कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि कसरी ?
काठमाडौं ।
सम्भवतः मुलुकको कुल–जनसंख्याको लगभग ८० प्रतिशत वा सोभन्दा अधिक जनसमुदाय ग्रामीण एवं नगरोन्मुख बस्तीहरूमा रहँदै आएका छन् । तुलनात्मक रूपमा बन्द–व्यवसाय, नोकरीको अतिरिक्त कृषिजन्य पेसा व्यवसायमा समाहित गर्दै आर्थिक सम्पन्नताको आधारशीला प्राप्तिका लागि क्रियाशील रहनु सम्बद्ध समुदायको दैनिकी रहँदै आएको कटु यथार्थलाई बिर्सन मिल्दैन । आर्थिक विकासको अतुलनीय सम्भावना रहँदारहँदै पनि समष्टिगत रूपमा विकासको लक्ष्यको प्राप्तिमा न्यूनता कायम रहनु ठूलो चिन्ताको विषय हो ।
जसको प्रमुख कारक तत्वको रूपमा कृषिश्रमको न्यूनतालाई लिन सकिन्छ । अत्यधिक मिहिनेतपछि प्राप्त हुने न्यून आय नै कृषिश्रम पलायनको यथार्थपरक वास्तविकता हो । परिणामतः दैनिकरूपमा श्रमको विस्थापन रहँदै विकल्प स्वरूप वैदेशिक रोजगारलगायतका अन्य क्षेत्रतर्फको आकर्षणले थप जटिलता कायम रहनगएको पाइयो । यद्यपि नेपालजस्तो अल्पविकसित राष्ट्रको अधिकांश जनसमुदायको प्रत्यक्ष वा परोक्ष जीवन निर्वाहको प्रमुख आधार स्तम्भ भनेको कृषिक्षेत्र नै हो भन्ने कुरामा हामी कसैको पनि दुईमत रहन सक्दैन ।
तसर्थः कृषिश्रम न्यूनता पूर्तिको लागि आधुनिक प्रविधियुक्त कृषि प्रणालीको आवश्यकतालाई महसुस गरी व्यवहारमा उतार्ने प्रयास गर्ने हो भने, आर्थिक विकास र समृद्धिको प्रशस्त सम्भावनाहरू अझै पनि यस क्षेत्रमा कायमै रहेको छ । यति हुँदा हुदै पनि सन्तोषप्रद भने रहन सकेको छैन । कृषि श्रमको न्यूनता एवं परम्परागत कृषि प्रविधिको अत्यधिक निर्भरता नै उत्पादन हसको प्रतिकूलता भएकोले आशलाग्दो प्रतिफल प्राप्त गर्न असहजता उत्पन्न भएको मात्र हो ।
वर्तमान मुलुकको अन्योल्यपूर्ण कृषि अवस्थालाई चिर्दै आत्मनिर्भरयोग्य निर्यातमुखी प्रविधिमैत्री कृषि प्रणालीको विकास गर्ने सुउद्देश्यका साथ यस क्षेत्रको क्षमता, दक्षता, उत्पादन र उत्पादकत्व अभिवृद्धिको लागि समयसापेक्ष आवश्यक सुधार एवं पुनर्मूल्यांकन गरिनु जरुरी भइसकेको छ ।
हाल मुलुकले अपनाउँदै आएको परम्परागत कृषि प्रविधिले मात्र यस क्षेत्रको अतिरिक्त मुलुकको आर्थिक विकासको सम्भावनालाई सही दिशा निर्देश गर्न सक्दैन भन्ने मान्यता रहँदै आएको छ । जसको विकल्पमा प्रविधियुक्त कृषि प्रणालीको सम्भाव्यता र विकासको अवधारणालाई मूर्तरूप धारण गर्नसक्ने बलियो कृषि प्रविधिलाई मुलुक भित्र्याउन सक्ने अवस्था प्रारम्भ भए लक्ष्यअनुसारको प्रगति हासिल गर्दै आर्थिक सम्पन्नता प्राप्तिमा सहजीकरणको वातावरण तयार हुनेथियो ।
श्रमको प्रतिफलको अनुपातमा कायम रहन आउने न्यून मुनाफायुक्त सन्तुष्टिगत व्यवहारकोे ऋणात्मक असर अन्ततः कृषक समूहमा मात्र सीमित नरही अनेत्र स्थानान्तर हुने बढी सम्भावना रहन्छ । यो हुनु भनेको विचौलिया वर्गले अनधिकृत रूपमा लाभ लिने गलत संस्कृतिको अभ्युदय भई कृषि श्रमको उचित मूल्ंयाकन हुननसक्ने परीपाटीको विकास हुनु हो ।
प्रस्तुत खराब परीसूचकका कारण उत्पन्न हुनसक्ने विरोधाभाषपूर्ण परीस्थितिको अन्त्यको लागि भए पनि प्रविधियुक्त कृषि प्रणालीको माध्यमबाट निश्चितरूपमा समय सीमा किटान गरी आर्थिक विकास र समृद्धिको मार्गलाई पछ्याउँदै हाल मुलुकमा रहेको उच्चस्तरको गरिबीको दरलाई क्रमशः न्यूनीकरण गर्दै निमूर्लीकरण गर्नेतर्फ अग्रसर गराउने लक्ष्य लिनसक्ने सम्भावना रहेको हुँदा यसको पूर्ण कार्यान्वयनका लागि सरोकारवाला सबै पक्षको ध्यान केन्द्रित रहनुपर्नेछ । तदुपरान्त तोकिएको समयावधिभित्रमा नै मुलुकको कायापलट हुने सम्भावना रहन्छ ।
प्रविधियुक्त विकसित कृषि प्रणालीको अवधारणामा आधारित रहँदै कृषि उपजको उपयुक्त बचत विधिको माध्यमबाट मनग्य लाभ हासिल गर्न नसकिने पनि होइन । प्रविधिको विकासले हालसम्म मौसमी खेतीमा मात्र रमाएका कृषक समुदायलाई बेमौसमी कृषि कार्य गर्न थप उत्साहित एवं प्रेरित गरेको छ ।
बाह्रैमास उपभोक्तालाई सन्तुष्ट पार्नसक्ने प्रविधिको विकासले कृषि पेसामा आबद्ध रहने समूह तथा कृषि उपभोक्ताबीचको आपसी सम्बन्ध विस्तारको साथै मुनाफा राशिमा बाह्य पक्षको आगमनलाई निस्तेज पार्ने प्रबल सम्भावना रहन्छ । हरेक मौसममा पनि बेमौसमी कृषि साम्रगी प्राप्तिको प्रमुख कारक तत्व भनेको आधुनिक कृषि प्रविधिको वरदानलाई मान्न सकिन्छ ।
परिणामतः उब्जनी भएको फसललाई भण्डारण–प्रशोधनका लागि आवश्यक पर्ने वैज्ञानिक प्रविधिको माध्यमबाट प्रभावकारी रूपमा समस्या समाधान गर्दै बजारीकरणको व्यवस्थापनमार्फत उपभोक्तामाझ कृषिजन्य वस्तु तथा सेवा पस्कन सम्भव भएको हो । जसका कारण फरक–फरक मौसममा पनि अनेकन आस्वादनमा रमाउन हामी सक्षम भएका छौँ ।
यदि प्रविधियुक्त कृषि प्रणालीको विकास सम्भव नहुँदो हो त निश्चितरूपमा मौसमी उपजमा चित्त बुझाउँदै निर्धारित समयको उत्पादनको प्रतिक्षा गर्नुबाहेक अन्य कुनै उपयुक्त विकल्प हामीसामु रहनेथिएन भन्न सकिन्छ । यसका अतिरिक्त कृषि फसलको रक्षार्थ आवश्यक पर्ने आधुनिक संचारको साधन रेडियो, टीभीका अलावा मोबाइल फोनको प्रयोग गरेरै भए पनि सम्भावित मौसमको बारेमा पूर्वजानकारी दिने प्रबन्धको विकासले निश्चितरूपमा कृषिजन्य उपजको रक्षा एवं विकासको लागि सक्दो सहयोगको अपेक्षा गर्न सकिन्छ ।
मुलुकको भू–बनोटको आधारमा मौसममा समेत विविधता कायम रहेकोले विश्वका विविध क्षेत्रमा प्राप्त हुने अनेकन प्रजातिको फसलको प्रशस्त सम्भावना रहँदारहँदै पनि आधुनिक प्रविधिगत ज्ञानको न्यूनता र कृषि जनचेताको अभावका कारण अत्यधिक लाभ लिन हामी सधैँ नै पछाडि पर्दै आएका छौँ । किनकि परम्परागत कृषि सोचलाई रूपान्तरण गर्नका लागि आजका युवागणलाई समेत यस क्षेत्रमा आकर्षण गर्ने योजनाहरू कार्यान्वयनका लागि राज्यपक्ष पछाडि पर्नुहुँदैन भन्ने मूलमन्त्रलाई व्यवहारमा उतार्नु जरुरी छ । जसका माध्यमबाट युवाशक्तिले हासिल गरेका ज्ञानसीपलाई समाविष्ट गर्दै परिस्थितिअनुकूलको व्यवहारलाई अपनाउने हो भने सफल व्यावसायिक कृषि उद्योगको प्रशस्त सम्भावनाको आशा गर्न सकिन्छ ।
यसप्रकारको संस्कृतिको विकासले जीवनोमुखी कृषि प्रणालीलाई क्रमशः रूपान्तरण गर्दै मुलुकको आवश्यकता तथा बढ्दो जनसंख्याको खाद्य संकटलाई टार्दै आयातमुखी कृषि प्रणालीलाई निर्यातयोग्य वस्तु तथा सेवाको रूपमा विकसित गर्दै वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतको रूपमा स्थापित गर्न मुख्य भूमिका निर्वाह गर्ने अवस्था आरम्भ गर्नेछ भन्दा फरक नपर्ला ।
जसबाट हाल कायम रहँदै आएको न्यूनदक्षता एवं कृषि ज्ञानको अभावले सिर्जित कृषि उत्पादकत्वमा आएको ऋणात्मकतालाई क्रमशः चिर्दै बढ्दो कृषि घाटालाई घटाउन प्रविधिमैत्री कृषि प्रणालीको सम्भाव्यताको विकासले कृषिमैत्री अवधारणामा आधारित उत्पादकत्व बृद्धि एवं नाफामुखी कृषिकार्यको सम्भावनालाई मूर्तरूप दिनेछ ।
उच्च प्रविधियुक्त कृषि कार्यको विकासले निश्चितरूपमा कृषकको यथोचित आम्दानीको अभिवृद्धि गराई बजारीकरणलाई समेत टेवा पु-याउने अवस्था प्रारम्भ हुने देखिन्छ । यस देखिनबाहेक स्वदेशी रोजगारीको सम्भावनालाई धेरथोर रूपमा भए पनि वृद्धिगर्दै वैदेशिक रोजगारीको परनिर्भतालाई न्यून गरी रोजगार प्रवद्र्धनमा समेत महत्वपूर्ण भूमिका निभाउन सक्नेछ । उक्त क्रियाकलापको विकासले निश्चितरूपमा मुलुकको अर्थतन्त्रलाई सुव्यवस्थित गर्न सहयोग पु-याउने अवस्था प्रारम्भ गर्ने हुँदा मुलुक सुहाउँदो उपयुक्त कृषि मोडलको चयनको प्रयोगमा जोड दिनुपर्ने हुन्छ ।
प्रस्तुत प्रविधिलाई अपनाउँदा निश्चितरूपमा सम्बद्ध क्षेत्रमा पर्नसक्ने नकारात्मक असर एवं त्यसले पार्ने प्रभावका बारेमा गहन अध्ययन, मनन गर्दै कार्यान्वयनमा ल्याउने प्रयास गर्ने हो भने धेरै नै सकारात्मक नतिजा निस्कने कुरामा ढुक्क हुन सकिनेछ । कृषि प्रविधियुक्त आधुनिकीकरणको सफल योजनाले नेपालजस्तो निरन्तर विकासको पथमा अगाडि बढिरहेको राष्ट्रलाई मानव विकास र आर्थिक विकासको सम्भावनाको क्षेत्रमा नयाँ उचाइमा पु-याउन कोशेढुंगा साबित हुने देखिन्छ ।
साथै सञ्चालनको सन्दर्भमा आउनसक्ने जटिलतालाई हटाउन आवश्यक पर्ने दक्षता, सीप र ज्ञानको प्रयोगमा आजका युवा पिँढीलाई अगाडि बढाउने चेष्टा गर्ने हो भने यस क्षेत्रको सुन्दर भविष्यको परिकल्पना सम्भव रहनेछ ।
लगभग सोही प्रवृत्तिको कृषिकार्यको लागि वैदेशिक रोजगारतर्फ आकर्षण रहने जुझारु युवा समूहलाई मुलुकभित्रै काम गर्नसक्ने यथोचित वातावरण निर्माणमा कृषिक्षेत्रलाई अगाडि ल्याउनैपर्ने हुन्छ । वर्तमान परिप्रेक्षमा काठमाडौँ उपत्यकालगायतका मुलुकका अन्य सुविधासम्पन्न ठूला सहरहरूमा तराई क्षेत्रको दाँजोमा तुलनात्मक रूपमा भूमिको न्यूनता रहेकै कारण सामूहिक व्यावसायीकरण कृषि रणनीतिक योजनाको खाका तयार पारी व्यवहारमा उतार्न सके प्रविधियुक्त कृषि प्रणालीको सम्भाव्यताले समयसापेक्ष सान्दर्भिक रूप धारण गर्नसक्ने तथ्यलाई सहजै इंकार गर्न मिल्दैन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया