Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगकृषिमा यान्त्रिकीकरणको उपयोगिता

कृषिमा यान्त्रिकीकरणको उपयोगिता


काठमाडौं । नेपाललाई एक कृषिप्रधान मुलुक भनेर चिनिन्छ । यहाँका ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा निर्भर छन् । कुल जमिनको १८ प्रतिशत खेतीयोग्य जमिन रहेको छ । व्यावसायिक कृषि हुन नसक्दा यो पेसाभन्दा पनि जीवन निर्वाहमुखी मात्र बनिरहेको छ । नेपालको अर्थतन्त्रको मूख्य आधार कृषि नै हो । सरकार यसै कृषिको सपना बाँडेर अनुदान र ऋण संकलन गरिरहेको छ तर यसले कृषिमा कुनै आवश्यक परिवर्तन गर्न सकेको छैन । कृषिकै उत्थान र विकासका लागि सरकारले पनि विभिन्न प्रयास अगाडि सारिरहेको छ । जमिन जमिनदारको मुठीमा भएकोले जमिनमा कृषकको स्वामित्व कम छ । समय सापेक्ष अवलम्बन गर्नुपर्ने कृषिको आधुनिकीकरणमा सरकारले ध्यान दिनुपर्छ । छरिएर रहेको कृषियोग्य जमिन, बाली र मौसमअनुसार मेल खाने खालको यान्त्रिकीकरण गर्न सरकारको जागरुकता अनिवार्य हुन्छ यसमा कठिनाइ र चुनौती छ जसको सामना सरकारको कृषि नीतिले नै गर्ने हो ।

नेपालको लगभग ८३ प्रतिशत भूगोल हिमाल र पाहाडले ओगटेको छ । जसका कारण सडक, विद्युत् र संचारमा सबैको सहज पहुँच छैन ग्रामीण कृषि अझै पनि हलोमै अड्किएको छ  । केही सीमित ठाउँका खेतहरूमा मेसिनले धान रोप्दा जताततै चर्चाको विषय बन्छ, थुप्रै समाचारका हेडलाइनमा कृषि यन्त्र र उपकरणका बारेमा पढ्न र देख्न पनि पाइन्छ । यो सकारात्मक कुरा हो । तर समयको मागअनुरूप सरकारी निकायको प्रयास र निजी क्षेत्रको लगानीको प्रभाकारी कार्यन्वयनमा कठिनाई भइरहेको छ । कतिपय स्थानमा सरकारको प्रत्यक्ष उपस्थितिको कारण तराई एवं केही पहाडी भू–भागमा कृषि यान्त्रिकीकरणले गति लिन थालेको छ ।

विश्वमा सर्वप्रथम कृषि क्षेत्रमा यान्त्रिकीकरणको सुरुवात सन् १९१० को दशकमा अमेरिकाबाट भएको थियो । सन् साठीको दशकतिर जापान, फ्रान्स र युरोपमा हाते ट्रयाक्टरहरूको प्रयोग भइसकेका थिए भने ८० को दशकतिर त्यहाँ धान रोप्ने मेसिनको समेत आविष्कार भइसकेको थियो । यस्ता यन्त्रहरूले नेपालमा भर्खर–भर्खर गति लिए पनि विकसित देशमा भने धेरै पहिलेदेखि यस्ता यन्त्रहरूको प्रयोग भइरहेका छन् । नेपाल यो वर्तमान समयमा आइपुग्दा पनि सयौँ वर्षअघि पुर्खाहरूले प्रयोग गर्दै आएको प्रविधि नै प्रयोग गर्नुपर्ने स्थिति छ ।

कृषिमा पुरानो प्रविधि भएकै कारण कृषिमा आवश्यक मजदुरहरूको अभाव हुन थालेको छ । प्रायः यसैको कारण कृषिमा कसैको पनि चासो देखिँदैन । गाउँ–गाउँ ठूलो संख्याका युवाहरू विदेशिँदा कृषि मजदुरहरूको अभाव छ गाउँमा खेताला पाउनु मुस्किल छ । सम्भवतः कृषिमा काम गर्ने प्रक्रिया सहज र छरितो भएको भए यस्तो हुँदैन थियो । काम गर्ने जनशक्तिको अभाव भएर बाध्यतावश नै भनौँ या थोरै विकासको प्रक्रिया पनि अहिले भने कतिपय किसानले पावर ट्रिलर, हाते ट्र्याक्टर, धान रोप्ने र काट्ने मेसिनहरूको प्रयोग गर्न थालेका छन् । पछिल्लो समय खेत जोत्ने, बीउ छर्ने, दाइँ हाल्ने, बाली निफन्नेजस्ता आधुनिक मेसिनहरूको प्रयोग पनि हुन थालेको छ ।

नेपालमा यान्त्रिकीकरणको इतिहास : नेपालमा कृषि विकास मन्त्रालयअन्तर्गत २०१० मा कृषि इञ्जिनियरिङ एकाइको स्थापना भएपश्चात् सरकारी कृषि तथा पशु विकास फार्महरूका लागि आधुनिक कृषि औजारहरू भित्र्याउने काम सुरु भएको पाइन्छ  । विसं २०१६ सालमा तराईका लागि कृषि औजारहरूको अनुसन्धान तथा प्रवर्द्धन गर्नका लागि वीरगञ्जमा कृषि औजार अनुसन्धान एकाइ स्थापना भयो ।

त्यसैगरी विसं २०२१ मा तत्कालीन सोभियत सरकारको सहयोगमा वीरगञ्जमा नै कृषि औजार कारखाना स्थापना भयो । यस कारखानाबाट गुणस्तरीय फलामे हलो, मकै छोडाउने मेसिन पेडल थ्रेसर, ह्वील व्यार गँहु चुट्ने थ्रेसर, ट्रयाक्टर पम्पसेट उत्पादन भएको थियो । २०२७ सालमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट प्रशोधन गर्ने पाइलट प्लान्ट स्थापना गरियो ।

जापान सरकारको सहयोग नियोग जाइकाको सहयोगमा २०२८ सालमा जनकपुर कृषि विकास आयोजना स्थापना गरी डिपयुबवेल, पावर ट्रिलर र आधुनिक कृषि औजार प्रवर्द्धन गर्ने कार्य सुरु भएको थियो । पछि कृषि विकास बैंकले २०३० को दशकमा ट्रयाक्टर र पम्पसेटमा प्राथमिकताका साथ कर्जा प्रवाह गरी कृषि यान्त्रिकीकरणमा योगदान पु-यायो ।

कृषि अनुसन्धान परिषद्अन्तर्गत रहेको इन्जिनियरिङ महाशाखाले २०४८ देखि विभिन्न किसिमका कृषि यन्त्र तथा उपकरणहरूको परीक्षण र विकास गर्दै आइरहेको छ । विसं २०६१ मा कृषि विभागअन्तर्गत स्थापित कृषि इञ्जिनियरिङले कृषि यन्त्रहरूको प्रवर्द्धनात्मक प्रचार प्रसार तथा तालिम कार्यक्रमलगायतका सेवा प्रदान गर्दै आएको छ । कृषि व्यवसायको आधुनिकीकरण गर्न नेपाल सरकारले कृषि यान्त्रिकीकरण प्रवर्द्धन नीति २०७१ जारी गरेको छ । अहिले नेपालमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय कृषि शाखाहरूले कृषि औजार र उपकरण जस्तैः मिनी ट्रिलर, थ्रेसर, ब्रस कटर, मकै छोडाउने मेसिन आदि अनुदानमा कृषकहरूलाई वितरण गर्दै आइरहेको छ ।

कृषि यान्त्रिकीकरणले दीर्घकालीन कृषि विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कृषि यान्त्रिकीकरणद्वारा कृषिजन्य उत्पादन र उत्पादकत्व बढ्ने लागत न्यूनीकरण हुने, उत्पादित वस्तुको गुणस्तर कायम राख्न सघाउ पुग्ने र औद्योगिकीरणको गतिमा तीव्रता थपिनेछ । साथै कृषि क्षेत्रमा निजी तथा सहकारी क्षेत्रमा युवा वर्गको आकर्षण बढाउनसमेत सघाउ पु-याउँछ । यसले श्रमको दक्षता अभिवृद्धिको साथै कष्टकर कामको बोझ घटाउने तथा हावापानी परिवर्तनका नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न पनि मदत गर्दछ ।

कृषक र उद्यमी वर्गमा कृषि यन्त्र र उपकरणसम्बन्धी प्रर्याप्त ज्ञान र पहुँच पु¥याउन सकिएको छैन । जसले गर्दा यसको प्रयोगमा समस्या देखिन्छ । दिनदिनै खेतीयोग्य जमिन खण्डीकरण भइरहेकोले साना किसानका लागि उपयुक्त कृषि यन्त्रको पहिचान र विकास हुन सकिरहेको छैन । भौगोलिक विविधताका कारण पनि नेपालमा यसको प्रयोग सजिलो छैन । किसानहरूलाई सुलभ कर्जा तथा लगानीमैत्री वातावरण नभएको कारण यान्त्रिकरणको उपयोग खुम्चिरहेको छ ।

कृषि उपज उत्पादन र बजारीकरणको हिसाबले आयात प्रतिस्थापन वा निर्यात प्रवर्द्धनमा सघाउ पु-याउने भनी वर्गीकरण गरिएको हुन्छ । नेपालमा अधिक आयात हुने कृषिजन्य वस्तुहरूको उत्पादन र व्यावसायीकरण गर्दा ठूलो मात्रामा रोजगारी सिर्जना हुनेछ । यसका लागि कृषि यान्त्रिकीकरणको उपयोग अपरिहार्य छ । अबका दिनमा नेपालका उत्पादनहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बढी प्रतिस्पर्धी हुनुपर्दछ । निर्यात योग्य वस्तुहरूको उत्पादनमा उन्नत प्रविधिहरूको अवलम्बन गरी उत्पादन लागत घटाउनुका साथै गुणस्तर अभिवृद्धि हुने आधुनिक कृषि औजार उपकरणहरूको प्रयोगमा प्रोत्साहन दिने व्यवस्था सरकारले गर्नुपर्छ । तसर्थ कृषि यान्त्रिकीकरणको माध्यमबाट कृषि क्षेत्रको आधुनिकीकरण गरी प्रतिस्पर्धी बनाई रोजगारीका अवसरहरू सिर्जना गर्दै राष्ट्रिय अर्थतन्त्रमा टेवा पु-याउने नीति तथा कार्यक्रम तर्जुमा गर्न आवश्यक छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x