Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगस्त्री हिंसा, वेश्यावृत्ति र कानुन

स्त्री हिंसा, वेश्यावृत्ति र कानुन


काठमाडौं । प्रहरीको तथ्यांकले भन्छ विगत पाँचवटा आर्थिक वर्षमा नेपालमा आठ हजारभन्दा बढी बलात्कार र तीन हजार एक सयभन्दा बढी बलात्कारको प्रयासका घटना भएको देखाउँछ । सो अवधिमा झन्डै ६० हजार हजार घरेलु हिंसाका घटनाहरू दर्ता भएको थियो । एकाध घटनाबाहेक तपाईँहामीले कहिले सुनेनौँ या पढेनौँ कि विकसित देशहरूमा बलात्कार भयो या बलात्कारको प्रयास भयो भनेर, किनकि ती देशमा सेक्सलाई समाजले छोपेर राखेका छैनन् या सेक्स र प्रेममाथि प्रहरीले हत्कडी लगाउँदैन । अथवा यसो भनौँ कुनै रेस्टुरेन्टमा वा रिसोर्टमा कुनै पार्कमा युगल जोडी भेट्दा प्रहरी हस्तक्षेप हुँदैन । हाम्रोमा व्यापक हस्तक्षेप छ । हाम्रोमा सिंगो राज्य शक्ति नै प्रेम र सेक्सको विरुद्धमा लागिपरेको छ । हाम्रोमा सेक्स र प्रेमको बारेमा खुलेर बोल्ने छुट छैन । जुन कुरामा व्यापक बन्देज लाग्छ सबैभन्दा धेरै त्यही व्यापार फस्टाउँछ नेपालमा भएको यही हो ।

दक्षिण–पूर्वी एसियाली देशहरूमा नेपाल मात्रै एउटा त्यस्तो देश हो जहाँ सेक्सलाई असामाजिक व्यवहारका रूपमा लिइन्छ । जुन कुरो जति दबाइन्छ त्यो कुरा त्यति नै विस्फोट हुन्छ । अरु देशको प्रहरी प्रशासन शान्ति सुरक्षामा ध्यान दिन्छन् । सीमा सुरक्षामा ध्यान दिन्छन् । हाम्रो देशका प्रहरी प्रशासन रेस्टुरेन्ट र रिसोर्ट अनि होटेलमा छापा मार्दै हिँड्छन् र जोडीहरूलाई समातेर घुस माग्छन् । होटेलमा विवाहित जोडीहरूलाई पनि बस्न डर हुन्छ, किनभने प्रहरी आयो भने बिहे गरेको प्रमाणपत्र देखाउनुपर्छ । विवाहित जोडीले जिन्दगीभर बिहे गरेको प्रमाणपत्र बोक्नुपर्ने देशमा दैनिक स्त्रीहरू बलात्कारको पीडा भोग्नुपरिरहेको छ । यो कस्तो लज्जास्पद र हाँस्यास्पद कुरा हो ?

सेक्सलाई हाउगुजीको रूपमा र भयानक गम्भीर विषयको रूपमा राज्यले लिइदिनाले यो विषम परिस्थितिमा रहिरहेको हो । भित्र–भित्र सेक्सको गम्भीर व्यापार छ नेपालमा । राज्यले जुन दिन प्रेम र सेक्सलाई अपराध होइन भनेर घोषणा गर्छ र यौन धन्दा गरेर खानेलाई एउटा व्यवसायीको रूपमा मान्यता दिलाउँछ तब त्यही दिनदेखि स्त्रीमाथि हुँदै आइरहेको ज्यादती र बलात्कारमा नब्बे प्रतिशतले कमी आउँछ । जति दबाउनु हुन्छ त्यसको परिणाम त्यति नै भयङ्कर हुन्छ ।

सरकारले नेपाली महिलाहरूलाई नेपालमा यौन धन्दा नगर विदेशमा गएरचैँ गर भनेर अहिले इजरायलमा काम गर्न जाने वातावरण आफैँले मिलाइएको छ । नेपालमा रहेका चेलीहरूलाई पासपोर्ट हातमा दिएर विदेशमा गएर विदेशीसँग यौन धन्दा गरेर नेपालमा रेमिट्यान्स पठा भन्न हुने तर त्यही काम नेपालमा गर्ने व्यवस्था मिलाउन नसक्नु भनेको नेपालमा अझै बलात्कारीलाई उक्साउनु हो ।

नेपालमा अहिले फेसबुक, टुइटर र सोसल मिडियाको व्यापारका कारण दश/एघार वर्षका केटा केटीहरू वयस्कता प्रदर्शन गर्न थाल्छन् । जब कि उनीहरूलाई कानुनले बीस वर्ष पार नगरी बिहे गर्न दिँदैन । कानुनले बिहे गर्ने उमेर बढाउँदै छ भने बिहे गर्न चाहनेहरू लिभिङ टुगेदरमा बालिग नहुँदै बच्चा जन्माउन थालिसकेका छन् । एकाधबाहेक दश वर्षको उमेरमा फेसबुक चलाउने र च्याट गर्न खप्पिस हुने केटाकेटीले के बीस वर्षको उमेरसम्म विनासेक्स बस्न सक्लान् त ? हो अनि यहाँबाट समस्या सुरु हुन्छ । बलात्कारका घटनाहरूमा सोसल मिडिया र साइबर संसारको व्यापक दुरूपयोग भएको पाइएको छ । सेक्स नगर, प्रेम नगर भनेर भन्नु भनेको बलात्कार गर भनेको हो । त्यस कारण पनि नेपालमा यदि बलात्कारका घटनाहरूलाई कम गराउनु छ भने लुकीछिपी भइरहेको वेस्यावृत्तिलाई कानुनी मान्यता दिन ढिलो भइसकेको छ ।

नेपालको कानुनमा गाँजा लागुऔसध र अवैध मानिन्छ । जब कि विकसित देशहरूले यसलाई क्यान्सरजस्तो रोगको उपचारका रूपमा अपनाइसकेका छन् । कानुन सुधारको बाटो हो तर जब कानुनले नै उज्यालो नभएको बाटोमा हिँड्न् बाध्य बनाउँछ भने मानिसहरू त उज्यालोमै रमाउँछन् । अनि कानुन एकातिर मानिस अर्कोतिर हुनु स्वाभाविक नै हो ।

बाहिर खाजा राखेर भित्र यौन धन्दा चलाउने राजमार्गका अधिकांश होटेलहरू प्रहरीहरूको आम्दानीको स्रोत हुन् । टोलका गुन्डा नाइके र नेपालका राजनीतिक कार्यकर्ताका चुनावखर्चका आदिम स्रोत हुन् ती होटेल र रिसोर्टहरू ।

नेपालका अधिकांश नाम चलेका रिसोर्ट र होटेलमा नेपालका प्रख्यात नेताहरूको सेयर लगानी छ । यिनै नेताहरू फ्रेस हुन तिनै आफूले लगानी गरेको होटेल/रिसोर्टमा जान्छन् । यसैलाई वैधानिक गर्दिनुस् कमसेकम ती महिलाहरू त आफ्नो इच्छाले कमाइ गरी जीवनयापन गर्न सक्छन् । इच्छुकले त्यही पेसा अपनाउलान्, कमसेकम बलात्कृत त हुनु पर्दैन । अनाहकमा कतिन्जेल मरिरहनु निर्मलाहरू ?

केही पुरुष र महिलाहरूमा काम गर्ने प्रवृत्ति यति बलियो छ कि यसको पूर्ति मात्र वैवाहिक सम्बन्धद्वारा सम्भव छैन । सेक्सको लागि उनीहरूको स्वतन्त्र प्रवृत्ति निःशुल्क सेक्सद्वारा प्रबलित छ । यो प्रवृत्ति विवाहित पुरुषहरूको वेश्यावृत्ति र विवाहित महिलाहरूको सम्बन्धमा सक्रिय रहन्छ । समाज गतिशील छ । यो गतिशीलतालाई न कानुनले रोक्न सक्छ न पुरोहित पान्डित्यले रोक्न सक्छ त्योभन्दा त राम्रो कानुनी रूपमा त्यसलाई सहज बनाउँदै जाने । युरोप अमेरिकी देशमा रिसोर्टमा गएका जोडीलाई प्रहरीले हत्कडी लगाउँदैन । नेपालमा जबरजस्तीलाई छुट छ प्रेमिल जोडीलाई कारबाही हुन्छ ।

समाजको रूपान्तरण भनेको मानिस धनी हुनु मात्रै होइन । रूपान्तरण त व्यक्तिको सुख र शान्तिसँग पनि सम्बन्धित हुन्छ । मानिस सुरक्षा खोज्छ । उसले गर्ने आफ्नो निजी काममा कसैको हस्तक्षेप चाहँदैन । चोर्ने काम नै किन नहोस् एउटा चोर पनि प्रहरीको हस्तक्षेपलाई नराम्रो भन्छ । आध्यात्मिकहरू आत्मीय सुखका सौखिन होलान् अनि भौतिकवादीहरू भौतिक सुख भोगविलासीका सौखिन होलान् । व्यक्तिले व्यक्तिलाई/समाजलाई दुःख र चोट नपु-याई गरिएका यावत कामहरू गलत होइनन् भन्ने परिभाषा गर्नुपर्छ अब अनि मात्रै समाजले अग्रता पाउन सक्छ । हामी प्रेम र सेक्सलाई त अपरधीकरण गर्न लागिपरेका छौँ भने त्योभन्दा पुरातनवादी चिन्तन अरु के हुन सक्छ होला र ? स्त्रीले खोलेका ब्युटीपार्लरभित्र पहिले पुरुष प्रवेशमा रोक थियो अहिले सबैभन्दा पुरुषहरू नै बढी प्रवेश गर्छन् । समय बदलिएको होइन बदलिएका त हामी हौँ । हामी बदलिएपछि मात्रै समय बदलिएको अनुभूति हुने हो ।

ब्रिटानिकाको इन्साइक्लोपीडियाका अनुसार वेश्यावृत्ति भनेको त्यो हो, जो पैसा वा अन्य बहुमूल्य सामग्रीको तत्काल भुक्तानीको बदलामा, परिचित वा अपरिचित व्यक्तिको साथ यौन सम्बन्ध राख्नु । अन्य शब्दहरूमा लाभको लागि स्थापित हाइब्रिड सेक्सलाई वेश्यावृत्ति भनिन्छ । यहाँ माया र भावनात्मक तत्वको कमी त छ तर अन्य पेसाजस्तै यो पनि पेसा हो । यहाँ बलात्कारमा जस्तो व्यभिचार पोखिँदैन र अन्य अनियमित कामुक सम्बन्धहरूभन्दा यो फरक छ । संस्कृत शब्दकोशहरूमा यो पेसा अपनाउने महिलाहरूको लागि विभिन्न संज्ञाहरू दिइएको छ ।

वेश्यावृत्तिको अस्तित्वको सम्बन्धमा, वेश्यावृत्तिको अस्तित्व कमसेकम एक हजार वर्ष पहिले ज्ञात छ, तर आर्थिक युगको विकाससँग, वेश्याहरूको स्थिति पनि परिवर्तन भएको छ । यसको सन्दर्भमा, समाजवादी युगको विकास भयो र साम्राज्यवादी युगको विकाससँगै महिलाहरूलाई भोगको रूपमा प्रयोग गरियो । एक महिलालाई एक विलासी, भोग वस्तु र कामुकताको कठपुतलीको रूपमा व्यवहार गरियो, जब कि उनी आफ्नो कला नाचगान देखाएर पेसा अपनाउँछन् तर त्यसलाई नै बिस्तारै स्त्रीको शरीर भोगको रूपमा कथित पुरुषले उपयोग गर्न थाले । सामन्ती मानिसहरूले महिलालाई सामाजिक क्रूरता र असमानताको सिकार बनाए ।

समाजमा भोका सामन्ती, विलासी ब्वाँसाहरूबाट महिलालाई निच बनाउनको लागि, उसका आमाबुबाले महिलालाई भगवानको दासी, छोरी, नोकरको नाम दिएर भगवान्को शरणमा पठाइदिए त्यो बेलामा र अहिले पनि देउकी, झुमाका नाउँमा स्त्रीहरू पुकारिन्छन् । त्यहाँ उनीहरूको नाम ‘अप्सरा’, ‘परी’ राखिएको हुन्थ्यो । भगवान्का कथित अनुयायीहरूले तिनै स्त्रीहरूलाई भोग्या घोषणा गराए ताकि उसको जवानी, रूप, सौन्दर्य त्यहाँ संरक्षित रहनेछ, उसले सम्मान पाउनेछ, तर भगवान्का ठेकेदारहरू त्यहाँ बसेर महिलालाई अश्लीलता र नग्नताको वस्तु बनाइदिए र यो अनुष्ठानको नाम दिएर, महिलाको कामुकता रमाइलोको एक विषय बनाइयो र उसलाई भगवान्को दासी बनाइयो र भगवान्को मूर्तिको सामु नृत्य गर्न लगाइयो । त्यसपछि सेक्स ट्रेड युनियन र संवाद बनाएर समाजको अगाडि यसैगरी प्रस्तुत गरिँदै आइयो ।

जसरी समाज विकासको बाटोमा अगाडि बढ्यो, त्यहाँ वेश्यावृत्तिमा परिवर्तन भएको थियो र अन्य उद्योगहरूजस्तै यो पेसा (व्यावसायिक यौन) पनि एक उद्योगको रूपमा उभिएको छ । यो सत्य हो कि अन्य उद्योगहरूको विपरीत यो उद्योग कहिल्यै खरिदारहरूको कमीको बारेमा गुनासो गर्दैन । जे होस्, क्रेताहरूको नियमित भोग र कामुकताको मौनको कारण यो समाजमा अधिक भएको छ जहाँ विकास र वैश्विक प्रक्रियाहरू गरिबहरूलाई आफ्नो दायराबाट बाहिर धकेलिएको छ ।

सेक्स बेच्नु वा सेक्सको लागि बेचिनु एक यस्तो कार्य हो जसमा गरिब र अशिक्षित पनि सजिलै प्रवेश पाउन सक्छन् । किशोरावस्था र शारीरिक आकर्षण यसको एक मात्र आवश्यक योग्यता हो । वेश्यावृत्ति एक यस्तो पेसा हो जसले निरन्तर यो सुनिश्चित गर्दछ कि गरिब महिलाहरू, भाग्यमानी थोरैबाहेक, सधैँ गरिब र निरक्षर रहनेछन् । तर एसियाका धेरै भागहरूमा वेश्यावृत्ति जीविकोपार्जन र बाँच्नको लागि एक सुरक्षात्मक साधनको रूपमा तीव्र गतिमा फस्टाएको छ । भारतको वर्तमान बम्बई नगरीमा हजारौं वेश्यालयहरू छन्, जसमा एक लाखभन्दा धेरै वेश्याहरू व्यवसाय गर्दै छन् । जबकि मानवअधिकार आयोगको अनुसार भारतमा लगभग १५ लाख वेश्याहरू छन् । एक लाखभन्दा धेरै वेश्याहरू मुम्बईमा वेश्यावृत्ति गर्छन् । भारतको अधिकांस वेश्यालयमा नेपाली चेलीबेटी रहेका छन् । त्यही पेसा भारतमा गएर गर्दा छुट तर नेपालमा गर्दा प्रहरी हिरासतमा पुगिन्छ भने नेपालमा कानुनमा पो सुधार गर्नुपर्ने हो कि ?

थाइल्यान्डमा सेक्स टुरिज्मका कारण त्यहाँ वार्षिक रूपमा लाखाँै पर्यटक भित्रिन्छन् । त्यसले पनि गरिबी र भोकलाई निर्मूल पार्न मदत मिलेको छ । राष्ट्रको आयमा सेक्स टुरिज्मको निकै महत्वपूर्ण हात छ ।

हाम्रोजस्तो विकासोन्मुख देशमा वेश्यावृत्तिलाई बढावा दिनु पनि यसअन्तर्गत एक अपराध हो । यो कुनै पनी माध्यमबाट विज्ञापन वा कुनै पनि प्रकारको यौन सेवाको फोन नम्बरहरू प्रसारण गर्न गैरकानुनी हुन्छ । त्यस्तै गरी, अनैतिक गतिविधि वा मसाज क्लब, ब्युटीपार्लर वा स्पाको नाममा संगठित वेश्यावृत्ति भने भइरहेको छ । यहाँ कानुन मान्नेहरूका लागि मात्रै त बन्देज हो अरुलाई त खुला छ । यदि हामी यस विषयलाई सामाजिक रूपबाट हेर्छौँ, तस्करी र वेश्यावृत्ति सभ्य समाजमा कुनै पनि हालतमा स्वीकार्य छैन । तर अझै पनि नेपालमा यौनकर्मी र वेश्यावृत्तिको बजार बढेको छ । खाजा घरमा मात्रै होइन ब्युटीपार्लरभित्र पनि वेश्यावृत्ति भइरहेको छ । हामीले अनुमान र सोचेको भन्दा धेरै फरक छ नेपालमा सेक्स वर्करहरूको गतिविधि । पश्चिमी हावाले हल्लाएको नेपाली युवायुवतीहरूको हाइफाइ यति तीव्रतर गतिमा अगाडि बढिसकेको छ कि कसैले चाहेर रोक्न सकिने अवस्था छैन । समाज र समाजको गतिशीलता कानुनको एउटा स्रोत पनि हो ।

कानुन समाज नियमनका लागि बन्छ । समाज कता हिँड्छ कानुन त्यता फर्किन सक्यो भने त्यो कानुनले समाजलाई पनि दिशानिर्देश गर्छ तर समाजकै गतिशीलतालाई कानुनले बग्न दिन्न भने समाज अझै अपराधीकरणको बाटोतर्फ फैलिरहेको हुन्छ र अपराधको अन्त्य हुँदैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x