Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबेमौसमी वर्षाले धानबालीमा क्षति

बेमौसमी वर्षाले धानबालीमा क्षति


काठमाडौं । देशमा गत असोज ३१ गतेदेखि लगातार चार दिनसम्म परेको अविरल पानीले गर्दा विभिन्न बालीहरूमा ठूलो क्षति पु-याएको छ । त्यसमा पनि सबैभन्दा बढी क्षति कृषिलगायत धानबालीमा परेको छ । मूलतः नेपाल सरकारको प्रारम्भिक क्षति विवरणअनुसार धानमा मात्र ११ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यसमा सरकारले साढे पाँच अर्ब रुपैयाँ पीडित किसानलाई राहतस्वरूप दिने निर्णय गरेको छ । त्यसका लागि किसानको बैंकमा सिधै रकम पठाइनेछ । यसरी सरकारको निर्णयअनुसार १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् ।

त्यस्तै, ४० कट्ठासम्म (दुई बिघा) जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय ८७ रुपैयाँका दरले राहत दिइने छ भन्ने सम्बन्धित निकायले उल्लेख गरेको छ । त्यसरी नै पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउनेछ । यस्ता किसानले प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत पाउनेछन् । आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइनेछ । यस्ता किसानलाई पनि प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत दिने घोषणा भएको छ । यसको साथसाथै अविरल वर्षाले गरेको क्षतिका कारण किसानहरू अत्तालिएपछि सरकारले छिटोभन्दा छिटो तथ्यांक संकलन गरी राहत घोषणा गरेको हो ।

कृषि मन्त्रालयका अनुसार देशभर एक लाख ११ हजार ६ सय नौ हेक्टरमा लगाइएको धानबालीमा वर्षाले क्षति पु-याएको छ । यसरी समष्टिरूपमा अवलोकन गर्ने हो भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति भएको छ । यहाँ ४२ हजार चार सय २७ हेक्टरमा लगाइएको धानबाली अर्थात् कुल देशको क्षतिमध्ये ३८ दशमलव शून्य १ प्रतिशत पूर्णरूपमा क्षति भएको छ । जसबाट किसानको चार अर्ब ५१ करोड ४२ लाख ३३ हजार रुपैयाँ नोक्सान भएको तथ्यांकमा उल्लेख गरिएको छ । यसमा पनि खासगरीकन लुम्बिनीको बर्दिया, कपिलवस्तु, बाँके र रूपन्देहीका किसानको बढी क्षति भएको मन्त्रालयले जनाएको छ । त्यसपछि सुदूरपश्चिममा ३६ हजार चार सय ५५ हेक्टरमा लगाइएको धानबालीमा अर्थात् ३२ दशमलव ६६ प्रतिशत क्षति हुँदा किसानको तीन अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँको नोक्सान भएको छ । यसर्थ मुख्यगरी धेरै धान उत्पादन हुने कैलाली र कञ्चनपुरमा ठूलो क्षति भएको छ ।

त्यस्तै, अन्नको भण्डार मानिने प्रदेश नम्बर २ मा भने बढी क्षति पुगेको छैन । यो प्रदेशमा १५ हजार एक सय ४६ हेक्टरमा लगाइएको धानबालीमा अर्थात् १३ दशमलव ५७ प्रतिशत क्षति हुँदा एक अर्ब ६१ करोड १५ लाख ८२ हजारबराबरको क्षति भएको छ । त्यसरी नै प्रदेश १ मा भने १३ हजार ९२ हेक्टरमा लगाइएको धानबालीमा अर्थात् ११ दशमलव ७३ प्रतिशत क्षति हुँदा एक अर्ब ३९ करोड २९ लाख ३६ हजारबराबरको क्षति भएको छ । त्यसरी नै कर्णाली प्रदेशमा भने दुई हजार सात सय ६७ हेक्टरमा लगाइएको धानबालीमा अर्थात् २ दशमलव ४८ प्रतिशत क्षति हुँदा २९ करोड ४४ लाख नौ हजारबराबरको क्षति भएको छ । त्यसरी नै गण्डकी प्रदेश मा भने एक हजार एक सय ९२ हेक्टरमा लगाइएको धानबालीमा अर्थात् १ दशमलव शून्य ७ प्रतिशत क्षति हुँदा १२ करोड ६८ लाख २९ हजारबराबरको क्षति भएको र बागमती प्रदेशमा भने पाँच सय ३० हेक्टरमा लगाइएको धानबालीमा अर्थात् ११ दशमलव ७३ प्रतिशत क्षति हुँदा पाँच करोड ६३ लाख ९२ हजारबराबरको क्षति भएको सम्बन्धित क्षेत्रले जनाएको छ ।

नेपालमा धानलाई प्रमुख खाद्यान्नका रूपमा लिइन्छ । यो खाद्यान्न बाली धानको सबैभन्दा बढी आयात हुने रूप चामल पनि हो । देशको ४७ लाख हेक्टर खेतीयोग्य जमीनमध्ये ३० लाख ९१ हेक्टरमा मात्र खेती गरिएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । यसरी कृषिको क्षेत्रफललाई हेर्ने हो भने हिमाली क्षेत्रमा ३५ प्रतिशत, पहाडी क्षेत्रमा ४२ प्रतिशत र तराई क्षेत्रमा २३ प्रतिशत मात्र जमिन छ । यसको साथसाथै अर्कोतिर हेर्ने हो भने मुलुकको कुल खेतीयोग्य जमिनको लगभग २० देखि २५ प्रतिशत जमिन बाँझो छ । यसरी बाँझो हुनुमा खासगरी वैदेशिक रोजगारीका लागि युवाशक्ति पलायन हुनाले हो । यसबाट राष्ट्रको धान उत्पादनमा प्रत्येक वर्ष नकारात्मक प्रभाव परेको छ ।

यो वर्ष नेपालमा झण्डै ५५ लाख ५१ हजार मेट्रिक टन धान उत्पादन भएको तथ्यांक कृषि मन्त्रालयले सर्वजनिक गरेको छ । यो परिमाण गत वर्षको तुलनामा करिब ५९ हजार मेट्रिक टन अर्थात् एक दशमलव शून्य पाँच प्रतिशतले कम हो । यसरी गत वर्ष ५६ लाख १० हजार मेट्रिक टनभन्दा बढी धान उत्पादन भएको थियो । फलतः समयमा मल आपूर्ति पर्याप्त मात्रमा हुन नसकेको र रोगको कारणले यो वर्ष धान उत्पादनको कम भएको सम्बन्धित पक्षको भनाइ छ । गत वर्षको पाँच महिनामा १७ अर्ब १८ करोड ८६ लाख नौ हजार मासिक अर्थात् औसत तीन अर्ब ६३ करोड ५७ लाखको चामल आयात गरिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ६५ दशमलव ३ प्रतिशतले बढी हो । परन्तु धान खेतीमा सुधार नगरीकन, यहाँ चामल आयात घटाउन गाह्रो छ ।

समष्टिरूपामा अध्ययन गर्ने हो भने गत कार्तिक पहिलो सातामा परेको अविरल परेको बेमौसमको वर्षाले मुलुकका सातै प्रदेशमा भने एक लाख ११ हजार छ सय नौ हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा ११ अर्ब ८७ करोड ५१ लाख ६१ हजारबराबरको क्षति भएको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ । सो वर्षाका कारण सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा र कम क्षति बाग्मतीमा पुगेको छ । फलतः लुम्बिनीका कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र मानिन्छ । यस क्षतिबाट कुल धान उत्पादनमा १० प्रतिशतले घट्न सक्ने विज्ञहरूको राय पनि रहेको छ । यसर्थ नेपालीहरूको दैनिक आहारमा ऊर्जाको ४० प्रतिशत र प्रोटिनको २३ प्रतिशत योगदान चामलकै रहेको छ । अतः मुलुकमा वार्षिक करिब ४० लाख मेट्रिक टन चामल आवश्यक पर्ने अध्ययनले देखाएको छ, जसमध्ये ३३ लाख १२ हजार मेट्रिक टन उत्पादन र आपूर्ति हुने गरेको छ भने ६ लाख ८८ हजार मेट्रिक टन अपुग हुने गरेको छ । अतः मागअनुसारको उत्पादन नहुँदा आर्थिक वर्ष २०७५/७६ मा धान तथा चामल गरी ३२ अर्ब ५९ करोड रुपैयाँको आयात भएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको आँकडा छ ।

मुलुकमा पछिल्लो पाँच वर्षको धान उत्पादनको स्थितिलाई अवलोकन गर्ने हो भने आब ०७३/७४ मा ५२ लाख ३० हजार तीन सय २७ मेट्रिकटन, ०७४/७५ मा ५१ लाख ५१ हजार नौ सय २५ मेट्रिकटन, ०७५/७६ मा ५६ लाख १० हजार ११ मेट्रिकटन, ०७६/७७ मा ५५ लाख ५० हजार आठ सय ७८ मेट्रिकटन र ०७७/७८ मा ५६ लाख २१ हजार सात सय १० मेट्रिकटन धान उत्पादन भएको अनुमान गरिएको थियो । त्यसरी नै अहिलेसम्म धान देशको सबैभन्दा महत्वपूर्ण बाली हो । यसमा पनि दुई तिहाइभन्दा अधिक किसानको आजीविका र आम्दानीको प्राथमिक स्रोत पनि यही हो । यो देशको संस्कृतिसँग गहिरो गरी जोडिएको छ । यसले कृषि कुल गार्हस्थ्य उत्पादनमा २० प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा सात प्रतिशतभन्दा बढी योगदान गरिरहेको छ । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x