महाकुलुङ हेरिटेज ट्रेलका लागि किन पहल नगर्ने ?
काठमाडौं । हो, यो पङ्क्तिकारले विगत लामो समयदेखि ‘महाकुलुङ हेरिटेज ट्रेल’का लागि ‘पहल गरौँ, अथवा पहन गर्नुपर्छ’ भनेर लेखिरहेको छ । तर, जस–जसले सो विषयमा गम्भीर भएर चासो लिनुपर्ने हो, पहल गर्नुपर्ने हो, उनीहरू सबै जानाजान कानमा तेल हालेर बसेका छन् भनी किन नभन्ने ?
किनभने, महाकुलुङ क्षेत्रलाई कुलुङ जातिको ऐतिहासिक भूमि, भाषा, संस्कार, संस्कृत, वेशभूषा, परम्परागत कानुन, ज्ञान, सीप, रहनसहन, मौलिक बाजागाजा, थातथलो आदि पर्यटकीय र सांस्कृतिक गन्तव्यको एक ‘हब’का रूपमा किन विकास नगर्ने ? भन्ने मेरो आशय व भनौँ ‘पेटबोली’ रहेको छ । भलै म आफू स्वयम् स्थानीय बासिन्दा (महाकुलुङको स्थायी बासिन्दा) होइन । त्यसो भए पनि म किन ‘महाकुलुङ हेरिटेज ट्रेल’ हुनुपर्छ ? सो बारेमा केही लेख्दै छु ।
विश्वका कुनै पनि जातजातिको उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ । अझ आदिवासी हुनका लागि त पहिलो सर्त नै उत्पत्ति थलो अर्थात् ‘ऐतिहासिक भूमि’ हुनुपर्ने हुन्छ । त्यसैले यहाँ उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि, वंश–परम्परा, आदि अनादि कालदेखि पूर्खाहरूले खाईखेली आएको खोलानाला, वनजंगल, अरुको भन्दा फरक र छुट्टै मातृभाषा, चाडपर्व, रहनसहन, संस्कार, संस्कृति, चालचलन, वेशभूषा, धर्म, जीवनचक्र, परम्परागत कानुन, रीतिथिति, हामी कुलुङ हौँ भन्ने भावना, आफैैभित्र (कुलुङ–कुलुङबीचमै) विवाह गर्ने प्रचलन आदि भएको कुलुङ जातिको उत्पत्तिथलो अर्थात् ऐतिहासिक भूमि ‘महाकुलुङ’का र कुलुङ जातिका बारेमा छोटकरीमा चर्चा गर्ने प्रयास गरिएको छ ।
विसं २०४६ मा आएको राजनीतिक परिवर्तनसँगै आएको खुल्लापन, सूचना, सञ्चार र विज्ञान प्रविधिको विकाससँगै बाहिरी दुनियाँमा राई (खासमा कुलुङ जाति अलग्गै भए पनि) भनी चिनिन थालेका समुदाय पनि हुन् ‘कुलुङ’ । वास्तवमा विसं २०४६ को राजनीतिक परिवर्तनअघिसम्म केही विदेशी तथा स्वदेशी खोज–अनुसन्धानकर्ता तथा लेखकहरूबाहेक धेरै कमले मात्रै ‘महाकुलुङ’ भूमि र कुलुङ जातिलाई चिन्दथे, जान्दथे भनी भन्न सकिन्छ । जतिले चिन्दथे, जान्दथे –उनीहरूले पनि राई वा कुलुङ राई भनी चिन्दथे, जान्दथे । तर, अहिले अवस्था त्यस्तो छैन । किनभने, विसं २०६८ को ११औँ राष्ट्रिय जनगणनामा कुलुङको जातिको जनसंख्या २८ हजार छ सय १३ र कुलुङ मातृभाषीको संख्या ३३ हजार एक सय ७० सहित छुट्टै जातिको रूपमा तथ्यांकमा आएको छ ।
त्यसैले यहाँ नेपालका प्राचीन जातिहरूमा पर्ने किरात महाजातिभित्रका एक जाति, कुलुङ जातिका बारेमा छोटो चर्चा गर्ने प्रयास गर्दै उनीहरूको उद्गम थलो ‘महाकुलुङ’ भूमिलाई ‘महाकुलुङ सम्पदा पदयात्रा मार्ग’ (महाकुलुङ हेरिटेज ट्रेल)को रूपमा पर्यटकीय हिसाबले विकास गर्न किन ढिला र्ने ? भनी यहाँ एक चर्चा परिचर्चा गरिएको छ । अथवा भनौँ छलफल र बहस होस् भनी केही लेख्ने जमर्को गरिएको छ । किनभने विगतमा तत्कालीन श्री ५ को सरकार तत्कालीन नेकपा (माओवादी)बीच चलीरहेको राजनीतिक द्वन्द्वकालमा रसुवामा ‘तामाङ सम्पदा पदमार्ग’ (तामाङ हेरिटेज ट्रेल) निर्माण गरिएको थियो र छ । जुन सफल पनि भएको थियो ।
जे होस्, पूरानो भगौलिक विभाजनअनुसार सगरमाथा अञ्चल (हाल १ नम्बर प्रदेश)को सोलुखुम्बु जिल्लाको उत्तर–पूर्वी क्षेत्रको छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाविसहरूलाई ‘महाकुलुङ भूमि’ भनी चिनिन्छ । कुलुङ समुदायको जीवनचक्रअनुसार यही पुस १५ गतेदेखि किराँत संवत् (यले दोङ ५०८२) सुरु भयो । कुलुङ समुदायको जीवनचक्रअनुसार पहिलो महिनाको नाम ‘चाक्चाकूर’ हो । जस्तो कि विक्रम संवतको पहिलो महिनाको नाम वैशाख भनेझैं कुलुङ जीवनचक्रअनुसार यले दोङको पहिलो महिना हो ‘चाक्चाकूर’ ।
हुन त महाकुलुङ क्षेत्रमा पर्यटकीय गतिविधि बढाउन र पर्यटनसँग जोडेर सिंगो ‘महाकुलुङ’ क्षेत्रलाई आर्थिक विकासमा समेटेर लानका लागि महाकुलुङ गाउँपालिका (गापा)को गुदेलमा आन्तरिक विमानस्थल बनाउनका लागि पहल भइरहेको छ । फलतः गत दुई वर्षअघि त्यसका लागि सर्भेको काम र स्थानीयवासीहरूका लागि पूर्वसुसूचित हुने अधिकारका लागि समेत भइसकेको छ । धेरै लामो समयसम्म सडक सञ्जालले नछोएको महाकुलुङ क्षेत्रलाई हाल कच्ची सडकले पनि छोएको छ । जे होस्, कुलुङ जातिभित्रै विभिन्न भाषिकाहरू रहेको छ । थर र उपथरहरू पनि छ । त्यस्तै ऐतिहासिक र परम्परागत भूमि छ भन्ने त माथि नै वर्णन गरिसकियो । त्यसबाहेक अरु समुदायमा आफ्नै जातिभित्र विवाहवारी गर्नका लागि थर र उपथरहरू रहेको जुन अवस्था हुन्छ । त्यस्तै कुलुङहरू पनि आफ्नै कुलुङ जातिभित्र विवाहवारी गर्ने गर्छन् । बाहिरियाहरूले स्थानीय कुलुङ बुढापाकासँग कुराकानी हुँदा उनीहरूलाई अझै पनि दोभाषे चाहिन्छ । अर्थात् गैरआदिवासीहरूसँग कुलुङ बुढापाकाहरू अझै पनि खस (नेपाली) भाषामा दोहोरो संवाद गर्न सक्दैनन् । हुन त महाकुलुङ क्षेत्रमा अझै पनि भाषा, संस्कार, रीतिरिवाज, वेशभूषा, रहनसहन, कला, संस्कृति आदि जीवित रहेको छ । तर, अभैm पनि आधुनिक विकासले भने अपेक्षित गति लिन सकेको छैन ।
महाकुलुङ क्षेत्र किन र कसरी एकल जातीय बस्ती भयो ? समाजशास्त्रीय भाषामा ‘इन्डोग्यामस’ पनि भनिने कुलुङ जातिको मात्रै एकल जातीय (हाल शेर्पा, कामी, दमै, क्षेत्री तल्लो भेगमा) बसोबास कसरी सम्भव भयो, महाकुलुङ क्षेत्रमा ?, नेपालका नृवंशशास्त्री, जातिशास्त्री, मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्री, संस्कृतिविदलगायत अन्य खोज तथा अनुसन्धानकर्ताहरूका लागि खोज–अनुसन्धान गर्नका लागि एक रोचक विषय हुन सक्छ । त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै सिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ । हाल मेसिन अर्थात् औद्योगिक युग चलिरहेको छ । हुन त हाल विश्व नै सुपर सोनिक हुँदै हाइपर सोनिक युगमा पुगेको मान्नेहरू पनि कम छैनन् । निश्चय नै विज्ञान प्रविधिले फड्को मारेकै हो, त्यसमा कसैको विवाद रहने कुरो भएन ।
तर, सुन्ने मान्छेहरूलाई (खासगरी छुत–अछूत मान्ने समाजमा हुर्केबढेकाहरूलाई) अचम्म लाग्ने विषय के हो भने, केही समयअघिसम्म कुलुङ समुदायका मान्छेहरू आफैँले आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी मालसामानहरू बनाउने गर्थे । जस्तैः शिकार खेल्न चाहिने बन्दुक, भाला आदि अनि कृषिका लागि चाहिने कोदालो, कुटो, फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरू पनि कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरूले नै बनाउँथे । जस्तै गोक्तुलु, मोरोखु, वारोखु थरका कुलुङहरूले नै त्यस्ता सामग्रीहरू बनाउँथे । तर, कुलुङ जातिमा कामकै आधारमा छुवाछूत गर्ने प्रचलन भने थिएन । हुन पनि यस पङ्क्तिकारसँगको भेटमा पहिले महाकुलुङ गुदेल गाविसको चाचालुङ बसेका र हाल बुङमा बसाइ सरेर आएका रामकाजी सेन्च्युरी (विक) आफैँले तत्कालीन गुदेल गाविसको चाचालुङ गाउँमा एक मोरोखु थर (थरलाई कुलुङहरू पाछा भन्छन्)का मान्छेले बटुका बनाएको देखेको र फलाम, तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ/लिक्खो) देखेको बताउँछन् ।
यसरी हेर्दा जसरी रसुवा जिल्लाको ब्रिदिम, थोङमेन, तातोपानी आदि क्षेत्रलाई समेटेर तामा हेरिटेज ट्रेल बनाइएको थियो, त्यसरी नै छेस्खाम, बुङ, गुदेल सत्तो (सोताङ), पावै आदि गाउँ–ठाउँहरूलाई समेटेर ‘महाकुलुङ हेरिटेज ट्रेल’ बनाउनुपर्ने देखिन्छ । बनाएर मात्रै हुँदैन, तत्कालै लागू पनि गर्नुपर्ने हुन्छ । त्यसका लागि ‘महाकुलुङ क्षेत्रका ‘कुलुङहरू’ एकजुट भएर लाग्नुपर्ने देखिन्छ । जोजो विभिन्न राजनीतिक दलमा लागेका स्थानीय र राष्ट्रियस्तरका कुलुङ समुदायका अगुवा तथा विभिन्न नेता, कार्यकर्ताहरू र कुलुङ समुदायका बुद्धीजीवीहरू, विद्यार्थीहरू र, कुलुङ समुदायका सामाजिक अभियन्ता आदि हुनुहुन्छ, उहाँहरू नै खासमा ‘महाकुलुङ हेरिटेज ट्रेल’का लागि पर्नुपर्ने देखिन्छ । पुस्तौँदेखि ‘महाकुलुङ क्षेत्र छाडेका’ हामीजस्तो अन्य क्षेत्रका ‘कुलुङ बन्धुहरूले त आफ्नो पुख्र्यौली भूमि र त्यस क्षेत्रमा बसोबास गरिरहेका हाम्रा कुलुङ पितापुुर्खा र वंशजहरूले आफ्नो जीवनशैली, आर्थिक अवस्था, शैक्षिक अवस्था र सामाजिक अवस्थामा सुधार ल्याऊन् अनि सांस्कृतिक शुद्धता कायमै राखून् भनेर कामना गर्ने हो ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया