Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–४

नेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–४


काठमाडौं । हिन्दूहरुको नेपाल प्रवेशको सन्दर्भमा लेखक तथा अन्वेषक कुलचन्द कोइरालाद्वारा लिखित पुस्तक नेपाली खस बाहुनका कुल देवता मष्टो नामक पुस्तक पृ. २४–२५ मा कोइरालाले खस नेपाली बाहुनहरुबारे स्पष्ट पार्दै उल्लेख गर्नुभएका कुरा यहाँ प्रासंगिक हुनाले यहाँ उद्धृत गरिएको छ । उहाँ लेख्नुहुन्छ– भारतमा मुस्लिम आक्रमणपछि र अगाडि नै नेपाल पसेका जातिहरुको इतिहास छुट्याउने मूल आधार कुल देवता मष्टो नै हुन् । कुनै वंश परम्पराले कुल देवताका रुपमा मष्टोलाई मान्दैनन् भने अरु नै शिव, विष्णु, तादा छिन्नमष्टा आदि देवतालाई कुलदेवता मान्छन् अथवा देवाली गर्दैनन् भने अवश्य नै तिनीहरु बाह्रौँ शताब्दीपछि नेपाल पसेका हुन् ।

अथवा थरचाहिँ पुरानो वंशकै छ र कुल देवताको पुजा गर्दैनन् भने कारणवश मात्र कुलपूजा छुटेको हुन आउँछ । कुलपूजा नगर्नेहरु पनि गोठपूजा गर्ने हुनाले तथा मोही पारेर घिउ झिकेपछि अग्निलाई पर सार्ने गर्दछन् जसलाई धूप हाल्ने भनिन्छ । यसो गर्दा खिर, नौनी घ्यू बाबर (रोटी) नैवेद्य चढाउने गरिन्छ र अमलाको पातलाई पूजामा प्रयोग गर्ने गरिन्छ । यस क्रमममा देवतालाई पूजा गर्दा महारुद्र, काँडाब्रह्मा, चण्डी, धौराली, गंगा, भवानी, विन्ध्यवासिनी, गैडु, गोसाई, गैया, ऐरा वा ऐरी शिकारी आदिको पूजा गर्दछन् भने यी देवतालाई धूपवाँर गर्छन् । यी सबै कारणले ती बाहुनका वंश १२औँ शताब्दीभन्दा पूर्व नै नेपालका काली नदी सेती अञ्चल र कर्णालीका क्षेत्रहरुमा छिरिसकेका थिए भन्ने कुरा स्पष्ट हुन जान्छ ।

१२औँ शताब्दीपश्चात् नेपाल पसेका जातिहरुले माथि उल्लिखित देवताहरुलाई खास गरी मष्टो देवतालाई पूजा गरेको वा मानेको पाइँदैन । पश्चिम गढवालबाट पूर्वतर्फ कर्णाली प्रदेशलगायत वरपर आएका ब्राह्मणहरुले केही काल दशक अघिसम्म चिठी पत्र लेख्दा खाममा साढे चौहत्तर (७४।।) ७४.५ कसै कसैले ३६ अंक लेख्ने गर्थे सो किन लेखेभन्दा गढवालसम्म पनि मुसलमान आतंक र वितण्डा सुरु हुन थालिसकेको थियो । यसै क्रममा हिन्दूका जनै र टुप्पी काटेर मुसलमानका वंश बढाउने हिन्दू, ब्राह्मणहरुलाई अपमानित गर्ने गाईको मासु झुक्याएर खान दिने गर्न थाले ।

पूर्व लागेका ब्राह्मण जनले गोप्य रुपमा गढवाल कुमाउका इष्टमित्र र आफन्तजनसँग चिठी पत्र आदानप्रदान गरी त्यताको हालखबर बुझ्ने गर्थे । मुसलमानद्वारा ७४.५ को त्यतिखेरको नापअनुसार (केजीभन्दा बढी) जनौ वा जनै चुँडालेकाले कसैले गोप्य चिठी पत्र खोलेमा ७४.५ तौलअनुसार जनै चुँडालेको जति नै पाप लागोस् भनेर एवं ७४.५ नापबराबर जनै चुँडालिएर अत्याचार खेपिएको र हिन्दू वर्ग र धर्मको रक्षार्थ थप जिम्मेवारी आएको सम्झनास्वरुप सो लेख्न थालिएको हो । यसमा कसै–कसैले ३६ मन जनैको वजनलाई संकेत गरी ३६ पनि लेख्ने गर्थे ।

अज्र्याल (अर्जेल) वा अर्याललगायत पौड्याल (पौडेल) सिग्द्याल (सिग्देल) र बगाले थापाहरुका वंशपहाड छिर्ने मूल पुरुष उदय भट्ट थिए भन्ने कुरा अर्जेल, पौडेल र बगाले थापाका वंशावलीबाट ज्ञात हुन आउँछ भने विभिन्न स्रोतहरुले समेत सोही कुराको पुष्टि गर्छ । यहाँनिर थापा भनेको ठाउँबाट बनेको थर नभई पदवी अर्थात् सेनाको ठूलो ओहोदाबाट बन्न गएकोले थापाहरु विभिन्न प्रकारका हुन गएका हुन् । थापाबारे कसै कसैले बिर्ता वा स्थान थपौती गरेर हुन गएको थर हो भनेर समेत अनुमानित व्याख्या गर्ने गरेका छन् ।

उनीहरुका मूल पुरुष उदय भट्टका पुर्खाको आदि स्थान मालवगढ भन्ने स्थान हाल कानपुरभन्दा दक्षिण मध्यप्रदेश निरको मालवगढ भन्ने स्थान रहेका थियो भन्ने कुरा आदि मालवगढ कन्नौज धरतीको धारा नगरी भन्ने उदयानन्द अज्र्यालको श्लोकबाट पुष्टि हुन्छ भने पछि राजासँग उदय भट्टका पुर्खाहरु काव्यकुञ्जी ब्राह्मण जन उतिखेरको प्रसिद्ध नगर कन्नौजमा आई बसोबास गर्न थाले भने राज्य र नगरी तहसनहस भएपश्चात् उदय भट्ट भन्ने ज्ञानी ब्राह्मणले धर्म रक्षार्थ गहडवालको पहाडतर्फ पलायन गरे । यिनकासँग पलायन भएका अर्का समूह काश्मिरतर्फ लागी कश्मिरी पण्डित कहलाउन थाले  ।

प्राम्भमा उदय भट्टको खलक हालको भारत उत्तर प्रदेश फरुखाबादको पुरानो कन्नौजबाट पौडी गहडवालको श्री नगद भन्ने स्थानमा आई बसोवास गर्न थालिसकेका थिए । पछि सम्भवतः दिल्लीका सुल्तान अल्लाउदिन खिजलीका समयमा तेह्रौँ शताब्दीमा मात्र नन्दराम भट्ट वा कृष्ण रामका पालामा गहडवाल पौडीबाट डोटीको पौडीमा आएर बस्न थाले भने नयाँ ठाउँको नाम पनि आफ्ना पुरानो ठाउँका नामबाट पौडी राखे अथवा कुमाउको र सिञ्जाली भाषामा शब्द मिल्न गएर दुवैतर्फ पौडी भन्ने स्थान रहन गएको थियो यसै भन्न सकिन्न । मैदानी क्षेत्रबाट आएका ब्राह्मणहरुको त्यस बखतसम्म विवाहको सम्बन्ध कन्नौजका ब्राह्मणसँग हँुदो रहेछ ।

पछि वत्सराजका पालामा पहाडका बासिन्दा तथा खसजातिसँग मिसिएका पहाडका बासी भनेर छोरी दिन नामञ्जुरी दिएपश्चात् वत्सराजले आफू विवाहित नै रहने तथा वंश बिग्रिन नदिने भनी प्रण गरेछन् । यसै कालमा छोरा नभएर विचलित र चिन्तित भइराखेका डोटीका राजा राधामाधव सिंहले श्री वत्सराज भट्टलाई बोलाएर तपाईंजस्तो योग्य धुरन्धर विद्वान्लाई म सम्पूर्ण चिज दान गरेर तीर्थ जान चाहन्छु, त्यसकारण मेरो सुपुत्री शुभकन्यालाई स्वीकारी राजपाठ सम्हाल्नुस् भनी सम्पूर्ण जायजेथालगायत सुपुत्रीलाई सुम्पेर विवाह गराई राजा काशीवास गएछन् । शुभकन्यालाई कसै कसैले खस राज्य जुम्लाकी राजकुमारी समेत भनेका छन् ।

शुभ कन्याबाट जन्मिएका सन्तानहरु बगाले थापा वंश भए भने आफ्ना पति श्री वत्सराजालाई शुभकन्याले आफ्नी मितिनी ब्राह्मणी कन्या विवाह गरेपश्चात् ब्राह्मणीहरुबाट जन्मेका सन्तान पछि आएर अर्जि गाउँ बिर्ता लिई बसेकाले अज्र्याल वा अर्जेल कहलिन थाले भने पौडी गाउँमा बस्नेका सन्तान पौड्याल वा पौडेल कहलिन थाले ।

यिनीहरुका मूल पुरुष उदय भट्ट कुमाउको श्री नगर गएपश्चात् त्यहाँका राजाका निमित्त वाजपेयी यज्ञ गराएकाले उनलाई वाजपेयी भट्ट भनेर समेत भनिन्थ्यो । यज्ञ कार्यमा हातमा कुशको मुठो लिई रहने हुनाले उनलाई कुशवन्दा भट्ट भनेर पनि भन्ने गर्थे । उनको ज्ञान र विद्वत्ताका कारणले नै उनलाई राजगुरुको पदवी दिएर दरबारमा राखिएको थियो । (हेर्नुहोस्ः आत्रेय वंश अनुसन्धान प्रतिष्ठाद्वारा प्रकाशित (पौडेल वंश राष्ट्रिय सम्मेलन २०५६) यसैगरी अन्य नेपाली ब्राह्मण जनका पूर्वज एवं मूल व्यक्तिहरुको पनि आगमन हुन गएको हो । कनौज देशमा बस्ने ब्राह्मणलाई कान्यकुन्ज ब्राह्मण भनियो ।

प्राचीन ग्रन्थहरुमा ब्राह्मणहरुलाई १० भागमा विभाजित गरिएको छ । मध्यदेश वा दक्षिण अवस्थित विन्ध्याचल पर्वत शृंखलालाई सिमाना राखी विन्ध्याचलभन्दा उत्तर पाँच ब्राह्मण र दक्षिणतर्फका पाँच ब्राह्मण अर्थात् उत्तरतर्फलाई पञ्च गौड र दक्षिण तर्फलाई पञ्च द्रविण भनियो भन्ने कुरा पारिख परिचय भन्ने पुस्तकमा एस.एल. शर्माले लेख्नुभएको छ । गौड ब्राह्मणहरुमा काम्यकुञ्जी वा कान्यकुन्ज, सारस्वत उत्कल, मैथल र वंग पर्दछन् । यीदेखि बाहेक पनि देश ठाउँअनुसारका अनेक ब्राह्मण वर्ग रहेका छन् जुन ब्राह्मणहरु निकै पुराना मानिन्छन् भने गुर्जर, पुष्करणा, शाकद्विपीय, मालवीय, सनाख्य, श्रीमालीलगायत रहेका छन् ।

नेपालका आर्यहरु दुई प्रकारका रहेका छन् प्राग्वैदिक आर्य (लेकाली) र वैदिक आर्य (मैदानी) यसमा लेकाली आर्य खस जातिसँग नजिक छ भने वैद्विक मैदानी आर्यहरु धेरै पछि मात्र सम्भवतः मुसलमानी आक्रमणहरुपश्चात् मात्र पहाड प्रवेश गरेका हुन् । ती प्राचीन कालमा धेरै अघि अर्थात् शताब्दीयौँ, हजारौँ वर्ष अघिदेखि पर्वतमा रहेका ककेशियनहरुसँग मिसिएका अवैदिक अर्थात् लेकाली आर्यहरुलाई नै पछि गएर खस आर्य वा खस ब्राह्मण भनेर भन्न थालिएको हो । पछि गएर यी जाति वैदिक आर्यसँगको सम्पर्क र सम्बन्धपश्चात् पूर्णतया हिन्दू संहिताअनुसारका ब्राह्मण बन्नपुगेका हुन् ।

ती खसका पूर्वज मध्यएसियामा खडेरी पर्न थालेपश्चात् र पूर्वी एसियाली मंगोलहरुको शक्ति विस्तारपश्चात् पूर्व लाग्दै पश्चिम नेपालको पहाडसम्म आइपुगेका हुन् । यसैगरी कुनै समयका लडाकु जाति शकः (खसको हाँगो) पनि लामो समयको हिन्दूस्तान बसाइपश्चात् सम्मिश्रण भई वैदिक आर्यका सन्तानका रुपमा गुर्जर जातिमा विकसित हुन पुगेका हुन् । यस्तै हरियाणाका जाट र शाक्य जाति पनि मूलतः शक अर्थात् खसका हाँगा जाति नै हुन् । भाषा शास्त्री, इतिहासकार स्व. बालकृष्ण पोखरेल पनि शक जातिलाई नै शाक्य भन्न थालिएको हो भन्ने विचार राख्नुहुन्छ भने यस्तै विचार इतिहासकार डा. माधव प्रसाद पोखरेलको पनि रहेको छ । सिन्धनदी किनारमा आइपुगेका वैदिक आर्यहरुका निकटतमसम्बन्धी भने इरानी आर्यहरु रहेका थिए । समाप्त 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x