आन्तरिक पर्यटन विकासको आवश्यकता
काठमाडौं । कोभिड–१९ को महामारीको कारण आज बाह्य पर्यटन धराशायी बनेकोले आन्तरिक पर्यटनलाई बढावा दिन आवश्यक छ । कोरोनाको अन्त्य हुने निश्चित नभएकोले अब यहँका युवायुवतीहरूले विदेश होइन स्वदेश घुम्न लालयित हुनु जरुरी छ । यस्तो भएमा आन्तरिक पर्यटन चलायमान भई नेपाली अर्थतन्त्रमा परिणाममुखी परिवर्तन आउनेछ । परन्तुः यसका लागि सबै व्यक्तिहरू आकृष्ट हुनुपरेको छ ।
वस्तुतः नेपाल एक खुला विश्व विद्यालय नै हो जहाँ पहाड, झर्ना, तालतलैया, गुफा, सामाजिक रहनसहन र विविध जनजातिका आ–आफ्नै परम्पराहरू छन् । यिनीहरूको अध्ययन र अनुसन्धान गर्न जरुरी छ । यस्तो अध्ययनलाई कल्चरल डिप्लोम्यासी भनिन्छ । जसको प्रवर्द्धन गर्न आवश्यक छ । कोरोना महामारीको यो कठिन परिस्थितिमा उक्त डिप्लोम्यासीले महत्वपूर्ण भूमिका खेल्न सक्छ । वास्तवमा नेपाल एकीकरणका अभियन्ता पृथ्वी नारायण शाहले सोही डिप्लोम्यासी उपयोग गरी टुक्रिएको नेपाललाई एकीकरण गर्न सफल भएका थिए ।
यथार्थतः आज विश्वभरि जातीय पहिचानको कुरा उठिरहेको बेला पर्यटनको माध्यमबाट पनि आ–आफ्ना सांस्कृतिक पहिचान गराउन सकिन्छ । सदैव हात बाँधेर बस्यौँ भने मुख र पेट पनि बन्द गर्ने अवस्था आउन सक्छ । त्यसैले अब कोभिड–१९ सँगै सम्पूर्ण पुरुष तथा महिला पनि गतिशील हुनुको विकल्प छैन । केही वर्षयता आन्तरिक पर्यटनको महत्व दिन प्रतिदिन बढिरहेको छ । वास्तवमा नेपालमा विविध धार्मिक, सामाजिक र सांस्कृतिक परम्परा हुनाले यही विविधता हेर्नका लागि पर्यटकहरू आकृष्ट हुन्छन् ।
आज पश्चिमा देशहरूमा इको–टुरिजम र कल्चरल डिल्लोम्यासीसम्बन्धी धेरै काम भएका छन् । पर्यटकहरूले अनलाइन र इन्टरनेटको माध्यमबाट आफूले पुगेका देश र स्थानको बारेमा प्रचारप्रसार गरिरहेका छन् । यसबाट धेरै व्यक्ति लाभान्वित भएका छन् ।
वास्तवमा एडमण्ड हिलारी र तेन्जिङ शेर्पाले सगरमाथा चढेपछि मात्र नेपालका हिमालहरूको धेरै प्रचारप्रसार भयो । फलतः यो देशलाई विश्वले चिन्न थाले । विगतमा जति विदेशीहरू नेपाल घुम्न आए उनीहरूले नेपालको बारेमा धेरैलाई जानकारी गराए ।
वर्तमान समयमा विश्वका धेरै मानिसहरू सहरभन्दा गाउँ बढी घुम्न चाहन्छन् । कोभिड–१९ को कारणले आज धेरैजसो मानिसलाई सहर वाक्क लाग्न थालेको छ । त्यसैले वर्तमान समयमा ग्रामीण क्षेत्रको महत्व दिन प्रतिदिन बढिरहेको छ । मानव स्वभावले नै प्रकृतिको नजिक रहेर जिउन चाहन्छ । त्यसैले ऊ सहर होइन हिमाल, पहाड, नदीनाला, तालतलैया, सिमसार र ग्रामीण जीवनमा बाँचेका मानिसहरूका रहस्यमय जिन्दगीको बारेमा अनुघुलित हुन सिकाउँछ ।
धेरैजसो नेपालीहरू आफूलाई प्राकृतिक रूपमा सम्पन्न ठान्छन् । परन्तु यहाँ उभिरहेको सगरमाथा र सुतिहेको तराई हेर्न मात्र पहिलाजस्तो धेरै पर्यटक आउँदैनन् । अब लुम्बिनी र सगरमाथाको विज्ञापनले मात्र विदेशी पर्यटकहरूलाई आकर्षित गर्न सक्दैन किनभने आजकाल उनीहरू केही नयाँ स्थान वा दृश्य देख्न चाहन्छन् । उनीहरूको बसाइ लम्ब्याउन सके मात्र पर्यटन उद्योगबाट फाइदा लिन सकिन्छ जसका लागि सहर केन्द्रित देवीदेवताका मन्दिरहरू मात्र पर्याप्त छैनन ।
आगामी दिनहरूमा विदेशी पर्यटकहरूलाई सहरमा होइन गाउँघरमा आकर्षित गर्न सक्नुपर्छ । अब सहरको विज्ञापन होइन गाउँको विज्ञापनमा विशेष जोड दिनुपर्छ । जसले गर्दा गाउँ नै नेपाल हो भन्ने कुरा बुझ्न सकियोस् ।
वर्तमान सरकारले पर्यटकहरूलाई गाउँ जान प्रेरित गर्नुपर्छ किनभने यहाँ बेरोजगारीका समस्या दिन प्रतिदिन बढ्दो क्रममा छ । यहाँका युवायुवतीहरूलाई खाडी मुलुकहरू जान रोक्नका लागि ग्रामीण पर्यटन र होमस्टे सञ्चालनमा सरकारले ध्यान दिनु जरुरी छ । यसो गर्न सकेमा विदेशी पर्यटकहरूले केही नयाँ अनुभूति गर्नेछन् ।
आगामी दिनहरूमा पर्यटकहरूलाई पशुपतिनाथ, स्वयम्भु र ठमेलको गल्लीमा मात्रै सीमित राख्न सकिने छैन । किनकि यो कुरा अब पुरानो भएको छ । नेपालमा घुम्न आउने धेरै पर्यटकहरू आर्थिकरूपले त्यति सम्पन्न हुँदैनन् । उनीहरू थोरै खर्च गरेर बढी अवलोकन गर्न चाहान्छन् । वास्तवमा उनीहरूको यहाँको बसाइ बढाएर बढी फाइदा लिने हो भने ग्रामीण पर्यटन र होमस्टेलाई बढी जोड दिनुपर्छ ।
वस्तुतः पर्यटकहरूका लागि काठमाण्डौं एक ट्रान्जिट प्वाइन्ट मात्र हो । वर्तमान अवस्थामा पर्यटनबाट फाइदा लिन ग्रामीण पर्यटन र होमस्टे सञ्चालका आधारशीला खडा गर्न जरुरी छ । सरकारले निजी स्तरबाट सञ्चालनमा आएको होमस्टे, रिसोर्ट र ग्रामीण क्षेत्रमा खोलिएका होटेलहरूलाई सहुलियत ऋण प्रदान गर्नुका साथै करमा समेत छुट दिएर उनीहरूका व्यापारिक मनोबल बढाउनु जरुरी छ । वर्तमान परिस्थितिमा निजी तथा साझेदारीमा खोलिएका ग्रामीण होमस्टेको विकास गर्नुपर्छ । यसो गर्नसकेमा आन्तरिक पर्यटकहरूबाट पनि धेरै आम्दानी हुन सक्छ ।
नेपालीहरूले अब विदेश होइन स्वदेश घुमेर आफ्नो राष्ट्रको आन्तरिक पर्यटनलाई मौलाउन सघाउ पु-याउनुपर्छ । उक्त पर्यटनलाई बढुवा दिनसके देशका विभिन्न ठाउँमा निजी तथा साझेदारीमा खोलिएका होमस्टेका सञ्चालकहरू बेरोजगार हुने छैनन् । योबाहेक गाउँलेहरूसँग रमाइलो गर्ने र उनीहरूको खेतबारीमा उब्जेको आर्गानिक खाना खाने गर्नाले स्थानीय संस्कृतिको आदानप्रदान भई यहाँको आर्थिक विकासमा पनि केही हुनेछ ।
कोभिड–१९ को महामारीसँगै जारी गरिएको बन्दाबन्दीले समाजका धेरै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । बन्दाबन्दीका कारण आम मानिसको जीवनमा गम्भीर समस्याहरू सिर्जना भए पनि केही सकारात्मक प्रभाव पनि देखिन थालेका छन् । धेरै व्यक्तिको दैनिकीमा आएका परिवर्तनले भ्रमण संस्कृतिको विकास हुन थालेपछि धेरै ठाउामा आन्तरिक पर्यटन फस्टाउन थालेपछि धेरै गाउँ होस् वा सहरबजार सबै ठाउँका मानिसमा फुर्सदमा घुम्न जाने बानी बन्दाबन्दीकै कारण विकास भएको देखिन्छ ।
बन्दाबन्दीपछि लेक लाग्ने, न्यूनतम पर्यटकीय पूर्वाधारको अभाव, भ्रमण सहयोगीहरूको कमी खाने बस्ने समस्याहरू रहे पनि नेपाल, भारत सीमावर्ती क्षेत्रहरूमा प्रत्येक दिन सयौं आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् जहाँ कतिपयले त आफ्नै गाडी र बन्दोबस्तीका सामग्रीहरू ल्याएर रमाइलो गर्छन् ।
वस्तुतः आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सरकारले नीतिनियमहरू नबनाएको होइन । तर यिनीहरू कार्यान्वयन गर्न नसक्नाले खासै सकारात्मक प्रभाव पर्न सकेको छैन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया