Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगबेरोजगारीमा कोरोनाको प्रभाव

बेरोजगारीमा कोरोनाको प्रभाव


काठमाडौं । नेपालमा प्रत्येक वर्ष काम गर्ने उमेर पुगेर बजारमा श्रम गर्ने ठाउँ खोज्न निस्कने जनसंख्या झण्डै पाँच लाख रहेको अनुमान गरिएको छ । तर, देशसँग यसको एकचौथाइलाई पनि सहज ढंगले रोजगारी उपलब्ध गराउने आर्थिक गतिविधि छैन । पछिल्लो समय अपनाइएको बजारमैत्री आर्थिक नीति अर्थात् उदारीकरणका कारण सेवा क्षेत्रमा रोजगारीका अवसर बढेको भए पनि त्यसले कुल आर्थिक कारोबार र गार्हस्थ उत्पादनमा दिने योगदानका तुलनामा सिर्जना गर्ने रोजगारीको दर निकै कम छ । मूलतः कृषि क्षेत्रले अहिले नै रोजगारीको अतिरिक्त भार खेपिरहेको छ । कुल गार्हस्थ्य उत्पादनमा जम्मा ३२ प्रतिशत योगदान रहेको कृषि क्षेत्रले कुल रोजगारीको ६४ प्रतिशत भार व्यहोरिरहेकाले कृषिमा संलग्न परिवारको आर्थिक अवस्था कमजोर छ भन्ने स्वतः देखिन्छ । यता, अर्थतन्त्रमा ५० प्रतिशतभन्दा बढी योगदान गर्ने सेवा क्षेत्रमा रोजगारीको २५ प्रतिशत पनि योगदान छैन । यसर्थ मुलुकको औद्योगिक विकासमा झन्झन् कमजोर हुँदै गएको सम्बन्धित क्षेत्रका विज्ञहरूले अनुमान गरेका छन् । यसमा विश्व बजारसँगको प्रतिस्पर्धामा टिक्न नसकेर भएका कतिपय उद्योग पनि बन्द हुँदै गएका छन् भने नयाँ उद्योगका रूपमा जति पनि आएका छन्, तिनमा पार्टपुर्जा ल्याएर जोडजाड पार्ने एसेम्ब्लिङ उद्योगको संख्या बढी छ । यस्ता उद्योगले रोजगारी एकदम कम मात्र सिर्जना गर्छन् । यसले गर्दा पनि देशमा काम गर्ने उमेर भएर, अदक्ष, अर्धदक्ष र दक्ष श्रमिकहरू, जो बजारमा कामको खोजीमा आउँछन्, तिनले सहज रूपमा काम पाइरहेका हुँदैनन् । यसको प्रतिबिम्ब थोरै संख्यामा खुलेका जागिरमा पर्ने आवेदनहरूले पनि बारम्बार देखाएका छन् ।

कुनै पनि देशमा बेरोजगारी दर बढ्नु गलत आर्थिक नीतिको प्रतिफल हो । मुलुकमा लामो समयदेखि आर्थिक क्रियाकलापमा सुस्तता आएको छ । अपितु सरकारले आफ्नो विकास बजेटसमेत राम्रोसँग खर्च गर्न सकेको स्थिति पनि छैन । नेपालीहरूले विदेश या स्वदेशबाट कमाएका पैसाहरूबाट बचत भएको रकम अनुत्पादक क्षेत्रमा खर्च गर्ने क्रम बढ्दो छ । यसमा खासगरी कन घरजग्गा खरिद र उपभोग्य वस्तुमा बढी खर्च गर्ने, बचत कम गर्ने तथा उद्योगधन्दामा कम लगानी गर्नाले पनि रोजगारी सिर्जना हुन सकेको छैन ।

नेपालको छिमेकी देश भारतमा करिब दुई सय वर्षदेखि नेपालीको रोजगारीको मुख्य गन्तव्य भारत रहिआएकोमा पछिल्लो समय खाडी क्षेत्रका देश र मलेसिया तथा कोरियासमेत यसमा थपिएका छन् । तर, ती गन्तव्य कठिन श्रमका क्षेत्र हुन् । यसैले पनि युवाहरू सकेसम्म देशभित्रै रोजगारी खोज्न प्रेरित हुन्छन् । सरकारी जागिर त्यसमध्येको सहज गन्तव्य हुने नै भयो । काम गर्ने उमेर समूहका श्रमबजारमा प्रवेश गर्नेहरूलाई कसरी देशको श्रमबजारमा समाहित गर्न सकिन्छ भनेर नीतिगत हस्तक्षेप गर्न ढिलो गर्न हुँदैन । यसले सामाजिक असन्तुष्टिको विकाराल स्वरूप ग्रहण नगर्दै नीति निर्माण तहमा बस्ने अधिकारीहरूले सोच्न विचार गर्न ढिला भइसकेको छ ।

विश्वका हालसम्म ७७ देशमा भने ओमिक्रोन भेरिएन्ट तेस्रो लहरको संक्रमण पुष्टि भइसकेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा बढी गतिले फैलिरहेको छ । यो भेरिएन्ट डेल्टाभन्दा ओमिक्रोन ७० गुणा तीव्र गतिले फैलिने भए पनि मानव स्वास्थ्यका लागि धेरै घातक नभएको अध्ययनले देखाएको छ । तर, हालसम्मको स्थितिलाई हेर्ने हो भने बेलायतमा ओमिक्रोनबाट पहिलो मृत्यु भएको छ । हाम्रो छिमेकी देश भारतमा एक सय एक यसको संक्रमण भएको छ । फलतः हाम्रो देशमा अफ्रिकी मुलुकबाट आएका दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उनीहरूलाई निको भइसकेको छ भन्ने कुरा छापा माध्यमबाट पढ्न पाइएको छ । गत पुस ३ गतेसम्मको तथ्यांकलाई अवलोकन गर्ने हो भने पृथ्वीभरमा संक्रमितको संख्या २५ करोड ८९ लाख ६३ हजार सात सय ७९, पूर्ण खोप प्राप्त गर्नेको संख्या भने सात अर्ब ४७ करोड ४१ लाख २३ हजार दुई सय १० थियो भने मृत्यु हुनेको संख्या भने ५१ लाख ६९ हजार पाँच सय ७० रहेको सम्बन्धित क्षेत्रले जनाएको छ । त्यसरी नै हाम्रो देशमा भने संक्रमितको संख्या आठ लाख २५ हजार चार सय ४५ थियो भने पूर्ण खोप लगाउने संख्या भने ९५ लाख ८२ हजार चार सय ९६ छ भने मृत्यु हुनेको संख्या भने ११ हजार पाँच सय ७२ पुगेको छ ।

हाम्रो देशमा विगतका वर्षहरूलाई अध्ययन गर्ने हो भने बेरोजगारीको संख्या अत्यधिक बढेको छ । फलतः मुलुकको १२ वर्षअघि सन् २००८ मा २ दशमलव ८ प्रतिशत रहेको बेरोजगारी संख्या दर बढेर अहिले अर्थात् पछिल्लो समयमा ११ दशमलव ४ प्रतिशत पुगेको छ । यसलाई केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षण–२०१९ अनुसार पुगेको धोषणा गरेको थियो । नेपाल सरकारको तथ्यांक विभागले सार्वजनिक गरेको श्रमशक्ति सर्वेक्षणअनुसार अहिले मुलुकमा नौ लाख आठ हजार नेपाली बेरोजगार छन् । जसमध्ये पाँच लाख ११ हजार पुरुष र तीन लाख ९७ हजार जना महिला छन् । यी बेरोजगारहरूमध्ये हाल श्रम बजारमा ८० लाख नेपाली उपलब्ध छन् । यसको साथै बेरोजगारीको दर सन् १९९८ मा जम्मा १ दशमलव ९ प्रतिशत मात्र थियो ।

देशमा १५ वर्षभन्दा बढी उमेरका दुई करोड सात लाख ४४ हजार जनसंख्या छ । जसमध्ये ७९ लाख ९४ हजारको संख्यामा श्रमशक्ति बजारमा उपलब्ध रहेको अनुमान छ । यीमध्ये करिब ४३ लाख वैदेशिक रोजगारीमा रहेको तथ्यांक छ । यसरी बाँकी श्रमशक्तिबाट मुलुकमा रोजगारी पाएका ६२ दशमलव २ प्रतिशत अनौपचारिक क्षेत्रमा कार्यरत छन् । तसर्थ केन्द्रीय तथ्यांक विभागका अनुसार श्रमशक्तिभन्दा बाहिरको संख्या एक करोड २७ लाख ५० हजार रहेको छ । त्यसमध्ये ८५ लाख महिला र ४२ लाख ५० हजार पुरुष रहेका छन् । अतः मुलुकमा ७० लाख ८६ हजार रोजगारीमध्ये २५ लाख ४० हजार महिला र ४४ लाख ४६ हजार पुरुष छन् ।

विश्वव्यापी रूपमा कोरोनाको सन्त्रासले महामारीको रूप लिएको छ । जसलेगर्दा संसारभरि सन्त्रास बनिरहेको कोरोन महामारीले सबैलाई च्याप्दै छ । यसमा नेपाल पनि अछुतो रहन सकेको छैन । आम मानव जीवन र सभ्यतामाथि धावा बोलिरहेको यस प्रकोपको हालसम्म ब्रम्हाण्डभरिका धेरै विज्ञान र वैज्ञानिकहरू अहोरात्र खटिए पनि कुनै पनि वैज्ञानिक औषधि तथा उपचार पद्धति भने अहिलेसम्म प्रमाणित हुन सकेको छैन । यस कारण सरकारले सम्भावित जोखिमलाई ख्याल राखेर पूर्वाधारहरूको जोहो गर्न ढिलो भइसक्यो । अरु देशहरूको अस्पताल उपचार पद्धति र पूर्वाधार राम्रो भएकैले वृद्धाहरू अरु जोखिममा भएकाहरूको पनि जीवन जोगिएको छ । तर, यस्तो किसिमको स्थिति हाम्रो देशमा हुन सकिरहेको अवस्था भने छैन ।

समग्रमा भन्नुपर्दा कोभिड–१९ का कारण सन् २०२० मा नेपालमा ७३ दशमलव १ प्रतिशतले रोजगारी गुमाउने एक अध्ययनले देखाएको छ । यसरी सबैभन्दा बढी निर्माण क्षेत्रमा २१ दशमलव ७ प्रतिशत रोजगारी गुमाउनेछ । त्यसपछि खुद्रा व्यापारमा १३ दशमलव ५ प्रतिशत, होटल र रेस्टुरेन्टमा १२ दशमलव ८ प्रतिशत, कृषिमा १२ दशमलव ७ प्रतिशत, अन्य सेवामा ७ दशमलव ९ प्रतिशत र कपडा तथा कपडाजन्य उत्पादनमा ४ दशमलव ५ प्रतिशतले रोजगारी गुम्नेछ । यसर्थ आन्तरिक यातायातमा भने शून्य प्रतिशतले रोजगारी गुम्ने पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै गरी हाम्रो छिमेकी देशको एक प्रतिवेदनअनुसार क्षेत्रगत आधारमा हेर्ने हो भने यसरी दक्षिण एसियाली मुलुकमा सबैभन्दा बढी रोजगारी गुमाउनेमा पाकिस्तान ७७ दशमलव ४, भारत ७७ दशमलव ३, बंगलादेश ७५ दशमलव ९ र श्रीलंकामा सबैभन्दा कम ६३ दशमलव ९ प्रतिशतले मात्र रोजगारी गुमाउने जनाइएको छ । त्यसैगरी विश्वभरि हाहाकार मच्चाइँदै आएको कोरोनाबाट नेपाल पनि अछुतो नरहनु अस्वाभाविक होइन । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x