नेपालको जाति, भाषा र संस्कृति : बाहुन, क्षेत्री खस आर्य–८
ती ३ प्रकारका जैसीमा :– (१) वैकलय – कुनै कन्याको कुराकानी छिनिएर पनि विवाह हुन नसकी ति अविवाहित कन्यालाई विवाह गरी ल्याएपश्चात् ती कन्याबाट जन्म लिएका सन्तान वैकलेय जैसी अर्थात् अति उच्च कोटीको जैसी बाहुन कहलिन्थे । तिमसेना अर्थात् तिमल्सेना वा तिम्सिना अति उच्च कोटीको जैसी बन्न पुगे भने यसैगरी गजुरेल, मोठभरी वा मुडभरी पनि वैकलय जैसी कहलिन पुगे ।
(२) गोलक :– आफ्नो ब्राह्मण पतिको मृत्यु भएपश्चात् ती विधवा ब्राह्मणीले अर्काे ब्राह्मण उपाध्याय पुरुष विवाह गरी जन्माएका सन्तान गोलक जैसीका नाममा वर्गीकृत हुन पुगे ।
(३) कुण्ड :– ब्राह्मण पति छँदाछँदै अर्काे ब्राह्मण पुरुषसँग विवाह गरी वा पोइला गएकी स्त्रीबाट जन्मेका सन्तान कुण्ड जैसी कहलिए । यसैगरी उपाध्याय ब्राह्मणले आफ्नै ब्राह्मण जातकी केटी वा जारी स्त्री वा विधवालाई पुनर्विवाह गरी ल्याएमा तिनका सन्तानलाई नै कुनै बखत जैसी बाहुन वा जैसी भनिन थालियो भने जैसी बाहुनले अन्य आफूभन्दा तल्लो जातसँग विवाह गरी जन्मेका सन्तान क्षेत्री वा क्षेत्रीय जाति बन्न पुगे ।
जैसी शब्द जोशीबाट बन्न गएका हुन् अर्थात् ब्राह्मणबाट च्यूत भएपश्चात् कर्म काण्ड गर्नबाट वञ्चित भएकाले ज्योतिष पेसा अंगालेकाले ज्योतिष–जोशीबाट जनजिब्रोले जैसी भन्नपुगेका हुन् ।
कुमाइ ब्राह्मण :– कुमाई ब्राह्मणका मूल पुरुषहरु पनि काम्यकुञ्जी ब्राह्मण नै हुन् । जस्तो कि पूर्वीया ब्राह्मणहरुले मान्ने गरेका छन् भने पूर्वीया ब्राह्मणझैं कुमाइ पनि उपाध्याय ब्राह्मण नै हुन् ।
आफूहरुसँग पुर्ख्यौली सम्बन्ध भए पनि कुमाइभन्दा पहिला नै पूर्वीया ब्राह्मण महाकालीपूर्व लागेकाले यी दुई ब्राह्मणबीच कुनै समय राजनैतिक संघर्ष चलेर पूर्वीया र कुमाउबीच द्वेष पैदा भई बिहेबारीमा बन्देज मात्र भएन कि दुई अलग राज्य समेत कायम हुन पुग्यो । जनकलाल शर्माद्वारा लिखित ‘हाम्रो समाज एक अध्ययन’अनुसार ईशा द्वितीय सहशताब्दीको मध्यतिर डोटी र कुमाउ दुई अलग राज्य थिए । ती दुई अलग राज्यको सीमारेखा महाकाली नदीलाई मानिएकाले कुमाउमा बस्ने कुमाइ भए भने महाकाली पूर्व बस्न पूर्वीया हुन पुगेपछि कुमाउबाट पनि ब्राह्मणहरु पूर्व लाग्दै आएपश्चात् पछि आएकालाई आफूहरुसँग बिहेबारी चलाएनन् र पूर्वीयाले आफूहरुलाई पूर्वीया नभनी केवल उपाध्याय ब्राह्मण भन्न थाले । कुमाइ ब्राह्मण पनि दुई प्रकारका हुने गर्छन् ।
पाका कुमाइ र काँचा कुमाइ : धनीमानी कुमाइहरु र गरिब कुमाइहरुबीच वर्ग विभेद र मेलमिलापको अभाव हुन गई सम्पन्न कुमाइहरु पाका कुमाइ र विपन्न वा पहुँच नभएका कुमाइहरुलाई काँचा कुमाइ भनिन थालियो । यी दुई कुमाइमा भात भान्सा पनि चल्दैन भने बिहेबारीसमेत हुने गर्दैन ।
खनाल थरको उत्पत्ति :– खदालबाट खनाल थर बन्न गएको हो । खनाल वंशावलीमा खनालहरुको आदि थलो ‘खन’ वा खानी भनी उल्लेख गरिएको छ । गोरखाको खानी भन्ने स्थानमा बसेका हुनाले खनाल थर हुन गएको हो । योगी नरहरिनाथद्वारा लिखित ‘हाम्रो देश दर्शन’ भन्ने पुस्तकका अनुसार खनालहरुको मूल स्थान ‘खनाया’ गदमदरामा वरैदेखि दक्षिणपट्टि रहेको छ । खनाल, बराल, नेपाल र सुतार कार्की एउटै हाँगोबाट फुटेर निस्किएका सगोत्रीहरु हुन् । सुतार कार्कीचाहिँ खनाल र माझीको छोरीबाट जन्मिएका सन्तान हुन् ।
खनाल वंशावलीअनुसार खनालका प्रवरहरु तीन घृतकौशिक, अधभर्षण र विश्वामित्र भनी देखाइएको छ भने बरालहरुका वंशावलीमा दुईवटा मात्र प्रवर देखाइएको छ । यसैगरी शिखरनाथ सुवेदीको थरगोत्र प्रवरावलीमा खनाल दुई प्रकारका देखाइएका छन् ।
(क) खोरिया : खनालहरुका मूल पुरुष विशेश्वर तत्कालीन पाल्पाली राजाको आश्रयमा रहेका थिए । राजाबाट बक्सिस प्राप्त खोरिया जंगल फाडेकाले खोरिया खनाल हुन गएका हुन् र यिनी घृतकौशिक गोत्रका हुन् ।
(ख) टिङ्गली खनाल : राजाद्वारा नित्य दान दिने कार्य ढिलो भएको र टिङ्ग लिएको हुँदा यिनलाई टिङ्गुली खनाल भनियो । पं.शिखरनाथ सुवेदीले टिङ्गुली खनाललाई गैह्र खनाल भनी उल्लेख गरेका छन् ।
बराल थरको उत्पत्ति :– बराल वंशावलीमा बरालहरुको मूलथलो वा आदि थलो वरदनी देखाइएको छ । वरबाट बराल थर भएको हो । वर+आलय= वरालयबाट बराल हुन गएको हो । योगी नरहरिनाथले बरालहरुको मूलथलो लेख वरै र औल वरै मूल कर्णालीको पूर्वतटमा हुम्लामा छ भनी उल्लेख गरेका छन् । खनाल, नेपाल र बरालका एउटै गोत्र र प्रवर रहेका छन् ।
वरालहरु पूर्वीया र कुमाइ दुवै हुने गर्छन् । कुमायुँ वा कुमाइ बराललाई काला बराल समेत भनिन्छ । यसैगरी जसुका साहिला भाई जयंतु पण्डितलाई दुल्लु राजधानीभन्दा केही पश्चिम र सुतारकोटभन्दा केही दक्षिण कर्णाली नदीको पश्चिमी तटमा रहेको वारल नमको गाउँ बिर्ता पाई बसोबास गर्न थालेपछि बराल थर हुन गएको कुरा नेपालहरुका वंशावलीमा उल्लेख गरिएको छ । (सन्दर्भ स्रोत : “आर्यदेखि अर्याल सम्म” लेखक ः ध्रुव प्र. अर्ज्याल)
खसान क्षेत्र कर्णाली अञ्चल जुम्ला जिल्लाका गाउँठाउँका नामबाट बन्न गएका केही थरहरु : धिता गाउँमा बस्ने धिताल भए र खस राज्यको राजधानी सिञ्जाबाट बसाइसराइ गरी आएका सिञ्जाली भए भने जुम्ला जिल्ला चादिला गाउँका चौलागाईं कहलिए । यस्तै जुम्ला जिल्लाकै सुवदा वा सुवडाका सुवेदी र प्याकुरी गाउँका बासिन्दा प्याकुरेल भए । खसान क्षेत्र बझाङ्ग जिल्ला अवस्थित गाउँहरुमा बसोबास गरेका खस बाहुनहरुका थरहरु :–
रेगम गाउँमा बस्ने रेग्मी भए भने बझाङ्गकै खर गाउँमा बस्ने खरेल भए । खरेल कुमाइ बाहुन हुन् । यसैगरी सुदूरपश्चिम नेपाल अछाम जिल्लाको गाउँ वा स्थानहरुका नामबाट त्यस स्थानमा बस्ने आर्य खसहरुका बन्न गएका थरहरुमा तिमिलसैन गाउँका खस ब्राह्मण तिमिल्सिना, ढुंगानीका ढुंगाना, ढाँकुमा बसोबास गर्ने ढकाल, भजगाउँका भजगाईं वा बजगाईं ।
घोडासैन भन्ने स्थानका बाहुनको घोडासैनी थर हुन गयो भने अछाम जिल्लाकै पुडासैन भन्ने स्थानबाट पुडासैनी थर रहन गयो । यसैगरी धमाली भन्ने गाउँ ठाउँबाट धमला, दरानाबाट दर्नाल, कुइँकाबाट कुइँकेल र अछाम जिल्लाकै चालसा भन्ने स्थानको नामबाट चालिसे थर बन्न गयो । यस्ते सुदूरपश्चिम बाजुरा जिल्लाको जमाकाट्टी भन्ने ठाउँमा बस्ने जमर्कटेल, बाजुराकै छातिका छत्याल, कुण्डी भन्ने स्थानका कुंसडयाल कहलिन पुगे ।
बैतडी जिल्ला गजुराई भन्ने स्थानका व्यक्ति गजुरेल वा गजु¥याल भनिए भने रुकुम जिल्लाको गोताम भन्ने गाउँका गोतामे र सापकोट भन्ने स्थानमा बसेकाहरु सापकोटा भनिन थालिए । यसैगरी सुदूरपश्चिम प्रदेश नेपाल खसान क्षेत्र सेती अञ्चल डोटी जिल्लामा कुनै समय लामो बसोबास गरेका खसआर्य ब्राह्मणहरुका डोटी जिल्लाका ग्रामठामका नामबाट बन्न पुगेका थरहरु :– कुण्डाका कँडेल भनिए भने डोटेखोला भन्ने स्थानका डोटेल, यस्तै खत्याडीबाट खतिवडा थर बन्न पुग्यो भने निरौलीबाट निरौला थर बन्न गयो । ओझानाका ओझा बोगटानका बोगटी भए भने डोटीकै खनाया भन्ने स्थानको नामबाट खनाल थर बन्न पुग्यो र डोटीको बोगटान गाउँका बोगटी थरले चिनिन थाले ।
यस्तै सुदूरपश्चिम उत्तर तत्कालीन खस क्षेत्रमा अवस्थित हाल एउटा जिल्ला दैलेखमा अवस्थित विभिन्न गाउँहरुमा बसेका खस बाहुनका थरहरु सोही गाउँका नामबाट रहन गयो । जस्तैः– लामाछानीका लामिछाने, बाँसतोलाबाट बाँस्तोला, सतालाबाट सत्याल, लुयान्तिबाट लुइँटेल, बस्ताकोटबाट बस्ताकोटी, चापागाउँबाट चापागाईं, नेपाबाट नेपाल, पोखारबाट पोखरेल, लम्सुबाट लम्साल, लम्जीबाट लम्जेल, दाहाबाट दाहाल र कोइरालीबाट कोइराला थरहरु बन्न गए भने दवाडाबाट दवाडी, गैहरी भन्ने स्थानबाट गैरे थर बन्यो । यस्तै दैलेख जिल्लाकै पराजुलबाट पराजुली, कट्टी भन्ने ठाउँका नामबाट कट्टेल थर बन्न पुग्यो र भुसाकोटका बासी बाहुनहरु भुसाल भनिए । क्रमशः (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया