शिक्षा रोजगारीको आधारको रूपमा
काठमाडौं । मानव जीवनमा शिक्षाको ठूलो भूमिका रहेको हुन्छ । शिक्षाबाट प्राप्त सीपहरूलाई आधार बनाएर मान्छेले आफ्ना जीवनका विविध आवश्यकता पूरा गर्दछ । राष्ट्रको समृृद्धिको मार्गचित्र कोर्दछ । शिक्षा सबै प्रकारका विकासका कामहरूको मेरुदण्ड नै हो । राज्य कति सक्षम वा सबल छ भन्ने कुरा यसले के–कस्तो शैक्षिक नीतिको व्यवस्थाहरू गरेको छ भन्ने कुरामा निर्भर गर्दछ । राज्यमा सीपमूलक वा व्यावसायिक शिक्षाको ठूलै महत्व हुन्छ भन्ने कुरा विभिन्न शिक्षाविद्हरूले भन्ने गरेको पाइन्छ ।
बेला मौकामा हाम्रो शिक्षाले किन रोजगारी दिनसकेन र रोजगारीको व्यवस्था गर्न के–कस्तो शिक्षाको आवश्यकता पर्दछ भन्ने प्रश्नहरू बेला बेलामा उठ्ने गर्दछ । विदेशिन खोज्ने युवाशक्तिलाई देशभित्रै रोजगारीका सम्भावनाहरू बढाउन पनि शिक्षा क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्दछ । यस्तै कुराहरूलाई मध्यनजर राखेर नेपालमा २०२८ सालबाट नै व्यावसायिक शिक्षालाई महत्व दिएर सञ्चालन गर्ने प्रयासको थालनी भएको थियो । शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसंगतिहरू केलाउँदा नियम कानुनमा भएको अस्पस्टतालाई पनि लिन सकिन्छ । सैद्धान्तिक पाठ्य सामग्रीले सीप र व्यवहार त्यसअनुकूलको सिकाउन सकेको छ कि छैन भन्ने कुरा मूल्यांकन गर्नु आवश्यक हुन्छ ।
शैक्षिक पद्धतिको कमी कमजोरीको कारणले गर्दा शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिन नसकेको कुरा विभिन्न परीक्षाहरूमा अनुत्तीर्ण परीक्षार्थीहरूको संख्याबाट नै प्रस्ट हुन्छ । पढेपछि आफूलाई ठूलो ठान्ने र पढेका मान्छेले सानातिना काम गर्नुहुन्न भन्ने मनोवृत्तिका कारणले हाम्रा विद्यार्थीहरू परम्परागत पेसामा पनि नलाग्ने र क्षमताको राम्रो विकास नभएको कारणले राम्रो रोजगारी पनि नपाउने विडम्बनाको अवस्था छ । रोजगारीको अवस्था र आवश्यकताको सन्दर्भमा राज्यले गर्नुपर्ने दायित्व भनेको कुन–कुन ठाउँमा के–कस्ता विषयको जनशक्ति आवश्यक छ ? के–कस्ता उत्पादनहरू गर्ने हो ? त्यसका लागि कुन–कुन क्षमता भएको मानव शक्ति चाहिने हो ? त्यसको बारेमा एकमुस्ट नीति कार्यव्यवस्था र त्यसका प्रतिफल आउने निचोडसम्मका कुराहरू समेटिएको मार्गचित्र तयार गर्नुपर्दछ ।
मुलुकको बहुपक्षीय विकासको माध्यम नै शिक्षाको विकास हो र युवाहरूको रोजगारको अवसरद्वारा समग्र राष्ट्रको विकास हुन्छ र जीवनस्तरको समृृद्धि नै आर्थिक विकास हो । आर्थिक विकासद्वारा नै जनताको गाँस, बास र कपासको सन्तोषजनक व्यवस्था गर्न सकिन्छ । यही उद्देश्यका साथ सीपमूलक मानवशक्ति तयार गर्न रोजगारको क्षेत्रमा शिक्षाको विकासले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
जबसम्म रोजगारमूलक शिक्षाको विकास हुँदैन तबसम्म देश सम्बृद्ध र सदृढ बन्न सक्दैन । रोजगारमूलक शिक्षा राष्ट्रको आर्थिक विकासका लागि मेरुदण्ड हो । नागरिक जीवनका सम्पूर्ण आधारभूत आवश्यकता पूरा भएपछि मात्र राष्ट्रले उच्चस्तरीय प्राविधिक विषयमा फड्को मार्न सक्दछ । शिक्षा भनेको देशको आर्थिक विकासको पक्षमा हुनुपर्दछ । जसको माध्यमबाट विकास गरी जनता सुखी सम्पन्न अनि सभ्य समाज निर्माण गर्न सक्षम हुनेछन् । अर्थोपार्जनको माध्यम नै शिक्षाको आधार हुनुपर्दछ ।
मानवीय मूल्य आदर्शको विकास गर्नमा शिक्षाले महत्वपूर्ण भूमिका खेल्दछ । शिक्षा यस्तो गहना हो, जसले देशलाई कायापलट गर्दै विकास गर्न भूमिका खेल्दछ । शिक्षाद्वारा संसारको आर्थिक वैज्ञानिक सामाजिक उन्नति भएको पाइन्छ । प्रसिद्ध शिक्षाविद् जर्ज देवीको भनाई छ, ‘जसरी शारिरिक विकासको लागि भोजनको महत्व छ, त्यस्तै सामाजिक विकासको लागि शिक्षाको आवश्यकता पर्दछ ।’ जनतालाई सिंगो देशको विकामा प्रोत्साहन र त्यसको कार्यान्वयन गरी समाजलाई आर्थिक रूपान्तरण गर्ने कार्य शिक्षाबाट मात्र सम्भव छ । तसर्थ जनतालाई उत्पादनशील विकासतर्फ प्रेरित गरी सुखी, समृद्धि, जीवनस्तर उन्मुख गरी सम्भाव्यता प्रस्फुटित विकास गर्ने पद्धतिको शिक्षा हुनुपर्दछ ।
२००७ सालको क्रान्तिपश्चात् नेपालमा १०४ वर्षको एकतन्त्रीय जहानियाँ शासन अन्त्य भई प्रजातन्त्रको उदय भयो । शिक्षाको लहर सर्वत्र छाउँदै आयो । विभिन्न समयमा गठित आयोग, समिति आदि प्रयासमा शिक्षालाई समयपयोगी बनाउने प्रयास हुँदै आए पनि व्यवहारमा गुणात्मक रूप भने लिन सकेन । हाम्रो शिक्षा व्यावहारिक र वैज्ञानिक बन्न सकेन । शिक्षा केवल सैद्धान्तिक र भावुक मात्र भएर हुँदो रहेनछ । त्यहाँ व्यावसायिक र प्राविधिक शिक्षा पनि चाहिने रहेछ भन्ने कुरा बुझाउँछ ।
व्यावसायिक शिक्षा तथा दक्षताको विकास गर्न निम्न, मध्यम र उच्चस्तरीय योग्य जनशक्ति तयार गर्नमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास गरी सीपमूलक शिक्षाको माध्यमबाट दीर्घकालीन व्यावसायिक शिक्षातर्फ युवा पुस्तालाई प्रोत्साहन, उत्साह र आत्मवल पैदा गरी स्वदेशमै बसी काम गर्ने भावना जगाउनेतर्फ उत्प्रेरित गर्नुपर्दछ । जसबाट युवावर्ग बेरोजगार नभई रोजगार पाउने वातावरण बन्दछ । यसको लागि व्यावहारिक जीवनपयोगी व्यावसायिक, प्राविधिक शिक्षा नितान्त जरुरी छ । यस किसिमको ज्ञान सीप प्रदान गर्नसकेमा मात्र रोजगारीको वृद्धि र देश विकास हुनेछ । आजका पुस्ताले भोलिका नयाँ पुस्ताको रेखा कोर्दछन् ।
आजको प्रयासले भोलिका राष्ट्रका अब्बल दर्जाका जनशक्ति निर्माण गर्दछ । शिक्षा देशलाई चाहिने जनशक्ति उत्पादन गर्ने कारखाना हो भने यसलाई अब्बल दर्जाको बिन्दुमा पु-याउन कुशल सीपयुक्त जनशक्तिको आवश्यकता पर्दछ । जुन कुरा देशमा दिइने शिक्षाले पूर्ति गर्न सक्नुपर्दछ । हाल हाम्रा उत्पादित जनशक्ति स्वदेशमै रोजगारको अभावमा आफ्ना मुलुकको लागि नभएर अन्य सम्पन्न देशका निम्ति खपत भइरहेका छन् । तसर्थ स्वदेशमै खपत हुने प्राविधिक तथा व्यावसायिक शिक्षा दिएर विदेश पलायन हुनेतर्फ निरुत्साहित गरी स्वदेशमै आकर्षक अवसर पैदा गरी जसको माध्यमबाट देश विकास गर्नु पर्दछ ।
