Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगश्रम–सम्मानको अवधारणा

श्रम–सम्मानको अवधारणा


काठमाडौँ । राष्ट्र निर्माणको महत्वपूर्ण अभिभारा बहन गर्ने औद्योगिक समूहको विकासमा मानव पुँजीको रूपमा रहेको श्रमिक वर्गको सम्मान हुनु अति नै आवश्यक रहन्छ । जबसम्म सम्बद्ध पक्षको स–सम्मान विकासको सम्भावना रहँदैन त्यस बेलासम्म औद्योगिक संस्कृतिको विकास भएको अवस्था मान्न सकिँदैन ।

श्रमिक–औद्योगिक समूहबीचको समन्वयात्मक सहसम्बन्ध विस्तारपश्चात : निश्चित रूपमा औद्योगिकीकरणको आधारस्तम्भ तयार हुने कुरामा कुनै पनि प्रकारको द्विविधा कायम रहन सक्दैन । प्रारम्भिक चरणदेखि नै यस क्षेत्रमा न्यूनत्ता कायम रहे सम्बद्ध समूहले सकारात्मक नतिजा हासिल गर्न नसक्ने निश्चित छ । तसर्थ: सम्मानजनक संस्कार विकासको लागि औद्योगिक समूहलगायत सरोकारवाला पक्षको अविलम्ब ध्यान पुग्नु आजको प्रमुख आवश्यकता हो भन्ने गहन तथ्यलाई यस क्षेत्रमा कार्यरत जो कोहिले पनि सहजै भुल्न मिल्दैन ।

किनभने नेपाललगायत विश्वको कुनै पनि मुलुकमा कार्यरत श्रमिकको चाहना एवं इच्छाविरुद्ध कुनै पनि जोखिमले भरिएको काममा लगाउनु श्रम अधिकारको संकुचन हुने मात्र नभई गैरकानुनी कार्य समेत हो भन्न सकिन्छ । अत: कायमी संकुचित अधिकार रक्षाको लागि सकारात्मक सोचसहितको श्रम संस्कृतिको विकासको सम्भावना पहिल्याउनु श्रमको सम्मान गर्नुसरहको अवस्था हो भन्दा फरक नपर्ला ।

प्रस्तुत सन्दर्भमा नेपालको अवस्था कुन हदसम्म रहेको छ भन्ने, तथ्यलाई केलाउँदै व्यवहारतः कार्यान्वयनको पक्षमा उच्चसर्तकता अपनाउने प्रयासले यस क्षेत्रमा घनात्मक नतिजा हासिल गर्न सहयोग पुग्ने देखिन्छ ।

आफ्नो तथा पारिवारिक सुख सुविधाको चाहना पूर्तिका लागि अहोरात्र दिइएको कार्यप्रति बफादार रहने श्रमिकवर्गलाई कानुनी जटिलता तथा पारदर्शिताको अभावमा जोखिमले भरिपूर्ण कार्यमा संलग्न गराउने क्रियाकलापको विकासले केही हदसम्म औद्योगिक उत्पादकत्वमा समेत ऋणात्मक प्रभाव पार्नेछ ।

त्यसो भएको हुँदा श्रमको गुणस्तर सुधारको लागि अविलम्ब ध्यान पु-याउँदै कार्य गर्नुपर्ने हुन्छ । दक्ष श्रमिकमा तुलनात्मक रूपमा अदक्ष वा अर्धदक्षभन्दा अब्बल गतिको सीप विकास तथा दक्षता अभिवृद्धिको सम्भावना रहेकोले यसको प्रधान्यतालाई विशेष महत्वमा राखी कार्य गर्ने हो भने श्रम सम्मानसहितको उच्चगतिको प्रतिफल हासिल गर्न कुनै पनि प्रकारको कठिनाइ उत्पन्न हुने छैन ।

किनकि कामको सिलसिलामा जोखिमयुक्त समूहमा रहेका श्रमिकवर्गको उत्थान, संरक्षण तथा जीवन सुरक्षा सुनिश्चितताका लागि आवश्यक पहलकदमी गर्नसक्ने औद्योगिक वातावरणको विकासले वास्तविक रूपमा सम्मानित श्रम संस्कृतिको विकास गर्न सक्षम रहनेछ भन्ने विश्वास लिन सकिनेछ ।

प्रस्तुत कार्यको विकासले निश्चित रूपमा उत्पादकत्व अभिवृद्धि गर्न निर्णायक भूमिका निर्वाह गर्नुको साथै औद्योगिकीकरणको रणनीतिक योजना विकासको साथै श्रम सहसम्बन्धको विकासको सम्भावनालाई समेत मूर्तरूप दिने अवस्था प्रारम्भ गर्नेछ ।
जसका लागि आकर्षक योजनासहितको श्रमिक हितकारी कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्नुपर्ने हुन्छ । जसले प्रत्येक श्रमिक विशेषलाई समानताको सिद्धान्तमा आधारित रहँदै एक आपसमा अनुबन्धित गराउँदै श्रम समानताको प्रत्याभूति समेत दिलाउनेछ भन्ने विश्वास लिन सकिनेछ ।

परिणामतः श्रमिक, कामदार तथा व्यवस्थापकीय पक्षबीचको अधिकारलाई सुनिश्चिता प्रदान गर्दै उचित श्रम–सम्मान एवं प्रवद्र्धन गर्न यस प्रकार कार्य कोशेढुंगा साबित हुने देखिन्छ । तथापि समान कानुन कार्यान्वयनको गतिशीलता कायम रहँदारहँदै पनि कुनै कारणवश व्यावहारिक पक्ष फितलो रहन गएको खण्डमा आवश्यक श्रम व्यवस्थापनको क्षेत्रमा जटिलता उत्पन्न हुनगई औद्योगिक समूहभित्र द्वन्द्वात्मकताको अवस्था तयार हुने देखिन्छ ।

तदुपरान्त :  मुलुकको अर्थतन्त्रमा समेत औद्योगिक समूहको सहयोग र सद्भावको न्यूनता छाउने सम्भावना जीवन्त रहन्छ । किनकि सम्मानित श्रम संस्कृतिको विकासले मात्र उचित काम गर्ने वातावरण तयार हुनुको साथै आन्तरिक एवं बाह्य व्यावसायिक प्रतिष्ठानहरूबीचमा प्रतिस्पर्धात्मक व्यावसायिक यात्रा निर्माण गर्न सक्दो सहयोग पुग्नेछ ।

यसका अतिरिक्त नयाँ र नौलो प्रविधि तथा सोचको विकासले एकातिर उत्पादकत्वमा अभिवृद्धि गर्छ भने अर्कोतर्फ रोजगारीको परिमाणात्मक सूचकमा न्यूनताको परीस्थितिले केही हदसम्म संख्यात्मक बेरोजगारीको दरलाई वृद्धि गर्ने भएको हुँदा श्रमको उचित पुनर्मूल्यांकनको अवस्था तयार पार्नुपर्ने हुन्छ । जसका लागि औद्योगिक मानव पुँजीलाई सामाजिक रूपान्तरणको आवश्यकता पर्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।

जसको विकासले श्रम विभाजनको क्षेत्रमा उल्लेख्य सकारात्मक नतिजा हासिल गर्दै न्यूनतम श्रमको प्रयोगमा पनि उच्चत्तम औद्योगिक लाभ लिनसक्ने परिस्थितिको निमार्ण गर्नेछ । जुन साझा श्रमसम्बन्धी सिद्धान्तमा आधारित रहेको पाइछ । विशेषगरी श्रम विभाजनको विकास र व्यक्तिगत श्रमको लागि आकर्षित हुने तथा सामूहिक गतिविधिमा रमाउने पद्धतीय व्यवहारले आधुनिक प्रविधि विकासको क्षेत्रमा न्यूनता कायम रहन जाने बलियो सम्भावना रहन्छ ।

आधुनिक औद्योगिक प्रविधि विकासको ऋणात्मक प्रभावको कारण उत्पन्न हुनसक्ने बेरोजगारीलगायतका आर्थिक पक्षसँग सम्बन्धित समस्याको निराकरण गर्दै सम्बद्ध श्रमिक समूहको सम्भावित अतिरिक्त आर्थिक पक्षको उपलब्धताको बारेमा अध्ययन गरी समाधानको उपायहरू पत्ता लगाउने प्रयास गरिनेछ ।

जसका लागि श्रममैत्री अवधारणानुसार क्षमता एंव दक्षता अभिवृद्धि गर्दै सक्रिय रूपमा आर्थिक पक्ष सबलीकरणका लागि सक्दो सहयोग गर्ने अवस्था तयार पारिनेछ । यसप्रकारको कार्यको विकासको लागि न्यूनतम शैक्षिक स्तरको मूल्यांकन भने अवश्य पनि गर्नुपर्ने हुन्छ । अन्यथा मनोवैज्ञानिक रूपमा क्षमता विस्तारको सन्दर्भमा शिक्षित समूहको तुलनामा अन्य समूह पछि पर्ने हुँदा सकारात्मक नतिजा हासिल गर्न कठिनाइ उत्पन्न हुने देखिन्छ ।

प्रस्तुत प्रवृत्ति केही हदसम्म औद्योगिक विकासको लागि घातक साबित हुनसक्ने देखिन्छ । शैक्षिक वृत्ति–विकासलगायतका गतिविधिले उत्पादनशीलताको उपलब्धता कायम रहन जानेछ । उद्यमशीलताको विकासमा शैक्षिक जनशक्ति विकासले निर्णायक भूमिका निर्वाह गर्ने तथ्यलाई कुनै पनि हालतमा इन्कार गर्न मिल्दैन । तसर्थ उद्यमशीलतालाई नै औद्योगिक आर्थिक समृद्धिको मेरुदण्डको रूपमा लिँदै राष्ट्रिय अर्थतन्त्रको सुधारमा निर्णायक भूमिका निर्वाह गर्नसक्ने शक्ति विशेषको रूपमा यसको प्रभावकारी कार्यान्वयनको कार्यदिशालाई अगाडि बढाउनुपर्ने हुन्छ ।

जसले गुणस्तर सुधारमा उल्लेख्य सफलता हासिल गर्ने अवस्था प्रारम्भ गर्नेछ । परिणामतः निर्यातयोग्य वस्तु तथा सेवाको पहुँचमा अभिवृद्धि गर्दै आयात प्रतिस्थापन गर्न सहयोग पु-याउनेछ । जसलाई श्रम सम्मानले निम्ताएको महत्वपूर्ण उपलब्धिको रूपमा लिँदा त्यति फरक नपर्ला ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x