Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगपुनरुत्थानको पर्खाइमा पर्यटन क्षेत्र

पुनरुत्थानको पर्खाइमा पर्यटन क्षेत्र


काठमाडौं । नेपाल विश्वको एउटा महत्वपूर्ण पर्यटकीय गन्तव्य स्थल बन्नसक्ने अथाह सम्भावना रहेको मुलुक हो । अनुपम प्राकृतिक सौन्दर्य, प्रचुर जैविक विविधता र अतुलनीय सामाजिक, सांस्कृतिक बहुलतायुक्त देशको रुपमा नेपाल विश्वसामु परिचित हुँदै आएको छ । पर्यटन क्षेत्रलाई आर्थिक विकासमा तुलनात्मक र प्रतिस्पर्धात्मक लाभको क्षेत्र र नेपालको आर्थिक वृद्धिमा महत्वपूर्ण टेवा पु-याउन सक्ने सेवा उद्योगका रुपमा लिने गरिन्छ । मुलुकको आर्थिक विकासका लागि यसक्षेत्रको महत्वपूर्ण भूमिकाको अपेक्षा गरि यसक्षेत्रको योगदान अभिवृद्धिका लागि विभिन्न प्रयासहरू हुँदै आएका पनि छन् । तथापि, अपेक्षित रुपमा पर्यटन क्षेत्रको विकास, विस्तार हुन एवं पर्यटन सेवामा गुणस्तरीयता कायम गर्ने कार्य हुन नसकिरहेको अवस्थामा चरणबद्ध रुपमा देखिएको कोरोना महामारीले पर्यटन क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको छ ।

सिंगो विश्व विगत डेढ वर्षयता चरणबद्ध रुपमा देखिएको कोरोना महामारीसँग जुधिरहेको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारीका कारण नेपाल र यहाँको पर्यटन क्षेत्र समेत नराम्ररी प्रभावित भइरहेको छ । यो महामारी कहिलेसम्म, कसरी र कुन स्वरुपमा नियन्त्रणमा आउने हो भन्ने ठोस पूर्वानुमान हालसम्म हुनसकेको छैन । कोरोना भाइरसले एकपछि अर्को रुप फेर्दै सिंगो मानव जातिमाथि आक्रमण गर्ने क्रम जारी राखेको छ । यसको मारबाट पर्यटन क्षेत्रसमेत नराम्ररी प्रभावित बन्नपुगेको छ ।

नेपाल पर्यटन बोर्डको अध्ययन प्रतिवेदनअनुसार नेपालको पर्यटन क्षेत्रले दैनिक १० अर्बबराबरको क्षति बेहोरिरहेको छ । पर्यटन क्षेत्र सम्बद्ध उद्योग, व्यवसायमा आश्रित लगानीकर्ता र लाखौँ कामदारहरूको भविष्य अनिश्चित बनिरहेको छ । महामारीको अन्त्य भइहाले पनि यसले पर्यटन क्षेत्रमा पारेको चौतर्फी प्रभावबाट मुक्त भई पूर्ववत् अवस्थामा फर्कन भने लामै समय लाग्नसक्ने देखिएको छ । महामारीले पारेको प्रभावबाट पर्यटन क्षेत्रलाई उकास्न तीनदेखि पाँच वर्षसम्म लाग्नसक्ने अनुमान यसक्षेत्रका जानकारहरूले गर्नेगरेका छन् । यति लामो समयसम्म रहने प्रभावबाट यो क्षेत्रलाई पुनरुत्थान गर्ने कार्य आफैँमा चुनौतीपूर्ण रहेको छ ।

सन् २०१९ को डिसेम्बरमा चीनबाट शुरु भएको कोभिड १९ महामारीको समयमा नेपालमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सुरुवात हुनलागेको थियो । यसको तयारीका लागि राज्यले ठूलै लगानी गरेर तामझामका साथ भ्रमण वर्षको शुभारम्भ गर्न खोजिरहेको थियो । तर, कोभिड महामारीका कारण भ्रमण वर्ष त स्थगित हुन पुग्यो नै, त्यसयता नेपालको पर्यटन क्षेत्रको यात्रा निरन्तर ओह्रालो लागिरहेको देखिन्छ । केही दिनअघि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा प्रकाशन गरिएको नेपाल पर्यटन तथ्यांक, २०२० मार्फत नेपालको पर्यटन क्षेत्रको निराशाजनक तस्बिरले पनि यसलाई पुष्टि गरेकोे छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सार्वजनिक तथ्यांकअनुसार कोभिड महामारीका कारण सन् २०२० मा पर्यटक आगमनमा करिब ८१ प्रतिशतले कमी आएको छ । यो अवधिमा हवाइ मार्ग र स्थलमार्गबाट नेपाल भित्रिने पर्यटकहरूको संख्या २ लाख ३० हजार मात्र रहेको छ । कोभिड महामारी सुरु हुनअघि अर्थात् सन् २०१९ मा विदेशी पर्यटक आगमन २ प्रतिशतले वृद्धि भएको थियो । यसबीचमा पर्यटकहरूको औसत बसाइ अवधि र प्रतिपर्यटक प्रतिदिन खर्चमा भने सामान्य वृद्धि भएको छ ।

सन् २०२० को तथ्यांकमा औसत बसाइ १५ दशमलव १ दिन पुगेको छ भने प्रतिदिन खर्च विगत वर्षको तुलनामा वृद्धि भई ६५ अमेरिकी डलर पुगेको देखिन्छ । पर्यटक आगमन संख्यामा व्यापक गिरावट आएसँगै सन् २०२० मा पर्यटन क्षेत्रबाट आर्जन भइरहेको विदेशी मुद्रामा करिब ७१ प्रतिशतले कमी आई २५ अर्ब हाराहारीमा सीमित हुनपुगेको छ ।

हाल देखा परिरहेको महामारीको मारका अतिरिक्त नेपालको पर्यटन क्षेत्र बर्षौंदेखि अनेकन समस्याहरूबाट जेलिएको छ । पर्यटन क्षेत्रलाई आर्थिक विकासको महत्वपूर्ण आधारका रुपमा लिई यो क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको दाबी सरकारले गर्दै आएको छ । पर्यटन क्रियाकलापको विकास, विस्तार गर्ने, पर्यटन सेवाको गुणस्तर वृद्धि गर्ने, पर्यटनबाट विदेशी मुद्राको आर्जन बढाउने तथा रोजगारीका अवसरहरू वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नेलगायतका लक्ष्यहरू यो क्षेत्रबाट हासिल गर्ने अपेक्षा सरकारले राखेको देखिन्छ ।

राष्ट्रिय पर्यटन रणनीतिक योजनाले सन् २०२५ सम्ममा २५ लाख २२ हजार पर्यटकको नेपाल भ्रमण गराउने र यो क्षेत्रमा करिब नौ लाख रोजगारीको सिर्जना गर्ने महत्वकांक्षा राखेको देखिन्छ । यद्यपि, सरकारले वर्षौंदेखि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै आएको भए पनि नेपालको सन्दर्भमा तीव्रत्तर रुपमा पर्यटकीय पूर्वाधारहरूको निर्माण गर्ने, पर्यटन र यससँग प्रत्यक्ष अन्तरसम्बन्धित क्षेत्रहरूमा लगानीका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने, पर्यटन प्रवर्द्धनका लागि आर्थिक कूटनीतिको उपयोग गर्ने, स्थानीयस्तरको पर्यटन विकासका लागि नागरिकहरूको क्षमता अभिवृद्धि गर्ने, पर्यटकहरूका लागि नयाँ सम्भावित क्षेत्रहरूको खोजी र विस्तार गर्नेजस्ता कार्यहरू प्रभावकारी रुपमा हुनसकेका छैनन् ।

हामीले हालसम्म पनि पर्यटन विकासको हार्डवेयरमा मात्र बढी ध्यान दिएको अवस्था छ । यसको सफ्टवेयर पाटो ओझेलमा परिरहेको देखिन्छ । पर्यटन विकास र विस्तारको बहुमुखी सम्भावना रहेको नेपालमा पर्यटन व्यवसायलाई ग्रामीणस्तरसम्म विस्तार गरी यसका लाभहरूमा समतामूलक पहुँच सिर्जना गर्न सकिएको छैन । साथै पर्यटनलाई विविधीकरण गर्न नसक्दा आएका पर्यटकहरूको ठूलो संख्या काठमाडौं, पोखरा, चितवन, लुम्बिनी र जनकपुरमा केन्द्रित भएको देखिन्छ । पर्यटन पूर्वाधारहरूको अपर्याप्तता र अनुपलब्धता त दिगो समस्याकै रुपमा छँदै छ । प्रमुख पर्यटकीय गन्तव्यस्थल हरूलाई सीधा हवाइ सेवा र सुविधाजनक यातायात प्रणालीले जोड्न सकिएको छैन ।

समय समयमा देखिने गरेका बन्द हड्तालजस्ता समस्याहरूबाट सिर्जित मार पनि यो क्षेत्रले बेहोरिरहेको छ । फितलो शान्तिसुरक्षा पनि पर्यटन क्षेत्रको ज्वलन्त समस्याकै रुपमा रहेको छ । पर्यटकहरू कुटिएका, लुटिएकालगायत ज्यानै लिनेसम्मका घटनाहरू सञ्चार माध्यमहरूमा आइरहेकै छन् । पर्यटक सुरक्षाको प्रत्याभूति नभएसम्म पर्यटकहरूको संख्या र बसाइ अवधि बढाउने सपना पूरा हुन सक्दैन । भएका पर्यटकीय क्षेत्रहरूको उचित मर्मतसंभार र सम्भाव्य गन्तव्यस्थलहरूको उचित विकास विस्तार र संरक्षण हुनसकेको छैन ।

पर्यटन प्रवर्द्धनमा प्रचारप्रसारको महत्वपूर्ण स्थान रहने भए पनि भरपर्दो पर्यटन सूचना केन्द्रको अभावमा अपेक्षित रुपमा प्रचारप्रसार हुनसकेको छैन । पर्यटकजन्य फोहोरमैला व्यवस्थापन हुननसक्दा वातावरणीय प्रदूषणको समस्या सगरमाथासम्म पुगेको छ । पर्यटकहरूका लागि सुविधायुक्त होटल र रिसोर्टहरूको संख्या र गुणस्तर दुवै कमजोर रहेको छ । नेपालमा पर्यटकस्तरका होटलको संख्या एक हजार ३ सय १३ रहेको छ भने प्रतिदिन ४५ हजार आठ सय ५० बेडहरू उपलब्ध रहेका छन् । देशमा पर्यटन सम्बद्ध दक्ष जनशक्तिको न्यूनता रहेको छ । देशको मौलिक संस्कृतिको प्रचारप्रसार र प्रवर्द्धनको तुलनामा विदेशी छाडापन र खुलापनको अस्वभाविक नक्कलले सामाजिक, सांस्कृतिक विकृतिमा बढोत्तरी भइरहेको छ ।

महामारीको मारबाट भयावह बन्नपुगेको पर्यटन क्षेत्रको पुनरुत्थानका लागि जुटिरहँदा पर्यटन क्षेत्रमा देखिएका यावत् समस्याहरूको सम्बोधनलाई पनि सँगसँगै अघि बढाइन आवश्यक छ । यस क्षेत्रको पुनरुत्थानका लागि प्रथमतः चरणबद्ध रुपमा देखिएको महामारीलाई राम्रोसँग नियन्त्रण गरिन अपरिहार्य छ । महामारी पूरा नियन्त्रणमा नआएसम्म यो क्षेत्रलाई पूर्ववत् अवस्थामा फर्काउनसक्ने स्थिति रहन्न । सँगसँगै, पर्यटन सुरक्षा कोषको व्यवस्था गरी यस्तो कोषमार्फत महामारीको मारले थिलथिलो भएका पर्यटन व्यावसायीहरूलाई आफ्ना व्यवसायमा सहजरुपमा फर्कनसक्ने वातावरण सिर्जना गरिनुपर्छ । सरकारले पर्यटन व्यवसायीहरूलाई कर छुट, व्यवसायका लागि आवश्यक पर्ने वस्तु र सेवामा विशेष सुविधा र सहुलियतजस्ता कार्यक्रमहरू तथा वित्तीय अनुदानलाई प्याकेजका रुपमा अघि नसारेसम्म वर्षौंसम्म महामारीको मारले थलिएका व्यावसायीहरूले राहतको महसुस गर्ने र सहजरुपमा व्यवसायमा फर्कनसक्ने स्थिति देखिँदैन ।

अर्कोतर्फ, चरणबद्ध महामारीको सिलसिला जारी रहँदा नेपालमा तत्कालै विदेशी पर्यटक आगमनको सम्भावना असाध्यै न्यून रहेको छ । यो स्थितिमा आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तत्कालै आक्रामक कार्यक्रमहरू सार्वजनिक गरी देशभित्रका पर्यटकीय स्थलहरूको पुनर्जागरण गरिन आवश्यक छ । नेपाल सरकारले चालू आर्थिक वर्षको वजेटमार्फत घोषणा गरेको आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न निजामति, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराइने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयनमा ल्याइनुपर्छ । पर्यटन काजसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयन हुनसकेमा यसले महामारीका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई केही मात्रामा गति दिन र आर्थिक पुनरुत्थानमा सहायता पुग्ने देखिन्छ । साथै यो व्यवस्थाको कार्यान्वयनमा निजी क्षेत्रलाई समेत उत्प्रेरित गरिनुपर्छ ।

नेपालजस्तो कमजोर अर्थतन्त्र भएको मुलुकमा ठूला उद्योगधन्दाहरूको विकास गरेर औधोगिक विकासमार्फत आर्थिक विकासमा फड्को मार्न पुँजी तथा बजारको समस्या रहन्छ र रहँदै आएको पनि छ । तर, पर्यटनजस्तो कम लगानीमा देशले तत्काल प्रतिफल प्राप्त गर्नसक्ने क्षेत्रमा राज्यको उचित ध्यान पुग्न जरुरी छ । पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको बलियो आधारको रूपमा विकास गर्नुका साथै संख्यात्मक तथा गुणात्मक रूपमा पर्यटक आगमनमा वृद्धि गर्दै आमनागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि गरी जनताको जीवनस्तरमा सुधार गर्नु अपरिहार्य छ । पर्यटन क्षेत्रको दिगो सफलता भनेकै देशभित्र आएका पर्यटकहरूलाई खुशी बनाउनु हो ।

नेपाल आउने पर्यटकमध्ये एक तिहाई संख्यालाई मात्र खुशी बनाउन सकिए पनि खप्टिएर जाने चक्रमा चल्ने यो संख्या भविष्यमा काफी हुनसक्छ । तथापी, हालको सन्दर्भमा महामारीको क्षति न्यूनीकरण र रोकथाममार्फत यसलाई नियन्त्रण गरी महामारीको मारबाट गम्भीर मोडमा पुगेको पर्यटन क्षेत्रलाई पुरानै लिकमा फर्काउनतर्फ राज्य संयन्त्र लगायत यस क्षेत्रका सबै सरोकारवालाहरूको बेलैमा ध्यान पुग्न आवश्यक देखिन्छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x