Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगसमृद्धिका लागि कस्तुरी मृग पालन

समृद्धिका लागि कस्तुरी मृग पालन


काठमाडौं । कस्तुरी मृग झट्ट हेर्दा बाख्राजस्तो देखिए पनि यसको शरीरको रङ खैरो हुन्छ । विज्ञहरूले यसलाई मृग परिवारमा वर्गीकृत गरे पनि यसमा मृगभन्दा फरक गुणहरू पाइन्छन् । विशेषतः यो भीर, पहाडका अप्ठ्यारा खोँच, चट्टान, भोजपत्र भएका वनक्षेत्रमा बस्न रुचाउँछ । यसैले यसको अवलोकन एवं शिकार गर्न निकै कठिन छ । तर पनि यसको बिना सुनजस्तै बहुमूल्य भएकोले विगत केही वर्षयता यसको चोरीशिकारी गर्ने व्यक्तिहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ । यसबाट यहाँको कुल आम्दानीमा गिरावट आई अर्थतन्त्रमा समेत नकारात्मक प्रभाव परेको छ । तर आजसम्म पनि सम्बन्धित पक्षको ध्यान यसतर्फ जान सकेको छैन ।

खासगरी एसिया महादीपमा सात प्रजातिको कस्तुरी मृग पाइन्छन् । यस महादेशका हिमाली क्षेत्र भएका मुलुकहरू खासगरी नेपाल, भारत, चीन, पाकिस्तान, बर्मा, भुटान, अफगानिस्तान, रुस, मंगोलिया र कोरियालगायत तेह्र देशमा कस्तुरी मृग पाइन्छ ।

नेपालमा विशेषतः हिमाली र कस्मिरी गरी दुई प्रजातिका कस्तुरी मृग पाएन्छन् । योबाहेक यहाँ काली र अल्पाइन गरी थप दुई प्रजातिका कस्तुरी मृगहरू पनि पाइने विज्ञहरूको भनाइ छ । यहाँको पश्चिम हिमाली क्षेत्रमा र खासगरी काली गण्डकी नदीदेखि पश्चिम हिमाली क्षेत्रमा कस्मिरी कस्तुरी मृग पाइन्छ भने सोही सीमादेखि पूर्वतर्फको हिमाली क्षेत्रमा हिमाली कस्तुरी मृग पाइन्छ ।

कस्तुरी मृगको आयु १४ देखि २० वर्ष हुन्छ । झण्डै १८ महिनामा पोथी मृग प्रजनन गर्न सक्षम हुन्छ भने गर्भधारणको अवधि चार महिना हुन्छ । साधारणतया साढे दुई वर्षपश्चात् पोथी कस्तुरी मृगले जुम्ल्याह बच्चा जन्माउछे ।

वस्तुतः भाले र पोथी कस्तुरी मृगको अनुपात १ः४ हुन्छ । भाले कस्तुरी मृग एक वर्षपछि बिना उत्पादन गर्न सक्षम हुन्छ । यसको जनसंख्या वृद्धिदर ४८ देखि ६२ प्रतिशत रहेको अनुमान छ ।

विश्वको इतिहास मनन गर्ने हो भने लगभग पाँच हजार वर्ष अघिदेखि परम्परागत औषधि तथा सुगन्धित पदार्थको रूपमा प्रयोग हुँदै आएको पाइन्छ । यथार्थतः कस्तुरी मृगको बिना दक्षिणपूर्वी एसियामा औषधिको रूपमा र युरोपेली देशहरूमा सुगन्धित वस्तुको रूपमा बढी प्रयोग गरिन्छ ।

चीन तथा कोरियामा परम्परागत उपचार पद्धतिमा तीन सयभन्दा बढी औषधिमा कस्तुरीको बिना प्रयोग गरिन्छ । योबाहेक आयुर्वेदिक तथा युनानी औषधिमा पनि यसको निकै प्रयोग गरिन्छ ।

कस्तुरीको बिनालाई सुगन्धित पदार्थको रूपमा प्रयोग गर्ने देशहरूमा फ्रान्स र जापान अग्रपंक्तिमा छन् । एक अध्ययनअनुसार सन् १९८० देखि सन् १९९५ को अवधिमा झण्डै एक सय ८० कस्तुरी बिना फ्रान्सले आयात गरेको थियो ।

विश्वका ३५ देशमा कस्तुरी मृगको बिना वैधानिक रूपमा व्यापार गरिन्छ । हाल अन्तर्राष्ट्रिय बजारमा यसको प्रतिग्राम मूल्य सरदर ९५ अमेरिकी डलर छ । वास्तवमा अन्तर्राष्ट्रिय बजारमा यसको माग बढी भएकोले यो सुनभन्दा पनि महँगो छ ।

नेपालमा कस्तुरी मृगको बिनाको निर्यात गर्ने कानुनी प्रावधान छैन । तर यो बहुमूल्य भएकाले यसको अवैध शिकार गरेर विश्व बजारमा व्यापार हुनेगरेको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । यसैले आगामी दिनहरूमा उपयुक्त कानुन विधि अपनाई यसको निर्यात गर्नसके यहाँको समृद्धिमा निकै टेवा पुग्नेछ । यसका लागि सम्वन्धित निकायको ध्यान यथाशीघ्र जानु आवश्यक छ । बढ्दो वातावरण विनाशका र चोरी शिकारीका कारण आज विश्वका धेरै वन्यजन्तुहरूको लोप भएको छ भने केही लोप हुने अवस्थामा छन् । त्यसैले विश्वभर संरक्षित सूचीका वन्यजन्तुलाई बन्धन प्रजनन गर्न थालिएको छ ।

दक्षिण अमेरिकाका पेरु, चिली, आर्जेन्टिना र बोलिभिया मुलुकका उच्च पहाडी क्षेत्रमा भिकुना प्रजातिको वन्यजन्तु पाइन्छ । यसको ऊन मसिनो र लुगा न्यानो हुनाले धेरै माग छ । तर चोरीशिकारीको कारण यसको संख्या दिन प्रतिदिन घट्दै गयो । सन् १९७४ तिर उक्त वन्यजन्तु लोपोन्मुख अवस्थामा पुगेकोले यसलाई संरक्षित सूचीमा सूचीकृत गरियो । त्यसबेला उक्त वन्यजन्तुको संख्या छ हजार मात्र थियो ।

उक्त वन्यजन्तुको संख्या घट्दो क्रममा रहेकाले उपयुक्त देशहरूमा बन्धन प्रजनन कार्यक्रम लागू गरियो । यो कार्यक्रम कार्यन्वयन भएपछि उक्त वन्यजन्तुको संख्या ९५ हजारभन्दा बढी पुगेकोछ । यसबाट ऊन उत्पादन वृद्धि भई उक्त देशहरूको राजस्व पनि बढेको छ ।

विषेशतः एक सिंगे र दुई सिंगे प्रजातिका गैँडा विश्व प्रसिद्ध छन् । यी गैँडामध्ये दुई सिंगे गैँडाका लागि दक्षिण अफ्रिका प्रसिद्ध छ । तर बढ्दो वातावरण विनाश र चोरीशिकारीले गर्दा लोप हुन आँटेको उक्त गैँडाको संरक्षणका लागि बन्धन प्रजनन कार्यक्रम लागू गरेपछि यसको संख्या केही बढ्न थालेको छ । हाल उक्त गैँडाको संख्या एक हजार पाँच सय पुगेको छ । विगतमा थाइल्याण्डमा जल प्रदूषणको कारण गोहीको संख्या निकै घटेको थियो । तर सरकारले बन्धन प्रयोजन कार्यक्रम लागू गरेपछि हाल यहाँ गोहीको संख्या केही बढेको छ ।

वातावरण विनाश र चोरी शिकारीको कारण विश्वमा कस्तुरी मृगको संख्या दिन प्रतिदिन घट्दो क्रममा छ । यसै सन्दर्भमा सन् १९८२ मा भारतको उत्तराखण्डको शिथौरागढ क्षेत्रमा, चीनको सिचुवान प्रान्तअन्तरगत सान्छी र मंगोलियाको खिम्ती पहाडमा बन्धन प्रजनन विधि अपनाई कस्तुरी पालन गरिएको थियो । यीमध्ये चीनको अनुभव उल्लेखनीय छ ।

सन् २०१७ सम्ममा चीनमा स्थापित दुई बन्धन प्रजनन केन्द्रमध्ये पहिलो केन्द्रका २० हजार कस्तुरी मृगबाट प्रतिवर्ष एक सय किलोग्राम बिना संकलन गरिन्छ जसबाट सरकारलाई धेरै राजस्व प्राप्त हुन्छ ।

सन् १९९८ मा नेपालको ललितपुरस्थित गोदावारीमा कस्तुरी मृग पालनको प्रयास गरिएको थियो । तर उचित व्यवस्थापन गर्न नसकिएकोले उक्त प्रयास विफल भयो । कस्तुरी मृग पालनबाट ठोस फाइदा लिई यहाँको आर्थिक विकासमा सघाउ प¥याउन कस्तुरी मृगहरूको संख्या प्रशस्त बढाउनु आवश्यक छ । यसका लागि बन्धन प्रजननले पनि महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसर्थ भविष्यमा यस सम्बन्धमा सम्वन्धित पक्षको ध्यान जान नितान्त आवश्यक छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x