आज विदेशीने संस्कृतिले पिरोलिरहेको अवस्थामा कसरी नयाँ पुस्तालाई सही बाटोमा ल्याई आफ्नो देशको माटोप्रति मोह जगाउने उत्प्रेरित गराउनुपर्दछ । नयाँ पुस्ता भनिरहेको छ, स्नातक र स्नातकोत्तर गरेर पनि स्वदेशमा काम पाउन नसकेर विदेशीन परेको छ । स्वदेशको शिक्षित युवा पुस्ता किन स्वदेशमा खपत हुन सकिरहेको छैन ? प्रस्ट छ, हामीले रोजगारीमूलक प्राविधिक तथा व्यावसायिक शिक्षा दिन नसकेर । स्वदेशमै रोजगारी पाएको भए कुनै पनि युवाहरू आफ्नो जन्मभूमि छोडेर जाने रहर गर्ने थिएनन् ।
अर्कोतर्फ शालिन्दा प्रवेशिका परीक्षामा लाखौँ विद्यार्थीहरू अनुत्तीर्ण हुन्छन् । जसले उच्च शिक्षा प्राप्त गर्न सक्दैनन् । त्यस्ता विद्यार्थीलाई छुट्टै छोटो अवधिको देशको आवश्यकतासँग मिल्ने प्राविधिक शिक्षा दिनुपर्दछ । नयाँ पुस्ता आतंक, युद्ध, रोग, भोक र शोकले पीडित छ । देशमा शान्ति सुव्यवस्था कायम गुर्नपर्दछ । नयाँ पुस्ताका लागि सीपमूलक व्यावसायिक शिक्षा प्राप्त गरिसक्दा कुनै सीप उसको हातमा परोस् । यस किसिमको सुनिश्चितता प्रदान गर्नसक्ने शिक्षा नै आजको पुस्तालाई आवश्यक पर्दछ ।
नयाँ पुस्तालाई सीपयुक्त दक्ष योग्य बनाई देश विकास गर्नुपर्दछ । शिक्षालाई वैज्ञानिक सीपमूलक, व्यावहारिक नबनाउञ्जेल देश विकास गर्न सकिँदैन । शिक्षामा देश सुहाउँदो र आवश्यकताअनुसार सोचको चिन्तन जरुरत छ । नेपालजस्तो विकासन्मुख देशले शैक्षिक विकासको माध्यमबाट रोजगारीमूलक प्राविधिक शिक्षाको विकास गरी राष्ट्रको सर्वांगिण विकास गर्नुपर्दछ । यसको लागि तालिमप्राप्त अनुभवी विषयगत शिक्षकद्वारा अध्यापन गराइनुपर्छ । नयाँ पुस्ताका लागि र देश विकासका लागि मुलुकको औद्योगीकरण तीव्र तवरले विकास गर्न व्यावसायिक शिक्षा नितान्त जरुरी भइसकेको छ । व्यावसायिक शिक्षाको कुरा गर्दा नेपालमा लामो इतिहास छ । व्यावसायिक कला कौसल तथा हस्तकलाको विकास मल्ल कालमा विदेशमा समेत ख्याती कमाएको देश किन पछाडि प-यो ? गम्भीर अध्ययनको विषय छ ।
नेपालको व्यावसायिक शिक्षाको इतिहासमा वर्तमान शिक्षा उत्पादनमूलक नभई रटन्ते शिक्षा सिकाइको कारणले बेरोजगार वृद्धि र देशको विकास पछिपरेको सहश्र महसुस गरी नेपाल सरकारले हाल आएर पुनः व्यावसायिक शिक्षामा जोड दिन वातावरण मिलाएकाले ठूला घरानियाँ, व्यापारी, उद्योगपति, एनआरएन र विश्व वैंक समेत नेपालमा व्यावसायिक शिक्षामा लगानी गर्न प्रतिबद्धता देखाएकोले यसतर्फ वातावरण बनाइनुपर्छ । एनसेलजस्ता कम्पनीहरूले व्यावसायिक विषयमा प्रोत्साहन स्वरूप छात्रवृत्तिको सुरुवात गरेका छन् । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया