Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालको जाति, भाषा र संस्कृति बाहुन, क्षेत्री खस आर्य–११

नेपालको जाति, भाषा र संस्कृति बाहुन, क्षेत्री खस आर्य–११


राउत : भारत वर्षभरिमा रावत, रावल, राउत, राव आदि थरहरु पाइन्छन् । रावबाटै मिल्ने थरहरु बन्न गएका हुन् कि भन्ने कुरा अनुसन्धानकै विषय छ । नेपालका राउतलाई रावूत भन्ने गरिन्थ्यो । राउतहरुद्वारा राज्य गरिएको स्थान वा राज्य फर्पिङमा रहेको थियो भन्ने राउतराज भन्ने पद केन्द्रीय सैनिक पदाधिकारीलाई सम्बोधन गरिने पद रहेको हामी पाउँछौँ । अर्थात् राज्यमा अमनचैन कायम हुन नसकी राज्यबाट खटिएका आधिकारिक पदहरु जस्तै ः कार्की, अडै, माङलिक आदिलाई रेखदेख गर्न खटाइएका सर्वाधिकारसम्पन्न राज्यका प्रमुख सैनिक पदाधिकारीलाई राउतराज भन्ने गरिन्थ्यो । यस्तै पश्चिम नेपालमा फिरन्ते राउते भन्ने जंगली जाति पनि रहेको हामी पाउँछौँ ।

कुँवर : राजाका छोरा अर्थात् राजकुमारलाई कुँवर भनेर समेत सम्बोधन गर्ने गरिन्छ । विशेषतः ठकुरीहरुमा पाइने कुँवर थर अन्य तागाधारी खस–आर्य क्षेत्रीयहरुमा समेत पाइन्छ ।

नेपाली खस आर्य बाहुनका केही अनौठा थरहरु : सिमी, सिरफटा, सिरिषे, सिरकटा, सिलामे, बोके ढूंगा, भकुण्डे, अकौलिया, उठौला, उपरगोला रिषीवन्त, आगलदरो, अपागाईं, आफलटोपी, आडरखनी, कर्कने, कवारी, काभ्रे, कालागाई, कालखेती, कुकुरकाटे, कुकुरेल, कुटौला, कुथौला, देवीपंखी, दोहरिया, नहरको, नातालिया, निधुरेल, विचुवा, वौडाहा, भाजी, भेकुरेल, भुडीफुका, भकुण्डे, भुरुण्डे, भुसुण्डे, माँड, मिल्का धोती, मिल्का टोपी, मोरी, रजेल, रानीटंखी, रानीपंखी, लाजमार, रिक्तानुने, रसीटा, छालातानी, आगलदरो, चिलखाडा, चिल्लाखाडा, चिलुवा, चुवागाई, चुनी, छिमौला, तुनौला, तरतर, ढल्लाकोटी आदि ।

कँवर (कुँवर) : कँवर भनेर नाथ योगी सम्प्रदायलाई जनाउँछ । पहिलाका समयहरुमा नेपालमा नाथयोगी कँवरहरुको निकै बोलवाला र धेरै संख्या रहने गर्दथ्यो । यी नाथजोगीहरुलाई कनफट्टा जोगी भनेर समेत भन्ने गरिन्थ्यो । नाथयोगीहरु आफूहरुलाई गोरखनाथका चेला वा अनुयायी मान्ने गर्छन् ।

सिद्धबाबा गोरखनाथको गोरखा राज्य वा अहिलेको गोरखा रहेको थियो । द्रव्य शाहले तिनै गोरखा राज्य जितेपश्चात् गोरखाका बासिन्दाहरुलाई गोरखाली अर्थात् गोरख+काली रहन गएको हो ।

नाथ सम्प्रदायमा शैव र वज्रयानी प्रभाव पाइने गर्नाले यी पञ्च मकार अर्थात् पञ्चमकारमा मद्य (रक्सी), मांस (मासु), मत्स्य (माछा), मुद्रा (भोग) र मैथुन (सम्भोग) सबै अपनाएका हुन्छन् ।

योगहरुमध्ये पनि हठयोगमा विश्वास राख्ने कानकट्टा वा कनफट्टा जोगीहरु योगका नाममा आफूहरुसँग स्त्री वा केटी मान्छेहरु समेत राख्ने गर्थे ।

पहिलाका समयमा राणाहरुका पूर्वज यिनै नाथ सम्प्रदायका रहेका थिए । सोही हुनाले राजाबाट राणा उपाधि प्राप्त गर्नुअघि जंग बहादुर राणाले जंग बहादुर कँवर लेख्दै पछि जङ्ग बहादुर कुँवर समेत लेखेको ऐतिहासिक दस्तावेजहरुमा भेटिने गर्छन् ।

नेपालमा कुनै बखत नाथ सम्प्रदायका जोगीहरुले खडा गरेका राज्यहरु जुम्ला, दाङ, सल्यान आदि रहेका छन् ।

चौरासी सिद्धमा गणना गरिएका गुरु गोरखनाथ नाथ सम्प्रदायमा मात्र होइन अन्य सम्प्रदायहरुमा समेत सिद्ध रुपमा प्रसिद्ध रहेका थिए । यस सम्प्रदायको प्रतिपादन सामूहिक रुपमा नौ जना नाथहरुद्वारा गरिएकाले तिनलाई नवनाथ भनेर भन्ने गरिन्छ भने तीमध्येका गोरखनाथको प्रमुख रुपमा नाम लिइन्छ भने नवनाथहरुमा आदिनाथ, उदयनाथ, सत्नाथ, सन्तोषनाथ, अचम्बेनाथ, कंबडनाथ, चौरंगीनाथ गोरखनाथ र मच्छेन्द्रनाथ हुन् ।

नाथ सम्प्रदायमा ख्यातिप्राप्त ग्रन्थ ‘हठयोग प्रदीपिका’मा अनेकौं सिद्ध योगीहरुको नाम आउँछ । नाथ सम्प्रदायको विश्वासअनुसार ती सिद्धयोगीहरु अझै पनि यस लोकमा विचरण गर्छन् ।

नाथयोगीहरु पञ्च मकारलाई अपनाई हठयोगमा विश्वास राख्ने गरेकाले आफ्ना साथमा स्त्रीहरु पनि राख्ने गर्नाले ती स्त्री मुद्रा वा साध्यका नाममा सम्बोधित गर्ने गर्थे । कुनै समयमा कर्णाली प्रदेशमा खस मल्ल राजाहरुको प्रभाव समाप्त भइसकेपश्चात् यसै नाथ सम्प्रदायहरुका प्रभावले छिन्नभिन्न भइसकेको राज्य पुनर्स्थापित हुन गयो ।

वि.सं. १४६१ मा नाथ सम्प्रदायले बलिराज शाही भन्ने व्यक्तिलाई राजा बनाई राज्य सुम्पिए । राज्य स्थापित गराउने प्रमुख नाथ वा भनौं राज्य सुम्पिने सिद्धबाबा चन्दन रहेकाले यिनलाई राजा चन्दननाथ समेत भनिन्छ । कश्मिरका निवासी सिद्ध राजा चन्दननाथको स्मारकस्वरुप जुम्लामा चन्दननाथ नाम गरेको एक मन्दिर समेत रहेको छ । उनैका कारणले जुम्लालाई जालन्धरी राज्य भनेर समेत भनिएको हो । जालन्धर अर्थात् जुम्ला चौरासी सिद्धमध्ये एक पर्छ ।

अह्मदावाद रामदेवपरी काचकला मन्दिरका महन्त धनसुखनाथ बेचरनाथले केही वर्षअघि नवनाथहरुका सम्बन्धमा एउटा चित्र प्रकाशित गराएका थिए । त्यस प्रकाशित चित्रानुसार नवनाथको नामावली यस प्रकार गणना गरी चित्र प्रकाशित छ । (१) आदिनाथ (२) उदयनाथ (३) सत्नाथ (४) सन्तोषनाथ (५) अचम्बेनाथ (६) कंबडनाथ (७) चौरंगीनाथ (८) गोरखनाथ (९) मच्छेन्द्रनाथ यसै गरी नाथ सम्प्रदायको ‘महार्णवतन्त्र’ नामक ग्रन्थ पुस्तकमा नवनाथहरुलाई विभिन्न दिशामा ‘न्यास’ गर्ने विधि उल्लिखित छ । त्यस ग्रन्थमा दिइएको सूचीका आधारमा नव–नाथहरुका नामावली यस प्रकारले उल्लेख गरिएको छ । (१) गोरक्षनाथ (२) जालन्धरनाथ (३) नागार्जुन (४) सहस्रार्जुन (५) दत्तात्रेय (६) देवदत्त (७) जडभरत (८) आदिनाथ र (९) मत्स्येन्द्रनाथ । प्रारम्भ नाथ सम्प्रदायको नौ जना नाथहरुबाटै स्थापित सम्प्रदाय भएकाले नवनाथहरुको परम्परापछि बस्न पुगेको हो अर्थात् पछिका समयहरुमा पनि नौ जना नाथहरु रहन थालेकाले नौवटा नाथका नामहरु उल्लेख गरिएको हो ।

‘हठयोग प्रदिषिका’ नामका ग्रन्थ पुस्तकमा विभिन्न नाथयोगीहरुका नाम उल्लेख गरिएको छ । ती नामहरु हुन् : आदिनाथ, मत्स्येन्द्रनाथ, सारदानन्द, भैरव, चौरंगी, मिननाथ, गोरक्षनाथ, विरुपाक्ष, विलेशय, मैथान भैरव, सिद्धबोध, काकचण्डीश्वर, प्रभुदेव, घोडाचूलीनाथ, मल्लरीनाथ, नागबोद्य, नित्यनाथ, निरंजननाथ, कापालिनाथ, बिन्दुनाथ, काकचण्डीश्वर, मयनाथ, अक्षयनाथ, कह«णीनाथ, कोरंटंकनाथ, सुरानन्द, सिद्धपाद, चर्पटीनाथ, पूज्यपाद आदि । पहिलाका नाथ सम्प्रदायको समाजमा प्रतिष्ठा रहनाले नेपालमा दासप्रथा उन्मूलन भएपश्चात् धेरै दासदासीहरु यस सम्प्रदायमा दीक्षित भई नाथ सम्प्रदायका भएका थिए भने जोगीले स्त्री राखी जन्मिएका सन्तान पहिचानका खातिर र अन्य समाजमा नमिलून् र सामाजिक अवैध सन्तान चिनियून् भनी ती नाथ सम्प्रदायका सन्तानको कान चिरिने गरिन्थ्यो । जसका कारण तिनलाई कनफट्टा जोगी भनी भनिने गरिन थालियो ।

उप्रेती ब्राह्मण : उप्रेती कुमाई बाहुन हुन् । कुमाउ वा कुर्माञ्चल खण्ड कुनै बखत नेपाल नै थियो । सोही हुनाले कुर्माञ्चल खण्डमा समेत उप्रेती थर गरेका मानिसहरु धेरै पाइन्छन् । यिनीहरु धेरैजसोले उप्रेती र केहीले उप्रेती समेत लेख्ने गरेका पाइन्छन् ।

उप्रेतीका पूर्वजको सन्दर्भमा यिनका पूर्वज मूल पुरुष दक्षिण द्रविण देशको महाराष्ट्रबाट शिवप्रसाद भन्ने ब्राह्मण मणकोटी राजाका समयमा तिर्थाटन गर्दै गंगोलीमा देवीको दर्शन गर्न आएछन् । उनको धार्मिक अनुष्ठानमा निपुर्णता र उनको विद्वत्ता देखेर राजा अत्यन्त प्रभावित भई उनलाई मन्त्रीसरह बनाई दरबारमा राखेछन् र राजाले सदाका लागि ती ब्राह्मण त्यही रहून् भनी उप्रेडा भन्नेगाउँ दिएर राखेछन् । त्यसै गाउँका नामबाट उप्रेती थर रहन गएछ । पछिका समयहरुमा आएर चन्द राजाका पालामा कुमाउ तथा पश्चिम नेपालका पनि केही गाउँहरु शिव प्रसादका सन्ततिले बिर्ता पाई बसोबास गर्न थालेकाले उप्रेतीहरु त्यस भेगमा रहन गएका हुन् । नेपालका उप्रेतीहरुको मौद्गल्य गोत्र हुने गर्छ । (हेर्नुहोस् : ‘जाति भाष्कर’ लेखक प. ज्वाला प्रसादजी मिश्र, मुद्रक प्रकाशक – खेमराज कृष्णदास अध्यक्ष श्री वेंकटेश्वर प्रेस, बम्बई–४, ई. १९८६)

फुयल : फुयल थर हुनुअघि यिनीहरुको पूर्वज एक व्यक्ति रिजाल थरका हुने गर्थे । ती रिजाल थर गरेका व्यक्ति गलकोटमा आई बस्दाका समयमा त्यस ठाउँमा आफ्नै समाजमा केही व्यक्तिहरुले बैकलयकी छोरीलाई सन्तान भएको भनी आरोप तथा बात लागेकाले सो समाज परित्याग गरेर गोर्खाको मनकामना नजिकको फुया डाँडामा बसोबास गर्न थालेकाले फुयल वा फुँयाल थर रहन गएको हो । (हेर्नुहोस् : भाषा वंशावली भाग – २)

पन्त : पन्त कुमाई ब्राह्मण हुने गर्छन् । पन्तका पूर्वज महाराष्ट्रको जातिका प. जयदेव पन्त दक्षिण कोंकण (कोतवान) देशबाट दशौँ शताब्दीपश्चात्को कुनै समयमा कालीमाता भगवानको दर्शन गर्न गंगोलीमा आएछन् । मणकोटी राजाले तिनलाई पनि त्यहीँ बसाएर रिवाडी गाउँ दिएछन् र पछि उप्रेडा गाउँ समेत दिएछन् । कुमाउँ खण्डमा तिनका सन्तान पन्थ कहलाउँदै पन्त भनिन थालेछन् । नेपालका पन्तहरु पनि समय क्रममा पूर्व सर्दै सदियौँ अघिदेखिका समयमा फैलिनपुगेका हुन् । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x