक देश अविकसित अवस्थाबाट विकसित अर्थ व्यवस्थामा परिवर्तन हुन्छ भन्ने कुरा देखाएका छन् । रोष्टोले सन् १९६० मा लेखेर एउटा मार्क्सवादी आर्थिक विकासको चिन्तनलाई चुनौती दिए । उनको यस आर्थिक विकाससम्बन्धी खुड्किलाका सिद्धान्तलाई गैरसाम्यवादी मेनिफेष्टो पनि भनिएको छ । रोष्टोको यो सिद्धान्त पश्चिमी पुँजीवादी मुलुकहरूले निकै रुचाए र यसैको आधारमा उनीहरूले आफ्नो देशको आर्थिक विकासका विभिन्न खुड्किलाहरू पहिचान गर्दै आएको पाइन्छ ।

रोस्टोवे विगतको विकासको ऐतिहासिक सन्दर्भलाई गहन अध्ययन गरेर विभिन्न आर्थिक, सामाजिक रूपान्तरणमा विश्वमा देखा परेका विकासक्रमका फरक सन्दर्भ तथा परिवर्तनका आधारमा विभिन्न पाँच भागमा विभाजन गरी व्याख्या समेत गरेका छन् । तिथी मिति समेत उल्लेख गरी आर्थिक विकासका खुड्किलाहरूलाई प्रस्ट रूपमा उल्लेख गर्न सक्नु रोस्टोको आर्थिक वृद्धिको सिद्धान्तको प्रमुख विशेषता हो ।

विकासको ऐतिहासिक कालक्रमलाई अन्य अर्थशास्त्रीहरूले रोस्टोले जस्तो वैज्ञानिक तरिकाले विभाजन गर्न नसकेको परिप्रेक्ष्यमा आर्थिक विकासमा गैरआर्थिक तत्वहरू जस्तै सांगठकी, सामाजिक, वैज्ञानिक, राजनीतिक पक्षहरू पनि जिम्मेवार रहने कुरालाई महत्वका साथ अगाडि ल्याउन सक्नुले रोस्टोको सिद्धान्तलाई अझ माथि उठाएको देखिन आउँछले विकास सिद्धान्तमा सामाजिक र संस्थागत तत्वहरू समावेश गरी आर्थिक विकासमा सामाजिक प्रवृत्तिहरूलाई केलाउने प्रयास गरेका छन् ।

त्यस्ता तत्वहरूमा– (१) प्रारम्भिक विज्ञानको विकास गर्ने प्रवृत्ति, (२) आर्थिक उद्देश्य प्राप्त गर्न विज्ञानको प्रयोग गर्ने प्रवृत्ति, (३) आविष्कारलाई स्वीकार गर्ने प्रवृत्ति, (४) भौतिक उन्नति प्राप्त गर्ने प्रवृत्ति, (५) उपभोग प्रवृत्ति र (६) सन्तान पैदा गर्ने प्रवृत्ति आदि रहेका छन् । यी प्रवृत्तिहरू समाजको अवस्था आकांक्षा र उद्देश्यमा भर पर्दछन् भने यी सबै कुराहरू विगतको राजनीतिक, आर्थिक र समाजिक कारणहरूले निर्धारण गर्दछन् ।

डब्लूडब्लू रोष्टोले आर्थिक विकासको प्रक्रियाअन्तर्गत एक क्षेत्रमा भएको प्रगतिले अर्को क्षेत्रलाई कसरी प्रभावित गर्छ र सम्पूर्ण अर्थव्यवस्थामा कसरी फैलन्छ भनी देखाउन ती क्षेत्रहरूलाई तीन वर्गमा विभाजन गरेका छन्– (१) प्राथमिक वृद्धि क्षेत्र (२) परिपूरक विकास क्षेत्र र (३) व्युत्पन्न क्षेत्र । प्राथमिक वृद्धि क्षेत्रमा आविष्कारको अवसर अथवा नयाँ नाफाजन्य वा अपरिचालित स्रोतको परिचालनमा वृद्धि दर अर्थव्यवस्थाको औसत दरभन्दा बढी हुन्छ । परिपूरक क्षेत्र अन्तर्गत प्राथमिक क्षेत्रको दु्रत विकासमा आवश्यक तत्वहरूको विकास हुन्छ । व्युत्पन्न क्षेत्र अन्तर्गत कूल वास्तविक आय जनसंख्या, औद्योगिक उत्पन्न हुन्छ । प्रो. रोष्टोवले आर्थिक वृद्धि अथवा विकास प्रक्रियालाई निम्न पाँच अवस्थाहरू बताएका छन्–
(१) परम्परागत समाज (२) आत्मस्फूर्तिबाट पूर्वको स्थिति (३) आत्म स्फूर्ति (४) परिपक्वता (५) अत्यधिक उपभोगको अवस्था

(१) परम्परागत समाजको अवस्था : परम्परागत समाजको अवस्थामा कृषिको प्रधानता हुन्छ । समाजको सम्पूर्ण साधन र स्रोतको अधिकांश भाग कृषि क्षेत्रमा नै लगानी गरिन्छ । समाजमा अन्य विकास हुने हुँदा कृषि पेसामा पनि नवीन तरिकालाई नअपनाई रुढीवादी व्यवस्थालाई नै प्रयोगमा ल्याउने चलन चलिरहेको हुन्छ ।

प्रायः सबै आर्थिक तथा सामाजिक कार्यहरू पुरानो तरिकाद्वारा नै सञ्चालन गरिन्छन् । फलस्वरूप उत्पादन र आय ज्यादै कम हुन्छ । विकासको यो अवस्था कुनै पनि देशको आर्थिक विकासको प्रारम्भिक विमान स्थिति सित सम्बन्धित छ । रोष्टोले परम्परागत समाजबारेमा प्रस्ट पार्न न्यूटनको उदय हुनुभन्दा पहिलाको विज्ञान तथा प्रविधिको अवस्था र न्यूटनको वैज्ञानिक विचारधारापछि विज्ञान तथा प्रविधिको क्षेत्रमा देखा परेको परिवर्तनलाई मूल आधार बनाएका छन् ।

प्रो. रोष्टोवको शब्दमा ‘परम्परागत समाजको तात्पर्य एक यस्तो समाजसित छ, जसको ढाचा सीमित उत्पादन कार्यकलापअन्तर्गत न्यूटनपूर्वको विज्ञान, प्रविधि तथा भौतिक संसारको स्थितिको आधारमा विकसित भएको होस् ।’ परम्परागत समाजको कथा होइन, वल्कि त्यस्तो समाजको व्यापारको स्तर र ढाँचा, कृषि उत्पादन र उत्पादकता, उपभोग, जनसंख्या तथा वास्तविक आय आदि यी सबैमा परिवर्तन भइरहन्छ । परम्परागत समाजको चरणमा विज्ञान र प्रविधिको स्तर धेरै तल रहेको हुन्छ । उत्पादन तथा उत्पादकत्व निम्नस्तरमा रहेको हुन्छ । ७५ प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा लागेका हुन्छन् ।

कृषि राष्ट्रिय आय तथा जमिन्दारहरूको आयको प्रमुख स्रोत हुन्छ । यस्ता समाजमा व्यक्ति–व्यक्तिबीच धन र आयको असमान वितरण हुने गरेको सामाजिक परिवर्तनप्रति जनचासो ज्यादै न्यून रहेको र राजनीतिक शक्ति पनि केही सम्भ्रान्त वर्गहरूमा सीमित हुने गरेको हुन्छ । परम्परामा आधारित समाजमा उत्पादन सीमित हुन्छ । यस्तो समाजमा राजनीतिक अधिकार उपयोगको विकास कम हुनाको कारणले भूमिपतिमा सीमित रहेको हुन्छ । भूमिपतिहरूले नै भूमिबाट प्राप्त आम्दानीको उपयोग गर्ने भएकोले आर्थिक शक्ति स्वभावैले यी व्यक्तिहरूमा नै केन्द्रित हुन जान्छ । विकास नै हुँदैन भन्ने होइन । कृषि, उपयोग तथा निर्माण कार्यहरू पनि विकास भइरहेका हुन्छन् ।

नयाँ–नयाँ भूमिहरू आवाद गरिन्छन् । उत्पादनको बनावट परिवर्तन हुनसक्छ । आन्तरिक र बाह्य व्यापारको आयतनमा परिवर्तन हुनसक्छ । जनसंख्या बढ्न वा घट्न सक्छ । मूलभूत रूपमा यस्तो समाजमा प्रतिव्यक्ति उपलब्ध हुनसक्ने उत्पादन सीमित हुन्छ । उत्पादन समताको सीमितताले गर्दा उत्पादनशील स्रोतको अधिकांश आय कृषिमा लगाइन्छ ।

यस्तो समाजमा विशेषगरी संयुक्त परिवार, गतिशीलता नहुनु, भुमात्मक प्रवृतिको साथै राजनैतिक शक्ति भूस्वामीहरूको हातमा केन्द्रित रहेको हुन्छ । सामाजिक संगठनमा जातीय र पारिवारिक सम्बन्धहरूको महत्वपूर्ण स्थान रहेको हुन्छ । विभिन्न वर्गका व्यक्तिहरूको भविष्य तिनीहरूको पूर्वज, माता–पिता तथा अभिभावकहरूको आर्थिक र सामाजिक स्थितिबाट बाँधेको हुन्छ । सामाजिक मूल्यहरूको सीमित महत्व प्राप्त हुन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x