Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगमधुमेह रोकथाममा स्थानीय सरकारको भूमिका

मधुमेह रोकथाममा स्थानीय सरकारको भूमिका


काठमाडौं । संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने एवं स्वास्थ्य सेवामा समान पहुँच प्राप्त हुने विषयलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको पाइन्छ । नागरिकको स्वास्थ्यलाई गुणस्तरीय बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्दै सबैको स्वस्थ्य जीवन प्रत्याभूत गरी दिगो विकास सुनिश्चित गर्नुपर्ने दायित्व पनि संविधानबाटै निर्देशित भएको पाइन्छ । यस लेखमा मधुमेह रोगबारे प्रस्तुत गर्ने जमर्काे गरिएको छ । हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ । हाम्रो देश नेपालमा प्रत्येक दिन सयौँ मानिसहरू मधुमेहबाट ग्रसित भइरहेका छन् । नेपालमा कुल जनसंख्याको करिब दश प्रतिशतभन्दा माथि मधुमेहबाट प्रभावित तथा जोखिममा छन् ।

मधुमेहलाई अंग्रेजीमा मधुमेह, मधुमेह मिलाइटस वा डायबिडिज मलाइटस (अमेरिकामा) भनिन्छ भने नेपालीमा चिनीरोग भनेर पनि चिनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा अंग्रेजीमा मधुमेह मिलाइट्स भन्ने गरिन्छ । रगतमा चिनीको मात्रा बढी भएपछि तारनतार पिसाब लाग्ने, धेरै तिर्खा र भोक लाग्नेजस्ता लक्षणहरू देखिन्छ । यसलाई बेलैमा उपचार गरिएन भने यस रोगले धेरै जटिलताहरू निम्त्याउन सक्छ । छोटो अवधिका लागि देखिने कडा खालका जटिलताहरू डायबेटिक केटोएसिडोसिस र नन्केटोटिक हाइपरोस्मोलार कोमा हुन् । लामो अवधिसम्म रहने जटिलताहरूमा मुटु तथा रक्तनलीका रोगहरू (कार्डियोभास्कुलर डिजिजेज), स्ट्रोक, मिर्गौलाको खराबी, खुट्टामा हुने अल्सर तथा आँखामा खराबी आउनेजस्ता समस्याहरू पर्दछन् । मधुमेह पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेमा वा उत्पादन भएको इन्सुलिनप्रति शरीरका कोषहरूले राम्रोसँग प्रतिक्रिया जनाउन नसकेमा उत्पन्न हुने समस्या हो । मधुमेहलाई मुख्यतया तीन प्रकारमा बाँड्न सकिन्छ ।

पहिलो प्रकारको मधुमेह, मानिसको पेन्क्रियाजले पर्याप्त मात्रामा इन्सुलिन उत्पादन गर्न नसकेका कारण देखिने समस्या हो । यसलाई पहिला ‘इन्सुलिनमा आधारित मधुमेह मिलाइटस’ वा ‘अपरिपक्व मधुमेह’ भनेर चिनिन्थ्यो । दोस्रो प्रकारको मधुमेह, इन्सुलिनको प्रतिरोधका कारण उत्पन्न हुने समस्या हो । यस्तो अवस्थामा शरीरका कोषहरूले इन्सुलिनप्रति राम्रोसँग प्रतिक्रिया जनाउन सक्दैनन् । रोग बढ्दै गएपछि इन्सुलिनको अभाव पनि देखिन सक्छ । यसलाई पहिला ‘इन्सुलिनमा आधारित नहुने मधुमेह मिलाइटस’ वा ‘परिपक्व हुन लागेको मधुमेह’ भनेर चिनिन्थ्यो । अत्यधिक तौल तथा अपर्याप्त शारीरिक व्यायाम दोस्रो प्रकारको मधुमेहका प्रमुख कारकहरू हुन् । गर्भावस्थामा हुने मधुमेह तेस्रो मुख्य प्रकारको मधुमेह हो । यस्तो मधुमेह गर्भवती महिलामा पहिला कहिल्यै नभएको भए पनि रगतमा चिनीको मात्रा बढेर अचानक देखापर्ने गर्दछ ।

मधुमेहबाट बच्न तथा यसको उपचारको लागि स्वस्थकर भोजन खाने, शारीरिक व्यायाम गर्ने, शरीरको तौल सामान्य राख्ने तथा सुर्तीजन्य पदार्थहरू सेवन गर्नु हुँदैन । मधुमेहका रोगीहरूले रक्तचाप नियन्त्रणमा राख्नु तथा खुट्टाहरूको हेरविचार गर्नु आवश्यक हुन्छ । मधुमेहलाई पथ परेजमा रही स्वास्थ्यकर्मीको सल्लाहअनुसार उपचार गर्नुपर्छ । विकसित देशहरूमा यो रोग बढ्नबाट रोक्न सकिन्छ तर विकासशील देशहरूमा खासगरी नेपालमा यो एउटा महामारीजस्तै विकराल रूप लिँदै गरेको देखिन्छ । प्रतिवर्ष विश्वमा लाखौँ मधुमेहका रोगीहरूको अकाल वा आकस्मिक मृत्यु हुनेगरेको देखिन्छ ।

द्रुत गतिमा बढ्दै गरेको सहरीकरण, आधुनिक युगका समस्याहरू, अचानक खानपान वा रहनसहनमा आएको परिवर्तन तथा पाश्चत्यकरण (फास्ट फुड, कोकाकोला, इन्जेक्सन) प्रचुर मात्रामा भोजनको उपलब्धता वा शारीरिक श्रमको कमीका कारण मधुमेह हाम्रो देशमा आजभोलि चाँडै बढ्दै छ । यो रोगसम्बन्धी वंशाणुगतको रूपमा समेत देखा पर्दछ । तनाव बढी, तौल बढी अदिलाई यो रोग लाग्दछ । ५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नै नभई दीर्घकालीन असर पु-याएको हुन्छ । त्यस्तै वीर अस्पतालम आउने १० जना बिरामीमध्ये छ जनामा मधुमेह हुने र ती जटिल अवस्थामा आउने गरेको सम्बन्धित विज्ञले जनाएका छन् ।

मधुमेह भएको थाहा पाउँदा विकसित मुलुकमा पाँच प्रतिशतको आँखामा असर भएको पाइए पनि विकासोन्मुख देशमा यो संख्या दोब्बर रहेको सम्बन्धित विज्ञ बताउँछन् । मधुमेह वा सुगर रोग हुँदा रगतमा ग्लुकोज सामान्यभन्दा धेर हुन्छ र ग्लुकोजका साथै बोसो तथा प्रोटिनको उपापचन पनि प्रभावित हुन्छ । यो रोग कुनै पनि उमेरमा हुन सक्छ तर नेपालमा भने परिश्रम कम गर्ने ४० वर्षभन्दा माथिका उमेर समूहका मानिसहरूमा बढी मात्रामा देखिएको पाइन्छ । मधुमेहका प्रमुख लक्षणहरू वजनमा कमी हुनु, धेरै भोक, तिर्खा वा पिसाब लाग्नु, थकाइ, पिँडुला दुख्ने, पटक–पटक संक्रमण हुनु वा घाउ ढिलो निको हुनु, हातखुट्टा झन्झन् गर्नु, सुन्ने लाग्नु वा पोल्ने गर्नु, नपुङ्सकता आदि हुन् । कतिपय मान्छेमा मधुमेह धेरै हुने सम्भावन हुन्छ, जस्तै–मोटो व्यक्ति, परिवार वा वंशमा मधुमेह हुनु, उच्च रक्तचाप भएको रोगी, जुन मान्छेले व्यायाम वा शारीरिक श्रम कम गर्छ वा गर्दैन, सहरी व्यक्तिहरूमा गाउँको भन्दा धेरै मधुमेह रोग हुने सम्भावना हुन्छ ।

मधुमेहको रोकथाम वा व्यवस्थापन भनेकै रगतमा भएको चिनीको मात्रा घटाउनु हो र रक्तकोषमा क्षति पुराउने अन्य तत्वको निवारण गर्नु हो । जसको लागि इन्सुलिनको मात्रा यथावत राखी रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न अस्पतालमा उपचार गरी खोपमार्फत नियमित इन्सुलिन लिने, रक्तचाप नियन्त्रण गर्ने, खानामा विशेष ध्यान पुराउने, बढी कार्बोहाइड्रेट भएका खानेकुराको सेवन नगर्ने, धुम्रपान र मध्यपान त्याग्ने, बढी चिल्लोयुक्त पदार्थको सेवन नगर्ने, सन्तुलित र नियमित भोजन लिने र नियमित व्यायाम गर्नुपर्दछ । नुन, चिनी, गुँड, घिउ, तेल, दुध र दुधबाट बनेका वस्तुहरू पराठा, मीठा खाने कुराहरू, आइसक्रिम, मिठाइ, मासु, अण्डा, चकलेट, सुकेको नरियल आदिजस्ता खाद्यपदार्थहरूको थोरै मात्रामा प्रयोग गर्नुपर्दछ भने हरिया सब्जीहरू, काँक्रो, गोलभेडा, प्याज, लसुन, कागती र सामान्य खोर्सानी तथा मसलाहरूको प्रयोग बढी मात्रामा गर्नुपर्दछ । त्यस्तै आलु, चामल र फल, चना र गहुँका आँटाको रोटीको सेवन गर्न सकिन्छ । खाना खाने समय जहाँसम्म सम्भव हुन्छ निश्चित हुनुपर्छ र लामो समयसम्म भोको बस्नु हुँदैन । खानाको मात्रा चिकित्सकद्वारा रोगीको वजन र उचाइका हिसाबले क्यालोरीको गणना गरी निर्धारित गरिन्छ ।

उपचारको दोस्रो उपाय सबैभन्दा राम्रो शारीरिक व्यायाम जस्तैः खेतबारीको काम तथा पसिना बग्ने काम हो । भोजनमा उपयुक्त परिवर्तन र व्यायामले जहाँसम्म रगतमा ग्लुकोज नियन्त्रित रहन्छ । त्यही अर्कातिर शरीरको वजन सन्तुलित रहन्छ र रक्तचाप नियन्त्रण गर्नमा सहायक हुन्छ । साथै यो रोग रोकथामको लागि स्थानीय सरकारले स्थानीयस्तरमा सचेतना कार्यक्रम सञ्चालन गर्न अति आवश्यक हुन्छ । संक्षेपमा भन्नुपर्दा यो रोग नियन्त्रणमा स्थानीय सरकार तथा स्वास्थ्यकर्मीको महत्वपूर्ण योगदान हुन्छ । (लेखकः गुणस्तर जीवन विषयमा विद्यावारिधि)


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x