Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमानसिक दास बढारिनुपर्छ

मानसिक दास बढारिनुपर्छ


मिल्काई कायरताको फ्याङ्लो
तोडी मानसिक दासताको साङ्लो
मातृभूमि रक्षार्थ अघि बढ सपुत हो
लिँदै कुलांगारहरूको तिमी सातो

विषय प्रवेश : दासत्व आफैँमा निम्छरो शब्द हो । किनेर वा युद्धमा जितेर बनाइएको दासको शरीर मालिकको हित र सरसुविधाका लागि बन्धक रहने तर मानसिकरूपमा आफ्नो स्वतन्त्रताको कल्पनाको उडानमा डुबिरहन स्वतन्त्र हुनेगरेको र दासत्वको साङ्लो चुडाल्न सफल भएको कुरा इतिहासका पुस्तकका रक्तरञ्जित दास विद्रोहका पानाहरू बताउँदछन् । दासत्वको स्वरूप शारीरिक मात्रै नभएर मानसिक पनि हुनेगर्दछ ।

शारीरिकरूपमा स्वतन्त्र देखिए पनि मानसिकरूपमा दासताको साङ्लोमा बाँधिएकाहरूबाट होइन कि आफ्नो ढंगले आफ्ना हितका लागि सोच्नसक्ने व्यक्ति वा समुदायले मात्र स्वतन्त्रताको विगुल फुक्न सकेको कुरा सामाजिक परिवर्तनका इतिहासमा लेखिएका छन् । मानसिक दासताबाट जकडिएकाहरूबाट सकारात्मक परिवर्तनको कल्पना गर्न सकिँदैन किनभने बुद्धिमा बिर्को लागेको हुनेगर्दछ, उनीहरू स्वतन्त्र ढंगबाट सोचेर आफ्नो लागि के ठीक र के बेठीक भन्ने छुट्याउन सक्दैनन् । न आफू र अरु कसैको स्वार्थका लागि प्रयोग भइराखेको कुरामा ज्ञान हुन्छ न भए पनि त्यसको प्रतिकार गर्ने नैतिक साहस नै ।

यद्यपि विगतमा पुँजीवादी मुलुकहरूकहरूको आर्थिक समृद्धिको जग नै दासप्रथा रहे पनि विश्वमा कानुनीरूपमा (शारीरिक) दासप्रथाको उन्मुलन भइसको र यसलाई गम्भीर दण्डनीय अपराधका रूपमा परिभाषित गर्न तिनै पहिले नै उल्लिखित पुँजीवादी मुलुक गर्न अग्रसर देखिँदै आएका छन् । आजको समयमा तिनै पुँजीवादी मुलुकहरूले अल्पविकसित मुलुकहरूमा मानसिक दासताको जालोलाई फैलाउँदै आफूले खडा गरेका मानसिक दासहरूमार्फत सजिलो ढंगले आफ्नो अभीष्ट सिद्ध गर्न सफल छन् र अब उनीहरूले बमगोला लिएर अन्य मुलुकमा हमला गर्नुपर्ने अवस्थाको अन्त्य भइसकेको छ ।

मानसिक दासको क्रियाकलाप कस्तो हुन्छ ? मालिकहरूले सिकाएका दर्शन र वादहरू गरिब मुलुकको यथार्थ स्थितिसँग कुनै साइनो नभए पनि तिनिहरूको धाराप्रवाहरूपमा वकालत गर्नु मानसिक दासहरूको धर्म हुन्छ । पाश्चात्य मुलुकका विचारकहरूले आफ्नो मुलुकको वस्तुस्थितिलाई मेल खाने गरी प्रतिपादन गरेका विचार, सिद्धान्त वा वादहरू आफ्नो मुलुकको हितमा छ कि छैन भन्ने कुराको मूल्यांकन मानसिक दासहरूले गर्दैनन् । यति मात्रै होइन कि पश्चिमी वाद र सिद्धान्तहरू स्वयम् ती मुलुकहरूमा असफल भएको देख्दादेख्दै र जान्दाजान्दै पनि ती दासहरू नदेखेजस्तो वा नजानेको जस्तो गरिराख्दछन् र तिनीहरूका थोत्रा मूल्य र मान्यताका अन्धा अनुकरण गर्दै अवलम्बन गरिराख्दछन् वा त्यसका लागि आवश्यक वातावरण तयार गर्दछन् ।

खास गरेर अमेरिका र पश्चिमा मुलुकहरूले आफ्नाअनुकूलका आर्थिक नीति र दर्शन, राजनीतिक प्रणाली र सामजिक व्यवस्थाको स्थापनाका लागि ती अल्पविकसित मुलुकहरूमा मानसिक दासका रूपमा आफ्ना कठपुतलीहरूलाई माथिल्ला दर्जामा नियुक्त गरेका हुन्छन्, यद्यपि ती दर्शन, प्रणाली वा व्यवस्थाहरू स्वयम् ती मुलुकमा फेल खाइसकेका हुन्छन् वा त्यस क्रममा हुन्छन् । यसको उदाहरणको रूपमा अमेरिकालाई लिन सकिन्छ ।

आज अमेरिकाजस्ता मुलुक कसरी आन्तरिक द्वन्द्वको पासोमा पर्दै गएको छ र आफूले अंगीकार गरेको राजनीतिक पद्धतिको असफलतालाई टुलुटुलु हेर्दै गरिराखेको छ भन्ने कुरा बुझ्न इच्छा राख्नेहरूले आमन्डा रिप्ले (२०२१, जुलाइ)को पुस्तक ‘हाइ कन्फ्लिक्ट, ह्वाइ उइ गट ट्रयाप्ड एण्ड हाउ उइ गेट आउट’ पुस्तक पढून् र त्यहाँको द्वन्द्वका पछाडि त्यस मुलुकले अंगीकार गरेको राजनीतिक तथा आर्थिक प्रणाली कुन हदसम्म जिम्मेवार छ भन्ने कुराको मूल्यांकन गरून् । यस्तै किसिमका समस्याहरू ब्रिटेन, फ्रान्सजस्ता विकसित भनिएका पाश्चात्य मुलुकहरूमा पनि छ । ती मुलुकहरूमा नवउदारवाद आर्थिक प्रणालीले बेरोजगारीको र आर्थिक असमानताको समस्या खडा गरेको कुरा अब कुनै नौलो रहेन ।

आजका समयमा गरिब र अल्पविकसित मुलुकहरूले सामना गर्न बाध्य हुनुपरेको राजनीतिक अस्थिरता र गरिबीका पछाडि यिनै विदेशी एजेण्डा बोक्ने दासहरूको अविवेकी निर्णय र क्रियाकलापको प्रमुख हात छ भन्ने समयक्रमले स्पष्ट पारिसकेको छ । तर पनि उनीहरू नवउदारवाद, भूमण्डलीकरण, मानवअधिकारजस्ता विदेशी मालिकहरूले बोकाएका गनाउने सिनोहरू मिल्काएर न्यायपूर्ण र समतामूलक समाजको निर्माणमा रुचि देखाउँदैनन् किनभने उनीहरूको मूल एजेण्डा नै आफ्ना मालिकका अभीष्ट पूरा गर्नु र पश्चिमा व्यवस्था र प्रणालीको गुणगान गाउनमा नै सीमित हुन्छ । चीनजस्ता मुलुकका आर्थिक प्रगतिको चर्चा समेत उनीहरूका लागि असह्य हुने गर्दछ । यस्ता चर्चापरिचर्चा गर्ने मार्टिन ज्याकस (२००९)को ‘हाउ चाइना रूल्स द वल्र्ड’ र अर्का लेखकको ‘सुपर पावर’ जस्ता पुस्तक पढ्दा उनीहरूलाई निश्चय पनि नरमाइलो लाग्ला ।

नेपालको हकमा : नरमाइलो त उनीहरूलाई हिजो नेपालको वैशिष्ठ्यताको बखान गर्दा पनि लाग्थ्यो र अझै लाग्दै छ पनि । नेपालजस्ता मुलुकहरू विदेशी स्वार्थ पूरा गर्न उदत मानसिक दासहरूको बिगबिगी हरेक क्षेत्रमा रहेको छ । आज नेपालजस्ता मुलुकहरूमा मुलुकको वस्तुस्थितिप्रतिको बेवास्ता र आफ्ना परम्परागत संस्कृति, धर्म, रीतिरिवाज र जीवनपद्धतिप्रतिको अनास्था र नकारात्मक टिकाटिप्पणीका अतिरिक्त तिनीहरूलाई मास्नका निम्ति बल पुग्ने दासहरूले गर्दै आएका क्रियाकलाप यसका यथेष्ट प्रमाण हुन् ।

सभ्यताको लामो इतिहास भएका नेपालजस्ता पूर्वीय मुलुकहरूका वैज्ञानिक प्रमाणमा आधारित रीतिरिवाज र जीवनपद्धति मानसिक दासहरूका लागि ती फगत अन्धविस्वासका कथा मात्रै नभएर उपहासका तानाबाना बन्न पुगेका छन् भने पाश्चात्य मालिकहरूले सिकाएका कुराचाहिँ विज्ञानसम्मत र अनुसरणयोग्य । उनीहरूका आँखामा पश्चिमी नीति निर्माताहरूले सिकाएअनुरूप नेपालजस्ता मुलुकहरूका संस्कृति र धर्म नै विकास र पछौटेपनको कारण हुन् । विज्ञानमा आधारित हाम्रा धार्मिक क्रियाकलाप र अनुष्ठान चाहे ती हामीले गर्दै आएका धार्मिक यज्ञादि कर्महरू हुन्, बरपिपल र तुलसीजस्ता वृक्ष वा बोट बिरुवाहरूको पूजा गर्ने हाम्रा नियमित क्रियाकलापहरू वा हाम्रा सुत्ने, खाने वा हाम्रा अन्य कुनै पनि पद्धतिलाई आफ्ना मालिकहरूले विज्ञानमा आधारित भनेपछि मात्रै मानसिक दासहरूलाई विस्वास लाग्दछ ।

नेपालका मानसिक दासहरूलाई वेद, उपनिषद्, पुराण र पञ्चम् वेदका रूपमा रहेको महाभारतमा उल्लिखित कुराहरू ज्ञान, विज्ञान, कुटनीति, राजनीति र अर्थनीतिका स्रोत हुन् भनेका कुरा निको लाग्दैनन् । सुकरात, प्लेटो, अरस्तुजस्ता दार्शनिकहरूका दर्शनका आधार पूर्वीय दर्शन वा माथि लेखिएका पवित्र ग्रन्थ हुन् भन्ने कुरामा उनीहरूलाई विस्वासै हुँदैन । यसबाहेक ‘आँखाले देखिने कुरामा मात्रै वैज्ञानिक आधार हुन्छ’ भन्ने शिक्षा पाएका मानसिक दासहरू अध्यात्मलाई बेवास्ता गर्दै ‘जुन बिन्दुमा भौतिकशास्त्र रोकिन्छ’ त्यही बिन्दुबाट आध्यात्म सुरू हुन्छ भन्ने बिर्सन्छन् । उनीहरूको अर्धज्ञानले मुलुक र नागरिकहरूको अहितबाहेक केही गर्दैन वा गरिरहेको छैन ।

नेपालको राजनीतिमा अवलम्बन गरिएका धर्मनिरपेक्षता, गणतन्त्र र संघीयता अहिलेको समयमा मरणासन्न अवस्थामा पुग्नु नेपालको वस्तुस्थितिलाई एकातिर पन्छाएर मालिकको आदेशलाई आँखा चिम्लिएर मानसिक दासहरूले नेपालका लागि घातक ती एजेन्डाहरू शिरोधार्य गर्नुकै परिणति हो भन्ने स्पष्ट भइसकेको छ । सुडानको खण्डीकरण, नाइजेरियाको दुर्गतिका कारण संघीयता थियो भन्ने र आन्तरिक द्वन्द्वका कारण सग्लो रूपमा देखिएको मुलुक युग्लोसोभियाको विश्वमानचित्रबाट नामेट हुनसक्दछ भन्ने कुरा किन बिर्सिए ?

जातीयताका कारण रुवाण्डामा ३ महिनाका बीचमा १० लाख मानिसको नरसंहार भएको किन बिर्सिए ? यिनै मानसिक दासहरू आज जातपात, धर्मका कुरा गर्दै एकअर्कालाई जुधाउने र नेपाललाई अर्को रुवाण्डा बनाउने कुचेष्टा गरिराखेका छन् । यदि त्यसो भयो भने नेपाललाई बचाउन कोही आउनेछ भन्ने नसोचौँ । रुवाण्डामा हुतु र तुत्सीका बीचमा मच्चिएको त्यति संख्यामा नरसंहार भइसक्दा पनि संयुक्त राष्ट्र संघ सुतेर बस्यो । संयुक्त राष्ट्र संघजस्तो संस्था पनि गोरो छाला म-यो भने मात्रै उनीहरूको रक्षा गर्न मैदानमा प्रवेश गर्छ भन्ने कुरालाई रुवाण्डाको विगतका घटनाबाट सबैले मनन गर्न आवश्यक छ । विगतको अनुभवबाट पाठ सिक्दै आजकल रुवाण्डाका नागरिकहरू आफूलाई हुतु वा तुत्सी होइन कि रुवाण्डानका रूपमा चिनाउँछन् । उनीहरू भन्छन्, ‘हामी हुतु वा तुत्सी होइनौँ, हामी रुवाण्डान होइनौँ ।’

कुनै पनि मुलुकभित्र वा मुलुक–मुलुकका बीचमा हुने संघर्षमा अमेरिकाजस्ता हतियार उत्पादक मुलुकहरू मनग्य आय आर्जन गर्दछन् । विश्वको कुनै पनि कुनामा संघर्ष हुँदा अमेरिकाको आर्थिक वृद्धिदरलाई त्यसले उच्च बनाउँछ भन्ने गरिन्छ । त्यसैले पश्चिमी जगत नेपालजस्ता दक्षिणपूर्वीय एसियाली मुलुकहरूमा किचलो फैलाएर आफ्ना राजनीतिक तथा आर्थिक अभीष्ट पूरा गर्ने दाउमा छ जसमा नेपालका मानसिक दासहरूको मिलोमतो रहेको जस्तो भान पर्दछ ।

यिनै दासहरूका कारण मुलुकले आर्थिक दुर्गति भोग्नुपरेको छ । यी दासहरूका प्रभाव राज्यका हरेक निकायमा पुगिसकेको र तिनीहरू सबै आफ्ना मुलुकका नागरिकहरूलाई मुलुकको अवस्था नबिग्रेको भनेर छल्न र ढाँट्न नै उद्यत छन् र मुलुकको समृद्धिका लागि अझै आर्थिक खुलापन र नवउदारवादका एजेन्डालाई अझै प्रभावकारी रूपमा लागू गर्ने कुरा पस्किरहन्छन् । मुलुकका समृद्धिमा सरकारका आर्थिक क्रियाकलापले प्रभावकारी भूमिका खेल्न सक्दछन् भन्ने कुरा उनीहरूलाई पच्दैन । सरकारका नीतिनियम र ऐनकानुनका मातहतमा रहेर निजी क्षेत्रले आफ्ना आर्थिक क्रियाकलाप सम्पादन गर्नुपर्दछ भन्ने कुरा उनीहरूलाई मन पर्दैन ।

बेलगाम निजी क्षेत्र र बैंकिङ क्रियाकलापका कारणले गर्दा सन् २००८ मा महान् आर्थिक सुस्तता (धेरैले यसलाई आर्थिक मन्दी नै भन्ने गर्दछन्) को आगमन भएको कुरा बुझपचाउँछन् र यदि उनीहरूले यो कुरा बिर्सिसकेका छन् भने जोसेफ स्टिग्लिज (२०१०) को प्रसिद्ध पुस्तक’ फ्रि फल’ का पृष्ठहरू पल्टाउन् । अहिले अपनाइँदै गरिएको आर्थिक नीतिका कारण अझ अमेरिकी समाजमा आर्थिक असमानता बढ्दै गइराखेको कुरा तिनै लेखकले सन् २०१३ मा प्रकाशित ‘द प्राइस अफ इनइक्वायलिटी’ भन्ने पुस्तकमा सूक्ष्म ढंगले केलाएका छन् ।

अमेरिकाले नवउदारवाद, खुला व्यापारका मूल्य र मान्यतालाई लत्याउँदै गइराखेका सन्दर्भमा माथि लेखिसकिएजस्तै तिनै गनाउने सिनोलाई अद्यपि नेपालमा बोक्ने काम भइराखेको छ । पाश्चात्य मुलुकहरूबाट आयात गरिएको आर्थिक दर्शनको व्यावहारिक प्रयोगले उग्र भौतिकवाद र उपभोक्तावादलाई प्रश्रय दिएको र समाज अनैतिक र पतित बन्दै गइराखेको छ ।

नेपालजस्तो निजी क्षेत्र सबल भइनसकेको मुलुकमा नवउदारवाद वा निजीकरणजस्ता एजेन्डाका अनुसरणमा जोड दिन नथाक्नेहरूले अहिले विश्वमा विकसित मुलुकको कोटीमा दरिएको दक्षिण कोरियाको आर्थिक विगतको अत्यन्त छोटकरीमा तर सटिक ढंगले वर्णन गरिएको हा जुन चाङ (२००७) को ‘ब्याड समार्टियन्स’ भन्ने पुस्तक पढ्नु जरूरी छ जसले व्यापार संरक्षणका कारणले नै कोरियाली अर्थतन्त्र उँभो लागेको कुरा थोरै शब्दहरूमा सटिक ढंगले उल्लेख गर्दछ ।

विगत यहाँका नीति निर्माताहरूले नवउदारवाद र खुला अर्थतन्त्रको दर्शन अवलम्बन गर्न हतारिनुमा विदेशी मालिकहरूको आदेशको पालना मुख्य कारण रहेको र मुलुक अहिले त्यसको फल भोगिरहेको छ । तर अझै पनि ती उनीहरू आफ्नो कुकृत्यको जिम्मेवारी लिन मान्दैनन् ।

अन्त्यमा, मुलकको रक्षार्थ ती दासहरूको अभीष्टमाथिको अंकुश आजको आवश्यकता हो । हाल मुलुकमा देखिएको राजनीतिक अस्थिरता र नेपालीले अहिलेको समयमा भोग्नुपरेको कष्ट र भविष्यमा मुलुकको सार्वभौमसत्तामा नै आँच आउने त्रासका कारक तत्व यिनै मानसिक दासहरू हुन् भन्न् लेख्न अब हिचकिचाउनुहुँदैन ।

नेपालका मानसिक दासहरूले आफ्नो मुलुकको सट्टा भारत र अमेरिकालगायत पश्चिमा मुलुकहरूका हितलाई ध्यानमा राखेर धेरै काम गरिसकेका देखिन्छन् । नेपाललाई पराइ मुलुकको क्रिडास्थल बनाउने कोसिसमा लागेका दासहरूको स्पष्ट भूमिका देखिँदै गइराखेको छ ।

विगतमा यहाँका नीति निर्माताहरूका भेषमा रहेका मानसिक दासहरूले नवउदारवाद र खुला अर्थतन्त्रको दर्शन अवलम्बन गर्न हतारिनु र मुलुकलाई टाट पल्टने स्थितिमा पुगाउनुका अतिरिक्त मुलुकमा गणतन्त्र, धर्मनिरिपेक्षता र संघीयताको घोषणा गर्नुमा विदेशी मालिकहरूको आदेशको पालना मुख्य कारण रहेको र नेपालीहरू अहिले त्यसको फल भोगिराख्न अभिसप्त रहेका छन् ।

नेपालमा भविष्यमा निश्चितरूपमा देखापर्ने आर्थिक संकट र यहाँ मच्चिन सम्भव कुनै पनि सामाजिक, धार्मिक वा जातीय वितण्डाले कुनै पनि जाति र सम्प्रदायलाई नछोड्ने र विदेशीहरूको एजेन्डालाई बोकेर नेपालमा अस्थिरता फैलाउन खोज्ने उनीहरूका दासहरूको अभीष्ट पूरा हुने तथ्यलाई हृदयंगम गर्न जरूरी छ । त्यसैले मुलुकको यथार्थ स्थितिलाई सुहाँउदो आर्थिक नीति र कार्यक्रमको तर्जुमा र कार्यान्वयनका अतिरिक्त नेपालमा वर्तमान वा भविष्यमा देखा पर्नसक्ने कुनै पनि जाति र सम्प्रदायबीचको मनोमालियन्य र वैमनष्यतालाई जरैदेखि उखेलेर फ्याँक्नु र मानसिक दासत्वको चरित्र बोकेकाहरूलाई उनीहरूका विगतका कुकर्महरूका लागि दण्डित गर्नु नै आजको आवश्यकता हो तर यदि मानसिक दासहरूलाई पछिसम्म खुला छोडिए मुलुक कुन दुर्गतिमा पुग्ने हो भन्ने कुरा एकिन गर्न सकिँदैन । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x