घट्दो कामदार संख्या र बढ्दो रेमिट्यान्सको अन्तर्य
काठमाडौं । सिंगो विश्व विगत डेढ वर्षयता चरणबद्ध रूपमा देखिएको कोरोना महामारीसँग जुधिरहेको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण नेपालका सन्दर्भमा रोजगारी र आयआर्जनका हिसाबले महत्वपूर्ण क्षेत्रका रूपमा स्थापित वैदेशिक रोजगारीको अवस्था निराशाजनक रहेको छ । रोजगारीमा कटौती भई रोजगारदाताले श्रमिक नलिने र कामका लागि विदेशिने श्रमिकहरू समेत भनेको समयमा जान नसक्ने अवस्थाले कोभिड महामारीको लहर सुरु भएयता वैदेशिक रोजगारी समस्याग्रस्त बनिरहेको छ । यहीकारण, रोजगारीमा जाने नेपालीहरूको संख्यामा व्यापक गिरावट आएको छ । तथापि, यसकिसिमको जटिलताका बीचमा पनि नेपाली अर्थतन्त्रको टेकोका रूपमा रहेको रेमिट्यान्स आयको स्थिति भने पुर्वानुमान गरिएभन्दा सन्तोषजनक अवस्थामा रहेको तथ्यांक सार्वजनिक भएको छ ।
नेपालमा विसं २०७६ माघमा कोरोना भाइरस संक्रमित पहिलो बिरामी फेला परेको र क्रमशः संक्रमित हरूको चाप बढ्न थालेसँगै चैतदेखि लकडाउन भएको थियो । तत्पश्चातको करिब चार महिना अन्तर्राष्ट्रिय उडानहरू बन्द रहनुका साथै गन्तव्य मुलुकहरू समेत महामारीबाट प्रभावित हुनपुगे । महामारीको पहिलो लहर सुरु हुँदा करिब डेढ लाख नेपाली युवा भिषा लिएर पनि उडान गर्न नपाएको समाचारहरू तत्कालीन समयमा सार्वजनिक भएका थिए । फलस्वरूप आर्थिक वर्ष २०७६/७७ मा त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा भन्दा वैदेशिक रोजगारीमा जानेको संख्यामा ३८ प्रतिशत गिरावट आएको तथ्यांक छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७७/७८ मा वैदेशिक रोजगारीमा जानेको संख्या अझै ओरालो लाग्दै आर्थिक वर्ष २०७६/७७ तुलनामा करिब ६० प्रतिशतले कमी आएको देखिन्छ ।
कोभिड १९ महामारी फैलनुअघि अर्थात् आर्थिक वर्ष २०७५/७६ मा पाँच लाख सात हजार नेपाली युवा वैदेशिक रोजगारीका लागि बाहिरिएकोमा आर्थिक वर्ष २०७७/७८ मा यो संख्या १ लाख ६६ हजारमा सिमित हुनपुगेको छ । यसरी, वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको संख्यामा भारी गिरावट आएको देखिन्छ भने अर्कोतिर विप्रेषण आयमा भने बढोत्तरी भइरहेको अवस्था छ ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ को ११ महिने अवधिमा नेपालमा आठ खर्ब ७१ अर्ब हाराहारी रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आयको यो हिस्सा अघिल्लो आर्थिक वर्षको सोही अवधीको तुलनामा १२ दशमलव ६ प्रतिशतले बढी हो । कोरोना महामारीको पछिल्लो सन्दर्भमा नेपालमा भित्रिएको रेमिट्यान्सको यो हिस्सा आफैँमा सन्तोषजनक रहेको छ ।
विश्वभर कोभिड महामारीको पहिलो लहर देखापरेसँगै विश्व बैंकले प्रवासन र विकाससम्बन्धी संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै महामारीका कारण दक्षिण एसियामा २२ प्रतिशतले र नेपाल भित्रने रेमिट्यान्समा १४ प्रतिशतले गिरावट आउनसक्ने आकलन गरेको थियो । तत्कालीन समयमा नेपाल राष्ट्र बैंक र अनौपचारिक सरकारी अनुमानमा समेत महामारीका कारण रेमिट्यान्स आयमा ठूलै गिरावट आउनसक्ने आकलन गरिएको थियो । हुन पनि विश्वव्यापी रूपमा देखिएको महामारीका कारण धेरै रोजगारदाताले रोजगारी कटौती गर्ने, कामदारहरूको तलब, ज्याला घट्नेलगायतका कारण रेमिट्यान्स आयमा ओरालो लाग्ने सहज आकलन गरिएको थियो ।
चीनबाट कोरोना भाइरसको महामारी सुरु भएको केही समयमा नै विश्व तेल बजारमा ठूलै गिरावट आउनसक्ने र यसबाट नेपाली कामदारहरूको प्रमुख श्रम गन्तव्यका रूपमा रहेका खाडी मुलुकहरू आर्थिक मन्दीमा फस्नसक्ने भएकोले नेपालमा रेमिट्यान्स आप्रवाहमा स्वतः कमी आउनसक्ने प्रक्षेपण गरिएका थिए । तथापि, नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले भने रेमिट्यान्स आयमा अनुमान गरिएअनुसारको गिरावट आउनुको सट्टा यस्तो आयमा बढोत्तरी भइरहेको तथ्यलाई उजागर गरेको छ ।
कोभिड महामारीकै बीचमा पनि रेमिट्यान्स आयमा भारी गिरावट आउन नदिनुमा केही बलिया कारणहरू जिम्मेवार रहेका देखिन्छन् । सुरुवाती चरणमा नै चीनलाई कोरोना महामारीले शिथिल बनाउने र यसबाट विश्व तेल बजारमा ठूलो गिरावट आउने अनुमान रहे पनि चीनमा तुलनात्मक रूपमा समयमै महामारी नियन्त्रणमा आएको र यसबाट खाडी देशका अर्थतन्त्रले अपेक्षाकृत ठूलो क्षति बेहोर्नुनपरेको स्थिति रह्यो । यसबाट नेपाली कामदारहरूको प्रमुख गन्तव्य मुलुकहरूका रूपमा रहेका खाडी देशहरूमा कामदार कटौती कम हुनपुगेको देखिन्छ ।
यसैगरी, रोजगारीका लागि विदेशिएका अधिकांश नेपाली कामदारहरू सुरक्षा गार्ड, सरसफाइ, आपूर्ति, खेतीपातीजस्ता अत्यावश्यक क्षेत्रहरूमा कार्यरत रहेका पाइन्छन् । यसबाट हालको महामारीजन्य अवस्थामा पनि यी सेवाहरूको अपरिहार्यता रहने र रोजगारी कटौती भइहाल्ने स्थिति रहन्न । अर्कोतर्फ, हालको असहज अवस्थाका कारण रोजगारी नै गुमाएर घर फर्किएका कामदारहरूले आफूले सञ्चित गरेको सम्पूर्ण रकम स्वदेशमा लिएर फर्किनु, स्वदेशमा रहेका परिवारहरूलाई निरन्तरको लकडाउन र कोरोना कहरले असहजता निम्त्याएका कारण विदेशमा रहेका कामदारहरूले परिवारमा सकेसम्म बढी रकम पठाउनु, हालको विषम परिस्थितिमा हुण्डी, तस्करीजस्ता अवैधानिक माध्यमबाट रेमिट्यान्स आयको कारोबार गर्न असहज भई बैंकिङ माध्यमबाट मात्रै रेमिट्यान्स रकम भित्रिनुजस्ता कारणहरू पनि विप्रेषण आप्रवाहमा कमी आउन नदिने कारकहरू हुन् ।
पछिल्लो समयसम्म आइपुग्दा प्रमुख गन्तव्य मुलुकहरूका अर्थतन्त्र पुनः चलायमान हुन थालिसकेका छन् । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको प्रमुख गन्तव्यका रूपमा रहेको खाडी क्षेत्र कोरोनाको दोस्रो लहरबाट तुलनात्मक रूपमा कम प्रभावित भएको छ । पछिल्ला दिनहरूमा खाडी मुलुकहरूबाट श्रमिकको माग समेत आउनथालेको छ ।
सरकारले ईपीएस प्रणालीबाट दक्षिण कोरिया जाने कामदारहरूको आपूर्ति खुलाउने गरी पहल गरेको छ । देशभित्र कोभिड भाइरसविरुद्धको खोपको उपलब्धता केही सहज हुनथालेको, खोप लगाउने सन्दर्भमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइएको, लकडाउन खुकुलो हुनथालेको, अन्तर्राष्ट्रिय उडानहरू सुचारु भएका र विदेशी मुलुकहरूबाट कामदारको माग समेत बढ्न थालेका कारण केही आशालाग्दो अवस्था देखापरेको छ । यी सबै घटनाक्रमहरूले वैदेशिक रोजगारीका क्षेत्र केही सहज हुने हो कि भन्ने सन्दर्भमा आशालाग्दो सञ्चार गरिरहेका छन् । तथापि, वैदेशिक रोजगारी पूर्ववत् अवस्थामा फर्कन भने लामै समय लाग्नसक्ने देखिएको छ ।
हुन त, यो महामारी कहिलेसम्म, कसरी र कुन स्वरूपमा नियन्त्रणमा आउने हो भन्ने ठोस पूर्वानुमान हालसम्म हुनसकेको छैन । कोरोना भाइरसले एकपछि अर्को रूप फेर्दै सिंगो मानव जातिमाथि आक्रमण गर्ने क्रम जारी राखेको छ । कतिपय अर्थविद्हरूले कोरोना महामारीले हाल पु-याइरहेको मानवीय क्षतिभन्दा भविष्यमा आउनसक्ने आर्थिक क्षति अझ कठोर र भयावह हुनसक्ने आकलन गरिरहेका छन् । यो स्थितिमा हाल सार्वजनिक भएको गत असार मसान्तसम्मको तथ्यांककै आधारमा त्यसयताका दिनहरूमा समेत रेमिट्यान्स आयमा धेरै गिरावट आउनै नसक्ने निष्कर्षमा पुग्न भने सकिन्न ।
चरणबद्ध रूपमा देखिएको महामारीको असहजताका कारण नयाँ कामदारहरू रोजगारीका लागि तत्कालै विदेशिने अवस्था र परिस्थिति छैन । महामारीका कारण मानिसहरूमा मनोवैज्ञानिक असर समेत परिरहेको छ । यसबाट विगतमा जस्तो रोजगारीका लागि विदेश ताक्ने प्रवृत्ति निरुत्साहित भई मानिसहरू विदेश जान र बस्न उत्साहित नहुने अवस्था आउनसक्छ । कामदारहरू विदेशिने क्रममा गिरावट आएसँगै रेमिट्यान्स आयमा समेत स्वतः गिरावट हुनपुग्छ । यद्यपि, कोरोना भाइरसविरुद्धका भ्याक्सिनहरूको विश्वव्यापी उपलब्धताका कारण महामारी नियन्त्रणमा आउने सम्भावना बाँकी नै रहनु, श्रम गन्तव्य मुलुकहरू महामारीको कठिन चरण पार गरेर विस्तारै तंग्रिन थाल्नु एवं आर्थिक गतिविधिहरू विस्तारै सुरुवात हुनुलगायतका कारणहरूबाट नेपालको रेमिट्यान्स आयको आयतनमा भविष्यमा पनि धेरै प्रभाव पर्न नसक्ने आकलन भने गर्न सकिन्छ ।
महामारीलगायतका कारण रोजगारीका लागि युवाहरू विदेशिने क्रम घटेसँगै ती युवाहरू स्वदेशमा अवसर खोज्ने र यसबाट उत्पादनमा सहभागी हुने बाध्यात्मक अवस्था रहनेभएका कारण यो मुलुकी अर्थतन्त्रको हितमा रहेको धारणा अघि सार्ने गरिन्छ । स्वदेशको उत्पादकत्व र स्वरोजगारीको वृद्धिसँगै दिगो आर्थिक वृद्धिको मार्गप्रशस्त हुने भएकोले यसले समग्र अर्थतन्त्रलाई उकास्न महत्वपूर्ण योगदान पुग्ने यसखालका अर्थशास्त्रीहरूको धारणा छ ।
विश्वव्यापी रूपमा फैलिएको कोभिड १९ महामारीका कारण गन्तव्य मुलुकमा कामदारहरूको माग कम हुनुलगायतका कारण रोजगारीका लागि विदेशिने नेपालीहरूको संख्या घट्नुलाई स्वभाविक नै मान्न सकिन्छ । यद्यपि, नेपाली अर्थतन्त्रको प्राणवायु एवं टेकोका रूपमा रहेको रेमिट्यान्स आयमा हालको महामारीजन्य अवस्थाले समेत धेरै प्रभाव नपार्नु मुलुकी अर्थतन्त्रका लागि सकारात्मक अवस्था र नेपालीहरूका लागि खुशीको विषय हो । यस्तो अवस्थाले महामारीको मारबाट गुज्रिरहेको नेपाली अर्थतन्त्रमा पर्नजाने क्षतिलाई न्यूनीकरण गर्ने सन्दर्भमा सकारात्मक भविष्यको आशालाग्दो सञ्चार गरिरहेको छ । यो स्थितिमा तत्कालै विकल्प नदेखिएको वैदेशिक रोजगारी र त्यसबाट सिर्जित रेमिट्यान्स आयमा गिरावट आउन नदिने तथा चरणबद्ध रूपमा देखापरेको कोरोना महामारीको मारबाट मुलुकलाई सकेसम्म कम क्षति पु-याउनतर्फ सबै सरोकारवाहरू एकजुट हुनसकेमा भविष्यको बाटो थप सहज बन्नसक्ने देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया