आर्थिक समृद्धिका लागि जडीबुटी खेती प्रवर्द्धन
काठमाडौं । नेपालको आर्थिक विकासका लागि जडीबुटीलाई सदैव पाँचौँ स्थानमा राखिन्छ । तर यसको विकासका लागि आजसम्म पनि उपयुक्त योजना तथा कार्यक्रमहरु बनाइएका छैनन् ।
हालसम्म पनि नेपालमा विद्यमान औषधिजन्य जडीबुटीको संख्या विवादास्पद नै छ । वनस्पति विभागका अनुसार यहाँ करिब दुई सय प्रजातिका जडीबुटीहरु व्यावसायिक रुपमा औषधिका लागि प्रयोग गर्न सकिने कुरा अवगत भए पनि उक्त संख्याभन्दा धेरै गुणा बढी जडीबुटी यहाँ पाइने कुरामा आयुर्वेदिकका ज्ञाताहरु विश्वस्त छन् । उनीहरुका अनुसार विभिन्न पारिस्थितिक प्रणालीबाट जैविक विविधताको कारण विश्वमै नपाइने जडीबुटीहरु यहाँ प्रचुर मात्रामा पाइन्छन् ।
हालसालै भारतको पतञ्जली योगपीठ देहरादुनमा विश्वकै विशाल जडीबुटी नर्सरी बनाइएको छ जसमा रोपिएका जडीबुटीहरुमध्ये धेरैजसो नेपालबाट लगिएका छन् । परन्तु यहाँ रहेका जडीबुटीहरुको सदुपयोग गर्न सकिएको छैन । वस्तुतः जडीबुटीको उत्पादन, उपभोग, प्रशोधन र निर्यातसम्बन्धी प्रस्ट नीति नभएका कारण हालसम्म पनि यहाँका जडीबुटी थरै मूल्यमा निर्यात गरिन्छ । वर्तमान समयमा पनि यहाँको जडीबुटीको मुख्य बजार भारत हो जसले बारम्बार लगाउने गैरभन्सारजन्य अवरोधको कारण समस्या झेल्नुपरेको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार गत आर्थिक वर्षमा मात्र यहाँबाट अन्य देशमा एक अर्ब ४३ करोड ४८ लाख रुपैयाँको जडीबुटी ४० करोड ८० लाख रुपैयाँको सुगन्धित तेलको निर्यात गरिएको थियो । उक्त केन्द्रले यहाँको जडीबुटी निर्यात २७ प्रतिशतले बढाएको देखाए पनि यो सम्भाव्यता निर्यातको ५० प्रतिशत पनि छैन । गत वर्ष भारतले लगाएको एकीकृत कर प्रणालीको कारण नेपालबाट जडीबुटीको निर्यात गरिएको थियो ।
दुःखको कुरा त के छ भने हालसम्म पनि यहाँको जडीबुटीहरु कौडीको मूल्यमा भारतलगायत अन्य देशहरुमा निर्यात गरिन्छ भने उक्त जडीबुटीहरुबाट बनेका औषधि बढी मूल्यमा खरिद गर्नुपरेको छ ।
यथार्थतः यहाँ आयुर्वेदिक औषधिको ठूलो बजार छ । परन्तु विडम्बना त के छ भने यहाँ स्थापित आयुर्वेदिक औषधि उत्पादन गर्ने र प्रशोधन गर्ने स्वदेशी उद्योगहरु धमाधम बन्द भइरहेका छन् ।
सिंहदरबार वैद्यखाना र जडीबुटी उत्पादन तथा प्रशोधन लिमिटेडजस्ता सरकारी संस्थाहरु मात्र होइन निजी क्षेत्रका जडीबुटीजन्य उद्योगहरु पनि सफ्टमा छन् । यस्ता स्वदेशी कच्चा पदार्थमा आधारित र मुलुकका हितमा उपयोग गर्न सकिने उद्योगहरु सञ्चालनका लागि स्वस्थ वातावरण बनाउन वर्तमान सरकारले यथाशीघ्र उपयुक्त नीतिगत, कानुनी र वित्तीय व्यवस्था बनाउन जरुरी छ ।
जडीबुटी उत्पादक तथा व्यवसायी संघका अनुसार सात वर्षअघि जडीबुटीजन्य उद्योगहरुमा निजी क्षेत्रको सात अर्ब लगानी थियो । हाल सोही क्षेत्रको लगानी पाँच अर्बमा सीमित छ । लगानीमैत्री वातावरण नहुनु तथा प्रतिफलको सुनिश्चितता नहुनु नै यसको मुख्य कारण हो । योबाहेक स्वदेशी उत्पादन घट्ने, श्रमिकहरुको अभाव हुनु, बीमा सुविधा नहुनु, अनुदानको व्यवस्था नहुनु आदि समस्याहरुले पनि जडीबुटी उद्योगहरुमा निजी क्षेत्रको आकर्षण घटेको छ ।
वास्तवमा जडीबुटीजन्य उद्योगहरुको संरक्षण तथा प्रवर्द्धनबाट यहाँको आर्थिक विकास मात्र नभई सर्वसाधारणलाई रोजगारीका अवसर पनि प्राप्त हुनेछ । यसैले हालसाल वन तथा वातावरण मन्त्रालयले जडीबुटी खेती तथा उद्योगमा निजी क्षेत्रको लगानीलाई विशेष जोड दिने भएको छ ।
नेपाल हब्र्स एण्ड हर्बल उद्योग संघका अनुसार वर्तमान समयमा सरकारका नीति तथा कार्यक्रमहरु उपयुक्त नभएकाले जडीबुटीजन्य उद्योगहरुको लगानी विस्तारमा निजी क्षेत्रको आकर्षण घटेको छ । यसैगरी निर्यातसम्बन्धी उपयुक्त नीति तथा कार्यक्रमहरु नहुँदा जडीबुटीजन्य वस्तुहरुको निर्यात घटेको छ ।
वनस्पति विभागका अनुसार जडीबुटी विस्तारको सम्भावना ७७ वटा जिल्लामा भएकाले आगामी दिनहरुमा उपयुक्त कार्यक्रम तथा कार्ययोजना बनाएर काम सुरु गरिनेछ । उक्त विभागका अनुसार जडीबुटी उत्पादन बढाउन अघिल्लो वर्ष कर्णाली प्रदेशका १० जिल्लाहरुलाई जडीबुटी क्षेत्र घोषण गरेर बजेट छुट्याएको थियो भने बिरुवा उत्पादन गर्न र कृषक समूह तथा सहकारीहरुलाई अनुदान दिने काम पनि भएको थियो । सोही विभागका अनुसार भविष्यमा जडीबुटी खेतीको लागि व्यवसायीकरणका कार्यक्रम पनि लागू गरिनेछ । यसबाट जडीबुटीजन्य उद्योगहरुको प्रवर्द्धनमा टेवा पुगी यहाँको आर्थिक विकासमा समेत सकारात्मक प्रभाव पर्नेछ ।
प्रत्येक नागरिकलाई सकारको तर्फबाट आधारभूत सेवा निःशुल्क प्राप्त गर्ने हक वर्तमान संविधानले सुनिश्चित गरेको छ । यहाँ प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक भएकाले जडीबुटीजन्य औषधिहरुको धेरै महत्व छ । तर खेदको कुरा त के छ भने जडीबुटी प्रशोधन केन्द्रहरुको अभावमा यहाँ उत्पादित जडीबुटीहरु थोरै मूल्यमा निर्यात गर्नुपरेको छ । यति मात्र होइन, नेपाली व्यापारीहरुले क्वारेन्टाइन जाँचका लागि पनि समस्या झेल्दै गोदाममा थन्क्याउनुपरेको छ । देशको मौलिक चिकित्सा पद्धतिको रुपमा आयुर्वेदको विकासमा जोड दिने सरकारको नीति छ । योबाहेक एकतर्फ जडीबुटीको समुचित प्रयोग गर्ने भनिएको छ भने अर्कोतर्फ आन्तरिक उत्पादनलाई आत्मनिर्भरतातर्फ उन्मुख गर्दै गुणस्तरीय औषधिको सहज तथा प्रभावकारी आपूर्ति गर्ने नीति छ । तर यी कुराहरु हालसम्म पनि व्यवहारमा परिणत गर्न सकिएको छैन ।
धेरैजसो ग्रामवासीहरु परम्परागत घरेलु उपचारमा विश्वास गर्दछन् । यस्तो औषधि सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दैन भन्ने उनीहरुको विश्वास छ । यस्तो औषधि कम खर्चिलो र प्रभावशाली हुन्छ भन्ने कुरामा पनि उनीहरु विश्वस्त छन् । ग्रामीण क्षेत्रका वनजङ्गलमा जडीबुटीहरुको प्रचुर उपलब्धता तथा तिनको औषधिजन्य उपयोगसम्बन्धी ज्ञान भएको कारण ग्रामवासीहरु विभिन्न जडीबुटीहरुलाई विभिन्न रोगहरुको उपचारका लागि प्रयोग गर्दछन् । त्यसैले उनीहरुका लागि स्थानीय जडीबुटीहरुको धेरै महल छ ।
धेरैजसो ग्रामीण क्षेत्रहरुमा पशु चिकित्सालय एवं औषधि पसलहरुको सुलभ उपलब्धता नहुनाको पशुपक्षीहरुको उपचार सुलभ रुपमा गर्न सकिँदैन । ग्रामीण कृषकहरुलाई स्थानीय जडीबुटीहरुको प्रयोगसम्बन्धी केही ज्ञान भए पनि उनीहरुले आफ्ना पशुपक्षीहरुको उपचारका लागि यथोचित किसिमबाट प्रयोग गर्न सकेका छैनन् । यदि उनीहरुलाई जडीबुटीहरुको प्रयोगसम्बन्धी तालिम दिनसकेमा भविष्यमा उनीहरु आफ्ना पशुपक्षीहरुको आफैँ उपचार गर्न सक्षम हुनेछन् र पशुपक्षीपालनबाट बढी लाभान्वित हुनेछन् ।
केही वर्षयता जडीबुटीहरुको परम्परागत ज्ञान लोप हुने अवस्थामा छ । यस्तो ज्ञानलाई बचाइराख्न यस सम्बन्धमा नयाँ पुस्तालाई तालिम दिन आवश्यक छ । योबाहेक परम्परागत तथा आधुनिक पशु चिकित्सा पद्धतिलाई व्यवहारमा उतार्न पनि आवश्यक छ ।
पछिल्लो एक दशकको अवधिमा यहाँको आर्थिक वृद्धिदर ४.६ प्रतिशतमा सीमित भए पनि वर्तमान सरकार भने दोहोरो अंकको आर्थिक वृद्धि गर्ने अभियानमा जुटेको छ जसका लागि जडीबुटी उद्योगले महत्वपूर्ण भूमिका खेल्न सक्छ ।
हालसालै व्यापारघाटा केही कम भए पनि विगत एक दशकको अवधिमा यहाँको व्यापारघाटा तीन सय प्रतिशतले बढेको कुरा सर्वविदित छ । वास्तवमा निर्यातजन्य उद्योगहरु बन्द हुँदै जानु र स्वदेशी उत्पादन बढाउन नसक्दा यहाँको व्यापारघाटा बढेको छ । व्यापारघाटा कम गर्न जडीबुटीजन्य औषधिहरुको उत्पादनले ठूलो योगदान पु-याउनसक्छ ।
वास्तवमा यहाँ जडीबुटीजन्य औषधिहरुको उत्पादनका लागि निजी कम्पनीहरुले निकै चासो देखाएका छन् । त्यसैले यिनीहरुलाई सरकारले सहुलियत, संरक्षण र जनस्वास्थ्यको क्षेत्रमा आवश्यक लगानी अभिवृद्धि गर्न सहज वातावरण सिर्जना गर्न जरुरी छ । योबाहेक उक्त कम्पनीहरुले गरेको लगानीलाई नियमन एवं व्यवस्थापन गरी सेवामूलक बनाउन पनि आवश्यक छ ।
आज खोप र औषधि नभएको कारण विश्वभर कोरोना भाइरसबाट कसरी बच्ने भन्ने चिन्ताको विषय भएको छ । विश्वका चिकित्सकहरुले मानव शरीरका रोग प्रतिरोधात्मक शक्ति बढाउनु नै अहिलेको सावधानी बताएका छन् । तर आयुर्वेद चिकित्सकहरु भने स्थानीय जडीबुटीको प्रयोगले कोरोनाको साथै अन्य भाइरससँग लड्न सक्ने शक्ति बढाउने दाबी गर्दछन् । वस्तुतः पूर्वीय सभ्यताबाट निर्देशित आम नेपालीको घरमा विभिन्न किसिमका जडीबुटी पाइने भए पनि त्यसको सही उपयोग गर्ने बानी छैन । त्यसैले यहाँको गाउँघरमा पाइने जडीबुटीको प्रयोगमा चेतना जगाउन आवश्यक छ ।
यहाँ सहजै पाइने तुलसी, लसुन, अदुवा, असुरोको पात, चमेली फूलको पात, पारिजातको पात, जाइको पात, कालो जिरा, बेसारलगायत स्थानीय रुपमा पाइने विभिन्न जडीबुटी रोग प्रतिरोधात्मक शक्ति बढाउन प्रयोग गर्न सकिन्छ । यदि यी कच्चापदार्थ सहजै उपलब्ध नभएमा यिनै जडीबुटी प्रयोग गरिएको आयुर्वेदिक औषधि चिकित्सकहरुको सल्लाहअनुसार सेवन गर्न सकिन्छ ।
आयुर्वेद चिकित्सकहरुको सल्लाहअनुसार घर–आँगनमा उपलब्ध तुलसीको पातसँगै असुरोको पात र थोरै बेसारको साथमा सानो एक टुक्रा चन्दन मिसाई उमालेर बिहान–बेलुका एक–एक कचौरा पिउने गरेमा त्यसले रोग प्रतिरोधात्मक शक्ति बढाउनेछ । उनीहरुका अनुसार यदि कसैको शरीरमा कुनै किसिमको भाइरस लागिसकेको छ भने पनि त्यसले भाइरसको मात्रा घटाउन मद्दत गर्छ । नेपालमा वि.सं. २०८५ सालसम्म गरिबीको रेखामुनिको जनसंख्या पाँच प्रतिशत र वि.सं. २१०० मा शून्यमा झार्ने लक्ष्य छ । जसको परिपूर्तिका लागि जडीबुटी खेती तथा जडीबुटीजन्य औषधि उत्पादनले ठूलो सघाउ पुग्नसक्छ ।
अर्थतन्त्रको महत्वपूर्ण परिसूचक विवरण र तथ्याड्ढहरु समावेश गरिएको आर्थिक सर्वेक्षण २०७५/०७६ अनुसार आर्थिक, भौतिक तथा सामाजिक पूर्वाधार विकास गरी सन् २०३० सम्ममा मध्यम आय भएका देशमा रुपान्तर हुँदै समुन्नत तथा समृद्ध समाजवाद उन्मुख अर्थतन्त्रको आधारशिला निर्माण गर्ने लक्ष्य छ । यसका लागि जडीबुटी खेती तथा जडीबुटीजन्य औषधि उत्पादनले धेरै मद्दत हुनेछ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया