Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगअर्थव्यवस्था सुधारका सूचकहरू

अर्थव्यवस्था सुधारका सूचकहरू


काठमाडौँ । केही अर्थविद्हरूले यथास्थितिमा नेपाल विकास गर्न सक्दैन भनी पटक–पटक भनिरहँदा युवा पिँढीमा दुःखसँगै नैराश्यता छाउन सक्दछ । धेरै नेपालीहरूलाई सरकार परिवर्तन र पार्टी परिवर्तनले देश विकास हुन्छ भन्ने लागेको आवाज पटक–पटक उठिरहेको हुन्छ । तर हाम्रो सोच गलत छ कि सरकार परिवर्तनले वा पार्टी परिवर्तनले मात्र देशको विकास भएको छैन ।

देश विकासका लागि पार्टी वा सरकार परिवर्तन हैन नीति परिवर्तन गर्नुपर्ने हुन्छ । हो, राजनीतिक पार्टीको नीति फरक–फरक हुन्छन् जसले देशको अर्थ व्यवस्थालाई परिवर्तन गर्न सक्दछ तर नीति सरकार सञ्चालनका बेला प्रभावकारी रुपमा लागू गर्नुपर्ने हुन्छ । हाल नेपालको समाजिक संरचना, कर्मचारीतन्त्र, राजनीतिक कार्यकर्ताजस्ता अनेकौँ बुँदाहरूमा पुरानो प्रवृत्तिले गर्दा सबै प्रकारका नीतिहरू असफल रहेका देखिन्छन् । विकासका सूत्र दुई प्लस दुई बराबर चार भनेजस्तो सर्वमान्य हुँदैन ।

देशअनुसार विकासका अनेक सूत्रहरू हुनसक्दछन् । साउदी अरेबीयाको सूत्र चीनमा र चीनका सूत्रहरू अमेरिकामा चल्न सक्दैनन् । अरु देशका विकासका सिद्धान्तहरूको अनुसरण गर्नुभन्दा नेपालको अर्थ व्यवस्था परिवर्तनको लागि कस्तो सूत्र चाहिन्छ त्यसमा अध्ययन गर्न जरुरी छ । विकासका लागि नीति आवश्यक हुन्छ तर नीतिभन्दा पहिले अध्ययन अनुसन्धान जरुरी छ । नेपालमा कुनै पनि राजनीतिक पार्टीको न त अनुसन्धान छ न त अध्ययन नै गहिरो छ न त नीति, जस कारण विकासका कामहरू, योजनाहरू, परियोजनाहरू सफल भएका देखिँदैनन् ।

हामीसँग जे छ त्यही विषयमा अध्ययन गरी अगाडि बढेमा मात्र अर्थव्यवस्था परिवर्तन गर्न सकिने हुन्छ । नेपालको अर्थव्यवस्था परिवर्तन गर्न अमेरिका, चीन, भारत, वा सिंगापुरको विकास मोडल जरुरी छैन । यहाँको अर्थव्यवस्थाका लागि यहीँको भौगोलिकतासँगै राजनीतिक अवस्था र स्थिरता, जनशक्तिको कुशलता, शैक्षिकस्तर, प्राक्रतिक स्रोत आदिमा अध्ययन गर्नुपर्ने जरुरी हुन्छ ।

छिमेकी मुलुक चीनले सुन, कोइला, फलाम, कच्चा प्राकृतिक ग्याँस, तेल, चुनढुंगा, जलविद्युत्, टिन, एन्टीमोनी, टगस्टन, मेसनरी, औजार मात्र अन्तर्राष्ट्रिय बजारमा बेचेको छैन बरु आन्तरिक परिवर्तन पनि भरपुर रुपमा गरेकोले विकास गर्न सफल भएको देखिन्छ । उसले उल्लिखित वस्तुहरूसँगै अन्य वस्तुहरू बेची ठूलो धनराशि कमाएको छ, साथसाथै राजनीतिक स्थिरता, फजुल खर्चमा पूर्ण रोकतोकका नियमहरू, घुसखोरीमा मृत्युदण्डजस्ता कठोर सजाय आदि चीनको अर्थव्यवस्थालाई परिवर्तन गर्ने प्रमुख आधारहरू रहेका छन् । यस्तै राजवंश २०औँ शताब्दीको सुरुतिर समाप्त भई साम्यवादी शासनसँगै सामाजिक सुधारहरू स्थापनापश्चात् मात्र चीनले अर्थव्यवस्थामा ठूलो छलाङ लगाएको देखिन्छ । हालको चीन विकासको प्रथम चरण यही नै हो ।

नेपालको अर्थव्यवस्थालाई परिवर्तन गर्नसकिने थुप्रै सामाजिक तथा राजनीतिक आधारहरू छन् । तीमध्ये केही आधारहरूलाई निम्नलिखित बुँदाहरूबाट स्पष्ट गर्न कोसिस गरिएको छ ।
१) स्वतन्त्र तथा उत्तम न्यायपालिका
अर्थतन्त्र र न्यायपालिकाको सम्बन्ध प्रत्यक्ष नदेखिए पनि अप्रत्यक्ष रुपमा देशको अर्थतन्त्र परिवर्तनमा न्यायपालिकाको ठूलो महत्व रहेको देखिन्छ । आधुनिक लोकतन्त्रको महत्वपूर्ण कडी उत्तम तथा स्वतन्त्र न्यायपालिका नै हो मुद्दाहरू अदालतमा सधैँ हुन्छन् र सबै सन्तुष्ट हुन्छन् भन्ने हुँदैन, तर न्यायोचित हुनुपर्ने हुन्छ । न्यायपालिका जति उत्तम हुँदै गयो त्यति नै देशको अर्थतन्त्रले फड्को मार्दछ । अर्थतन्त्र र न्यायपालिका एक आपसका महत्वपूर्ण साझेदार हुन् भनी अर्थविद्हरूको भनाइ हाम्रो देशमा पनि अपरिहार्य रहेको छ । तर विडम्बना हामी यस आधारमा टिकेका छैनौँ । न्यायपालिकाको अवस्था सुधार विकासको प्रमुख कडी हुनसक्छ, नेपालका लागि यसमा सुधार गर्नुपर्ने जरुरी छ र गर्नुपर्ने हुन्छ ।
२) व्यापारको वातावरणमा सहजीकरण
हाम्रो देश तथा सरकारले व्यापारको लागि राम्रो निर्देशिका तथा नीति नियमहरू बनाए पनि वास्तविकतामा हेर्दा नेपालमा व्यापार सञ्चालन गर्न अझै पनि धेरै गाह्रो छ, किनकि कहिले राजनीतिक परिवर्तन कहिले द्वन्द्व रहेकोले थुप्रै कर नीतिहरू र कर दरहरू परिवर्तनशील छन् । प्रत्येक वर्षजस्तै कर नीति परिर्वतन भइरहने भएकाले नेपालमा व्यापार गर्न सजिलो छैन । कर्मचारीहरू तथा व्यापारीहरूले नीति तथा कर परिर्वतनका कारणले सजिलै काम गर्न पाउँदैनन् तथा आन्तरिक राजनीति तथा अन्य सामाजिक कारणले सहज व्यापार गर्न नपाउनाले देशको अर्थव्यवस्थामा सकारात्मक असर परेको देखिँदैन ।
३) वित्तीय सुशासन
देशको अर्थव्यवस्थामा सुधारका लागि वित्तीय अनुशासन आवश्यक रहन्छ । वित्तीय अनुसाशनअन्तर्गत विदेशी लगानी नेपाल भित्र्याउनु र स्वदेशी रकम विदेश पठाउने बैंकहरूले अनुशासित रुपमा ऋण दिन सक्नुपर्छ । वित्तीय संस्थाहरूमा व्यक्तिगत तथा राजनीतिक प्रभाव पर्नुका कारण वित्तीय संस्थाहरूले आवश्कता र अनुमानितभन्दा बढी आम्दानी वा ऋण प्रभाह भएको देखाउनुजस्ता वित्तीय अनुसाशनहीन काम गर्नाले देश विकास हुँदैन । देशको अर्थव्यवस्थामा सकारात्मक परिवर्तन ल्याउन सरकारको नीति नियम पूर्णरुपमा पालनासँगै वित्तीय संघसंस्थाहरूलाई अनुशासनहीन काम गर्नबाट रोक्नुपर्ने हुन्छ ।
४) शून्य भ्रष्टाचार
गरिब देशको रोग नै भ्रष्टाचार हो । जबसम्म भ्रष्टाचारमा राजनीति र राजनीतिमा भष्टाचार रहन्छ तबसम्म देशको अर्थव्यवस्थामा सुधार आउन सम्भव देखिँदैन । देशको अर्थव्यवस्था मजबुत बनाउन भ्रष्टाचारबाट राजनीति टाढा हुनुपर्ने हुन्छ । यदि हालको राजनीतिक परिवेशजस्तै राजनीतिमा भ्रष्टाचार देखिरहे देश विकास हुन सक्दैन । नेपाल सरकारले शून्य भ्रष्टाचार नीति लिई सोहीअनुसार कर्म गरे नेपालको अर्थव्यवस्थामा ठूलो परिवर्तन आउने कुरामा राजनीतिज्ञ र अर्थविद्हरूले नबुझेको होइन तर यसलाई फरक राख्न नसकेको अवस्था रहेको छ । त्यसैले शून्य भ्रष्टाचार नीति अवलम्बन गरे देशको अर्थव्यवस्थाले ठूलो फड्को मार्नेमा दुई मत देखिँदैन ।
५) सरकारी सेवाहरूको स्तरोन्नति
अर्थव्यवस्थामा परिवर्तन ल्याउन नेपालको सरकारी तथा समाजिक सेवा प्रवाहको स्तरोन्नति गर्दै सरकारी सेवा प्रवाहमा वैज्ञानिक तथा आधुनिकीकरण ल्याउन अत्यावश्यक देखिन्छ । किनभने बाजेको पालामा अवलम्बन गरिएको सरकारी सञ्चालन प्रणाली र सेवा प्रवाह गर्ने प्रवित्तिले गर्दा आजका युवाहरू सरकारी कार्यालय जान डराउने भनी विभिन्न अनुसन्धानबाट पुष्टि भएको दखिन्छ । त्यसैले सरकारी सञ्चालन प्रणालीमा उचित छनोट प्रक्रिया, पदोन्नति मापदण्ड, कार्य विभाजन, कार्यको जिम्मेवारी बोध, पहिचान कार्य निकै पुरानो भएकोले यसलाई समय सान्दर्भिक बनाउन जरुरी देखिन्छ ।

सरकारी कार्यालयमा नागरिक जान डराउनु, बढी समय लाग्ने तथा राम्रो प्रतिक्रिया नआउने डरले आज नेपालमा मध्यस्थकर्तामार्फत सरकारी काम गराउन रुचाइएको देखिनु नेपालको बलियो अर्थव्यवस्थाको लागि नराम्रो सूचना सतहमा आएको देखिन्छ । त्यसैले जबसम्म सरकारी सेवा प्रवाह तथा सञ्चालन प्रणालीमा आधुनिकीकरण र आवश्यकताअनुरुप यी नागरिक सेवाहरूमा सुधार हुँदैन भने तबसम्म देशको आर्थिक विकासमा परिवर्तन आउने त कुरै हुँदैन ।
६) प्राविधिक आधुनिक कृषि
हाम्रो देशको जनसंख्याको आधाभन्दा बढी जनसंख्या कृषक भनी चिनिन्छन् । ५७ प्रतिशतले पेसा कृषि नै गर्छन् तर खाद्यन्न सामग्री अन्य मुलुकबाट ल्याउनुपर्ने बाध्यता छ । नेपालको बजेटले सम्बोधन नगर्ने तथा बजेट राशिले नेपालको कृषिको मूल मुद्दा सम्बोधन गर्दैन । नेपालमा कृषि जीविकोपार्जनका लागि एक उत्तम तरिका अवश्य पनि छैन । कृषिक्षेत्रमा जबसम्म सुधार आउँदैन तबसम्म नेपाल देशको अर्थव्यवस्थामा सुधार हुँदैन । हामी जीवन निर्वाह गर्नका लागि मात्र कृषि गर्ने गर्छाैँ । कृषिमा प्रविधिसँगै आधुनिकीकरण आवश्यक छ ।
७) शिक्षामा स्तरोरन्नति
हाम्रो देशमा हालको शिक्षा प्रणालीले शैक्षिक डिग्री देखाउनका लागि मात्र रहेको आभास गरिन्छ । शैक्षिक योग्यताअनुसार काम गर्नसक्ने अवस्था छैन जसको कारण प्रमुख कारण शिक्षाको स्तरको कमी नै हो । संकटकालीन अर्थव्यवस्था रहेको बेला रोजगारी सीमित आर्थिक वृद्धिको कारण हो तर दक्ष जनशक्तिका लागि शिक्षामा सुधार अपरिहार्य छ । जबसम्म विकसित राष्ट्रहरूसँग लड्ने जनशक्ति उत्पादन गर्ने शिक्षा प्रणाली हामीसँग हुँदैन तबसम्म हामी अर्थव्यवस्थामा सुधार गर्न सक्दैनौँ । त्यसकारण शिक्षामा सुधार गरिएको अवस्थामा मात्र देशको अर्थव्यवस्थामा परिर्वतन हुने हुनाले सुधार आवश्यक छ ।

तर अर्थव्यवस्था परिर्वतनका लागि उल्लिखित सम्पूर्ण आधारहरूको पूर्ण कार्यान्वयन जरुरी हुन्छ । नेपालजस्तो अल्पविकसित देशका लागि माथि उल्लिखित आधारहरूमा परिवर्तन गर्नसकेमा दुई/दुई दशकमै देशको अर्थव्यवस्थाले ठूलो फड्को मार्ने कुरामा पूर्ण विश्वस्त रहन सकिन्छ यद्यपि माथि उल्लिखित बुँदाहरूमा अध्ययन जरुरी छ । नेपालमा नीति बनाउनुभन्दा पहिले विकासका आयामहरूको अध्ययन अनुसन्धानको कमी देखिन्छ ।

ठूला–ठूला नीतिहरू अध्ययन अनुसन्धानको कमीले नेपालमा सफल भएका छैनन् । त्यसकारण नीति निर्माणमा अझ बढी गहनता अपनाउनु जरुरी छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x