राजनीतिमा विरासत्वादको निरन्तरता
काठमाडौँ । नागरिक समाजमा प्रतिस्थापित रहनुपर्ने न्यायिक संवैधाानिक राजनीतिक अधिकारमा आएको न्यूनता परिपूर्तिको लागि राजनीतिक लडाइँहरू हुनेगरेको तथ्य जगजाहेर छ ।
प्रस्तुत राजनीतिक दर्शनको गतिशीलतामा नेपाल पनि अछुतो रहन सक्दैन । जब राजनीतिक लडाइँले सफलता उन्मुख लक्ष्य प्राप्ति गर्दछ त्यसपछि सम्बद्ध राज्य व्यवस्थामा लोकतान्त्रिक शाासन पद्धतिको बीजारोपण हुने सफल लोकतान्त्रिक मूल्य मान्यताहरू हुन् । परिणामतः लोकतन्त्रको सुखानभूति दिलाउँदै अब्बल जीवनयापनको लागि नागरिक समाजलाई डोहो-याएर लग्नसक्ने सुझबुझसहितको सफल अगुवाको आवश्यकता पर्दछ । नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने सक्षम एवं सबल व्यक्तित्व नै राजनेताको रूपमा गणना हुने राजनीतिक दर्शन समेत हो भन्दा फरक नपर्ला ।
नेतृत्वदायी भूमिकामा आबद्ध रहन चाहने जो कसैले पनि व्यक्तिगत वा समूहगत लाभहानीभन्दा पनि माथि उठी विश्वप्रचलित लोकतान्त्रिक विधिलाई आत्मसात् गर्नसक्ने प्रतिबद्धता जाहेर गर्नुपर्ने हुन्छ । विपरीत अवस्था कायम राख्दै राजनीतिक नेतृत्वलाई वंशवादको अवधारणाअनुसार विरासत् कायम राख्ने नाममा निरन्तरता दिन खोज्ने संस्कृतिलाई लोकतान्त्रिक विधिअनुरूपको पद्धतीय व्यवहार मान्न सकिँदैन ।
विरासत्वादको निरन्तरता कायम राख्दा मूलतः दुई अवस्था प्रारम्भ हुनेछ । पहिलो अवस्था भनेको सम्बद्ध मुलुकको राष्ट्रिय राजनीतिमा पारिवारिक मूल्यमान्यतालाई प्रश्रय प्रदान गर्दै भावि सन्ततीको राजनीतिक स्थायित्वको लागि आवश्यक पर्ने नीति नियमदेखि अनेकन प्रपञ्चलगायतका षड्यन्त्रमूलक कार्यलाई प्राथमिकतामा राख्नु वा राख्ने प्रयास गरिनु । एवं प्रकार पुस्तान्तरको सिलसिलामा अघिल्लो पुस्ताले गरेको कार्यलाई सम्भव भए सम्बद्ध समूहको कामको मूल्यांकनको आधारमा समूहगत वा व्यक्तिगत नामलाई बिक्री गर्ने वा गर्न चाहने नियती नै विरासतीय पद्धतिका अनेकन रूपहरू हुन् जसमा विशेषगरी राजनीतिक समूहको सन्तान दरसन्तान, भाइछोराका अतिरिक्त विवाह गरेर भित्र्याइएको अन्य सदस्यहरू पनि समाविष्ट हुनसक्ने देखिन्छ ।
किनकि कायमी विरासत्लाई चिरकाल पर्यन्त राख्ने चाहनाले मात्र पनि राजनीतिको क्षेत्रमा अहमताको अभिवृद्धि भई निरकुंशताको जन्म हुनसक्ने प्रबल सम्भावनालाई मध्यनजरमा राखी सुझबुझका साथ अगाडि बढ्नु सफल राजनीतिक गन्तव्य मान्न सकिन्छ ।
प्रस्तुत सन्दर्भमा मुलुकको ऐतिहासिक पृष्ठभूमिलाई केलाएर अध्ययन गर्ने हेर्ने हो भने विरासतीय दृष्टिकोणबाट अभिप्रेरित रहँदै प्रधानमन्त्रीय वंश परम्परालाई नेपालको राष्ट्रिय राजनीतिमा एकछत्र कायम रहोस् भन्ने दुष्प्रवृत्ति हाबी गराई राणा प्रधानमन्त्री जंंगबहादुरले षड्यन्त्रमूलक राजनीतिमा सहकार्य गरेबापतको पारितोषिक स्वरूप राणा प्रधानमन्त्रीय विरासत्लाई भाइभाइमा वंश परम्पराअनुरूपको पद्धतीय व्यवहारलाई क्रमबद्ध रूपमा स्थानान्तरण हुने परिपाटीको विकास गराएको पाइन्छ ।
विरासत्को आडमा रहेको राजनीतिलाई विमुख पार्नको लागि लोकतान्त्रिक समूहको प्रतिनिधित्व गर्न चाहने तात्कालीन युवागणले विसं १९९७ सालमा सुषुप्त रूपमा प्रजापरिषद् नामको राजनीतिक संस्था दर्ता गरी सोको अगुवाइमा लोकतान्त्रिक अभ्यासलाई जारी राखेकै कारण अन्ततः विसं २००७ को लोकतान्त्रिक परिवर्तन सम्भव भएको हो । आरम्भमा राणा एवं नेपाली नागरिक समूहको समान–समान प्रतिनिधित्व रहने गरी लोकतान्त्रिक अभ्यासको साथै केही समयका लागि भए पनि मातृका प्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा लोकतान्त्रिक अभ्यासको चाहना गरे पनि लोकतन्त्रको सुखानुभूति नेपाली जनमतले हासिल गर्न सकेन भन्दा फरक नपर्ला ।
तत्पश्चात् विसं २०१५ सालको लोकतान्त्रिक चुनावमार्फत नेपाली काग्रेसले संसद्को कुल सदस्यसंख्या एक सय आठ सिटमध्ये ७४ सिटसहितको दुई तिहाई मत प्राप्त गरी जननेता वीपी कोइरालाको प्रधानमन्त्रीत्वमा लोकतान्त्रिक अभ्यासमा अभ्यस्त रहने अवसर प्राप्त गरेको थियो ।
विसं २०१७ को राजनीतिक परिवर्तनले नागरिक सम्प्रभूत्तामाथि हिलो छाप्ने दुष्प्रयास गरेको हुँदा लोकतान्त्रिक यात्रामा समेत क्रमशः ग्रहण लाग्न गई अन्ततः दलमाथि प्रतिबन्ध लागेको हो । नेपालको राजनीतिमा कोइराला परिवारको विराससतलाई प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा कालसम्म पनि राम्रै गतिशीलता हासिल गरेको देखिन्छ । योग्य एवं दूरदर्शी राजनेताका साथ विरासत् कायम रहने हो भने त्यसलाई कुनै पनि हालतमा अन्यथा मिल्दैन । अपवादबाहेक वीपी कोइराला तथा गिरिजाप्रसाद कोइरालाले राष्ट्रको राष्ट्रिय राजनीतिमा गर्नुभएको अतुलनीय एवं अमूल्य योगदानलाई कुनै पनि हालतमा अवमूल्यन गर्न भने मिल्दैन ।
यदि उहाँहरूको सबल नेतृत्वदायी भूमिकाको अभाव रहेको भए मुलुकमा लोकतन्त्रको सम्बर्द्धन, प्रवर्द्धन तथा विकासमा सफलता प्राप्त गर्न कठिन हुनेथियो भन्न सकिन्छ । किनभने मुलुकमा राष्ट्रिय मेलमिलापको नीतिलाई अंगीकार गर्नुबाहेक अर्को कुनै उपयुक्त विकल्प तात्कलीन समयमा रहेको छैन भन्ने राजनीतिक तथ्यलाई मनन गर्दै जननेता वीपी कोइरालाले आफ्नो भारतीय निर्वासित जीवनलाई परित्याग गर्दै स्वदेश फिर्ता भएपछि नेपालको राजनीतिमा तरंग पैदा भई परिणाम विसं ०३७ जेष्ठ १० गतेका दिन बहुदलीय लोकतान्त्रिक पद्धति वा निरंकुश पञ्चायती व्यवस्थामध्ये कुनचाहिँ पद्धतीय व्यवहारलाई मुलुकमा समाहित गर्ने भन्ने सन्दर्भमा विश्वविख्यात जनमत संग्रहसम्बन्धी विधिलाई नेपालको राजनीतिक इतिहासमा पहिलो पटक उपभोग गर्न पाएको तथ्यलाई कुनै पनि हालतमा बिर्सन मिल्दैन ।
प्रस्तुत तथ्यलाई आधार बनाई राजनीतिक लडाइँ जारी राखेकै कारण ०४६ को राजनीतिक परिवर्तन एवं ०४७ को संवैधानिक राजतन्त्र एवं बहुदलीय प्रजातान्त्रिक संविधान प्राप्त गर्न सक्षम भएको हो । जसमा विशेषगरी कोइराला परिवारको अतिरिक्त सर्वमान्य नेता गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई एवंप्रकारले मनमोहन अधिकारीको भूमिकालाई नेपाली जनमानसले सधैँ स्मरण गरिरहनेछ । तत्पश्चात्को राजनीतिक अवस्थामा सशक्त द्वन्द्वरत पक्ष नेकपा माओवादीलाई शान्तिप्रक्रियामार्फत सम्मानपूर्वक अवतरण गराउँदै लोकतान्त्रिक प्रक्रियाप्रति वचनबद्ध रहँदै प्रतिस्पर्धात्मक राजनीतिमा समाहित गराउन सम्भव भएको हो ।
यद्यपि भविष्यकेन्द्रित निर्वाचन सफल होस् अथवा कुनै पनि राजनीतिक दलको महाधिवेशन नै किन नहोस् तत् सन्दर्भमा विरासत्ीय पद्धतीअनुरूपको व्यवहारको विकास गर्ने हो भने सफल लोकतान्त्रिक परीपाटीको विकास नहुन पनि सक्दछ । किनभने सबै योग्य पिताका योग्य पुत्र रहन सक्छन् भन्ने कुरामा द्विविधा उत्पन्न हुनसक्ने भएकै कारण विरासत्को भूमिकालाई क्रमशः न्यून गर्दै दूरदर्शी राजनेताको छनोट गर्नु आजको आवश्यकता हो ।
प्रस्तुत नकारात्मक प्रभावको जालोमा नेपाली कांग्रेस मात्र नभई अन्य लोकतान्त्रिक समूह पनि अछुतो रहन सकेको पाइँदैन । लोकतन्त्रको विकासमा विरासत्को प्रणाली कायम राख्ने हो भने सफल लोकतान्त्रिक यात्रामा मुलुक अगाडि बढ्न सक्छ वा सक्दैन भन्ने प्रश्न उठ्नेछ । यसप्रकारको व्यवहारको विकास हुनुमा मूलतः शैक्षिक एवं राजनीतिक जनचेतनाको अभाव तथा प्रलोभनको आधारमा योग्य राजनेतालाई भन्दा पनि हाम्रो मान्छेलाई चुनावमा विजयमाला पहिल्याउने संस्कृतिले निम्त्याएको सबैभन्दा खराब परिसूचकको रूपमा यसप्रकारको क्रियाकलापलाई लिन सकिन्छ ।
यसका अतिरिक्त अवस्था हेरी राजनीतिक रंग बदल्दै अवसरवादीतालाई कायम राख्ने प्रवृत्ति विकासले सम्बद्ध क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्न सक्दैन । राजनीतिमा विरासत्लाई हाबी गराउने प्रचलन नेपालमा मात्र नभई भारत, पाकिस्थानका अतिरिक्त विश्वका अन्य मुलुकहरूमा समेत कायम रहेको तथ्यहरूले प्रमाणित गरिसकेको छ । प्रस्तुत व्यवहारको विकासमा कुनै कारणवश व्यवधान सिर्जना भए हिंसाजन्य परिस्थितिको निर्माण हुने हुँदा स्वस्थ राजनीतिक प्रतिस्पर्धामा समेत गतिरोध उत्पन्न हुने देखिन्छ ।
जसका कारण धेरै हदसम्म नगदजन्य व्यवहारको अभिवृद्धि भई जनहितभन्दा पनि व्यक्तिगत स्वार्थपूर्तिका लागि राजनीतिलाई उपयोग गर्ने परम्पराको विकासले विरासत्को राजनीतिमा पारिवारिक आपसी मनमुटावको वृद्धि भई एक–अर्को समूहबीच अविश्वासको मात्रा बढ्न गई राजनीतिक उग्रतामा नागरिक समाज पिल्सिने सम्भावना पनि जीवन्त रहन्छ भन्दा त्यति अत्युक्ति नहोला ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया