Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवित्तीय जिम्मेवारी तथा उत्तरदायित्व : विषयबोध नै पहिलो आवश्यकता

वित्तीय जिम्मेवारी तथा उत्तरदायित्व : विषयबोध नै पहिलो आवश्यकता


काठमाडौं । विगत लामो समयदेखि सार्वजनिक खर्च तथा आम्दानीका क्रियाकलापमा संलग्न पदाधिकारीहरू आफ्नो जिम्मेवारीप्रति जिम्मेवार नभएकोले आर्थिक अनुशासन कायम हुन सकेन । समयमै खर्च भएन भन्ने गुनासो रहँदै आएको छ । समय समयमा भएका बजेट तथा आर्थिक कार्यविधि परिवर्तन एवं खर्च प्रक्रियाको सरलीरकरणका काम भए पनि वित्तीय जिम्मेवारीमा उदासिनताले निरन्तरता पाउँदै आएको छ । शासन प्रणालीमा भएको परिवर्तनले बजेट अभ्यास तथा कार्यक्रम व्यवस्थापनलाई आमूल परिवर्तन गर्नपुग्यो तर पनि वित्तीय जिम्मेवारी र उत्तरदायित्वको अवस्था त्यसपछि पनि एकदमै कमजोर देखिएको छ ।

सार्वजनिक वित्तीय क्रियाकलापको उत्तरदायित्व विवेचकका रूपमा रहेको महालेखा परीक्षकको ५७औं प्रतिवेदनले संघीय, प्रदेश र स्थानीय सरकार, संगठित संस्थाको वित्तीय अवस्थामा आमूल सुधार गर्नुपर्नेतर्फ सन्देश दिएको थियो । बेरुजुलाई जवाफदेहिताको प्रमुख सूचक मान्दा प्रतिवेदनअनुसार कुल बेरुजु छ सय ७४ अर्ब रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षकको ५७औँ प्रतिवेदनमा आर्थिक वर्ष कुल ५१ खर्बको लेखापरीक्षण गरिएकोमा संघीय निकायहरूको ४ दशमलव ०५ जिल्ला समन्वय समितितर्फ २ दशमलव ७७ प्रतिशत, प्रदेश मन्त्रालयहरूमा ४ दशमलव ३३ प्रतिशत, स्थानीय तहहरूमा ५ दशमलव १५ प्रतिशत र अन्य एक्स्ट्राबजेटरी निकायमा ११ दशमलव ९५ प्रतिशत बेरुजु देखिएको थियो । हालै प्रस्तुत भएको ५८औँ प्रतिवेदनअनुसार संघीय सरकारको आर्थिक कारोबारमा ४४ अर्ब (२ दशमलव ८६ प्रतिशत), प्रदेशमा छ अर्ब (२.७४ प्रतिशत), स्थानीय तहमा ४० अर्ब (५ प्रतिशत) र संगठित संस्थामा १३ अर्ब (७.७४ प्रतिशत) बेरुजु देखिएको छ । प्रतिवेदनले जिम्मेवारी, प्रतिवेदन, आन्तरिक नियन्त्रण र अनुशासनका धेरै नीतिगत पक्षमा रहेका कमजोरीमाथि पनि प्रकाश पारेको छ ।

बेरुजु मात्र वित्तीय जवाफदेहिताको सूचक होइन, यसले खर्च निकायको वित्तीय कारोबारको स्तरलाई मात्र देखाउँछ, यसबाहेक पनि समष्टिगत तहका बजेटरी अनुशासन, विनियोजन सिद्धान्त, विनियोजन न्याय र समष्टिगत उपलब्धिको स्तरले वित्तीय जवाफदेहितालाई देखाइरहेको हुन्छ । तर बेरुजुलाई नै प्रमुख सूचक मान्दा यसले आर्थिक अनुशासनमा ठूलो खाडल देखाउँछ । सरकारी निकायमा पनि खर्चको गुणस्तर बढ्न सकेको छैन तर संगठित संसथा, संस्थान, समिति जस्ता एक्स्ट्रा बजेटरी निकायमा बेरुजुको आयतन निकै भयावह छ । दृष्टान्तका लागि गत आर्थिक वर्षमा त्रिभुवन विश्वविद्यालयको कुल बजेट २२ अर्ब थियो भने उसको क्युमुलेटिभ बेरुजु २८ अर्ब थियो । यो एउटा उदाहरण मात्र हो । यसले वित्तीय जिम्मेवारी निर्वाह गर्ने पक्षमा संगठित संस्थाहरू निकै कमजोर छन् भन्ने बताएको छ ता कि यस्ता निकाय झनै विशिष्टीकृत र कार्यकुशल हुनुपर्ने थियो ।

दशकअघिदेखि सार्वजनिक क्रियाकलापमा समष्टिगत तथा संगठन तहको आर्थिक अनुशासन कायम गर्नका लागि कार्यविधि कानुन भएर मात्र पुग्दैन, जवाफदेहिता कानुन पनि चाहिन्छ भन्ने बहस चेल्दै आएको थियो । बजेट समीक्षा एवं स्वतन्त्र विश्लेषणमा वित्तीय जवाफदेहिता कानुनले पदाधिकारीलाई जिम्मेवार बनाउन सकिन्छ भन्ने सन्देश यसले दिएको थियो । त्यसो हुँदा जवाफदेहिताको घेरामा मन्त्री, सचिव, कार्यालय प्रमुख र आर्थिक कारोबारमा संलग्न लेखा समूहका कर्मचारीलाई जिम्मेवारीको बोध गराउन सकिन्छ भन्ने अनुमान गरिएको थियो ।

राजनीतिक कार्यकारीले सही भूमिका निर्वाह गर्न नसक्दा पनि कार्यक्रम कार्यान्वयनमा बाधा पुगेको बझाइ थियो र केही हदमा यो सही थियो । राजनीतिक कार्यकारिणी र प्रशासकीय पदाधिकारीबीच जिम्मेवारी सन्तुलन आवश्यक थियो । एक्स्ट्रा बजेटरी निकायको नेतृत्व राजनीतिक आस्थाका आधारमा चयन हुने भएकाले लेखा उत्तरदायी अधिकृत विभागीय सचिवप्रति जवाफदेही नहुने प्रवृत्ति थियो । यस्ता आवश्यकतालाई सम्बोधन गर्न आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र यसलाई विस्तृत व्याख्या गर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ कार्यान्वयनमा ल्याइएको छ । यी दुवै कानुन कार्यान्वयनमा आएको भर्खरै भएकोले समीक्षा गर्ने समय भइसकको छैन । तर कानुनलाई सुरुदेखि नै आशयअनुरूप कार्यान्वयन गर्न नसकिएमा भविष्यमा खासै उपलब्धि देखिँदैन र सरकार आलोचित हुने मात्र होइन, समग्र वित्तीय अनुशासनप्रति पनि प्रश्न उठ्ने गर्दछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ तथा नियमावली २०७७ ले अर्थमन्त्री र राष्ट्रिय योजना आयोगको उपाध्यक्षलाई स्पष्ट रूपमा जवाफदेहिताको घेरामा ल्याएको छ । योजनाको आयोगले बजेट तर्जुमाको प्राविधि पक्षमा अभ्यास गर्दछ । आयोगको भूमिका बजेटलाई राष्ट्रिय प्राथमिकतामा केन्द्रित गरी कार्यान्वयनयोग्य बनाउनुमा छ । स्रोत समितिले बजेटको आकार आकलन गर्दा प्राविधिक आधार लिन सकेको छैन, राष्ट्रिय गौरवका आयोजनालगायत उच्च प्राथमिकताका कार्यक्रमलाई इएरमार्किङ गर्न सकेको छैन, मध्यकालीन खर्च संरचना र आयोजना बैंकलाई बजेट संयन्त्रका रपमा अभ्यासमा ल्याउन सकेको छैन ।

प्राविधिक रूपमा हुने बजेट छलफल तथा बजेट कार्यान्वयनको समीक्षा पनि स्तरीय होइन, औपचारिक छ । यसले आयोगको औचित्यमाथि पनि प्रश्न उठाउँदै आएको छ । त्यस्तै बजेट नीति तथा स्रोत परिचालनको जिम्मेवारीमा अर्थमन्त्रीको भूमिका प्रभावकारी पार्न सकिएको छैन । संस्था र पदाधिकारीको औचित्य कामका आधारमा पुष्टि हुने हो । त्यसैले वित्तीय उत्तरदायित्व ऐनले यी दुवै पदाधिकारीको भूमिकालाई प्रवाकारी पार्न कानुनी रूपमा नै जिम्मेवार बनाएको छ ।

विषयगत मन्त्रालय/सचिवालयहरू वित्तीय क्रियाकलापलाई सञ्चालन गर्ने महत्वपूर्ण पात्र हुन्, जसको क्रियाशीलता र आचरणले नै बजेट नतिजामा अनुवाद हुनसक्छ । यसअघि मन्त्री/संवैधानिक निकाय प्रमुख वित्तीय जिम्मेवारीमा छुटेका थिए, विषयगत कानुनका आधारमा नीतिगत भूमिका मात्र लिने गर्दथे, त्यो पनि स्वेच्छिक हदमा । अहिले कार्यकारी रूपमा नै उनीहरूलाई जिम्मेवार बनाएको छ । मन्त्री तथा संवैधानिक निकाय प्रमुखहरू वार्षिक विकास कार्यक्रमको तयारी गर्न लगाउने, आयोजना छनौट गराउने, मध्यकालीन खर्च संरचना तयारी गर्न लगाउन, मन्त्रालयगत बजेट प्रस्तावलाई अन्तिम रूप दिने, बजेट प्रस्ताव गर्ने, बजेट कार्यान्यन (कार्यतालिका, कर्यसम्पादन सम्झौता) गराउने, त्रैमासिक रूपमा कार्यक्रम समीक्षा गर्ने, सरकारी सम्पत्तिको संरक्षण र बजेट समर्पणका जिम्मेवारीमा छन् ।

त्यस्तै बजेट कार्यक्रम कार्यान्वयनमा सहजीकरणका लागि नीति मार्गदर्शन र अन्तरमन्त्रालय समन्वय पनि उनिहरूको जिम्मेवारी हो । मातहत निकायको गतिविधिको पूर्ण जानकारी र कार्यक्रम, नीति तथा सेवा प्रवाहको जिम्मेवारी पनि उनीहरूले लिनु पर्दछ । आफू नेतृत्वको निकायको कार्यसम्पादन हुनसके नसकेको जिम्मेवारी लिने पनि उनीहरूको दायित्व हो ।

विभागीय मन्त्री/संवैधानिक निकाय प्रमुखपछि वित्तीय जिम्मेवारीका सन्दर्भमा सचिवको भूमिका महत्वपूर्ण हुन्छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनले उसलाई लेखा उत्तरदायी अधिकृतको रूपमा लिएको छ, जसअनुसार बजेट तयारीको प्राविधिक नेतृत्व गर्ने, बजेट प्रस्तुति र छलफल, स्वीकृत बजेटको कार्यान्वयन तयारी, समयबद्ध उपलब्धि सूचकसहित कार्यतालिका स्वीकृति, कार्यसम्पादन करार, कार्यान्वयनको अनुगमन, रेखदेख, नियन्त्रण गर्ने काम पर्दछन् । सचिवले मातहत संगठित संस्था, बोर्ड, समितिमा वित्तीय जिम्मेवारी रेखदेखको पनि जिम्मेवारी लिनुपर्दछ ।

विगतका ऐनहरूले यसलाई प्रस्ट पारेको थिएन । तर अहिले पनि सचिवहरूले आफू मातहतका सगठित संस्थालाई जिम्मेवारीबोध गराउन सेकेका छैनन् । मातहत निकायहरूमा हुने खर्च क्रियाकलापको लेखा राख्ने, आन्तरिक लेखा परीक्षण गारउने, आन्तरिक नियन्त्रण प्रणाली व्यववस्थित गर्ने जिम्मेवारीमा पनि ऊ रहन्छ । आवश्यकताअनुरूप कार्यक्रम संशोधन गर्ने र खर्च हुन नसक्न बजेट अर्थ मन्त्रलयमा समर्पण गरी सरकारको कोष व्यवस्थापनमा सहयोग पुयाउने दायित्व पनि सचिवमा नै छ ।

आर्थिक वर्ष बितेपछि वित्तीय विवरण तयारी गरी सर्वोच्च लेखापरीक्षण निकायबाट आफ्नो वित्तीय जवाफदेहिताको मूल्यांकनको आधार दिने काम पनि लेखा उत्तरदायी अधिकृतको हैसियतमा सम्बन्त्रित सचिवको हो । प्रशासकीय नेतृत्व लिने पदाधिकारीको हैसियतमा मन्त्री, मन्त्रिपरिषद् सचिवालय, महालेखा नियन्त्रक कार्यालय, कहालेखा परीक्षक कार्यालय, योजना आयोग, अर्थ मन्त्रालय, सार्वजनिक लेखा समितिलगायत अन्य संसदीय समितिसँग समन्वय गर्ने काम पनि सचिवले नै गर्नुपर्दछ । यी आधारबाट सचिव वित्तीय जिम्मेवारी र जवाफदेहिताको मियो हो भन्न सकिन्छ । सचिवले यी जिम्मेवारी जवाफदेहिता निर्वाहका लागि व्यावसायिक क्षमता र सदाचारिता दुवै पक्षमा खरो उत्रिन सकनु पर्दछ ।

संसद्बाट परित बजेट तथा कार्यक्रम कार्यान्वयनमा सचिवको वित्तीय जवाफदेहितालाई समृद्ध बनाउन जिम्मेवार व्यक्ति र लेखाप्रमुखहरूको कार्यजिम्मेवारी कानुनमा नै तोकिएको छ भने आर्थिक जिम्मेवारी र जवाफदेहिता प्रवर्द्धनका लागि क्रियाकलायमा आधारित लेखा प्रणाली, एकल खाता कोष भुक्तानी प्रणालीजस्ता सिस्टम एप्लिकेसनले खर्चको गुणस्तर बढाउनका लागि पूर्वपरीक्षणको मार्ग पनि खोलेको छ ।

कानुनी प्रावधान, सुधारिएको लेखा सार्वजनिक वित्त व्यवस्थापन प्रणाली र प्रणालीलाई सहयोग पु-याउने सिस्टम एप्लिकेसनका बाबजुद पनि वित्तीय क्रियाकलापको स्तर राम्रो देखिएको छैन । अख्तियारी, आयोजना स्वीकृति र निकासा प्रणालीमा सुधार गरिएको छ । त्यसले पनि समयमै बजेट क्रियाकलाप सञ्चालन गरी बजेटका उद्देश्य पूरा गर्न योगादन पूरा भएको छैन । कानुन कार्यान्वयन गर्न दायित्वमा पनि पदाधिकारीहरू सबल देखिन नसके अन्य अन्य कुरामा उसको अग्रसरता देखिन्छ भन्ने कसरी विश्वास गर्न सकिन्छ । त्यसैले नेपालमा संरचनागत पक्षभन्दा व्यवहारजन्य पक्षमा सुधारको खाँचो देखिएको छ । यो कुरा मन्त्री र सचिवको कार्यजिम्मेवारी निर्वाहको असन्तुलनमा पनि देखिने गरेको छ ।

विभागीय मन्त्रीहरू नीति व्यवस्थापनबीचको सन्तुलन ल्याउन ललायित देखिँदैनन्, कार्यक्रम प्राथमिकताबीचको सन्तुलन पनि देखिएको छैन, सूचना जानकारी र क्रियाकलापको अपनत्व पनि देखिएको छैन भने कार्यप्रणालीको नेतृत्व, अभिभावकत्व र मार्गनिर्देशनमा मन्त्रीहरू सचेत क्रियाशीलतामा छैनन् । त्यसको प्रभाव समस्त प्रणालीमा पर्दै गएका छ । यो असन्तुलनको पक्ष स्थानीय पालिकाहरूमा झनै देखिएको छ । खर्च जिम्मेवारी र जावदेहितामा पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भूमिका बाझिएको छ ।

कानुनले पदाधिकारीलाई तोकिएको जिम्मेवारीबोध गर्ने पहिलो पक्ष नै बाँकी देखिन्छ । विषयवस्तुको अन्तरबोधले पदाधिकारीलाई जिम्मेवारीमा सचेत भई अपेक्षित भूमिका निर्वाह गर्ने आत्मिक धरातल पाउन सक्छन् । यसले राजनीतिक कार्यकारी र प्रशासकीय नेतृत्वको सीमा र सम्बन्ध पनि प्रस्ट हुन्छ । त्यसपछि मात्र आ–आफ्नो वित्तीय जिम्मेवारी अपनत्वपूर्ण रूपमा ग्रहण गर्न पुग्छन् । उच्च पदस्थ अधिकारीको जिम्मेवारीबोधले आफैँ स्वनियमनमा रहने आधार खडा हुन्छ । विषयबोध नै नभएमा न नेतृत्व हुनसक्छ न कार्यान्वयन नै । यस अवस्थामा वित्तीय जिम्मेवारी र जवाफदेहिताको अभिमुखीकरण नै महत्वपूर्ण देखिएको छ । निकै विस्तृत र स्तरीय कानुनका अक्षरलाई जीवन्त क्रियाशील बनाउने भनेको पदाधिकारीको आचरणले हो । अन्यथा सार्वजनिक वित्त व्यवस्थापन सुधारका लागि अघि लिएका प्रयासहरू बित्थामा खेर गै राज्यप्रणालीप्रतिको विश्वास झनै पातलिन जान्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x