ज्येष्ठ नागरिक : नगरौँ अपमान
काठमाडौँ । नेपाल सरकारले यस वर्षदेखि हरेक वर्ष पुस ११ गतेको दिनलाई रष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रूपमा मनाउने घोषणा गरेको छ । जसअनुसार यस वर्ष ज्येष्ठ नागरिक दिवसको नारा ‘सभ्य नागरिकको पहिचान : ज्येष्ठ नागरिकको सम्मान’ भन्ने तय गरिएको छ । सोही नारालाई केन्द्रविन्दुमा राखेर नेपालमा पनि यो दिवस ज्येष्ठ नागरिकहरूको हक, हित र सुरक्षासम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ ।
वास्तवमा जुन समाजमा ज्येष्ठ नागरिकको सम्मान र उनीहरूको अधिकारको पूर्णतः संरक्षण गरिन्छ त्यो समाज श्रेष्ठ र सुसभ्य कहलिन्छ । विकासको आधार र पूर्वसर्त पनि त्यही नै हो । ज्येष्ठ नागरिकहरूमा रहेको अमूल्य ज्ञान, सीप र अनुभवलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने र गराउने हो भने यसका लागि ठोस योजना तथा कार्यक्रमहरू ल्याउनुपर्दछ र त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्दछ । स्वतन्त्र रूपमा समाजमा आफ्नो संस्कार, संस्कृति र सीप जगेर्ना गर्दै जीविका चलाइरहेका ज्येष्ठ नागरिकको दक्षताको उपयोग, परम्परागत कला संस्कृतिको संरक्षण र पुस्तान्तरणका साथै राष्ट्रको गौरव र पहिचानमा समेत सदुपयोग गर्न सकिन्छ ।
संयुक्त राष्ट्र संघको अनुमानअनुसार विश्वमा अहिले झण्डै ९० करोडको संख्यामा ज्येष्ठ नागरिक रहेका छन् भने सन् २०५० सम्ममा यो सख्या वृद्धि भई डेढ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा कुल जनसंख्याको करिब आठ दशमलव १३ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन् । स्वास्थ्य र जनचेतनामा सकारात्मक परिवर्तनका कारण नेपालीको सरदर बाँच्ने आयु ६८ वर्ष पुगेको र सोहीअनुरूप ६० वर्षमाथिका ज्येष्ठ नागरिकको संख्यामा पनि वृद्धि हुँदै गइरहेको देखिन्छ ।
मानिसले आफ्नो जीवनको विभिन्न समयचक्र पार गर्ने क्रममा जीवनको उत्तरार्धको समयलाई ज्येष्ठ नागरिकको रूपमा लिइन्छ । नेपालमा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ अनुसार ६० वर्ष उमेर पूरा गरेको नेपाली नागरिकलाई ज्येष्ठ नागरिक मान्ने गरिएको छ । यद्यपि ६० को दशकबाट उकालो चढेपछि ज्येष्ठ नागरिक मानिए पनि बुढ्यौलीपन तब सुरु हुन्छ जब ऊ शारीरिक र मानसिक कारणबाट सिर्जनात्मक कार्य, नियमित क्रियाकलाप र जिम्मेवारी बहन र निर्वाहमा सुस्तता वा अशक्तता देखिन थाल्दछ ।
मानिस एउटा निश्चित उमेर पार गरिसकेपछि शारीरिक रूपमा कमजोर हुन्छ । उसको अंगप्रत्यंगको क्रियाशीलतामा शिथिलता आउन थाल्छ । यस्तो प्रक्रियालाई हामी वृद्धवृद्धाको अवस्था भनेर बुझ्छौँ । जुन प्राकृतिक नियम पनि हो । वृद्धावस्था भनेको जीवनको सन्धयाकालीन अवस्था हो । आफ्नो जीवनको विभिन्न कालखण्डमा अनेकन किसिमका जिम्मेवारीहरू वहन गरेर एउटा विश्राम गर्ने समय हो भने शान्ति र सद्भावका साथ थकाइ मार्ने बेला पनि हो यो । त्यसो त वृद्धावस्थामा टेकेपछि मानिसमा विभिन्न किसिमका शारीरिक र मानसिक स्वास्थ्यसम्बन्धी समस्याहरू पनि देखिने गर्दछ ।
विशेषगरी वृद्धावस्था सुरु भएपछि शरीरमा रोग प्रतिरोधात्मक क्षमता घट्दै जान्छ । त्यसमा पनि उमेरको बुढ्याइँ भन्दा मानसिक बुढ्याइँ बढी कष्टकर हुने गर्दछ । त्यसैले बढ्दो उमेरको बाबजुद मनोवैज्ञानिक रूपमा आफूलाई जोश र जाँगरको अनुभूति गर्नसके त्यसले पनि बुढ्यौली जीवनमा सकारात्मक प्रभाव पार्दछ ।
निश्चय पनि ज्येष्ठ नागरिकहरू भनेका दयाका पात्र होइनन् । उनीहरूलाई सम्मान र आदर गर्ने परिपाटी व्यक्ति, परिवार, समाज र राष्ट्रले बसाल्दै ज्येष्ठ नागरिकसँग भएका ज्ञानको भण्डारबाट व्यक्ति, परिवार, समाज र राष्ट्रले लाभ लिन सक्नुपर्दछ । ज्येष्ठ नागरिकहरू हाम्रा लागि बोझ होइनन्, बरु आर्थिक तथा सामाजिक विकासका मार्गदर्शक र प्रेरणाका स्रोत हुन् भन्ने सोचको विकास हामीमा हुनु आवश्यक छ । त्यसैले राज्यले यो उमेर समूहकालाई सम्मानित तवरले आर्थिक, सामाजिक तथा उत्पादनशील क्षेत्रमा उपयोग गर्न सके यसबाट निश्चय पनि परिवार, समाज र राष्ट्र लाभान्वित हुन सक्तछ ।
राज्यले ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको उपयोग गर्न सकिरहेको छैन भने अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरूबाट पनि यस सम्बन्धमा प्रभावकारी कार्यक्रमहरू आउन सकिरहेको पाइँदैन । त्यसैले राज्यले विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको समन्वय र सहकार्यबाट प्रभावकारी कार्ययोजनासहितका नीति तथा कार्यक्रमको तर्जुमा र तिनको सही कार्यान्वयन गर्नु आवश्यक छ ।
नेपालको संविधान, २०७२ को धारा ४१ मा ज्येष्ठ नागरिकको हक शीर्षकमा ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुनेछ’ भनी उल्लेख गरिएको छ । त्यसो त चालू पन्ध्रौँ योजनाले पनि ज्येष्ठ नागरिकहरूको जीवन सम्मानित, सुरक्षित र व्यवस्थित बनाई उनीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रले समृद्धिको लागि उपयोग गर्ने लक्ष्य लिएको छ ।
ज्येष्ठ नागरिकका लागि मासिक चार हजार भत्ता, निःशुल्क स्वास्थ्य बीमा, यातयात तथा औषधि उपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्र, सेवा प्रवाहमा विशेष प्राथमिकता दिइने नीति लिइएको पाइन्छ । तथापि कमजोर सामाजिक संरचना, राज्यको वृद्धवृद्धाहरूप्रति न्यून लगानी, सामाजिक सुरक्षाको अभाव, स्वास्थ्यमा कम पहुँच, एकल परिवारको अवधारणा, न्यून आय उत्पादन, औसत आयुमा वृद्धि, सरोकारवालाको सक्रियतामा कमी आदिजस्ता कारणहरूले गर्दा ज्येष्ठ नागरिकहरूको जीवन व्यवस्थापनमा चुनौती थपिएको छ ।
आजका युवापुस्ता नै भोलिका ज्येष्ठ नागरिक हुन् । त्यसैले अहिले युवाले आफ्ना बाबुआमालाई जस्तो व्यवहार गर्छन् भोलि उनीहरूले पनि त्यस्तै व्यवहार आफ्ना सन्तानबाट पाउन सक्छन् । यसर्थ वृद्धावस्थालाई बोझको रूपमा नभई जीवनको उत्तरार्धमा सबैले भोग्नुपर्ने अनिवार्य अवस्था हो भन्ने यथार्थतालाई परिवारका सबै सदस्यहरूले आत्मसात गर्नु पर्दछ भने राज्यस्तरबाट पनि यसको लागि उचित वातावरणको निर्माण गरिदिनु पर्दछ । यसको लािग विद्यालयस्तरमा नै ज्येष्ठ नागरिकमैत्री पाठ्यक्रम समावेश गर्ने, भएको नीति, योजना तथा कार्यक्रमको अक्षर कार्यान्वयन गर्ने वातावरण बनाउनु पर्दछ ।
ज्येष्ठ नागरिक जिउँदो इतिहासका पाना भएकाले उनीहरूको अनुभवबाट नयाँ पुस्ताले धेरै जीवनोपयोगी कुराहरू सिक्न सक्तछ । धर्म, अध्यात्म, नैतिकता र आफ्नै परम्परागत मूल्य मान्यता र सामाजिक संस्कारबाट पनि हामीले ज्येष्ठ नागरिकप्रतिको कर्तव्य र दायित्वबोध गर्न सक्तछौँ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया