Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगदक्ष जनशक्ति उत्पादनका लागि शिक्षामा परिमार्जनको खाँचो

दक्ष जनशक्ति उत्पादनका लागि शिक्षामा परिमार्जनको खाँचो


काठमाडौँ । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउन व्यावसायिक तथा रोजगारमुखी शिक्षा आधारभूत सर्त हो । विकराल बन्दै गएको बेरोजगारीको समस्या हल गर्न समसामयिक व्यावसायिक शिक्षाको विकल्प छैन ।

रोजगारीलाई उन्नत बनाएर विश्व श्रमबजारमा खरो प्रतिस्पर्धी नागरिक उत्पादन गर्ने दायित्व राज्यले अवलम्बन गर्ने शिक्षा दायित्व राज्यको हो । विज्ञान तथा सूचना प्रविधिमा क्षण क्षणमा भएका आविष्कार आत्मसात् गर्ने जनशक्तिबाट मात्रै समृद्धि तिर लम्किन सकिने वास्तविकता हो। शैक्षिक पाठ्यक्रम र शिक्षण विधिमा समयानकुल परिमार्जन परिष्कृत गरेर मात्र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सकिन्छ । अहिलेको परम्परागत शिक्षालाई रोजगारमुखी बनाउन विषय र विधिमा समयानुकूल परिमार्जन र परिष्कृतको खाँचो खट्किएको छ ।

नेपालमा काम गर्ने उमेर समूहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्यांक छ। केन्द्रीय तथ्यांक विभागका अनुसार १५ वर्षमाथिका जनशक्तिलाई काम गर्ने उमेरसमूह मानेको छ । देशमा काम गर्ने उमेरसमूहका कुल जनसंख्या दुई करोड सात लाख ४४ हजार छ । जसमध्ये एक करोड २७ लाख ५० हजार जनसंख्या निर्वाहमुखी श्रमशक्तिको रूपमा रहेका छन् । काम गर्ने जनसंख्यामध्ये ३९ प्रतिशत अर्थात् ७९ लाख ८४ हजार मात्र श्रमबजारमा सक्रिय छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार श्रम बजारमा उपलब्ध जनसंख्यामध्ये ७० लाख ८६ हजार मात्रै रोजगार छन भने नौ लाख आठ हजार बेरोजगार छन् । सक्रिय जनसंख्याको नौ लाख आठ हजार अथवा ११ दशमलव ३५ प्रतिशत बेरोजगार छन् । नेपालको बेरोजगार दरअनुसार कुल जनसंख्याको ३४ प्रतिशत मात्र रोजगारीमा रहेको पुष्टि हुन्छ। श्रमशक्तिबाहिरको जनसंख्या ठूलो रहेको छ। समृद्धिको संवाहक मानिएको यस जनशक्तिलाई यथाशक्य छिटो रोजगारीमा लैजाने नीति तथा रणनीति अविलम्ब चालिनु पर्दछ।

अहिले नेपाली युवाहरू आफ्नै देशमा उपलव्ध पेसा अँगाल्न हिच्किचाउँदै हजारौँ, लाखौँ रूपैयाँ खर्च गरेर खाडी मुलुकको प्रचण्ड गर्मीमा जोखिमपूर्ण वातावरणमा तरकारी, फलफूल खेती, भेडा चराउने, गधा जोत्नेजस्ता कृषिजन्य काम गर्न तँछाडमछाडका साथ पुगेका छन् । अर्कोतर्फ छिमेकी देशहरूबाट रोजगारीका लागि नेपाल आएर फलफूल तरकारी र अन्य सामान बेच्न सहर बजारमा मात्र नभएर विकट गाउँहरूमा पनि छ्यापछ्याप्ती पुगेको पाइन्छ।

तर गर्वका साथ त्यही काम स्वदेशमा नेपालीले किन गर्दैनन् ? त्योभन्दा तल्लो स्तरको काम गर्न मुगलान नै पस्नुपर्ने किन ? यस्तो मनोवैज्ञानिकतालाई कसरी परिवर्तन गर्न सकिएला ? आफ्नो देशमा रोजगार नपाएर चारैतिर अभावै अभावबाट छट्पटिँदै निराश भई विरक्तिएर विदेशिएका नेपाली झन् कष्टकर, अमानवीय व्यवहार सहन बाध्य भएर विचल्लीमा परेको समाचार छापामा बग्रेल्ती पाइन्छ । यसरी तावाबाट उम्केको माछा भुङ्ग्रोमा परेर तड्पिएको चरितार्थ त्यहाँ पाइन्छ । त्यही पेसा स्वदेशमा गर्दा र विदेशमा गर्दा समाजको र व्यक्तिको हेराइमा फरक हुनाको कारण के हो ? हाम्रो शिक्षाले विदेशिने जनशक्तिलाई स्वदेशमा नै प्रयोग गर्न के गर्नुपर्ला ? आदि प्रश्नको विश्लेषणबाट सार्थक निष्कर्षमा पुग्न विलम्ब गर्नु हुँदैन ।

निर्वाहमुखी कामबाट समृद्धिको सपना साकार हुन सक्दैन । आफ्नो दैनिक जीवनचर्या टार्नको लागि आवश्यक सीमित आम्दानी मात्र हुने कामलाई निर्वाहमुखी भनिन्छ । कृषिमा आधारित वा आफ्नै उपभोगका लागि परम्परागत रूपमा गरिने कृषिजन्य वा अन्य सिमित आम्दानीका कामलाई निर्वाहमुखी श्रमको रूपमा लिइन्छ । परिवर्तित श्रम तथ्यांकसम्बन्धी परिभाषाले रोजगारीको क्षेत्रमा रहेको जनसंख्यामा नसमेटेको देखिन्छ ।

श्रम तथ्यांकमा एकरूपता, स्तरीयता र अन्तर्राष्ट्रिय रूपमा तुलनायोग्य बनाउन अन्तर्राष्ट्रिय श्रम संगठनले तय गरेको श्रम तथ्यांकको अवधारणा, परिभाषा, मापन विधिलगायत विषयमा परिमार्जन गरिनु समसामयिक काम ठहर्छ । नेपालमा रोजगारको संकटले गर्दा ऊर्जाशील युवाहरू विदेश पलायन तीव्र गतिमा भइराखेको जगजाहेर नै छ । पछिल्लो परिभाषाअनुसार रोजगारीमा रहेको व्यक्ति हुन सन्दर्भअवधिमा कम्तीमा एक घन्टा तलब वा ज्याला पाउने काम गरेको वा नाफा नोक्सान आफैँ व्यहोर्ने गरी सञ्चालित कुनै व्यवसायमा संलग्न हुनुपर्छ । रोजगारसम्बन्धी विवरणका लागि गणना दिनभन्दा ठीकअघिका सात दिनलाई सन्दर्भअवधि मानिएको छ ।

सन्दर्भअवधिमा तलब ज्याला पाउने काम वा नाफा नोक्सान आफैँ बेहोर्ने गरी सञ्चालित कुने व्यवसायमा संलग्न नभएका तर विगत ३० दिनमा तलब ज्याला पाउने काम सक्रियतापूर्वक खोजेका र त्यस्तो काम गर्न उपलब्ध भएका व्यक्तिलाई बेराजगारको परिभाषाभित्र पारिएको छ ।

कृषिप्रधान भनेर चिनिएको देश नेपालमा परम्परागत कृषि प्रणालीलाई त्यागी आधुनिकीकरणका साथै व्यावसायिकीकरण गर्न विलम्ब भइसकेको छ । ठूलो जनसंख्या कृषिमा निर्भर रहेकोले कृषि क्षेत्रलाई वैज्ञानिक प्रणालीमा लान सरकार र सरोकार पक्षले तदारुकता देखाउनु बुद्धिमानी ठहर्छ । नेपालमै सामान्य श्रम र प्रविधिको प्रयोगबाट नेपालमा नै उत्पादन गर्न सकिने कृषि उपजहरू विदेशबाट आयात गर्नुपर्ने बाध्यतालाई निरुत्साहित नगरुन्जेल समृद्धिको नारा कोरा साबित नहोला भन्न सकिन्न । वर्षेनी बेरोजगारको संख्या बढ्दो क्रममा छ । सन् २००८ मा गरिएको श्रमशक्ति सर्वेक्षणले दुई दशमलव एक प्रतिशत मात्रै बेरोजगार दर देखाएको थियो । तर सन् २०१८ मा बेरोजगारी दर ११ दशमलव ३५ प्रतिशत पुगेको छ ।

समृद्धिको गति तीव्र बनाउन निर्वाहमुखी कामबाट व्यावसायिक रोजगारतिर फड्को मार्नुको विकल्प छैन । समृद्धिको सपना साकार पार्न सर्वसुलभ व्यवसायमुखी शिक्षा पहिलो सर्त हो । मानवजीवनको चौतर्फी विकासका लागि जीवनोपयोगी शिक्षा अपरिहार्य हुन्छ । शिक्षाको प्रमुख उद्देश्य व्यक्तिको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराएर उत्कृष्टता हासिल गर्नेतर्फ उन्मुख गराउनु हो ।

सामाजिक, सांस्कृतिक, धार्मिक रहनसहन, मूल्य मान्यता पहिचान र समायानुकूल परिमार्जन तथा परिस्कृत गर्र्दै जीवनशैलीमा उतार्न सक्षम सकरात्मक नागरिक शिक्षाले उत्पादन गर्नुपर्दछ । शिक्षाले दैनिक जीवनमा आइपर्ने चुनौतीलाई सहजरूपमा सामना गर्नसक्ने सिर्जनात्मक एवं रचनात्मक प्रतिभाको विकास गर्न सक्नुपर्दछ ।

श्रमप्रति आस्था र विस्वास राख्ने लगनशील पौरखी नागरिक उत्पादन गर्नेे उद्देश्यकेन्द्रित व्यावसायिक शिक्षा नीति तथा कार्यक्रमको खाँचो खड्किएको छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x