सिमसार : महत्व अपार
काठमाडौं । प्रत्येक वर्ष फेब्रुअरी २ मा विश्व सिमसार दिवस मनाउने गरिन्छ । नेपालमा पनि यो दिवस सिमसारको महत्व र उपयोगितासम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी साताव्यापी रूपमा नै यो दिवस मनाउने गरिएको को छ । यस वर्ष विश्व सिमसार दिवसको नारा ‘सिमसार र पानी’ भन्ने रहेको छ ।
सिमसार भन्नाले साधारणतया नदी, ताल, जलाशय एवं वनजंगल तथा आवादि क्षेत्रमा पानीले भिजेको वा पानी भएको स्थान भन्ने बुझिन्छ । सिमसार शब्दको ‘सिम’ले पानी नसुक्ने जमिन र ‘सार’ले पानी भन्ने बुझिन्छ । त्यस्तै भूमिगत जलस्रोत वा वर्षातका कारण पानीको परिमाण रहने प्राकृतिक वा मानव निर्मित स्थायी, जमेको वा बगेको, स्वच्छ वा नुनीलो पानी भएको धापिलो जमीन, दलदले जमिन, ताल, पोखरी, जलभण्डार क्षेत्र र कृषि जमिनले पनि सिमसारलाई जनाउँछ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार वरपर दुई हजारभन्दा बढी स्थानीय चराहरूको बसोबास हुने, ऋतु परिवर्तनको क्रमसँगै वर्षेनी अन्य क्षेत्रबाट चराहरू बसाई सरेर आउने तथा पानीमा निर्भर एक सयभन्दा बढी जीवजन्तु तथा वनस्पतिलाई आश्रय दिएको जमिन नलुक्ने र पानी नसुक्ने क्षेत्रलाई मात्र सिमसार क्षेत्रको रूपमा सूचीकृत गर्ने गरिएको छ ।
सिमसारको महत्व र उपयोगिताका सन्दर्भमा भन्नुपर्दा यसले जमीनको पानीलाई सञ्चय गर्दछ । यसले जमिनको पानीलाई शुद्ध गर्ने र पानीको बहाबलाई निरन्तरता दिने गर्दछ । साथै यसले पानीका प्रमुख स्रोतहरू ताल, हिमताल, दह, नदीताल, मूल एवं भूमिगत जलहरू स्वच्छ र जीवन्त राख्ने पनि संरक्षणविद्हरूको भनाइ रहेको छ । सिमसारले थुप्रै जीवजन्तु र वनस्पतिलाई अनुकूल वासस्थान प्रदान गर्दछ । बोटबिरुवाको प्रजातिको संरक्षण गर्दछ र साथै यसले बाढीपहिरो नियन्त्रणमा पनि सघाउ पु-याउने गर्दछ । भनिन्छ यदि ५ प्रतिशत जमिनमा सिमसार छ भने यसले ५० प्रतिशतसम्म बाढीपहिरो नियन्त्रण गर्न सक्दछ । त्यस्तै सिमसारबाट पानीको शुद्धीकरण गरी मानिसलगातय अन्य जीवजन्तुलाई समेत शुद्ध पानी उपलव्ध गराउने भएकोले यसलाई जमिनरूपी शरीरको मिर्गौला पनि मान्न सकिन्छ । त्यति मात्र नभई सिमसारले धेरै किसिमका प्राणीहरूलाई बासस्थान प्रदान गरेको हुन्छ । विशेषगरी यो क्षेत्र विभिन्न प्रजातिका जलचर, स्थलचर, उभयचर, नभचर तथा वनस्पतिहरूको आश्रयस्थलका रूपमा रहेको हुन्छ । माछा, काठ, दाउरा, जडीबुटी तथा अन्य खाद्यवस्तुजस्ता आवश्यक र उपयोगी वस्तुहरू सिमसारबाटै प्राप्त हुने गर्दछन् ।
सिमसारको यही महत्व र उपयोगितालाई ध्यानमा राखी सन् १९७१ फेब्रुअरी २ तारिखका दिन इरानको रामसार सहरमा विश्व सिमसार सम्मेलनको आयोजना गरिएको थियो । विश्वका एक सय ५६ मुलुकका प्रतिनिधिहरू सहभागी रहेको सो सम्मेलनमा विश्वका महत्वपूर्ण सिमसारको संरक्षण तथा व्यवस्थापनमा जोड दिनुपर्ने अभिसन्धि पारित गरिएको थियो । त्यसपछि यो दिवस विश्वले सन् १९८५ फेब्रुअरी २ का दिनदेखि मनाउन थालेको हो । नेपालले सन् १९८७ मा सिमसार महासन्धिमा हस्ताक्षर गरेको भए पनि सन् १९९१ बाट मात्र यो दिवस मनाउन थालिएको हो र हरेक वर्ष फेब्रुअरी २ का दिन सिमसारको महत्व र संरक्षणसम्बन्धी विभिन्न जन चेतनामूलक कार्यक्रमहरूको आयोजना गरी यो दिवस मनाउने गरिएको छ ।
नेपालको सन्दर्भमा भन्नुपर्दा यहाँको कुल क्षेत्रफलमध्ये लगभग ५ प्रतिशत भाग सिमसार क्षेत्रमै पर्दछ । नेपालमा तराईको समथर भू–भागदेखि हिमालको उच्च पहाडी भू–भागसम्म पाइने विविध पारिस्थितिकीय प्रणालीभित्र सिमसार क्षेत्रहरू विद्यमान रहेका छन् । स्मरण रहोस् नेपालमा पाइने बिरुवाहरूमध्ये करिब २ प्रतिशत बिरुवा, एक सय ७२ प्रजातिका माछा, एक सय ९० प्रजातिका चरा, लोपोन्मुख दुई प्रजातिका गोही, एकसिंगे गैंडालगायत केही स्तनधारी एवं घस्रने जीवहरूको बासस्थान सिमसार भएको अनुमान गरिएको छ । विशेषगरी नेपालका सिमसार क्षेत्रहरू ताल र नदी किनारहरू, धार्मिक, सांस्कृतिक एवं परम्परागत आस्थाका केन्द्रहरूमा विद्यमान रहेका छन् । त्यसो त नेपालका सिमसार क्षेत्रहरू धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले मात्र नभई वैज्ञानिक अध्ययन अनुसन्धानका दृष्टिले पनि अत्यन्त उपयोगी हुनपुगेका छन् ।
वास्तवमा सिमसार क्षेत्र हाम्रा पारिस्थितिकीय प्रणालीका अभिन्न अंग हुन् । किनकि यिनीहरूले हाम्रो पर्यावरणीय प्रणालीलाई सन्तुलन कायम राख्ने मात्र नभई यिनीहरूबाट हामी धेरै किसिमका सेवा र सुविधाहरू प्राप्त गर्न सक्छौं । वास्तवमा सिमसार क्षेत्रहरू संकटमा पर्नु भनेको कैयन प्राणी, वनस्पति तथा मानव जीवन नै खतरामा पर्नु हो । त्यसैले यस्ता क्षेत्रहरूको उचित संरक्षण र संवर्द्धनका साथै स्थलगत रूपमै वैज्ञानिक अध्ययन अनुसन्धान गरिनु अति नै आवश्यक देखिन्छ ।
सिमसारको यही बहुपक्षीय उपयोगितलाई दृष्टिगत गरी नेपाल सरकारले कास्की जिल्लाका नौवटा थप तालहरूलाई पनि विश्व रामसार सूचीमा सूचीकृत गरेको छ । यसरी सूचीकृत अन्तराष्ट्रिय महत्वका यी तालहरूमा फेवा ताल, रूपा ताल, बेगनास ताल, दिपाङ ताल, खास्टे ताल, न्यूरेनी ताल, मेदी ताल, रानी पोखरी र गुँदे ताल रहेका छन् ।
यसअघि मुगुको रारा, सोलुखुम्बुकोे गोक्यो, रसुवाको गोसाईंकुण्ड, डोल्पाको शे–फोक्सकुण्डो, इलामको माइपोखरी, कैलालीको घोडाघोडी, चितवनको बीसहजारी, कपिलवस्तुको जगदीशपुर जलाशय तथा सप्तरी र सुनसरी जिल्लाको सिमामा पर्ने कोशी टप्पु गरी नौवटा तालहरू विश्व रामसारमा सूचीमा सूचीकृत भइसकेका छन् । यसअनुसार विश्वका सिमसार पहिचानसहित संरक्षणका लागि स्थापित इरानको रामसार सूचीमा नेपालका जम्मा १८ वटा सिमसार क्षेत्रहरू सूचीकृत हुनपुगेका छन् । जुन हाम्रो लागि खुशी र गौरवको कुरा पनि हो । तथापि सिमसार क्षेत्रको यति व्यापक महत्व र उपयोगिता हुँदाहुँदै पनि यसको संरक्षण र संवर्द्धनतर्फ भने अझै पनि यथोचित ध्यान पुग्न सकेको देखिंदैन ।
खासगरी प्राकृतिक वन सम्पदाको विनाश, प्राकृतिक स्रोत–साधनको अनियन्त्रीत प्रयोग, कृषि उत्पादनमा कीटनाशक विषादीको अत्यधिक प्रयोग तथा अव्यवस्थित भौतिक निर्माण जस्ता कार्यहरू सिमसार क्षेत्र संरक्षण र संवर्द्धनका लागि प्रमुख चुनौतीका रूपमा देखिएका छन् । त्यस्तै भू–क्षय, जलकुम्भीको अतिक्रमण, जल प्रदूषण, खुला चरिचरन, खेती र बसोबासका निम्ति सिमसार क्षेत्रको प्रयोग तथा जनचेतनाको अभाव आदि पनि सिमसार विनाशका प्रमुख कारण बन्न पुगेका छन् ।
यसरी जीवनदायी सिमसार क्षेत्रहरू यतिखेर अत्यन्तै द्रुत गतिमा विनाश भइरहेका छन् । विशेषगरी जलवायु परिवर्तनले मानव जीवनलगायत समग्र पर्यावरणीय प्रणालीमा असर पारिरहेको छ । अहिले उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर देखिन थालिसकेको छ । भू–क्षय, बाढी पहिरो तथा हिमतालहरू फुट्ने संकेतले स्वभावतः कमजोर हिमाली वातावरण र समग्रमा त्यहाँको जनजीवनमा नै चुनौतीहरू थपिन थालेको छ ।
खासगरी कृषिप्रधान देश नेपालको कृषि क्षेत्रमा पर्न गएको जलवायु परिवर्तनको प्रत्यक्ष असरका कारण खाद्य संकटको स्थिति उत्पन्न हुन पुगेको छ । जबकि नेपालजस्तो गरिब मुलुकले जलवायु परिवर्तनको असरलाई सामना गर्न खर्चिलो र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न सक्तैन । यस्तो आवस्थामा जलवायु परिवर्तनको असरबाट बच्न र सामना गर्न सिमसार क्षेत्रको संरक्षण र सदुपयोग गर्नु अति नै जरुरी भइसकेको छ । किनकि सिमसार र यसमा निहित जैविक विविधताको संरक्षण र सदुपयोगले नै जलवायु परिवर्तनको असरलाई न्यून गर्न प्रभावकारी भूमिका निर्वाह गर्न सक्तछ ।
त्यसैले नेपालका सिमसार क्षेत्रहरूको विस्तृत अध्ययन गर्दै यसको बहुपक्षीय उपयोगिताको सम्बन्धमा सामाजिक चेतना बढाउने, समुदायमा आधारित संरक्षण तथा व्यवस्थापन पद्धतिलाई प्रश्रय दिने, अव्यवस्थित सहरीकरण तथा प्रदूषित औद्योगिकरणलाई घटाउँदै सिमसारको संरक्षण तथा दिगो व्यवस्थापनबाट जलवायु परिवर्तनको असर न्यूनीकरणमा जोड दिनु पर्दछ । सबैभन्दा महत्वपूर्ण कुरा सिमसारसम्बन्धी छुट्टै एकीकृत कानुनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने टड्कारो खाँचो देखिएको छ । लेखक नास्टका निवृत्त वरिष्ठ प्रवर्द्धन अधिकृत हुन् ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
- बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया