भूकम्प : बिर्सन नसकिने अवस्था
काठमाडौँ । ‘भूकम्प’ नाम सुन्नासाथ मन हल्लिन्छ । माघ २ बिर्सन नसकिने दिन जुन दिन हामी भूकम्प सुरक्षा दिवस मनाउँछौँ पनि । पछिल्लो विनाशकारी भूकम्पको दिन वैशाख १२, अनि २९ कसोकसो छ वर्ष पूरा भइसकेछ । कोरोनाको त्रास घटिसकेको छैन । त्यस्तै भूकम्पको त्रास घटेको छैन ।
पराकम्प नै भनिन्छ यही पुस २१ गते दोलखा केन्द्रबिन्दु बनाएर गएको भूकम्प चार दशमलव दुई रेक्टरस्केलमा मापन गरिएको छ । त्यसो त चार स्केल नाघेका यस्ता पराकम्पहरू ७२ पछि अहिलेसम्म पाँच सय ६० नाघिसकेका छन् । माघ २ त हरेक वर्ष आउँछ, दिवस पनि मनाइन्छ तर जन चेतना अझै छैन । भवन, घरहरू बनाइँदा माटो परीक्षण, निर्माण सामग्रीमा गुणस्तर, धेरै अग्ला भवन निर्माणमा रोकजस्ता विषय फेरि सेलाउन थालेका छन् ।
गाउँघरमा माटो कटान र असारे विकास अनि डोजर आतङ्क घटेको छैन । वर्षेनी बाढी, पहिरो भू–स्खलनको चपेटामा परेकै छ देश सधैँ । अगुल्टोले हानेको कुकर बिजुलीले तर्सन्छ भन्ने नेपाली उखान छ । चेतनाका स्वर, शब्दहरू आम सञ्चारमा सुनिन्छ, देखिन्छ तर व्यावहारिक प्रयोग न व्यक्तिबाट भएको छ न सरकारी स्तरबाटै ।
भूकम्पको घाउमा मलम लागिसकेको छैन, त्यसको लागि तयार भएको संस्था पुनर्निर्माण प्राधिकरण खारेजीमा परिसकेको छ । भनिन्छ धेरै पुनर्निर्माण सकियो । काठमाडौँको हनुमान ढोका, रानीपोखरी, धरहरा नयाँ भएका छन् । तर जस कमाउन हतारोमा उद्घाटित धरहरा साबिकभन्दा थप भई २२ तलामा देखियो, बाहिरी स्वरूप तर प्रयोगमा आएको छैन । रानी पोखरीले आफ्नो रूप लिएको छ त्यस्तै दरबार हाइस्कुलले पनि, तर नजिकै रहेको त्रिचन्द्र कलेज र घण्टाघर यसको पर्खाइमै छन् ।
अन्य धेरै ऐतिहासिक सम्पदाहरू उठेको मानिन्छ, यता भूकम्पले क्षतविक्षत पारेको र मूल केनद्रबिन्दु बनाएको गोरखा अनि नजिकको नुवाकोट क्षेत्रमा यूएनडीपी र भारत समेतको सहयोगमा ५० हजार आवासगृहहरू तयार भएको भनिएको छ । दोलखा, सिन्धुपाल्चोकलगायत अन्य क्षेत्रमा भत्केका संरचनाहरू उठेका छन् भन्नुपर्छ, उठ्लान् पनि तर बितेका मानिस उठ्दैनन्, तिनीहरूप्रति श्रद्धासुमनभन्दा अरु के गर्न सकिएला र ?
भूकम्पीय अभिलेख र त्यसको काम गर्ने प्राधिकरण खारेजीमा परेको छ तर पङ्क्तिकारको निवासजस्तै ४५ साल र ७२ को भूकम्प दुवैमा घर भत्किएको, कुनै राहतमा नपरेको अवस्था अरु कति ठाउँमा होला ? राष्ट्रिय तथ्यांकमा यसले असर पार्ला कि नपार्ला ? यसको चासो छैन भन्दा हुन्छ । अर्बौँ खर्चिएको जनगणनाको यकिन तथ्यांक आउला ? आएन भने भोलि बन्ने राष्ट्रिय नीतिमा असर पक्कै पार्नेछ ।
राजधानीलगायत देशका धेरै क्षेत्र उजाडिए भूकम्पबाट ।
गत वर्षसम्ममा भौतिक संरचना तयारी र पुनर्निर्माणमा तीन खर्ब ३९ अर्ब खर्च भयो रे । पाँच वर्षमा चार खर्ब ८८ अर्बको खर्च अभिलेख थियो । गत वर्षसम्मको खर्चमा पुनर्निर्माण प्राधिकरणको भनाइमा विद्यालय, अन्य शैक्षिक संस्था, निजी आवास, स्वास्थ्य संस्था, सम्पदा, सरकारी र सुरक्षा निकायका भवनहरू, सडक, खानेपानी आदि क्षेत्रमा ९० प्रतिशत काम सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय दातृ संस्थाहरूले चार खर्ब १० अर्बको प्र्रतिबद्धता देखाए तर सबै प्राप्त भएन । दुई खर्ब ३८ अर्बको सुनिश्चितता, गैससहरूबाट ९० अर्ब, भारत मात्रैले एक खर्बको प्रतिबद्धता देखाएको थियो तर रकम आउन ढिलो भएछ । सर्तहरू पूरा गर्नुपरेकाले यसोे भएको र आएको मध्ये ७० प्रतिशतमा घर भवनहरू बने भन्ने आधिकारिक धारणा प्रकाशमा आएको थियो ।
काठमाडौँको धरहरा पुनर्निर्माण, तला थप गर्दा आधुनिक सामानको प्रयोग भएको छ । प्राचीन र मौलिक परम्परामा अब देश कतै नरहने भयो । यसलाई विकासको संज्ञा दिइयो । नजिकै रहेको तर पुरानो अस्तित्व बोकेको हुलाक अफिस र टक्सार विभाग विस्थापित भयो । पछिल्लो ३२ वर्षे राजनीतिक परिवर्तनसँगै विस्थापित हुने विषय धेरै भए देशमा, उद्योग कल कारखाना, रेल सेवा, ट्रलिबस, साझा बस धेरै विस्थापित भए । पछिल्लो समयमा विस्थापित भएको नारायणहिटी संग्रहालय परिसरको स्वरूप पनि ।
कफी क्याफेटेरिया बनाइयो रे, हामी नयाँ स्वरूप दिन कति हतारिन्छौँ ? दरबारमार्गको जग्गा, गोकर्ण रिसोर्ट, सोलुको बेस क्याम्प, बालुवाटार भनौँ सार्वजनिक जग्गा वा भवन त देख्नै हुन्न, कता–कताबाट बिचौलियाले क्याप्चर गरिहाल्छन् । हेर्दाहेर्दै घनाबस्ती ओगटेको काठमाडौँलाई गुफाजस्तो बनाइयो । सास फेर्ने खुला ठाउँ बाँकी छैन । भूकम्प आउँदा स्थानीयहरू निस्कने टुँडीखेलसम्म अब तालाबन्दीमा परिसकेको छ । नदीको किनारा, चौर भनौँ पर्ती जग्गा कतै बाँकी छैन । मानव संकटमा एम्बुलेन्स, ट्याक्सी नछिर्ने, आगलागीमा दमकल नजाने ठाउँ काठमाडौँमा धेरै छन् । नगरपालिकाले यसमा आफ्नो गौरव सम्झेको छ । भनौँ हाम्रो भूकम्प सुरक्षाको अभियान देखावटी भएको छ ।
सरकारी, सार्वजनिक भवनहरू उठे होलान् तर निजीक्षेत्र आशालाग्दो अवस्थामा उठ्न सकेको छैन । त्यसो त त्यसबेलाको मन सम्झँदै चर्किन्छ, नगरवासीहरू आफ्नो घर, टहरा, धन सम्पत्ति छोडी खुला आकाशमुनि गए । सबैको मुटु छियाछिया भएका बखत राजधानीमै लुटपाट, चोरीका घटना, कालोबजारी पनि देखिए । राहत सामग्रीहरू सक्नेले धेरै कुम्ल्याए । नसक्नेहरू तड्पिएरै रोइरहे । राहतका लागि दाताले दिएका त्रिपालहरू व्यापारीका हातमा, निजी घरमा भेटिए ।
संसदका गन्यमान्ने व्यक्तिहरूले पनि त्रिपालहरू लिन चुकेनन् । मानवीय संवेदनशीलता कम छ हाम्रो संस्कारमा, सित्तै पाए दुवै हातले खान हामी पछि पर्दैनौँ । यो अर्को मनोदशा हो हाम्रो । देशमा परिवर्तन भयो तर रूपान्तरण भएन । राजनीतिक, सामाजिक व्यवस्था बदलियो तर अवस्था उस्तै छ । होइन, विकराल छ विदेशी ऋण अनि व्यापारघाटाको अवस्था । बिचौलियाहरू साडी, गाडी, शौचालय, महल, पद, प्रतिष्ठा फेर्ने, भुइँमान्छे या त भुइँँतिरै हराउने या विदेशतिर भाँडा माझ्ने, भएको परिवर्तन यही हो, नेपाली एक व्यक्ति जन्मँदा ५६ हजारको ऋण बोकेर जन्मिने भएको छ । उसले तिरेको करले बिचौलियाहरू रमाउने गरेका छन् ।
महाभूकम्पका कारण मुलुकको भूगोल समेत परिवर्तन भएको खबर आयो । भूकम्पपछि हिमाली क्षेत्रको उचाइ घटेको राजधानी उपत्यकालगायत पहाडी सतहको भू–भाग बढेको तथ्य सार्वजनिक भयो । वैशाख २९ गतेको दोस्रो ठूलो भूकम्पले पनि एक सय १० जनाको ज्यान लियो । त्यसै दिन धेरैवटा परकम्पनहरू भए । भोलिपल्ट वैशाख ३० मा १३ पटक, ३१ मा छ पटक र जेठ १ गते राजधानी हल्लिरह्यो । वैशाख ३१ को परकम्पन चार दशमलव एक रेक्टरस्केलमा दोलखा केन्द्रबिन्दु, पाँच रेक्टरस्केलमा काभ्रे केन्द्रबिन्दु रही भूकम्पका झड्काहरू गई नै रहे ।
राजधानीको मुख्य प्रशासनिक भवन प्रमको कार्यालय, राष्ट्रिय योजना आयोग, रक्षा, सामान्य प्रशासन, परराष्ट्र, युवा खेलकुद मन्त्रालय त्रिपालको भरमा चले । सिंहदरबार चन्द्र शमशेरले बनाएका थिए । विसं २०३० सालमा त्यहाँ ठूलो आगलागी भयो । मूल ढोकालाई बल प्रयोग गरी आगालागीबाट बचाइयो । त्यसपछि लामो समयको पुनर्निर्माणपछि तयार भएको केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार आफैँ आश्रय नपाएको महसुस गर्न थाल्यो । केन्द्रीय निकाय राष्ट्रपति भवन, नेपाल राष्ट्र बैंक, सर्वाेच्च अदालत, महान्यायाधिवक्ताको कार्यालयले आफ्नो भवनबाट कार्य सञ्चालन गर्न सकेनन् । नेपाल राष्ट्र बैंक भवन विसं १९८८ मा भीम शमशेरको पालामा बनेको र त्यहाँ एक निजी बैंकसँग सहकार्य गरी उसको भवनबाट काम चलाउने तयारी गरियोे ।
सिंहदरबार मात्रै होइन राजधानीका आधा घरहरू बस्न नहुने भए । अव्यवस्थित बसोबासका कारण सहर पहिलेदेखि नै कुरूप बनिरहेको थियो । त्यसो त विश्वकै महानगरमध्ये काठमाडौँ महानगर १ न जोखिममा छ । सिंगै मुलुक प्राकृतिक जोखिममा छ र पनि मध्यपहाडी भू–भाग उच्च जोखिममा छ । विश्वकै तुलना गर्नुपर्दा जलमा नेपाल निकै धनी छ । साथै जलजन्य बाढी र पहिरोमा ३०औँ जोखिममा पर्छ यो मुलुक । जलवायु प्रकोपले पनि यसलाई आक्रान्त नै बनाएको छ ।
जलवायु प्रकोपमा विश्वको चौथो स्थानमा छ यो । वायु प्रदूषणले गत वर्ष पुस २२, २३ गते र फागुन, चैत्र महिना आक्रान्त नै थिए । पर्यटकीय चर्चित विश्वकै राजधानी नेपालमा दुई हजार तीन सय १५ वटा हिमतालहरू छन् । कतिपय हिमतालहरू फुट्ने सम्भावनामा छन् । तराई क्षेत्रमा ४५ डिग्रीसम्मको तापक्रमले आगजनीका विपत् घटनाहरू पनि हुनेगरेका छन् । यूएनडीपीकोे अध्ययनले विश्वमा भूकम्पीय जोखिम मुलुकमध्ये नेपाल ११औँ स्थानमा छ ।
वैशाख १२ को भूकम्पबाट जोगिएका थप घर भवनहरू वैशाख २९ को भूकम्पले निल्यो । कलंकी र गोंगबु यसको उदाहरण छ । भूकम्पकै कारण वैशाख मसान्तसम्म चार लाखभन्दा बढी पूर्वधारहरू नष्ट भएको सूचना नेपाल प्रहरीले नै सार्वजनिक गरेको थियो । सरकारले दातृ निकायको गुहार माग्दा नेपालको विकास निर्माण पूर्वाधारमा पूर्ववत् फर्कन १० खर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान भयो । विदेशीहरूले सरकारी खातामा सहयोग गर्न आनाकानी गरेरै होला अर्थमन्त्रीले सरकार जननिर्वाचित हो, सुशासन र पारदर्शिता हुन्छ, सरकारको केन्द्रीय खाताबाटै राहत एवं पुनर्निर्माण कोष सञ्चालन हुनुपर्ने गरी स्पष्टीकरण दिन परेको थियो । अहिले पनि सुशासन र जवाफदेहितामा कमजोर छ देशको अवस्था ।
सहयोग चासो कम भएरै होला ०७२ जेठ १ मा संयुक्त राष्ट्र संघले एक प्रस्ताव पारित गरी सबै सदस्य राष्ट्रहरूलाई नेपालको पुनर्निर्माणमा सहयोग गर्न आह्वान गर्नुपरेको थियो । सुरुमै एक सय २७ सदस्य मुलुकहरूले नेपालप्रति सदाशयता व्यक्त गर्दै राष्ट्र संघको प्रस्तावलाई समर्थन जनाए पनि प्रतिबद्धताअनुसारको रकम देशले पाएन । र यो वर्ष त वैदेशिक सहायता अन्य विषयमा ३८ प्रतिशतले घटेको तथ्यांक सार्वजनिक भएको छ तर एमसीसीजस्तो विवादित सहयोग भने दिने लिने दुवैको हतारो छ । झल्याकझुलुक संसद् खुल्ने, बन्द हुने निजी पसलजस्तो भएको छ ।
वैशाख १२ को भूकम्पको मनोदशा खेप्नेहरू वाल, वृद्ध, स्वदेशी, विदेशी सबै भए । वैशाख १२ को ११ः५६ मध्याह्नको भूकम्पपछि पनि पराकम्पनहरू हालसम्म हजारौँ पटकसम्म गइसकेका छन् । जमिनको भूकम्पझैँ मनको भूकम्प पनि कम छैन । पराकम्पनकै कुरामा ३९ पटकपछि १३ गते अर्को ठूलोे र पटक–पटक गरी सोही दिन ५१ पटक, १४ गते १३ पटक, १५ गते आठ पटक, १६ गते पाँच पटक, १७ गते चार पटक, १८ गते सात पटक, १९ गते छ पटक, २० गते आठ पटक, २१ गते नौ पटक, २२ गते तीन पटक, २६ गते एक पटक, २७ गते चार पटकसम्म पराकम्पन भइरहेको र २७ गतेको पराकम्पनले ललितपुरका एक व्यक्तिलाई निल्नाले पूरै वैशाख महिना भूकम्पमय बनेको थियोे ।
सोही महिनाको २९ गते त अर्को ठूलो भूकम्पले सबैको सातो लियो नै । ९० सालको भूकम्प अनुभव गर्नेले ७२ घण्टासम्मको खतरा भने तर यतिबेला त्यो समयले टरेन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया