दक्ष जनशक्ति उत्पादनमा खुला शिक्षाको भूमिका
विषय प्रवेश : देशभर छरिएर विभिन्न पेसामा लागेका नागरिकलाई आफ्नो रोजगारीमै बसेर सुपथ र सहज रुपमा शिक्षा हासिल गर्ने अवसर प्रदान गर्नु खुला शिक्षा नीतिको प्रमुख लक्ष्य हो । तसर्थ नागरिकको योग्यता दक्षता समायनुकूल परिमार्जन र परिष्कृत गर्दै पूर्णता दिन खुला शिक्षा अपरिहार्य हुन्छ । विभिन्न कारणले विद्यालयबाट बाहिरिएका जनसमुदायलाई पुनः निरन्तर शिक्षाको मूल प्रवाहमा ल्याउन एक अपरिहार्य माध्यम पनि हो खुला सिकाइ अवधारणा । परम्परागत ज्ञान र सीप अद्यावधिक गरी गुणस्तर वृद्धि गर्दै पेसागत दक्षता अभिवृद्धिका साथै विभिन्न चाहना भएका सिकारूहरूका लागि शिक्षामा पहुँचको विस्तार गर्न यसको उल्लेख्य योगदान रहन्छ । दूर तथा खुला सिकाइको मौजुदा व्यवस्था, अवस्था र आवश्यकताबारे निरन्तर अध्ययन अनुसन्धान र अनुभव तथा रौँचिरा विश्लेषणको निस्कर्षको आधारमा समयानुकूल परिमार्जन गर्दै जानु दूरदर्शिता ठहर्छ । यस लेखमा दूर तथा खुला शिक्षाको प्रभावकारिता एवं अवधारणा र आवश्यकताबारे चर्चा गर्ने प्रयास गरिएको छ ।
साक्षरता प्रतिशत र देश विकासको गति समानुपातिक हुन्छ । शिक्षाले मानवको अन्तर्निहित प्रतिभाको आविष्कार गरी सशक्तीकरण एवं दक्षता हासिल गर्दै सफल र प्रतिस्पर्धी जीवन जिउन मद्दत गर्दछ । तीव्र गतिमा विज्ञान र प्रविधिको विकास र विस्तार भइराखेको आजको एकाईसौँ शताब्दीमा प्रतिस्पर्धी नागरिक उत्पादन गर्न खुला तथा दूरशिक्षा एक वरदान हो । यसमा समय तथा विषयमा लचकता हुने भएकोले विना भेदभाव सबैले सर्वसुलभ किसिमले शिक्षाको अवसर पाउने मर्मअनुसार समावेशीकरणको सशक्त विकल्प हो खुला तथा दूरशिक्षा । त्यसकारण विविध कारणबाट औपचारिक शिक्षा हासिल गर्न विमुख भएका नागरिकलाई पुनः शिक्षामा मूलप्रवाहीकरण गरी सक्षम एवं पौरखी बनाउन खुला शिक्षा नीति सशक्त माध्यम हो । दूर तथा खुला शिक्षालाई समयानुकूल परिमार्जित र परिष्कृत गर्दै प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन कम्तीमा पनि सरकार, समुदाय, संघ/संस्था तथा सरोकारवाला बीचमा सद्भाव, सहयोग, सहकार्य, समन्वय, सञ्चार, स्वामित्व र समीक्षा (सात स) अपरिहार्य हुन्छ ।
खुला शिक्षाको विशेषता : सिकाइ जीवनपर्यन्त चलिरहने प्रक्रिया हो । शिक्षाले चेतना, ज्ञान विज्ञान, प्रविधि क्षेत्रमा तीव्रगतिमा भइरहेको प्रगतिलाई आत्मसात् गर्दै एक सफल जीवन जिउने प्रतिस्पर्धी सक्षम नागरिक उत्पादन गर्न सक्नुपर्दछ । सफल जीवन जिउनका लागि आवश्यक ज्ञान र सीप आर्जन गर्न शिक्षाको अहम् भूमिका हुन्छ नै । शैक्षिक यात्राको प्रारम्भिक खुट्किलो साक्षर हुनु हो । साक्षर हुनका लागि पनि मुख्यतः औपचारिक र अनौपचारिक पद्धति हुन्छन् । स्थायी प्रकृतिका सांगठनिक संरचना भएका विद्यालय, महाविद्यालयहरूबाट सीमित उमेर अवधिका लागि दिइने शिक्षालाई औपचारिक भनिन्छ भने गर्भावस्थादेखि जीवनको अन्तसम्म अथवा कोक्रोदेखि कात्रोसम्मको सिकाइ अनौपचारिक शिक्षाको परिभाषाभित्र पर्दछ । वास्तवमा सिक्ने क्रमको कुनै सीमा हुँदैन । अनौपचारिक शिक्षाको प्रमुख विशेषता खुला प्रकृतिको सिकाइ हो । पारिवारिक, आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक भौगोलिक आदि विविध कारणबाट औपचारिक शिक्षा आर्जन गर्नबाट विमुख भएका व्यक्तिहरूका निमित्त खुला सिकाइको व्यवस्था वरदान साबित हुने तथ्यलाई नकार्न सकिन्न ।
राज्यमा ठूलो संख्याको जनशक्तिले विद्यालय तहको शिक्षा पूरा नगरेको वर्तमान अवस्था एकातिर छ भने अर्कोतर्फ उत्तीर्ण हुनेहरूको प्राप्तांक सरदर ५० प्रतिशत पुग्न पनि हम्मे–हम्मे छ । प्राथमिक तहमा भर्ना भएका विद्यार्थीमध्ये करिब ३३ प्रतिशतमात्र निम्नमाध्यमिक तहमा पुग्ने र त्यसमध्ये ५० प्रतिशत माध्यमिक तहमा पुग्छन् । जसमध्ये ५० प्रतिशतको हाराहारीमा मात्र एसईईमा राम्रो गे्रडमा उत्तीर्ण भएको पाइन्छ । कतिपय विषयहरूमा पूर्णाङ्क प्राप्त गर्नु भनेको आठौँ आश्चर्य भएको छ । यसरी उपलब्धिस्तर कमजोर भएका जनशक्ति बेरोजगार रहनु स्वाभाविकै हो ।
राष्ट्रिय जनगणना २०६८ अनुसार पाँच वर्ष वा सोभन्दा माथिल्लो उमेरका कुल जनसंख्या २,३९,२६,५४१ मा ६५.९ प्रतिशत साक्षर भएको देखिन्छ । जसमा पुरुष ७५.१ र महिला ५७.४ प्रतिशत साक्षरता रहेको छ । विगत वर्षहरुमा अनौपचारिक शिक्षा केन्द्रबाट सञ्चालित राष्ट्रिय साक्षरता अभियान, महिला शिक्षा आदि कार्यक्रमबाट आधारभूत साक्षरता हासिल गरेका लाखौँ नवसाक्षरलाई निरन्तर शिक्षाको मूलप्रवाहमा समेट्न पर्याप्त कार्यक्रमहरु छैनन् । जसले गर्दा साक्षर पुनः निरक्षर बन्ने जोखिम अधिक छ । यस विषम परिस्थितिलाई सम्बोधन गर्न समयानुकूल दूर तथा खुला सिकाइको व्यवस्था र विकास खाँचो पर्दछ । विश्वभर यस प्रकृतिको शिक्षाको अभ्यासको इतिहास निकै पुरानो छ ।
वि.सं. २०६३ माघ २५ गते मन्त्रिपरिषद्बाट पारित राष्ट्रिय अनौपचारिक नीतिले विभिन्न उमेर र वर्गका व्यक्तिहरूलाई आवश्यकताअनुसार प्राज्ञिक तथा व्यावहारिक ज्ञान, सीप र सूचना प्रदान गरी अनौपचारिक शिक्षा क्षेत्रको विस्तार गर्ने उल्लेख भएको छ (अशिके, २०६३) । जसअनुसार हाल अनौपचारिक शिक्षा केन्द्रले निमावि तहको खुला विद्यालय सञ्चालन गर्ने गरेको थियो । त्यस्तै विगतमा माध्यमिक तहको खुला विद्यालय शैक्षिक जनशक्ति विकास केन्द्रबाट सञ्चालन हुँदै आएको जगजाहेर नै छ । खुला शिक्षाको पहुँचको दायरा पनि स्वभावैले फराकिलो हुनुपर्छ । विभिन्न कारणबाट औपचारिक शिक्षा पूरा गर्न नसकेकालाई पुनः औपचारिक शिक्षाको मूल प्रवाहमा ल्याउने रणनीतिलाई उच्च प्राथमिकता दिइनुपर्दछ । किनकि औपचारिक शिक्षाका विकृति, विसंगति तथा क्षतिलाई न्यूनीकरण गर्न बहुआयामिक खुला शिक्षा नीति आजको आवश्यकता हो ।
नीतिगत आधार : विद्यालयबाहिर रहेका विद्यालय उमेर समूहका किशोरकिशोरीहरुलाई शिक्षाको मूलप्रवाहीकरणमा ल्याउन वैकल्पिक, खुला तथा प्रौढ विद्यालय कार्यक्रमहरु सञ्चालित हुँदै आएका छन् । नेपालमा खुला शिक्षा तथा दूर सिकाइसम्बन्धी नीति २०६३ मा लागू भएको थियो । जसमा शिक्षामा पहुँच विस्तार, परम्परागत शिक्षाको गुणस्तर वृद्धि, जीवनपर्यन्त शिक्षा र पेसागत अभिवृद्धि तथा ज्ञान र सीपको प्रमाणीकरण गर्ने नीतिलाई प्राथमिकता दिइएको छ (शैजविके, २०६३) । शिक्षा ऐन, २०२८ मा अनौपचारिक शिक्षा तथा दूरशिक्षाको सञ्चालन तोकिएबमोजिम हुने उल्लेख छ । शिक्षा नियमावली २०५९मा शिक्षण शिक्षा र शिक्षक तालिम, विद्यालय शिक्षा सम्बन्धमा र खुला शिक्षासम्बन्धी अन्य कार्यक्रमका सम्बन्धमा दूरशिक्षा प्रदान गर्न सकिने प्रावधान छ । दूरशिक्षासम्बन्धी नीति निर्माण, समन्वय, रेखदेख तथा व्यवस्थापन गर्नका लागि शिक्षा सचिवको अध्यक्षतामा दूरशिक्षा समितिको व्यवस्था गरिएको छ ।
दूर तथा खुला शिक्षाका लागि कस्तो नीति अवलम्बन गर्नुपर्ला ? संस्थागत संरचना र व्यवस्थापन कस्तो ढाँचाको हुनुपर्छ ? खुला शिक्षाका लक्षित वर्ग खुट्याएर तिनीहरूको उत्साहजनक सहभागिता कसरी जुटाउन सकिएला ? संस्थाको साधनस्रोत तर्जुमा गर्न के कस्तो व्यवस्थापनको रणनीति अपनाउनुपर्ला ? शिक्षण सिकाइ क्रियाकलाप तथा विषयवस्तु निक्र्यौल कसरी गर्ने ? विश्वसनीय परीक्षा र मूल्यांकनको तर्जुमा के कसरी गर्न सकिन्छ ? यी र यस्तै प्रश्नहरूको उत्तरको आधारमा दूर तथा खुला शिक्षाको नीति तथा कार्यक्रम सुनिश्चित गरिनुपर्दछ ।
खुला शिक्षाको दायरा स्वभावले नै फराकिलो हुने भएकोले यसलाई व्यवस्थित गर्नका लागि सरोकारवालका बीचमा व्यापक छलफल एवं सहकार्य हुन जरूरी छ । कामकारबाहीमा पारदर्शिता, निर्णयमा सरोकारवालाको सहभागिता, विकेन्द्रित जिम्मेवारी र जवाफदेहिताको नीति अवलम्बन गरिनुपर्दछ । सार्वजनिक सरकारी नीतिअनुरुप साधनस्रोतको तर्जुमा र परिचालनका साथै कार्यदक्षता र प्रगतिको मूल्यांकनका आधार परिक्रमाभन्दा पराक्रम, हाम्रोभन्दा राम्रो तथा स्वार्थी नियतभन्दा राष्ट्रिय नीतिलाई प्रोत्साहित गर्नेखालको चाहिन्छ ।
खुला शिक्षाका विद्यालय र महाविद्यालय छुट्टाछुट्टै सञ्चालन गरिए पनि सारभूतरूपमा एक अर्काका परिपूरक हुनुपर्दछ । दुवैको उद्देश्य एवं मर्म र भावना संरचनागत रूपमा सामान्य फरक भए पनि सारमा तात्विक भिन्नता हुनुहुँदैन । राष्ट्रिय नीतिले निर्देशित गरेअनुसार खुला शिक्षाको कार्यक्रम तथा पाठ्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनुपर्दछ । कार्यक्रमको सार्थकता तब हुन्छ, जब लक्षित वर्गको आस्था र विश्वास जिती अपनत्वको भावना सिर्जना गर्न सकिन्छ । अर्थात् आर्थिक, सामाजिक, भौगोलिक, संस्कार र संस्कृति, उमेर, समय आदि विविध बाध्यतामा सहज हुने गरी सबैलाई समेट्ने खालको खुला शिक्षा नीति अवलम्बन गरिनुपर्दछ ।
प्रभावकारी खुला शिक्षाको आधार : दूर तथा खुला शिक्षालाई सार्थक लक्ष्यमा पु-याउन सरकार तथा समुदायलगायत सरोकारवाला सबैको साथ सहयोग अपरिहार्य हुन्छ । तीमध्ये तल डायग्राममा देखाएअनुसार सरकार, सङ्घ/संस्था, समुदाय र सरोकारवाला तथा तिनीहरूको बीचमा स्वामित्व, समन्वय, सहकार्य, समीक्षा र सञ्चारको प्रभावकारी कार्यान्वयनबाट खुला शिक्षा दिगोरुपमा फष्टाउने यथार्थता हो ।
सार्वजनिक निजी साझेदारी अवधारणाको मर्मलाई आत्मसात् गर्ने नीति लिएमा सहकार्य समन्वय र सद्भावलाई प्रवर्द्धन गर्छ । सरोकार पक्षको अपनत्वको भावनालाई बढावा दिनुपर्छ । खर्च मितव्ययी गर्न विषयगत विशेषज्ञतालाई शिक्षणमा भित्र्याउन आंशिक सेवा करारमा लिने व्यवस्था गरिनुपर्दछ । खुला विद्यालय शिक्षा सञ्चालन एवं व्यवस्थापनमा सामुदायिक अध्ययन केन्द्रलाई पनि जिम्मेवार बनाउन सकिन्छ । विद्यार्थीको जीवनपद्धतिलाई सहज र प्रतिस्पर्धी बनाउन आवश्यक ज्ञान, सीप र अभिवृद्धिको विकास र विस्तार गर्नेखालको विषय एवं विधि हुनुपर्छ ।
पाठ्यक्रम र सूचना तथा सञ्चार प्रविधिको प्रयोग : पाठ्यक्रम पाठ्यपुस्तकलाई यथाशक्य स्थानीयकरणका साथै समयानुकूल परिमार्जन र परिष्कृत गर्ने लचकता प्रदान गर्नाले जीवनोपयोगी शिक्षा हासिल गर्ने मौका प्राप्त हुनुको साथै कार्यक्रममा रोचकता ल्याउन पनि त्यतिकै हौसला प्रदान गर्दछ । खुला शिक्षा र नियमित औपचारिक शिक्षाको पाठ्यक्रमहरूबीच खास तात्विक फरक हुनुहुँदैन । नियमित र खुला शिक्षाबाट एक अर्कामा जानसक्ने खालका सुविधायुक्त पाठ्यक्रम लागू गरिनुपर्दछ । पाठ्यवस्तुको प्रकृति र आवश्यकताअनुसार सम्पर्क कक्षा र सञ्चारमाध्यमबाट सिक्ने सिकाउने खालको सिकाइ प्रणाली चयन गरिनुपर्दछ । परम्परागत शिक्षण विधिलाई विस्थापन गर्दै सूचना तथा सञ्चार प्रविधिअनुरुप इ–लर्निङलाई प्रोत्साहित गरिनुपर्दछ । इमेल, इन्टरनेट, टेलिफोन, टेलिभिजन, एफ.एम, मोबाइल, टेलिकन्फ्रेन्सिङ, भिडियो कन्फ्रेन्सिङ (शैजविके,२०६३) आदि सञ्चारमाध्यमको चयन विषय अध्ययनकर्ताको पहुँच र क्षमताअनुसार गरिनुपर्दछ ।
वर्तमान प्रतिस्पर्धी युगमा गुणस्तरीय जीवनयापन लागि विज्ञान र प्रविधिमा भएको नवीनतम ज्ञान र सीपबाट सुसज्जित हुन इच्छुक जो कोहीलाई खुला शिक्षाले समेट्न सक्नुपर्दछ । सिकाइ भाषाको माध्यम लक्षित वर्गको चेतना एवं शिक्षाको स्तरको आधारमा स्थानीयकरण गर्दै दायरा फराकिलो गर्नुपर्दछ । विद्यालय शिक्षाको लागि देशभर विद्यालयहरु सञ्चालन गरिएजस्तै खुला शिक्षाका लागि पनि पायक पर्ने ठाउँमा स्थायी प्रकृतिका संस्थागत संरचनाको व्यवस्थापन हुनुपर्दछ ।
प्रारम्भमा खुला शिक्षाको सम्पर्क र अध्ययनका लागि शैक्षिक संस्थाको रुपमा विगतमा अनौपचारिक शिक्षा केन्द्रबाट सञ्चालित सामुदायिक अध्ययन केन्द्र, शैक्षिक जनशक्ति केन्द्रबाट सञ्चालित शैक्षिक तालिम केन्द्र तथा स्रोतकेन्द्रहरुलाई समेत सूचना र प्रविधिलगायतका शैक्षिक सामग्री एवं दक्ष मानवीय साधनस्रोतबाट सुसज्जित गरेर प्रयोग गर्न सकिन्छ । त्यसैगरी अन्य सरकारी गैरसरकारी संघसंस्थाहरुसँग उनीहरुको क्षमता र हैसियतअनुसार समन्वय र साझेदारीमा खुला शिक्षाको विकास र विस्तार दिगोरुपमा गर्न सकिन्छ । खुला शिक्षाको आवश्यकता र औचित्य, विकास र विस्तार एवं लोकप्रियता त्यहाँबाट उत्पादन हुने विद्यार्थीको उपलब्धिस्तरले निर्क्यौल गर्दछ ।
अनुगमन निरीक्षण तथा परीक्षा र मूल्याङ्कन : दूर तथा खुला शिक्षाका कार्यक्रमलाई नियमित र नियमन तथा समयानुकूल सुधार गर्दै लान निरन्तर सार्थक अनुगमन निरीक्षणको खाँचो पर्दछ । खुला शिक्षाको वैधानिकता र विश्वसनीयतालाई सुनिश्चित गर्नको लागि व्यवस्थित र मर्यादित परीक्षा प्रणालीको अहम् भूमिका रहन्छ । विद्यार्थीको उपलब्धि धरातल पत्ता लगाई उनीहरूको प्रगतिलाई निरन्तर प्रोत्साहित गर्नका लागि परीक्षा र मूल्यांकन केन्द्रित हुनुर्पछ । विगतमा शैक्षिक जनशक्ति विकास केन्द्रबाट ८५ खुला माध्यमिक विद्यालय सञ्चालानमा छन् । खुला विद्यालय स्थापना भएपश्चात् २०६५ सालदेखि एसएलसी परीक्षामा सम्मिलित भएको पाइन्छ । हाल एसईईमा परीक्षर्थीको संख्या प्रत्येक वर्ष बढ्दै गएको देखिए पनि उत्तीर्ण प्रतिशत उत्साहजनक छैन । तसर्थ खुला विद्यालयहरुलाई साधनस्रोत सम्पन्न बनाएर नियमित अनुगमन, नियमन र पृष्ठपोषणको लागि विशेष ध्यान दिन आवश्यक देखिन्छ ।
उच्च शिक्षा हासिल गर्नको लागि पनि खुला शिक्षा नीति सशक्त विकल्प हो । किनकि खुला शिक्षाको सुविधाबाट आफ्नो अनुकूल वा फुर्सदको समयमा अध्ययन गर्ने मौका मिल्छ । साथै परम्परागत नियमित शिक्षाभन्दा समय र सम्पत्तिको पनि किफायत हुने यथार्थता हो । खुला शिक्षा पद्धतिबाट जो कोही पेसाकर्मीलाई नवीनतम ज्ञान र सीपबाट सुसज्जित भई पेसागत दक्षता बढाउने अवसर पनि प्राप्त हुन्छ । जसको पुष्टि पूर्वाञ्चल विश्वविद्यालयबाट हाल सञ्चालनमा रहेको एक वर्षे बी.एड. अध्ययन गरेर उच्च श्रेणी हासिल गर्ने राजपत्राङ्कित कर्मचारीहरूले पदोन्नति प्रतिस्पर्धामा अधिक सफलता मिलेको यथार्थता हो । अर्कोतर्फ उक्त स्नातकतह अध्ययन गर्नेमध्ये अधिकांशले प्रथम श्रेणी वा सोभन्दा माथि प्राप्ताड्ढ ल्याउने गरेको तथ्यांकले पुष्टि गर्दछ । जसबाट खुला विश्वविद्यालय समेतको गुणस्तर र सान्दर्भिकता एवम् लोकप्रियता अझ बढेको पुष्टि हुन्छ ।
खुला विद्यालय वा महाविद्यालयको परीक्षा प्रणालीमा लचकता हुनु जरूरी छ । किनकि, खुला शिक्षामा विद्यार्थीले आ–आफ्नो अनुकूल समयमा शिक्षा आर्जन गर्ने भएकोले उनीहरूको परीक्षा र मूल्यांकनको समयमा पनि लचकता अपनाउनु व्यावहारिक हुन्छ । जसका लागि विद्यार्थीको मागमा आधारित परीक्षा सञ्चालन गर्न सकिन्छ । विद्यार्थीको आन्तरिक परीक्षा शिक्षकले लिने व्यवस्था हुनुपर्दछ ।
कम्प्युटर तथा अनलाइनमा आधारित परीक्षा तथा फोनबाट प्रत्यक्ष वार्ता गरी मौखिक परीक्षा लिन सकिन्छ । गृहकार्यको आधारमा लिने परीक्षाको लागि पनि केही अङ्कभार छुट्याउन सकिन्छ । खुला शिक्षा कार्यक्रमको अनुगमन र निरीक्षण मौजुदा शिक्षाको संरचनाको अतिरिक्त सेवाग्राही र सरोकारवालाको प्रत्यक्ष संलग्नतामा गर्ने नीति भएमा कार्यक्रम अझ सशक्त हुनेछ । तर गुणस्तरीयता कायम राख्न कुनै पनि किसिमको सम्झौता गरिनुहुन्न । अनुगमन निरीक्षणलाई आबद्ध संस्था र पदाधिकारीहरूबीच सञ्जाल खडा गरी आपसी समझदारीको आधारमा कार्यक्रम बनाई निरन्तरता दिनसके वास्तविक रूपमा फलदायी अनुगमन हुनेछ ।
आर्थिक व्यवस्थापन : संघीय संरचनाअनुसारको राज्य व्यवस्थामा शिक्षा सुधारको जिम्मेवारी पनि तीनै तहका सरकारहरुमा विभाजित गरिएको छ । औपचारिक प्रकृतिका शिक्षाका धारहरुको व्यवस्थापनमा समेत अझै छर्लङ्ग गति लिएको पाइँदैन । यस अन्योलमा दूर तथा खुला शिक्षामा ध्यान पुग्न अझ केही समय कुर्नुपर्ने हो कि शंका नै छ । दूर तथा खुला शिक्षा परम्परागत औपचारिक शिक्षाभन्दा सस्तो पर्ने यथार्थता हो । दूर तथा खुला सिकाइ सञ्चालनमा आर्थिक स्रोतको पहिचान र व्यवस्थापनले प्रत्यक्ष असर पार्दछ । राज्यबाट शिक्षामा पर्याप्त लगानी गर्न नसकेको वर्तमान अवस्थामा खुला शिक्षामा पूर्ण लगानीको अपेक्षा गर्न सकिन्न । त्यसकारण आर्थिक व्यवस्थापनका लागि निम्नानुसारको नीति व्यावहारिक हुन सक्छ । आधारभूत तहको शिक्षा निःशुल्क गर्ने, माध्यमिक तहको हकमा लागत साझेदारी गर्ने, उच्च शिक्षाको हकमा आपूरणको नीति अवलम्बन गर्ने ।
खर्च व्यवस्थापनको हकमा औपचारिक शिक्षातर्फ राज्यले लिएको नीति नै आवश्यकताअनुसार क्रमिकरूपमा लागू गर्दै जानु न्यायोचित हुन्छ । किनकि अहिले खुला विद्यालयमा पढाउने पर्याप्त दक्ष शिक्षकको अभाव भएको सर्वत्र गुनासो छ । नागरिकलाई उनीहरूका योग्यता, क्षमता आवश्यकता र चाहनाअनुसारको शिक्षा आर्जन गर्ने अवसरको सुनिश्चितताका लागि शैक्षिक संस्थाहरुको विकास र विस्तार गर्नु राज्यको दायित्व हो ।
अन्तमा, खुला शिक्षा समावेशीकरणको प्रस्थान विन्दु हो । यसको दायरा फराकिलो हुन्छ । अध्ययनका लागि उमेर, समय, पाठ्यक्रम तथा विषयवस्तुमा लचकता भएकोले सबैको पहुँच सहज हुन्छ । नेपालजस्तो धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक विविधता र भौगोलिक विकटता भएको देशको शिक्षामा विकास र विस्तारका लागि गुणस्तरीय खुला शिक्षाको सुनिश्चितता अपरिहार्य छ । शिक्षाको सहज पहुँचबाट अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउँदै एक पौरखी नागरिक बनाउन व्यवस्थित एवं गतिशील खुला शिक्षा नीति अत्यावश्यक हुन्छ ।
नियमित र खुला शिक्षा एक अर्काको परिपूरक हुन् । तसर्थ, खुला मानसिकताले यी दुवैलाई उत्तिकै महत्व दिएर सञ्चालन गर्नु भनेको मौजुदा जनशक्तिलाई नवीनतम ज्ञान र सीपबाट सुसज्जित, सबलीकरण एवं सशक्तीकरण गर्दै नयाँ नेपाल बनाउने कुशल कालिगढ उत्पादन गर्नु हो । तसथर्, विद्यालय तहको शिक्षा स्थानीय तहले र महाविद्यालय तहको शिक्षा प्रदेश सरकारले रेखदेख गर्ने कानुनी व्यवस्थाअनुसार स्थानीय र संघीय सरकारले आपसमा सहकार्य र सहयोगमा मात्र दूर तथा खुला शिक्षा फस्टाउनेतर्फ सरोकार सबैको हेक्का रहनुपर्दछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया