Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगजनसङ्ख्या व्यवस्थापनमा चुनौती

जनसङ्ख्या व्यवस्थापनमा चुनौती


काठमाडौं । गत असार २७ गते विश्व जनसङ्ख्या दिवस नेपाललगायत संसारभरि मनाइयो । फलतः ब्रम्हाण्डमा देखापरेका प्रमुख समस्याहरूमा जनसङ्ख्या वृद्धि सबैभन्दा ठूलो समस्याका रूपमा रहेको छ । यसर्थ जनसङ्ख्या वृद्धिको कारणले जनसङ्ख्याको चाप हरेक क्षेत्रमा परिरहेको छ ।

मूलतः जनसङ्ख्या समस्याबाट कुनै पनि मुलुक अछुतो रहन भने सकेको छैन । यसरी प्राकृतिक स्वरूपलाई नष्ट गर्ने प्रमुख कारक तत्व जनसङ्ख्याको अत्यधिक चाप हो । यसमा पनि सबैलाई प्रत्येक वर्ष पिरोल्ने समस्याको रूपमा जनसङ्ख्या वृद्धि नै हो ।

यसरी विश्वको जनसङ्ख्या झण्डै आठ अर्बको हाराहारीमा पुग्नलागेको अनुमान छ । तसर्थ विश्वमा प्रत्येक २ सेकेन्डमा नौ जना शिशुको जन्म र सोही समयमा तीन जना शिशुको मृत्यु हुने सम्बन्धित विशेषज्ञहरूको अनुमान रहेको छ ।

यसरी प्रति २ सेकेन्ड ६ जना नयाँ शिशुको अनुहार थपिनाले प्रत्येक वर्ष विश्वमा सात करोड ६० लाखभन्दा बढी मानिसहरू थपिन्छन् । यसरी जनसङ्ख्याको प्रमुख बोझ विकासशील देशहरूमा परिरहेको छ । यसरी पृथ्वीको कुल जनसंख्यामध्ये विकसित मुलुकहरूमा २० प्रतिशत र अविकसित मुलुकहरूमा ८० प्रतिशत जनसङ्ख्या बसोबास गर्दछन् ।

यसैगरी विश्वको कुल प्रजननदर २ दशमलव ३८ रहेको छ । विश्वको वार्षिक सरदर जनसङ्ख्या वृद्धिदर १ दशमलव ११ प्रतिशत मात्र रहेको भए पनि अविकसित देशहरूमा यसको वृद्धिदर २ प्रतिशतभन्दा बढी भएको हुनाले सन् २०२५ मा आठ अर्ब १४ करोड १७ लाख र सन् २०५० मा नौ अर्ब ७२ करोड ५१ लाख मानिसको जमघट हुनेछ । यसमा सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ४५ प्रतिशत रहेको छ ।

जनसङ्ख्या वृद्धिको काहलीलाग्दो चापले अल्पविकसित देशहरूको समाजिक, आर्थिक तथा पर्यावरणीय क्षेत्रमा नराम्रो प्रभाव परिरहेको छ । विकासशील देशहरूको पङ्क्तिमा पर्ने हाम्रो देश नेपालमा भने जनसङ्ख्या वृद्धिको समस्या र यसबाट वातावरणमा परेको नकारात्मक असर अझै बढी देखिएको छ ।

नेपालको जनसङ्ख्या वृद्धिदर अझै अतिउच्च नै छ । मुलुकको जनसङ्ख्या वृद्धिदर तीव्र गतिमा वृद्धि हुँदै गएको विगतका जनगणनाबाट स्पष्ट हुन्छ । विसं १९६८ सालदेखि नै नेपालमा जनगणना लिइएको भए पनि विसं २००९÷११ देखि लिइएका जनगणनालाई मात्र वैज्ञानिक तरिकाबाट लिइएको मानिन्छ । देशमा एघारौँं जनगणना लिने कार्य विसं २०६८ मा भएको थियो ।

मुलुकमा एघारौँ जनगणना २०६८ अनुसार नेपालको जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय ४ पुगेको छ । यसमा महिलाको जनसङ्ख्या एक करोड ३६ लाख ४५ हजार चार सय ६३ अर्थात् कुल जनसङ्ख्याको ५१ दशमलव ५ प्रतिशत पुगेको छ भने पुरुषको संख्या एक करोड २८ लाख ४९ हजार ४१ अर्थात् कुल जनसङ्ख्याको ४८ दशमलव ५ प्रतिशतमा झरेको छ । यसलाई संख्यात्मक रूपमा हिसाब गर्ने हो भने पुरुषको दाँजोमा महिलाको झण्डै आठ लाख जनसङ्ख्या बढी देखिन्छ ।

मुलुकको पहाड र हिमाली क्षेत्रलाई अवलोकन गर्ने हो भने जनसङ्ख्याको वृद्धिदर घटे पनि तराई तथा सहरी क्षेत्रमा भने जनसङ्ख्या बढ्दो रूपमा रहेको छ । अतः जनसङ्ख्यालाई विश्लेषणात्मक रूपमा केलाउने हो भने राजधानीको जनसङ्ख्या बस्ती भने दिन दुई गुना रातचार गुणाले धनी हुनपुगेको छ भने मनाङ भने सबैभन्दा कम जनसङ्ख्याको जिल्ला हुनपुगेको छ ।

जलविद्युत्मा ब्राजिलपछि हाम्रो देश भए पनि देशमा अझै पनि ठूलो जनसङ्ख्या विद्युतीय पहुँचभन्दा बाहिर रहेका छन् । त्यस्तै गरी शौचालय बनाउने चेतना हालसम्म धेरैमा नभएको देखिएको छ । तर, मानिसहरूमा सूचनाको साधन पर्याप्त पुगेको छ । पेसागत हिसाबमा अझै ठूलो संख्या कृषिमा निर्भर रहेको देखिएको छ ।

देश निर्माणको आधारशीला नै सरकारी योजना हो । यसरी जनसङ्ख्याको अध्ययनले देशमा भावि योजना कार्यान्वयन गर्नको लागि सोचविचार गर्नुपर्ने हुन्छ । यी नै जनसङ्ख्याको आधारमा भोलि गएर देशको योजना बन्न पुग्छ । यसरी सरसर्ती जनसङ्ख्यालाई हेर्दा साक्षरता दर वा उनीहरूलाई शिक्षाको आधारमा रोजगारी सिर्जना गर्नुपर्ने हुन्छ । त्यसैले जनसङ्ख्याको परिणामलाई सरकारले गम्भीर अध्ययन गरेर नीति निर्माण गर्नु आवश्यक छ । सहरहरूमा मानिसको बसोबास बढी हुनुले कृषि उत्पादनमा ह्रास आएको छ भने त्यसलाई व्यवस्थित गर्न कृषि कलेजहरू गाउँ–गाउँमा खोल्नुपर्ने आजको जल्दोबल्दो आवश्यकता भइसकेको छ ।

हाल आएर मुलुकको जनसङ्ख्या तीन करोडभन्दा बढी एकातिर भइसकेको छ भने अर्कोतिर वार्षिक जनसङ्ख्या वृद्धिदर १ दशमलव ३५ प्रतिशत रहेको देखिएको छ । त्यस्तै गरी औसत आयुमा वृद्धि, शिशु मृत्युदर धटाउने प्रयत्नहरूमा प्राप्त सफलताले मृत्युदरमा कमी आए पनि कुल प्रजननदर भने निकै लामो समयदेखि ६ सन्तानप्रति आमाकै हाराहारीमा रहेकाले नै जनसङ्ख्या वृद्धिदर नियन्त्रण गर्ने प्रयासमा अपेक्षित सफलता प्राप्त हुननसकेको हो । यही वृद्धिदर कायम रहेमा झन्डै ५२ वर्षभित्र नेपालको जनसङ्ख्या दोब्बर हुनजाने अनुमान छ ।

अन्त्यमा भन्नुपर्दा विश्वका विकसितभन्दा विकसित मुलुकहरूमा जनसंख्या वृद्धि नकारात्मक बिन्दुमा पुगेकाले डरमर्दो अवस्था छ । आजको विश्वका विकराल समस्याको रूपमा रहेको अत्यधिक जनसङ्ख्यालाई समयमै नियन्त्रण गर्नुपर्ने पहिलो प्राथमिकता रहेको छ । यसको साथसाथै जनसङ्ख्या वृद्धि आज नेपालको मात्र नभएर विश्वको लागि ठूलो चिन्ताको विषय भएको छ ।

यसरी देशको जनसंख्याको कुरा गर्दा पहाड र हिमाली भेगमा भन्दा तराई क्षेत्रमा जनसंख्या वृद्धि बढी भएको देखिन्छ । पछिल्लो जनगणनाले मुलुकमा क्षेत्रगत हिसाबमा तराईमा जनसंख्याको अत्यधिक चाप देखिएको छ भने जिल्लागत हिसाबले हेर्दा राजधानी काठमाडौँमा जनसंख्याको तीव्र चाप देखिन्छ ।

कुल जनसंख्यामध्ये तराईको जनसंख्या एक करोड ३३ लाख १८ हजार सात सय पाँच पुगेको छ । यो कुल जनसंख्याको ५० दशमलव २७प्रतिशतहो । त्यसैगरी सबैभन्दा बढी जनसंख्याको चाप भएको जिल्ला काठमाडौँमा १७ लाख ४४ हजार दुई सय ४० पुगेको छ भने त्यस्तै गरी सबैभन्दा कम जिल्लाको रूपमा मनाङ जिल्लाको जनसंख्या छ हजार पाँच सय ३८ रहेको देखिएको छ ।

यसबाट एकातिर गरिबी, बेरोजगारी, अशिक्षाजस्ता समस्या थपिँदै गएका छन् । जसबाट प्रकृतिप्रदत्त वातावरणीय स्रोेतमा थिचाप पर्नगएको छ भने अर्कोतिर बढ्दो जनसङ्ख्याको आवश्यकता पूर्ति गर्न सामाजिक र भौतिक पूर्वाधार तयार गर्नुपर्ने, शिक्षा र औद्योगिक तथा सहरी विकास गर्नुपर्ने अधिक खाद्यान्न आपूर्ति गर्नुपर्ने र अन्य थुप्रै विकासका कार्यहरूमा अतिरिक्त लगानी गर्नुपर्ने स्थिति एकातिर छ भने अर्कोतिर भोक, रोग, गरिबी र अशिक्षाविरुद्धमा जीवनस्तर सुधार गर्ने हाम्रा परिकल्पनाहरू साकार हुन नसक्नुमा जनसङ्ख्या वृद्धिले प्रत्यक्ष असर परेको कुरालाई कसैले पनि नकार्न सक्दैन । यसरी बढी जनसङ्ख्यालाई नियन्त्रण गर्नु सबैको चुनौतीपूर्ण कार्य हो । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x