हाम्रो भ्रष्ट राजनीति र विदेशमोह
काठमाडौं । जागीरबाट होइन जीवनबाट नै अवकाश लिने अवस्थामा पुगेका अभिवावकहरू अमेरिकामा रहेका आफ्ना छोराछोरीलाई नेपाल नआउने सल्लाह दिन्छन् । बच्चा जन्मिएको केही हप्तामै आमाबाबु आफ्ना छोराछोरीको चिना बनाउन जाँदा ज्योतिषीलाई यसको चिनामा वा भाग्यमा अमेरिका जान लेखेको छ कि छैन हेर्दिनुप-यो गुरुजी ! भन्नुले पनि छोराछोरीमा भन्दा पनि बाबुआमाको अमेरिकी मोह कति हदसम्म रहेछ भन्ने कुरा थाहा पाउन सकिन्छ । बिहे गर्ने उमेर नै नपुगेकी कलिली छोरीलाई यदि अमेरिकी ग्रीनकार्ड भएको बुढो केटो माग्न आयो भने तत्काल मन्जुरी दिइन्छ र बिहे गराइन्छ । केटी स्वयम् पनि अमेरिकी ग्रीनकार्ड होल्डर केटा छ भने आँखा चिम्लेर मन्जुरी दिन्छिन्, केटा चाहे बुढो होस् अधबैँसे होस् रोगी होस्, भोगी होस्, ट्यापे टपरटुइयाँ होस् । ती नानीको आँखामा अमेरिकी सपना सुरु हुन थाल्छन् । कामकुरो छिटोभन्दा छिटो टुङ्याइदिए हुन्थ्यो जस्तो गर्छिन् । नेपाली केटीहरू विदेशीसँग बिहे गर्न पाए आफ्नो भविष्य सुनिश्चित हुन्छ भन्छन् ।
हरेक युवतीका आँखामा अमेरिका सपना बनेर बसेको छ किनभने उनीहरूलाई त्यही किसिमको स्कुलिङ हामीले दिँदै आयौँ । नेपालमा बसेर केही गर्नुपर्छ भन्ने भावना जब बाबुआमाको हृदयमा हुँदैन र कालान्तरमा त्यही रोग पुस्तान्तर हुँदै सन्ततिमा सर्ने हो । बाबुआमामा यस्तो दृष्टिकोण कसरी जन्मियो भने तिनले सधैँ अभाव देखे, तिनले सधैँ भोकको त्रासदी र खराब राजनीति देखे । तिनले सधैँ सदाचारको अलवा भ्रष्टाचार देखे, तिनले सधैं अशान्ति र अराजकता देखे, तिनले कृषकहरू सधैँ ठगिएको देखे, राजनीति भनेको विकास र समृद्धिका लागि नभएर सत्तामा पुग्ने भ-याङ हो भन्ने कुरा बुझ्दै आए । ती अस्थिर छन् र तिनका मगजमा नेपालप्रति सधैँ नेगेटिभ कुराहरू मात्रै पलाए । मैले त दुःख पाए पाए मेरा बच्चालाई पनि यो दुःख किन दिऊँ भनेर तिनका दिमागमा अमेरिकी मोह जाग्न थाल्यो ।
जनताको मन जितेर जनप्रतिनिधि भई चुनिएर चिनिएर आएको सांसद जब आफ्ना निजी स्वार्थमा लल्झिन्छ अनि त्यसको असर नेपालस्थित विदेशी राजदूतावासको ढोकामा गएर ठोकिन्छ । भन्न त भन्छन् नेपालमै सुन फल्छ भनेर तर सुन फलाउने कसले ? नर्सरीदेखि नै एउटा बच्चालाई विदेश पलाएन हुन सिकाउने शिक्षा जो हामीले दिइरहेका छौँ । राष्ट्रभक्ति भन्ने कुरा बहसमा मात्रै ब्युँझिन्छ । रेमिट्यान्स आयो भने मात्रै मुलुक जिवित रहन सक्छ भन्ने मनोग्रन्थी बोकेर बाँचेका छौँ हामी । हरेक दिन सयौँ नेपालीले देश छोडेर गएको तथ्यांक छ तर जनसंख्या भने बढिरहेछ । त्रिभुवन विमानस्थलबाट उड्ने र तराईतिरबाट नेपाल छिर्ने बराबरी हुन्छ यही हो जनसंख्या बढिरहनुको कारण पनि । एकातिरबाट खाली हुँदै जानु अर्कोतिरबाट भरिँदै जानु यो कस्तो विवशता हो नेपालआमाको । यो कुन नियति भोग्दै छौँ हामी । आफ्ना जवान सन्तान काख रित्याउँदै विदेश पलायन हुन्छन् र त्यही काखमा पराइ आएर हालिमुहाली गर्दै छन् ।
अमेरिकाले नेपालीहरूलाई भिसामा अलिकति सहजीकरण गरिदिने हो भने पाँच/सात वर्षमा तीन करोड नेपाली अमेरिका छिर्छन् र राजनीतिक शरणार्थी भएर बस्छन् । जो उता गएकाहरू यता आउन मान्दैनन् बरु ऋण गरेर भए पनि ग्रीनकार्ड एप्लाई गर्छन् त्यसै गरेर बसिरहेका छन् प्रायः । हरेक दिन हामी महाराजगञ्ज अमेरिकी राजदूतावास अगाडि एउटा अचम्मको जात्रा देख्छौँ । यो न गाइजात्रा हो न मछिन्द्रनाथको भोटो देखाउने जात्रा हो त्यो जात्रा कुनै धर्म सम्प्रदाय वा नेपाली चाडपर्वको नभएर नेपालीहरूको अमेरिकी सपना हो । दैनिक करिब पाँच सयको हाराहारीमा नेपाली अमेरिकी राजदूतावासको ढोकामा भिखको कचौरी बोकेर लामबद्ध हुन्छन् । के विद्यार्थी, के युवा, के बुढाबुढी के अपांग, के जागिरे, के व्यापारी, के कलाकार सबको ध्यान अमेरिकातिरै देखिन्छ र ट्राफिक जाम हुन्छ राजदूतावासअगाडिको बाटो । अहिले कोरोनाले गर्दा यो संख्यामा कमी आएको मात्रै हो नत्र एम्बेस्सीले भिसा फी उठाएर भ्याउँदैन ।
हरेक दिन भिसा शुल्कबाट मात्रै अमेरिकी राजदूतावासले नेपालीहरूबाट एक करोड २० लाख कमाउँछ । यसमा विद्यार्थी भिसा शुल्क जोडिएको छैन । त्यो भिड हेर्दा यस्तो लाग्छ कि नेपालमा कोही बस्न चाहँदैनन् । दिनको पाँच सय नेपालीले भिसा आवेदन दिदा मुस्किलले जम्मा सातदेखि दश जनाले मात्रै पाउँछन् भिसा । अरु चार सय नब्बे नेपाली फेरि अर्को पटक आवेदन दिन तम्सिन्छन् र आफ्नो बीसौँ हजार गुमाउनुपरेकोमा तिन्लाई कुनै खेद र चिन्ता छैन । दक्षिण–पूर्वी एसियाली देश अझै बंगलादेशमा दिनको दश हजार बंगलादेशीहरूले अमेरिकाको लागि भिसा आवेदन दिन्छन् त्यति नै पैसा बंगलादेशबाट पनि आम्दानी गरिरहेछ अमेरिकाले । अनुमान लगाऔँ भारत अझै ठूलो देश छ उसका कति जनसंख्याले भिसा आवेदन देलान् ?
विश्वका अल्पविकसित देशबाट भिसा शुल्कबाट मात्रै हरेक महिना खरबौ असुल्छ अमेरिकाले र उसलाई सबै गरिब देश मिलेर धनी र शक्तिशाली बनाइरहेका छन् । अमेरिका यही कारणले पनि सधैँ धनी र शक्तिशाली बनिरहेको हो । ऊ अर्कैको पैसाले, अर्कैको सोचले, अर्कैको प्रविधिले, अर्कैको चिन्तनले, अर्कैको विज्ञानले, अर्कैको आइडियोलोजीले र अर्कैको आविष्कारले अत्याधुनिक बन्दै गइरहेको छ । ऊ वैज्ञानिकलाई किन्न सक्छ, ऊ आफूअनुकूलको विश्व निर्माणका लागि निरन्तर लागिरहेको छ । ऊ कति बाठो छ भने विश्वबाट तीक्ष्ण बुद्धि भएका मानिसहरू छानीछानी आफ्नो देशमा स्थाइ आप्रवासका लागि अफर गर्छ । चम्किने हिरा आफू लिने र भुत्ते फलामलाई अस्वीकार गर्ने नीति अवलम्बन गरेको छ उसले ।
कागतालीमा परेर कतिपय भुत्ते पनि छिरेका होलान् अमेरिका तर अब त्यस्ता भुत्तेहरूलाई अहिले ट्रम्प प्रशासनले कडा गरेको छ । ट्रम्प प्रशासनलाई आदिवासी अमेरिकीहरूले मन पराएका छन् । अमेरिका भनेको रियल अमेरिकनहरूको मात्रै हो बाहिरबाट शरणार्थीका रूपमा आएर अटेर गरी बसेकाहरूले ट्रम्प प्रशासनलाई मन पराउँदैनन् किनकि ट्रम्पले गैरआप्रवासीहरूलाई अमेरिका छोडेर जाऊ भनिसकेको छ एउटा त्यो कारण पनि हो त्याहा सधैँ तनावको अवस्था रहिरहने । मानव अधिकारका कारण पनि विश्व समुदायको ध्यान अमेरिकातिर गएको हो । गल्ती नगरेसम्म जतिसमय पनि बस्न पाइने आप्रवास सुविधा प्रदान गरेको छ संसारबाट त्यहाँ पुग्ने मानिसहरूलाई र यो पनि एउटा कारण हो अमेरिकाले आफूलाई मानवाधिकारले सर्वसम्पन्न भएको देश भनेर घोषणा गरेको ।
अमेरिका भनेको पृथ्वीको स्वर्ग हो भनेर सोच्नेहरूका लागि सबैथोक अमेरिका नै होला तर जिन्दगी एकै हो अलिकति थप सुविधा होला त्यहाँ किनभने हामी सुविधाविहीन बाँचिरहेकाहरूलाई त्यस्तो विचार आउनु स्वाभाविक पनि त हो ।
गल्ती अमेरिकी राजदूतावासको होइन । उसको लागि दुई/चार सय डलर सामान्य हो तर त्यही दुई सय डलर एउटा नेपालीको लागि ठूलो भारी हो । महिनामा करिब पचास करोडभन्दा बढी डीभी, टुरिष्ट, सेटलमेन्ट र विद्यार्थी भिसाबाट गरेको आम्दानी उसले अमेरिका पठाउँछ । हामीले पैसा बुझायौं उसले लियो । हामी नेपालीमा कति राष्ट्रभक्ति छ भन्ने कुरो भिसाका लागि लामबद्ध भएर एम्बेस्सी अगाडि भिसाको भिख मागेर उभिएर बसेका नेपालीलाई सोधपुछ गर्दा थाहा हुन्छ । अमेरिकाले नेपालीलाई केहीगरी ‘अमेरिका जाने कोको छ हात उठाउनू’ भन्यो भने भीरदेखि तीरसम्म, महलदेखि झुपडीसम्मका नेपालीले हात उठाउँछन् उठाको उठाई गर्छन् हात गले नि गलोस् झरे नि झरोस् ।
मेरो देश नै सर्वोच्च हो भन्ने राष्ट्रवादी चिन्तनको बिरुवा हामीले हुर्काउन नसकेको नै हो । राजनीतिक दुर्गन्धका कारण निम्तिने रोगहरू अभाव, व्याप्त गरिबी, भ्रष्टाचार, बेरोजगारी र महँगी हुन् ।
ती कुराहरूसँग रातोदिन जनता जुधिरहेका हुन्छन् । श्रम गरेर खाने कृषक ऊ आफैं व्याप्त दुःखमा छ किनभने उसले कहिले आफ्नो उत्पादनको मूल्य पाएन । मूल्य नपाएर तराईका किसानहरूले आफूले उत्पादन गरेको उखु नै बाल्नुपरेको उदाहरणरु थुप्रै छन् । नेपालका कृषकले लगाएका उखुमा आगो लाउन पर्ने एउटा विवशता छ अर्कोतिर भारतबाट धमाधम महँगोमा चिनी आयत भइरहेको छ ।
भारतीय वस्तु आयातका कारण नेपालका उद्योगहरू नै धर्मसंकटमा परेका छन् । नेपालमै उत्पादन गर्न र नेपाली कृषकलाई त्यसको उचित मूल्य पाउने व्यवस्थापन गर्न सरकार चुकिरहेको छ । यही कारण हो एउटा कृषकको छोराछोरीमा पलायनको चिन्तन आउने यही कारण हो उसमा यहाँ बस्नुभन्दा त ऋण गरेरै भए पनि विदेश जाऊँ र दुःख गरुँ भन्ने मनोदशा उब्जने । यसैको प्रतिफल हो हरेक दिन एम्बेस्सीहरूमा नेपालीहरूको लाइन बढ्ने । यसको जिम्मा सरकारले लिनुपर्छ ।
बेरोजगार, बेथिति, भ्रष्टाचार, दुर्गन्धित राजनीति, अदूरदर्शी नेता, ११ वर्षको बच्चाले सुसाइड नोट लेखेर आत्महत्या गर्नु भनेको हामी नेपालीहरू कति संक्रमणकालीन अवस्थामा बाँचिरहेका रहेछौँ भन्ने कुरा सजिलोसँग बुझ्न सक्छौँ । जब एउटा युवा विद्यार्थीलाई यहाँ केही छैन, यहाँ केही हुँदैन, नेपाल खत्तम छ बेरोजगारी हुने हो भने मात्रै नेपाल बस्नु भन्दै आफ्नै शिक्षकले पढाउन थाल्छन् । अनि त्यही स्कुलिङका कारण कलिला विद्यार्थीका मनस्थितिमामा अमेरिका हाबी हुन थाल्छ । हाम्रो स्कुलिङ नै खराब छ । गोरो छालालाई सर्वोच्च सम्झिने र अमेरिका पुगेपछि मर्नै पर्दैन भन्ने आदिम चिन्तनबाट ग्रसित छौँ हामी । छोराछोरी अमेरिकामा हुनुलाई गर्वानुभूति गर्ने र आफूलाई इज्जतवाल, खान्दानी र घरानियाँ सम्झिने नेपाली अभिवावकले निम्त्याएका हुन् यो परिवेश । भलै आफूलाई अन्तिम अवस्थामा पशुपति आर्यघाट लैजाने मान्छे नै किन नहोस् अमेरिकामा बसेका छोराछोरीलाई फोनमा भन्छन् बाबुआमा, ‘भो बाबुहो नेपाल नआओ हामी ठीक छौँ ।’
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया