शाकाहारी भोजन : निरोगी जीवन
काठमाडौं । मानव जीवन र भोजनबीच अत्यन्त घनिष्ट सम्बन्ध रहेको हुन्छ । हामीजस्तो खानपिन गर्छौँ त्यस्तै असर हाम्रो शरीर र मनमस्तिष्कमा पर्ने गर्दछ । यही कारणले गर्दा सामान्यतः शाकाहारी व्यक्तिहरू सरल, शान्त र विनम्र स्वभावका हुन्छन् भने मांसाहारी अलिक हिंस्रक, क्रुर र झगडालु स्वभावको हुने गरेको पाइन्छ । जस्तो जीवजन्तुहरूमा पनि बाघ, भालु, चितुवा, विरालो, कुकुर आदिजस्ता मांसाहार जनावरहरू हिंस्रक र क्रुर स्वभावका हुन्छन् भने खरायो, मृग, जरायो, हात्ती आदिजस्ता जनावरहरू भने शान्त स्वभावका रहने गरेको हामी पाउँछौं ।
त्यसो त मासुमा प्रचुर मात्रामा पोषक तत्व पाइने भएको हुँदा शरीरलाई बलियो र हृष्टपुष्ट तुल्याउन मासु नै सेवन गर्नुपर्छ भन्ने धेरैको धारणा रहेको पाइन्छ । तर यो धारणा त्यति जायज र युक्तिसंगत देखिँदैन । किनकि मांसाहारबाट जति पोषक तत्व पाइन्छ त्योभन्दा कैयौं गुणा बढी पोषक तत्व भट्मास, दाल, मटरकोसाजस्ता गेडागुडीहरूबाट पाउन सकिन्छ ।
एक रासायनिक विश्लेषणबाट पत्ता लागेअनुसार एक सय ग्राम कुखुराको मासुबाट एक सय १४ ग्राम क्यालोरी र अण्डाबाट एक सय ६० ग्राम क्यालोरी प्राप्त हुन्छ भने दलहनबाट तीन सय ३० ग्राम, दुध र पनिरबाट तीन सय ५० ग्राम र बदामबाट चार सय ग्रामसम्म क्यालोरी प्राप्त गर्न सकिन्छ । यस्तै एक सय ग्राम अण्डाबाट १३ ग्राम प्रोटिन प्राप्त हुन्छ । जबकि पनिरबाट २४ ग्राम, बदामबाट ३१ ग्राम र अझ दुधबाट त्योभन्दा पनि बढी प्रोटिन पाउन सकिन्छ । यसको विपरीत एक सय ग्राम कुखुराको मासु र अण्डामा कोलेस्ट्रोलको मात्रा क्रमशः ६० र ५५ प्रतिशतसम्म रहेको हुन्छ जुन मुटुको रोग निम्त्याउने प्रमुख कारकतत्व मानिन्छ । त्यसमा पनि बजारमा खुला रूपले बिक्रीको लागि राखिएको रातो रंगको देखिने राँगाभैंसीको मासुको सेवनबाट क्यान्सरजस्तो घातक रोग उत्पन्न हुने प्रबल सम्भावना रहेको कुरा त स्वास्थ्य विशेषज्ञहरू नै बताउने गर्दछन् ।
स्वास्थ्यविद्हरूका अनुसार मांसाहार गर्ने व्यक्तिहरूलाई अनावश्यक मोटोपन, पिसाबसम्बन्धी रोग र छारे रोगका साथै मस्तिष्कमा ट्युमर हुने सम्भावना पनि रहन्छ । स्मरण रहोस् ‘जुनोसिस’ नामक रोग मांसाहारकै कारण उत्पन्न हुने रोग हो । अर्को कुरा नेपालको कुनै पनि भागमा पशुपन्छी काट्नुभन्दा पहिले ती पशुपन्छीमा रोग छ कि छैन भनी परीक्षण गर्ने गरेको पाइँदैन । दशैं तिहारजस्ता पर्वहरूमा त रोगी राँगाभैँसीहरू काठमाडौंमा भित्र्याइने गरिन्छ । कतिपय यस्ता राँगाभैँसीहरू त बाटोमै मर्नेगरेको पनि बेलाबखत सुन्ने गरिन्छ । फेरि मासुको लागि बध गरिँदा पशुपन्छीहरू अत्यन्त तड्पिने र भयभीत हुने भएकाले तिनीहरूको रक्तप्रवाहमा पनि एक किसिमको विषाणु उत्पन्न हुन पुग्दछ जुन मांसाहारको माध्यमबाट सिधै हाम्रो शरीरमा प्रवेश गर्दछ । त्यस्तै मासु चाँडै सड्ने खालको खाद्यपदार्थ भएको हुँदा यसमा विभिन्न हानिकारक जीवाणुहरूले हुर्कने मौका पाउँछन् जुन विभिन्न घातक रोगहरूको प्रमुख कारण बन्न पुग्दछ ।
अर्कोतर्फ शाकाहारी भोजन मांसाहारीको तुलनामा अधिक गुणकारी, सात्विक र सुपाच्य हुन्छ । त्यसो त आर्थिक दृष्टिले पनि अपेक्षाकृत सस्तो र सुलभ मानिने शाकाहारी भोजनमा खनीज तत्व, भिटामिन, फलाम एवं क्यालोरी पर्याप्त मात्रामा पाइन्छ । जसले शरीरलाई चुस्त र निरोगी राख्न निकै ठूलो मदत पु-याउँछ । खासगरी शाकाहारी भोजनमा भिटामिन ‘सी’ प्रचुर मात्रामा पाइने भएको हुँदा यसले हाम्रो शरीरमा कोलेस्ट्रोलको अनावश्यक वृद्धिलाई नियन्त्रण गरी मुटुको रोगबाट बचाउँछ । यसमा फाइबर एवं रेसा हुने भएकोले क्यान्सरजस्तो घातक रोगबाट पनि धेरै हदसम्म बच्न सकिन्छ । पित्तासयमा पत्थरीको सिकायत पनि शाकाहारीमा कम हुने गरेको पाइएको छ ।
त्यस्तै दीर्घजीवी भएर बाँच्नेहरूमा पनि शाकाहारी ब्यक्तिहरूकै संख्या बढी देखिन्छ । सामान्यतया शाकाहारी व्यक्तिहरू मांसाहारीको तुलनामा १५ वर्षसम्म बढी बाँच्ने विभिन्न अध्ययनहरूबाट थाहा हुन आएको छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार भोजनमा भिटामिन, कार्बोहाइड्रेट, सागपात, सलाद तथा एकदलीय अनाज आदि पर्याप्त मात्रामा समाविष्ट भयो भने मस्तिष्कमा सेरोटिननको मात्रा बढ्न जान्छ जसको प्रत्यक्ष प्रभावबाट हाम्रो मस्तिष्क शान्त रहन पुग्छ । तर माछामासु, अण्डा आदिजस्ता उच्च प्रोटिनयुक्त भोजनमा ‘ट्रिस्टोफन’ नामक एमिनो एसिड नपाइने भएको हुँदा यस्तो भोजनको सेवनले मस्तिष्कमा सेरोटिननको मात्रामा कमी हुन जान्छ जसले गर्दा मानसिक र शारीरिक गडबढी उत्पन्न हुनगई मानिसको आयुमा समेत ह्रास आउन थाल्छ ।
त्यसो त मानव शरीरको आन्तरिक संरचना पनि मांसाहारअनुकूलको देखिँदैन । जस्तो मानिसको पाचनक्रिया मुखबाट सुरु भएको छ जबकि मांसाहारी जीवको पाचनक्रिया आमाशयबाट सुरु हुन्छ । त्यस्तै शाकाहारी भोजनमा कार्बोहाइड्रेटको मात्रा पर्याप्त हुने भएकोले हाम्रो मुखभित्रको -याल क्षारीय हुन्छ जबकि मांसाहारीको -याल अम्लीय हुन्छ जसले मासुलाई गलाउन मदत गर्दछ । मांसाहारी जीव साधारणतया दाह्रायुक्त एवं हिंस्रक मनोवृत्तिका हुने गर्दछन् जबकि मानिसको तीखो दाह्रा हुँदैन । यसै सन्दर्भमा अमेरिकाका एक जना वैज्ञानिक वर्ग स्टार्कको भनाइ पनि यहाँ उल्लेख गर्नु सान्दर्भिक हुने देखिन्छ । उनी भन्छन्, ‘अमेरिकामा मासु उपलब्ध गर्नका लागि प्रतिवर्ष जति खाद्यान्न वा अनाज पशुपन्छीहरूलाई खुवाइन्छ त्यसले विश्वका झण्डै आधा जनसंख्याको पेट भर्न सकिन्छ । यस दृष्टिकोणबाट हेर्दा पनि हामीले शाकाहारी भोजनलाई बढावा दिनुपर्ने खाँचो देखिन्छ ।
वास्तवमा पृथ्वीमा रहेका मानिसलगायत सबै जीवजन्तु र पशुपन्छीहरू प्रकृतिका अनुपम उपहार हुन् । सृष्टिका अमूल्य रचना हुन् । त्यसैले मानिसलाई जस्तै सबै प्राणीलाई बाँच्ने समान अधिकार हुन्छ । फेरि कुनै प्राणीलाई यदि हामी जीवन दिन सक्तैनौं भने उसको जीवन लिने अधिकार पनि त हामीलाई हुँदैन । जीव वैज्ञानिकहरूले पनि भन्ने गरेका छन् कि पृथ्वी मानिसको मात्र पेवा नभई सबै जीवजन्तु र पशुपन्छीहरूको साझा थलो हो । जैविक विविधताको दृष्टिले समेत यस्ता जीवजन्तुहरूको संहार होइन बरु संरक्षणको आवश्यकता छ । यसमानेमा विभिन्न चाडपर्व र परम्पराको नाममा गरिने पशुबलि र मांसाहारलाई अब हामीले आध्यात्मिक, वैज्ञानिक र स्वास्थ्यको दृष्टिले समेत विस्थापित गर्दै जानुपर्ने हो कि ?
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया