वैचारिक द्वन्द्वमा लोकतान्त्रिक उपलब्धिको रक्षा
काठमाडौं । लोकतन्त्रको महता भन्नु नै विचारको विविधता हो । वैचारिक विविधताले द्वन्द्व उत्पन्न गराउने सम्भावना पनि प्रखर रूपमा रहेकै हुन्छ । तसर्थ सामाजिक द्वन्द्व न्यूनीकरण गर्दै नागरिक समाजमा व्याप्त रहेको शक्ति सञ्चयका लागि जुन राजनीतिक समूह सामथ्र्यवान् रहन्छ, सही अर्थमा उक्त शक्ति नै सम्बद्ध मुलुकको शासकीय स्वरूपमा प्रतिस्थापित हुने विश्वव्यापी राजनीतिक सिद्धान्तबाट नेपाल पनि अछुतो रहन सक्दैन ।
राजनीतिक ध्रुबीकरणको उपरोक्त अवस्थालाई समयकाल परिस्थितिअनुसार रणनीतिक चातुर्यताको उच्च दखल प्रदर्शन गर्दै शासकीय स्वरूपमा आसिन रहनको लागि शक्ति सञ्चय गर्ने अनेकन विधिलाई उपयोग गर्ने प्रचलन रही आएको छ ।
तत्पश्चात सम्बद्ध समूहले राजनीतिको क्षेत्रलगायत सामाजिक परिवेशमा आफ्नो भूमिका सबल रूपमा स्थापित गर्दै अग्रगामी परिवर्तनका पथ–प्रदर्शकको रूपमा आफू र आफ्नो समूहलाई चिनाउने अवसर प्राप्त गर्नेछन् । प्रस्तुत कार्यको पूर्ण सफलताको लागि समाजमा व्याप्त रहेको द्वन्द्वको मूल चुरो भने पहिल्याउनु अति नै जरुरी हुन्छ । घरेलु द्वन्द्वको प्रमुख कारक तत्वको रूपमा रहेको सम्बद्ध मुलुकको गरिबी, अज्ञानता, शैक्षिक जनचेतनाको अभावका साथै चरम अन्धविश्वासका कारण सामान्यतया द्वन्द्वले प्रोत्साहन पाउने आधारभूत पृष्ठभूमिहरू हुन् । प्रस्तुत पृष्ठभूमिको जगमा उभिए समाजमा विद्यमान रहेको थिचोमिचो, अन्याय अत्याचारलाई न्यून गर्न जुन समूहले अग्रणी रूपमा पहलकदमी गर्दै त्यसको सकारात्मक समाधानको उपयुक्त निकास निकाल्न सक्षम रहन्छ, यथार्थमा उक्तशक्ति नै परिवर्तनकारी राजनीतिक शक्तिको रूपमा स्थापित हुने सम्भावनालाई अन्यथा लिन मिल्दैन ।
वस्तुतः यिनै तथ्यलाई आधार बिन्दु मानेकै कारण मुलुक द्वन्द्वको जर्जरतामा फस्न गएको देखिन्छ । जसका कारण हजाराँै नेपाली जनताले सहादत प्राप्त गरे भने कैयौँको अंगभंग समेत भएको तथ्य जगजाहेर रहेको छ । माओवादीको १० वर्षे जनयुद्ध एवं २०६२÷६३ को संयुक्त जनआन्दोलन तथा मित्रराष्ट्र भारत सरकारको मध्यस्ततामा भएको १२ बुँदे सम्झौता, पहिलो तथा दोस्रो संविधानसभाको निर्वाचनजस्ता लोकतान्त्रिक विधिलाई अवलम्बन गर्दै सात प्रदेशको संघीयतासहितको संघीय गणराज्य नेपाल तथा त्यसमा रहेका करिब तीन करोड नेपाली जनताले सार्वभौमसत्ता सम्पन्न गणराज्य नेपालको सम्प्रभू नागरिक भएको सगौरव महसुस गर्दै आएका छन् । एकात्मक अवस्थाको हुकुमी राजतन्त्रात्मक शासकीय स्वरूपलाई विस्थापित एवं गणतान्त्रिक राज्यव्यवस्थाको स्थापनाको प्रमुख आधारस्तम्भ के हो भन्ने तथ्यलाई अध्ययन नगरी नेकपा माओवादीको समूहले किमार्थ सशस्त्र द्वन्द्व आरम्भ गरेको थिएन भन्दा फरक नपर्ला । जुन निश्चित रूपमा मुलुकमा व्याप्त रहेको अभाव, गरिबी, न्यायहीनता, एवं वर्गीय विसंगतिलगायतका आर्थिक विकास–समृद्धिको प्रतिफल समान एवं न्यायोचित ढंगले वितरण हुन नसकेकै कारण उब्जिएको राजनीतिक समस्याको भयाभय रूपको रूपमा प्रस्तुत राजनीतिक उतारचढावलाई चित्रण गर्दा त्यति फरक नपर्ला ।
यद्यपि शान्तिप्रिय नेपाली जनताको घरेलु राजनीतिक द्वन्द्वात्मक परिवेशबाट पृथक रहने चाहनालाई केही हदसम्म विश्व इतिहासका तथ्यसँग साक्षत्कार रहने समूहले तत्कालीन शाहवंशीय परम्पराको रक्तहीन अवस्थामा सहजै बहिर्गमन हुने तथ्यलाई बेलायती रक्तहीन क्रान्तिको ऐतिहासिक मर्मसँग तुलना गरेको देखिन्छ ।
नेपाली जनताको लोकतन्त्रप्रतिको चाहनालाई आज आएर कुनै समूहले आपसी द्वन्द्वगत मनोदशाका कारण राजनीतिको क्षेत्रमा विचलनमा ल्याउने प्रयास गर्छ भने न्यायप्रेमी नेपाली जनमतलाई सुपाच्य हुन सक्दैन । प्रस्तुत व्यवहार गणतान्त्रिक लोकतन्त्रको भविष्य एवं स्वयम राजनीतिक समूहको लागि समेत प्रत्युत्पादक साबित हुनसक्ने देखिन्छ । किनकि सम्प्रभू नेपाली जनमतले उत्साहपूर्वक संविधानसभाको निर्वाचनमा दिएको जनअभिमतबाट स्थापित रहन आएको गणतान्त्रिक राज्य व्यवस्थाप्रति कुनै पनि पक्षबाट प्रश्न उठाउँदै अवहेलना गर्नु लोकतान्त्रिक गणतन्त्रको मूल्य–मान्यतालाई खिल्ली उडाउनुबाहेक अन्यथा केही पनि हुन सक्दैन ।
जनआकांक्षाअनुरूपको कार्य हुन नसक्ने अवस्था पैदा भए संविधानसभाको निर्वाचनको समयमा व्यक्त भएका जनअवधारणामा परिवर्तन आई वैकल्पिक राज्य व्यवस्थाको चाहना अभिव्यक्त हुन सक्ने तथ्यलाई वर्तमान परिप्रेक्षमा कुनै पनि हालतमा नजरअन्दाज गर्न मिल्दैन ।
अतः मुलुकमा व्याप्त रहेको गरिबी, अशिक्षा, बेरोजगारीजस्ता आम जनसरोकारका विषयलाई समयमै सम्बोधन गर्न नसक्ने अवस्था पैदा भए नेपाली जनमतले विकल्प स्वरूप अन्य कुनै तेस्रो पक्षलाई रोज्नु अस्वाभाविक कदम पक्कै पनि होइन । लोकतन्त्र भनेको जनमतको सागर हो, जनमतले आफ्नो अभिमत जसलाई प्रदान गर्छ यथार्थमा उक्त शक्ति नै शासकीय स्वरूपको अधिपति बन्न योग्य रहन्छ भन्ने तथ्यलाई राजनीतिमा रमाउन चाहने जो–कोहीले पनि बुझ्नुपर्ने हुन्छ । राजनीतिशास्त्रको सामान्य सिद्धान्तअनुसार राजनीतिमा दीर्घकालीन मित्र वा वर्गशत्रु रहने छैन भन्ने तथ्यलाई मनन गरी जनहितकारी कार्य गर्न नसक्ने समूह इतिहासका पानामा निश्चित रूपमा विलीन भएका विश्व इतिहासका ऐतिहासिक तथ्यलाई भुल्ने हो भने तत्पश्चात् कस्तो परिणाम निस्कन्छ भन्ने सहजै अन्दाज गर्न कठिन हुनेछ । कैयौँ तानाशाहहरू माटोमा मिल्न गएको तथ्यलाई संमरण गर्दै राजनीति गर्दा नतिजा सकारात्मक निस्कनेछ भन्ने जनविश्वास रहँदै आएको छ ।
तसर्थ ः नेपाली राजनीतिका परिवर्तनकारी संवाहक शक्तिहरूले आपसी बैमनस्यता कायम राख्ने हो भने कुनै पनि समय १२ बुँदे सहमतिअनुसार प्राप्त हुन आएको शान्ति–प्रक्रियाको बुँदागत विषयहरू राजनीतिक मृत्युपत्रको रूपमा रूपान्तरित हुनसक्ने खतरा पनि त्यती रहेको पाइन्छ । तसर्थ ः सबै पक्षले होसियारीपूर्वक राजनीतिक भूमिका निभाउनु यथार्थमा लोकतन्त्र र जनताप्रति सही रूपमा जिम्मेवारी बहन गरेको मान्न सकिनेछ । विपरीत अवस्था तयार भए संवैधानिक हक–अधिकारको प्रयोगमा अवरोध उत्पन्न हुन गई अराजक परिस्थितिको निर्माण हुने तथ्यलाई अन्यथा लिन मिल्दैन । जसको प्रत्यक्ष लाभ धुमित राजनीतिमा रमाउने समूहले ग्रहण गर्न सक्ने देखिन्छ ।
तत्पश्चात् प्राप्त लोकतान्त्रिक उपलब्धिमा ह्रास गराउने जस–अपजसको मुख्य भागिदार सम्प्रभू नेपाली नागरिक समाज नभई केवल राजनीतिक समूह नै हुन् भन्ने प्रश्न उठ्नेछ । जसलाई दलीय भागबण्डामा आएको लुछाचुँडीले निम्ताएको सबैभन्दा खराब परिसूचकको नमूनाको रूपमा लिन सकिन्छ । यसप्रकारका व्यवहारको तीव्रताको कारण मुलुकमा पुनः राजनीतिक दुर्घटनाको गहन सम्भावना जीवन्त रहन्छ । किनभने शान्तिप्रक्रियाको भावना र मर्मअनुसार सशस्त्र द्वन्द्वलाई सदाको लागि अन्त्य गर्दै राजनीतिक मूलधारमा अवतरण गराउन सफल रहेको तथ्यलाई कुनै पनि हालतमा इन्कार गर्न मिल्दैन ।
विपरीत अवस्था तयार पार्नु भनेको प्राप्त लोकतान्त्रिक उपलब्धिलाई अवसान उन्मुख मार्गमा अग्रसर गराउनु हो । अवसान मुक्ति लागि सम्पूर्ण लोकतन्त्रप्रेमी जनसमुदायलगायत प्रजातन्त्रका हिमायती शक्तिहरूले बुद्धिमत्तापूर्ण ढंगबाट प्राप्त राजनीतिक उपलब्धि, गणतान्त्रिक संविधानको मूल्य एवं मान्यताका अतिरिक्त नागरिक सर्वोच्चताको रक्षाको खातिर आपसी कटुताको विविधतालाई मुलुक र जनहितको लागि थाती राख्दै लोकसम्मतिअनुरूपको व्यवहारलाई आत्मसात् गर्दै वार्ताको माध्यमबाट विचारको विविधतालाई छिनोफानो गर्ने रणनीतिलाई अख्तियार गर्नुपर्ने हुन्छ । जसलाई लोकतन्त्रको सुन्दर गहनाको रूपमा लिन सकिन्छ ।
जसको सकारात्मक प्रभाव भन्नु नै मुलुक, नागरिक समाज र दलीय राजनीतिको साख उँचो रहन गई विकास एवं न्याय प्रेमी नेपाली जनमतको शान्तिप्रतिको चाहना तथा समृद्धिको लक्ष्यलाई नागरिक समाजसमक्ष पस्कन नेपालका लोकतान्धिक समूह पूर्ण रूपले सबल एंव सक्षम रहने छन् भन्ने विश्वास लिन सकिन्छ ।
प्रस्तुत अवस्थापश्चात् पश्चगामी शक्तिहरूमा हाल देखिएको शक्ति प्रदर्शनको क्षेत्रमा समेत न्यूनता छाउनेछ । प्रस्तुत व्यवहारलाई समयमै रोक्न सकेनाँै वा रोक्ने चेष्टा गरेनौँ भने आन्तरिक एवं बाह्य शक्ति केन्द्रहरूको आपसी चलखेल बढ्न गई अवस्था भयाभह हुन सक्ने सम्भावना पनि टड्कारो रूपमा रहेको देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया