नेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–२
काठमाडौं । मैदानी भूभाग हाल कानपुर नजिकको काव्यकुञ्जका हिन्दू राजा पराजित भएपश्चात् ब्राह्मणहरुलाई सुरक्षित स्थानको आवश्यकता भयो । यसभन्दा अघिको समयमा गुर्जर प्रतिहार जातिका असिम बहादुर लडाकाहरुका कारण र प्रतिहार वंशी राजवंशका कारण मुसलमान आक्रमणबाट राज्य हमेसा सुरक्षित रहँदै आए पनि अन्ततोगत्वा सुल्तान महमुद भन्ने मुसलमान लडाका सरदारको अनेकौँ कूटनीतिक आक्रमण तथा धावाले गुर्जर प्रतिहारी वंश पनि समाप्त हुन गयो । कनौज वा काव्यकुञ्जमा रगतको खोला बगी भयंकर लुटपाट मच्चियो ।
हिन्दू प्रतिहार वंशले हिन्दू धर्मको रक्षार्थ जुन असीम धार्मिक एकता र आस्थाले ऊर्जा र साहसका साथ मुसलमानहरुलाई हराई अफगानिस्थानस्थित कुरर्मनदी घाटीसम्मको भूभागमा आफ्नो झण्डा लहराई युद्ध जितेर अधिकार लिएको थियो । तर अन्त्यमा सुल्तान महमुद सुबुक्दिन सामु हार खानुप¥यो । सुल्तान महमुदले दुई पटक राजधानी कन्नौजमा आक्रमण तथा भीषण लुटपाट मच्चायो । कनौज त्यस बखतको सम्पूर्ण भारत वर्षको सबैभन्दा सान सौकत र सम्पन्न सहरका रुपमा नाम चलेको थियो ।
सन् १०१९ मा कन्नौजलाई रक्षा गर्ने सात दुर्गहरुमा आक्रमण गरी त्यसमा अधिकार लिई नगद लुटिएको र हिन्दू धर्म र संस्कृतिको विनाश एवं अपमान हुने देखेर ब्राह्मणहरुको ठूलो संख्या सुरक्षित राज्य तथा स्थानतर्फको खोजी तथा अनुसन्धानमा लाग्न थाल्दा पहाडी जंगल तथा भूभाग सबैभन्दा सुरक्षित देखे ।
मुसलमान लुटेरा सरदार फर्किसकेपश्चात् गुर्जर प्रतिहारीवंशको शवहरु मात्र रहन गयो भने अन्य धेरै चारैतर्फ पलायन हुन पुगे । पछि गजनवी भन्ने मुसलमान लडाका सरदारको आक्रमण कालमा पुनः हिन्दू राजाहरुले गजनवीलाई विशेष तह पञ्जावको राज्यबाट आक्रमण गरी खेदिदिए । यो कुरो करिब इ.सं. १०४३ तिरको हो । यस प्रकार म्लेच्छको हातबाट हिन्दू आर्यावर्तलाई मुक्त गराउनुपर्छ भन्ने भावना एक पटक पुनः सफल भयो ।
मुसलमानी आक्रमणपछि मैदानी आर्यावर्तका धेरै संख्यामा ब्राह्मण तथा क्षेत्रीयलगायत अनेकौँ जन गहडवालका पहाडहरुतर्फ लागे । इतिहासकारहरुका भनाइअनुसार मुसलमानी आक्रमणहरुपश्चात् पहाडहरुमा शरणार्थीहरुको अनेकौँ झुण्डले भरिएका थिए । केही दशक वा कालपश्चात् केही पुनः फर्किएर गए भने धेरैजसो स्थायी बसोबास गर्न लागे । यसै प्रकार केही वैदिक आर्य ब्राह्मणहरु विभिन्न काल खण्डमा राज्य गुमाएका तथा नयाँ राज्य कायम गर्न आइपुगेका राजपूत क्षेत्रीयहरुसँग पनि आइपुगे । देउवा, ऐरी, राठौड, बोहोरा, ठकुराठी, चौव्हाणजस्ता नेपालका क्षेत्रीयहरु राजस्थानी राजपूतका सन्तति भएको कुरा उनीहरुका वंशावलीबाट ज्ञात हुन आउँछ । जो पहाडी खस तथा अन्य जातिमा मिसिन पुगे ।
बौद्ध धर्म भारतवर्षलगायत अन्य क्षेत्रतर्फ फैलिन लागेपश्चात् खसशासकहरु पनि बौद्ध धर्मावलम्बी थिए भन्ने कुरा इतिहास तथा विभिन्न स्रोतहरुबाट ज्ञात हुन आउँछ । शंकराचार्यको आगमनभन्दा पूर्व नै धेरै संख्यामा हिन्दूहरुको उपस्थिति पहाडी क्षेत्रमा थियो भने बौद्ध धर्मसँगै वा पहिले नै हिन्दू धर्म समेत मौलाउन थालिसकेको थियो । प्राचीनकालकै ऋषिमुनिहरुको बासस्थान भनी चिनिएको गंगा नदीका पार्वत्य किनाराहरुमा साधु, तपस्वीहरुको आवतजावत बसोबास एवं प्रभावहरु व्यापक हँुदै थियो ।
यसै क्रममा खसहरुमा हिन्दू धर्मप्रतिको आस्थाको जागरण एवं हिन्दू धर्म मान्ने, अपनाउने काम चल्दै आए पनि विधिवत् रुपमा जातीय प्रथा (ब्राह्मण, क्षेत्रीय, वैश्य र शुद्रमा) विभाजित थिएन । तथापि ठूलाले सानालाई, धनीले गरिबलाई, शासकले शासितलाई, बालियाले निर्धालाई थिचोमिचो गर्ने शोषण गर्ने तन्त्रविद्या तथा धामी झाँक्री विद्याद्वारा शोषण गर्ने परम्पराले भने खस समाजमा नराम्ररी जरो गाडेका थियो । ब्राह्मण वर्गमा उच्च हुने देखेर टाठाबाठा र सम्पन्न तथा राज्यका राजाहरुका नजिक बस्न रुचाउने वर्गहरु ब्राह्मण बन्नमा आतुर हुन थाले ।
आर्यावर्त वा मैदानी इलाकाबाट आएका ब्राह्मण वर्गलाई बिहेबारीको समस्या हुन थाल्यो भने हिन्दू धर्ममा आबद्ध ठूला–ठूला खसहरु जनैधारी जातभातमा कट्टर बनिसकेकाले वैदिक ब्राह्मणहरुसँगको बिहेबारीले सहजता पाउन गयो । ती पहाडमा आएका नवआगन्तुक ब्राह्मण वर्गले दुई चार पुस्तासम्म कैयौं दिन महिनाको यात्रा गरी भारत वर्षका मैदानी इलाकामा गई बिहेबारी गर्नु अब जरुरी मात्र भएन कि बिहेबारी गर्न मैदानी इलाका पुगेका ब्राह्मणहरुलाई मैदानी ब्राह्मणहरुले आफ्ना छोरी दिन तथा आफूले बुहारी भित्र्याउन ठाडै इन्कार वा नामञ्जुरी गरिदिए । अन्तमा तिनले आफैँहरुबीच हिन्दू धर्ममा आबद्ध खसहरुसँग बिहेबारी चलाउन थाले । नेपालका पहाडी बाहुन वा ब्राह्मण वर्ग मुख्यतया खस जाति नै हुन् । त्यति भए पनि एकै पटकमा नभई धेरै पटकको ब्राह्मणहरुको आगमनका कारण यिनका संस्कृति, धर्म, भेष तथा हिन्दूको व्याकपता र सम्पर्कले ती हिन्दू धर्ममा पूर्ण आबद्ध भए ।
यी कारणहरुले ती पुरापुरी हिन्दू धर्म र संस्कृतिप्रति प्रतिबद्ध, ब्राह्मण धर्म र चलनमा तलमाथि नभई नियमबद्ध ब्राह्मण वा बाहुन हुन पुगे । गया, काशी, चारधाम ती ब्राह्मणहरुका पवित्र तीर्थस्थल भए भने हिन्दू धर्म संस्कृति परम्परा धान्नु उनीहरुका प्रमुख जिम्मेवारी हुन गयो । भारतवर्षमा ब्राह्मण सम्प्रदायको प्रभाव र महिमा धेरै पुरानो र विस्तृत प्रकारको रहेको छ । भारत वर्ष अर्थात् पूर्वमा कामरु आसाम र बर्मादेखि पश्चिममा अफगानिस्तान, उत्तरमा कैलाश मानसरोवर एवं कश्मिरदेखि दक्षिण रामेश्वरसम्ममा ब्राह्मण वर्गको नियम नीति र हिन्दू धर्मको महिमाले व्यापकता एवं प्रतिष्ठा पाएको थियो ।
ब्राह्मण (बाहुन) वर्गबारे हिन्दू जातिका उत्थान और पतन भन्ने पुस्तकमा रजनीकान्त शास्त्रीले विलियम क्रुकको पुस्तक ट्राइब्स एण्ड काष्ट मा उल्लेख गरिएको भनाइ उद्धृत गर्दै भारतवर्षका कुनै बखतमा रहेका सवा लाखे (सवा लाख) ब्राह्मणहरुबारे विस्तृत रुपमा सबैको वर्णन गर्दै व्याख्या गरेका छन् ।
हाल उत्तर प्रदेशमा अवस्थित राज्यका राजा मानिकचन्दले विशाल यज्ञ गरी सबै ब्राह्मणहरुलाई भोजन गराउने प्रतिज्ञा गरेका थिए । तर आफूले प्रतिज्ञा गरेबमोजिम सबै भारतवर्षका ब्राह्मणहरुलाई जम्मा गर्दा पनि छोटो समयका कारण सवा लाख जना ब्राह्मण जम्मा हुन सकेनछन् । राजालाई आपत् परेका कारण भोजनमा आमन्त्रित जति सबैलाई जनै धारण गर्न लगाई ब्राह्मण बनाएर भोजन गराएपश्चात् भोजन गर्ने जनैधारी सबै ब्राह्मण भएछन् ।
प्राचीनकालमा ब्राह्मण केवल जन्मले नभई कर्मले हुने गर्थे । अनेक प्रसिद्ध ऋषिहरु अनार्य वा तल्लो जातिको माताको गर्भबाट जन्म लिएका कुरा हामी पुराण एवं धार्मिक ग्रन्थहरुमा पाउँछौँ । जाति वा थरका कुरा गर्दा हामी गोत्र र प्रवरबारे पनि सोध्छौँ, त्यो गोत्र भनेको ऋषि वा प्रसिद्ध ब्राह्मणबाट जन्मिएको सन्तान मात्र नभई उसबाट दीक्षित शिष्य पनि हो । यस्तै प्रकारले ब्राह्मणहरुको धेरै थर गोत्र र प्रवर बन्न गए भने तिनका सन्तानहरु प्नि ब्राह्मण हुन पुगे ।
नेपाली ब्राह्मणहरुका पुर्खाको आगमन काल नौ शताब्दीदेखि १२औं शताब्दीअघिसम्मको अनुमान गरिएको छ । मैदानी क्षेत्री वा राजपूतहरुको पनि सोही अवधिमा आगमन भएको हो । बाँकी बहुसंख्यक जन पश्चिमी पहाडहरुबाट बसाइ सर्दै आएका हुन् । कसै कसै विद्वानले खसहरुलाई पनि आर्यका एक हाँगा वा शाखा मानी व्याख्या गरेका छन् भने अधिकांशले मानेका छैनन् । यहाँनिर भुल्न हुँदैन कि कुनै ठाउँ छाडी अन्यत्र बसाइ सरेर कैयौँ शताब्दी बिताएपश्चात् सो वर्ग सोही पछिल्लो ठाउँको हुन्छ र त्यहीको सँगको सम्पर्क र सम्बन्धका कारण केही पुस्तापछि नयाँ वर्ग वा नश्लका रुपमा विकसित हुन पुग्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
- निर्यात बढाउन हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया