भूकम्पीय जोखिम र न्यूनीकरण
काठमाडौं । नेपालमा हरेक वर्ष माघ २ गतेको दिनलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रूपमा मनाउने गरिन्छ । सोहीअनुरूप यस वर्ष पनि २४औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस ‘सुरक्षित संरचना, भूकम्पीय सचेतना’ भन्ने मूल नाराका साथ भूकम्पीय जोखिम न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइँदै छ । प्रस्तुत छ, यसै सन्दर्भमा भूकम्पीय जोखिम र न्यूनीकरणसम्बन्धी तयार पारिएको यो संक्षिप्त आलेख ।
भूकम्प के हो त ? पृथ्वीको कुनै भू–भाग हल्लिनु अथवा पृथ्वीको कुनै सतहमा कम्पन जानुलाई भूकम्प जानु भन्ने गरिन्छ । भूकम्पलाई यन्त्रद्वारा रेक्टर स्केलमा पनि मापन गर्न सकिन्छ । भूकम्प मापन गर्ने यन्त्रलाई ‘सिस्मोग्राफ’ भनिन्छ । यसले भूकम्पको तीव्रता, उत्पत्तिस्थल, प्रभावित क्षेत्रदेखि लिएर फैलावट आदिसम्मको अभिलेख राख्दछ । सिस्मोग्राफ ग्रीक भाषाबाट व्युत्पत्ति भएर आएको हो जसको शाब्दिक अर्थ भूकम्प लेखन अथवा अभिलेखन भन्ने हुन्छ । भूकम्प मापन गर्ने यन्त्रको विकास अमेरिकी भूगर्वविद् चार्लस एफ. रेक्टरले सन् १९३५ मा गरेका हुन् । अब भूकम्प कसरी जान्छ त ? यसबारेमा पनि अलिकति चर्चा गरौँ ।
भूकम्प कसरी जान्छ ? भूगर्वविद्हरूको भनाइअनुसार भूकम्प जानुको मुख्य कारणहरूमा टेक्टोनिक हलचल, पृथ्वीको सतहमुनि भएको ज्वालामुखी विष्फोटन, पृथ्वीको विभिन्न भागमा रहेका ठूलठूला गुफा र खानीभित्र छत खस्नु आदि रहेको छ । तर वैज्ञानिकहरूबाट हालसम्म गरिएको अध्ययनबाट चाहिँ भूकम्प जानुको सबैभन्दा प्रमुख कारण टेक्टोनिक हलचल नै रहेको स्पष्ट हुन आएको छ । हामीले बसोबास गर्दै आएको यो पृथ्वी विभिन्न तहहरू मिलेर बनेको छ र त्यसमध्ये सबैभन्दा माथिल्लो तहमा हामी बस्दछौँ । हामीले बसोबास गरिरहेको पृथ्वीको यो माथिल्लो तह सबै एक नासको नभएर कहीँ पातलो र कहीँ बाक्लो किसिमको हुनाका साथै विभिन्न टुक्राहरूमा पनि विभाजित छ । जसलाई ‘प्लेटस’ भनी नामाकरण गरिएको छ । यी प्लेट्सहरू विभिन्न कारणहरूले गर्दा स्थिर अवस्थामा नरहेर विभिन्न दिशातिर सर्दै गइरहेका हुन्छन् जसलाई ‘प्लेट्स टेक्टोनिक मुभमेन्ट’ भनिन्छ ।
भूगर्वविद्हरूका अनुसार संसारमा जम्मा छवटा प्लेट विद्यमान रहेका छन् । ती हुन् अमेरिकन प्लेट, प्रशान्त महासागरीय प्लेट, अफ्रिकन प्लेट, यूरेसियन प्लेट, इण्डियत प्लेट र अन्र्टाक्टिक प्लेट । भूगर्वविद्हरूबाट भएको संसारका प्रमुख भूकम्पीय क्षेत्रहरूको अध्ययनबाट के तथ्य थाहा हुन आएको छ भने प्रायः प्रशान्त महासागरको पूरै नदीय क्षेत्रहरू भूकम्पीय प्रकोपको दृष्टिले जोखिमयुक्त रहेका छन् । यसमा उत्तर र दक्षिण अमेरिकाको पश्चिमी भाग, पूर्वी चीन, फिलिपिन्स, इण्डोनेसिया आदि पर्दछन् । त्यसैगरी पामीर गाँठोबाट विभिन्न दिशामा फैलिएको पहाडी श्रृंखलाहरूमा पश्चिमका भूमध्य सागरीय क्षेत्रदेखि क्रमशः उत्तरी भारत, बर्मा अथवा म्यानमा, थाइल्याण्ड, मलेसिया आदि पर्दछन् ।
नेपालमा भूकम्पीय जोखिम : नेपाल पनि भूकम्पीय जोखिम क्षेत्रभित्र पर्ने मुलुक हो । भूकम्पीय जोखिमको कुरा गर्नेबित्तिकै विसं १९९० सालको महाभूकम्पले मच्चाएको विनाशलीला हाम्रो मानसपटलमा आइहाल्छ । विसं १९९० साल माघ २ गते अपराह्न २ बजेर २४ मिनेट जाँदा नेपालको पूर्वी क्षेत्र चैनपुरमा केन्द्रविन्दु बनाई गएको आठ दशमलव चार रेक्टरस्केलबराबरको उक्त महाभूकम्पले पूर्वी दार्जिलिङदेखि पश्चिममा नुवाकोटसम्म र उत्तरमा ताप्लेजुङदेखि दक्षिणमा भारतको बिहार प्रान्तसम्म ठूलो क्षति पु-याएको कुरा भूकम्पीय प्रकोपसम्बन्धी अभिलेखमा उल्लेखित छ । यस महाभूकम्पले नेपालमा पुरुष तीन हजार आठ सय ५० र महिला चार हजार छ सय ६९ गरी जम्मा आठ हजार पाँच सय १९ जनाको ज्यान लिएको थियो । जसमध्ये काठमाडौँ उपत्यकामा मात्र पुरुष एक हजार नौ सय ५२ र महिला दुई हजार दुइ सय ९६ जनाको ज्यान गएको थियो । त्यस्तै यस महाभूकम्पबाट निजी घर, देवालय र पाटीपौवा गरी जम्मा दुई लाख नौ हजार नौ सय ४० वटा भौतिक संरचनाहरू क्षतिग्रस्त हुन पुगेको भूगर्वविद्हरूका बताउँछन् ।
त्यसैगरी विसं २०४५ साल भदौ ५ गते गएको अर्को विनाशकारी भूकम्पलाई पनि हामी बिर्सन सक्तैनौं । बिहान ४ बजेर ५४ मिनेट जाँदा पूर्वाञ्चल क्षेत्रअन्तर्गत उदयपुर जिल्लावरपरका क्षेत्रलाई केन्द्रविन्दु बनाई गएको छ दशमलव पाँच रेक्टरस्केलबराबरको उक्त विनाशकारी भूकम्पले सात सयभन्दा बढी व्यक्तिहरूको ज्यान लिएको थियो । विशेषगरी नेपालको पूर्वाञ्चल क्षेत्रमा ठूलो क्षति पु¥याएको उक्त भूकम्पबाट काठमाडौं उपत्यका समेत निकै प्रभावित हुन पुगेको थियो । भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालले दिएको जानकारीअनुसार भक्तपुरमा सात जना र ललितपुरको पाटनमा एक जनाको ज्यान गएको थियो । भौतिक क्षतिको हिसाबले भन्नुपर्दा भक्तपुरमा भन्दा ललितपुरमा बढी क्षति भएको थियो । समाजका अनुसार ललितपुरमा तीन सय ७६ र भक्तपुरमा दुई सय ७४ भौतिक संरचनाहरू उक्त भूकम्पबाट क्षतिग्रस्त हुन पुगेको थियो ।
त्यसपछि विसं २०७२ साल वैशाख १२ गते दिनको ठीक ११ बजेर ५६ मिनेट जाँदा गएको सात दशमलव छ रेक्टर स्केलको भूकम्पले पनि नेपालमा निकै ठूलो ताण्डब लिला मच्चायो । गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु बनाई गएको सो भूकम्पबाट गोरखालगायत सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलान्चोक, धादिङ, नुवाकोट, रामेछाप, काठमाडौं, ललितपुर, भक्तपुर, सिन्धुली, मकवानपुर, ओखलढुंगा र रसुवा गरी जम्मा १४ वटा जिल्लाहरू प्रभावित हुन पुगेका थिए ।
भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपालद्वारा हालसालै प्राप्त विवरणअनुसार विसं १९९० सालमा गएको महाभूकम्पपछिकै सबैभन्दा ठूलो मानिएको उक्त विनाशकारी भूकम्पबाट काठमाडौं, ललितपुर र भक्तपुरमा गरी जम्मा एक हजार सात ५० जना र अन्य जिल्लाहरूमा सात हजार दुई सय २० गरी कुल आठ हजार नौ सय ७० जना व्यक्तिहरूले ज्यान गुमाएका थिए । भूकम्पबाट कुल १० लाख ७२ हजार ९३ निजी घर तथा भौतिक संरचनाहरूमा क्षति पुगेको थियो । तीमध्ये सात लाख ७३ हजार ९५ घरहरू पूर्णरूपमा र बाँकी दुई लाख ९८ हजार नौ ९८ निजी घर एवं भौतिक संरचनाहरू आंशिक रूपमा क्षति भएको कुरा राष्ट्रिय भूकम्प प्रविधि समाज नेपालद्वारा हालसालै प्राप्त विवरणमा जनाइएको । समाजका अनुसार पूर्णरूपमा क्षति भएका घरहरूमध्ये एक लाख दुई हजार सात सय एक काठमाडौंमा उपत्यकामा र बाँकी उपत्यकाबाहिरका जिल्लाहरूमा रहेका थिए ।
जोखिम र न्यूनीकरणको उपाय : भूकम्पलाई विभिन्न प्राकृतिक प्रकोपहरूमध्ये सबैभन्दा भीषण प्रकोप मानिएको छ । भीषण कुन अर्थमा भने यसले ठूलठूला भवन र भौतिक संरचनाहरू मात्र नभएर समस्त मानव बस्तीलाई नै क्षण भरमै ध्वस्त पारिदिन सक्छ । साथै भूकम्पीय प्रकोपको सबैभन्दा मननीय पक्ष के हो भने यसलाई कुनै अवस्थामा पनि रोक्न सकिन्न । न त यसको भविष्यवाणी नै अहिलेसम्म गर्न सकिएको छ । यद्यपि केही जीवजन्तुहरूले भूकम्प जानुपूर्व केही संकेतहरू देखाउने बताइएको छ । जस्तो सर्पहरू जमिनमुनिबाट बाहिर निस्क्ने, कुकुरहरू एकतमासले भुक्ने, गाइभैंसीहरू बाँधेको डोरी छिनालेर गोठबाट बाहिर निस्कन खोज्ने आदिजस्ता संकेतहरू देखिने कुराहरू पनि जानकारीमा आएका छन् । तर यसको वैज्ञानिक रूपमा पुष्टि हुन भने बाँकी नै छ । जे भए पनि भूकम्पीय विनाशलाई हामी रोक्न सक्तैनौं । कति मात्र हो भने भूकम्पीय विनाशको सम्भावित क्षतिप्रति यदि बेलैमा सचेतता अपनाउने हो भने यसको जोखिमलाई भने केही हदसम्म न्यूनीकरण गर्न सकिन्छ । यसका लागि सबैभन्दा प्राथमिक कुरा हो नयाँ घरहरू निर्माण गर्दा भूकम्पीय आचार संहिता कडाइका साथ लागू गर्ने व्यवस्था मिलाउनु पर्दछ ।
यसका साथै सहरका विभिन्न भागहरूमा रहेका सार्वजनिक स्थलहरूको उचित संरक्षण–संवर्द्धन गर्ने एवं नयाँ पार्किङ स्थलहरूको निर्माण गर्दै जाने र सहरी क्षेत्रमा पर्यावरणीय सन्तुलन कायम गरेर व्यवस्थित सहरीकरणतर्फ ध्यान पु-याउनु जरुरी देखिन्छ । त्यस्तै व्यक्तिगत सुरक्षाको दृष्टिले भन्नुपर्दा भूकम्प गएको अवस्थामा घरको ढोका वा टेबुलमुनि सुरक्षित स्थानमा बस्ने । आफू सुत्ने खाट वा पलङमाथि गह्रौँ पङ्खा वा फर्निचर सकेसम्म नराख्ने । घरबाहिर सकेसम्म खुला चौरमा बस्नु राम्रो हुन्छ । सवारी साधनमा रहेको अवस्थामा त्यसलाई सडकको छेउमा रोकेर गाडीभित्रै बसिरहने । र, सबैभन्दा प्रमुख कुरा भूकम्पीय जोखिमको सम्भावनालाई मनन गरी चाउचाउ, बिस्कुट वा अन्य खानेकुरा र पिउने पानीलगायत एफएम रेडियो वा ट्रान्जिस्टर पनि आफ्नो साथमा राखिरहनु बेस हुन्छ ।
संक्षिप्तरूपमा भन्नुपर्दा भूकम्प कुनै पनि बेला जान सक्छ भनेर हामीले सन्त्रासमा बसिरहनु पर्छ भन्ने होइन । तर यसको सम्भावित विनाशबाट हुनसक्ने भौतिक र मानवीय क्षतिलाई न्यूनीकरण गर्न भने हामीले बेलैमा सजगता अपनाउनु जरुरी देखिन्छ ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया