अधिकार मात्रै कि कर्तव्य पनि ?
काठमाडौं । अधिकार र कर्तव्य एउटै सिक्काका दुईवटा पाटा हुन् । त्यसैले यी दुवैलाई एक–अर्कोसँग अलग गरेर हेर्न मिल्दैन । तथापि आजकल कर्तव्यभन्दा पनि अधिकारका कुरा धेरै चल्ने गर्दछन् । जुन व्यक्तिले समाजप्रतिको आफ्नो दायित्वलाई राम्रोसँग बुझेको हुन्छ र जुन व्यक्तिमा समाज सेवाको भावना रहेको हुन्छ त्यस्तो व्यक्तिले कर्तव्यको ख्याल गरेको हुन्छ भने आफ्नो निहित स्वार्थ मात्र बढी हेर्ने व्यक्तिले कर्तव्यलाई भन्दा पनि अधिकारलाई बढी महत्व दिन्छ र त्यस्तो व्यक्ति कर्तव्य निर्वाहमा लाग्नुभन्दा पनि अधिकारकै लागि बढी उफ्रने गर्दछ ।
निश्चय पनि जायज सवालमा आफ्नो हक, हित र अधिकारको आवाज उठाउनु नराम्रो कुरा होइन । राज्यको प्रचलित नियम, कानुन र मर्यादाको सीमाभित्र रही प्रत्यक नागरिकले आ–आफ्नो अधिकारको खोजी गर्नु बेमुनासिव होइन । तर अधिकारको खोजी गरिरहँदा हामीले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौं कि छैनौ त ? त्यसतर्फ पनि ध्यान दिनुपर्ने हो कि ? होइन अधिकारको नाममा केवल आफ्नो व्यक्तिगत वा जातीय–वर्गीय मागलाई मात्र अघि सारिरहने तर आफ्नो कर्तव्यलाई बेवास्ता गर्दै जाने हो भने यसले हाम्रो समाज र राष्ट्रलाई अघि बढाउँदैन बरु झन्झन् पछि धकेल्दछ । किनकि अधिकार र कर्तव्यको सन्तुलनबाट नै समाज र राष्ट्र पनि सन्तुलित रूपमा अघि बढ्न सक्तछ ।
हाम्रो नेपाली समाजमा एउटा अत्यन्त प्रचलित कहावत पनि छ–सेवा गरे नै मेवा पाइन्छ । यहाँ सेवाले कर्तव्यको बोध गराउँछ भने मेवाले अधिकारको । सेवा नगरी मेवा पाइँदैन । अर्थात् कर्तव्य नगरी अधिकार पाइँदैन । यसकारण नेपाली समाजमा कर्तव्यलाई पहिलो प्राथमिकता दिइएको छ । साँच्चै भन्ने हो भने दिनुमा जो आनन्द हुन्छ त्यो लिनुमा हुँदैन । हामीले बसोबास गर्दै आएको यस चराचर जगतमा पनि नदी, वृक्ष, सूर्य, चन्द्र सबै दिनकै लागि सृष्टि भएका छन् । नदीले जल दिएर, वृक्षले फलफूल दिएर, सूर्यले ताप दिएर र चन्द्रमाले शीतलता दिएर आफ्नो कर्तव्य पूरा गरेका छन् । यसबाट पनि हामीलाई के शिक्षा मिल्छ भने हामीले अधिकार र कर्तव्यको कुरा गरिरहँदा सबैभन्दा पहिले कर्तव्यलाई नै प्राथमिकता दिनु पर्दछ । आफ्नो कर्तव्य पूरा गरेपछि मात्र हामीले अधिकारको कुरा गर्न सुहाउँछ । आज विश्वमा जति पनि मुलुकहरू प्रगतिको पथमा अघि बढेका छन् तिनीहरूले पनि अधिकारभन्दा पहिला कर्तव्यलाई नै प्राथमिकता दिएको देखिन्छ । उनीहरूले पहिला म बनू भन्ने भाव कहिल्यै राखेनन् । बरु मेरो देश बन्यो भने म अवश्य बन्छु भन्ने भावना राखेर आफ्नो कर्तव्य पथमा अघि बढे जसले गर्दा उनीहरू आज उन्नतिको शिखरमा पुग्न सफल भएका हुन् ।
हुन त कतिपय मानिसको भनाई के रहेको पाइन्छ भने कर्तव्य गर्नलाई पनि त अधिकार चाहियो नि । अधिकार नै नभए कर्तव्य कसरी पूरा गर्न सकिन्छ त ? हो, कतिपय अवस्थामा हामीलाई आफ्नो कर्तव्य पूरा गर्न अथवा आफ्नो जिम्मेवारी निर्वाह गर्न अधिकार पनि चाहिने हुन सक्छ । तर प्रश्न के हो भने के कर्तव्य पूरा गर्नकै लागि अधिकार माग गरिएको छ त ? यहाँ त आफ्नो कर्तव्य पूरा गर्नको लागि भन्दा पनि अधिकारमै बढी केन्द्रित रहने र कर्तव्यको कुरा आयो भने या त जिम्मेवारीबाट पन्छिने नभए अरुलाई पन्छाउने प्रवृक्ति रहेको पाईन्छ ।
वास्तवमा हामीले अधिकारको सही प्रयोग पनि आफ्नो कर्तव्य वा जिम्मेवारी निर्वाह गरेर नै गर्न सक्तछौं । किनकि अधिकार सँगसँगै कर्तव्य पनि गाँसिएर आएको हुन्छ । यदि हामीले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक निर्वाह गर्न सकेनौं भने हामीले पाएको अधिकारको पनि कुनै अर्थ रहँदैन । त्यसैगरी हामीले आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरुको अधिकारको हनन् भयो कि भएन त्यो पनि हेर्नुपर्ने हुन्छ । अथवा हामीले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको पनि सम्मान गर्नु पर्दछ र त्यो अधिकार हामीले समाजको हितकै लागि उपयोग गर्नु पर्दछ ।
त्यसो त हाम्रो देशको सम्बिधान, २०७२ को भाग ३ मा पनि मौलिक हक र कर्तव्यका सम्बन्धमा स्पष्ट रूपमा व्याख्या गरिएको पाइन्छ । उक्त संविधानको भाग ३ अन्तर्गत धारा १६ देखि ४६ सम्म स्वतन्त्रताको हक, समानताको हक, शिक्षा, स्वास्थ्य र रोजगारसम्बन्धी हक, सामाजिक न्यायको हक, सम्पत्तिको हक, धार्मिक स्वतन्त्रताको हक, गोपनीयताको हक, सूचनाको हक, शोषण बिरुद्धको हक, भाषा तथा संस्कृति सम्बन्धी हक, स्वच्छ वातावरणसम्बन्धी हक, महिलासम्बन्धी हक आदि रहेका छन् भने सोही भागको धारा ४८ मा नागरिक कर्तव्यका बारेमा पनि स्पष्ट रूपमा उल्लेख गरिएको पाइन्छ । जस्तैः–राष्ट्रप्रति निष्ठावान हुँदै नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु, सम्बिधान र कानूनको परिपालना गर्नु, राज्यले चाहेका बखत अनिवार्य सेवा गर्नु अनि सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु भन्ने रहेको छ । त्यसैले राज्यले हाम्रो अधिकारको संरक्षण गर्दछ भने राज्यको प्रचलित ऐन कानुनप्रति बफादार र उत्तरदायी रहँदै आफ्नो कर्तव्य पनि हामीले पूरा गर्नु पर्दछ । वास्तवमा जुन कुरा गर्नु पर्दछ र गर्न सकिन्छ त्यही नै हाम्रो कर्तव्य हो ।
यसरी मानिसको हरेक सामाजिक, आर्थिक र राजनीतिक गतिविधिहरूमा अधिकार र कर्तव्य अन्तर्निहित बनेर रहेको हुन्छ । अधिकारले मानिसको स्वतन्त्रताको रक्षा गर्दछ भने प्राप्त स्वतन्त्रताको सम्मानजनक रूपमा उपयोग गर्नु पनि व्यक्तिको कर्तव्य हुन्छ । अवश्य पनि अधिकार भन्ने कुरा समाजको हितकै लागि उपयोग गरिने हुनाले यसलाई सामाजिक हित विपरित लान सकिँदैन । त्यसैले पहिले व्यक्तिगत, सामुदायिक अथवा संस्थागत तहमा आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्ने ततपश्चात् अधिकार खोज्ने गर्नु पर्दछ । किनकि कर्तव्यविहीन अधिकारको प्रयोग गर्न खोज्नु अराजक र अहंकारी प्रवृक्ति मात्र ठहरिन्छ । आज घर–परिवार अनि समाजमा जुन किसिमको अशान्ति र अर्न्तकलह देखिने गरेको छ, त्यसको एउटा मूल कारण पनि आफ्नो कर्तव्यभन्दा अधिकारतर्फ नै बढी केन्द्रित रहनाले हो भन्दा अतिशयोक्ति हुने छैन । जस्तो घर परिवारमा छोराछोरीले आफ्नो बाबुआमासँग पैत्रिक सम्पत्तिको अधिकार माग गरिरहँदा उनीहरूले आफ्नो बाबु आमाप्रति गर्नु पर्ने आदर, सेवा र कर्तव्यचाहिँ पूरा गरेका छन् कि छैनन् त ? यसतर्फ पनि हामी सबैको ध्यान पुग्नुपर्ने आवश्यकता देखिन्छ ।
त्यसैले हामीले अधिकारको कुरा गरिरहँदा एक पटक आफ्नो आत्मसमीक्षा पनि गरौं । के मैले आफ्नो देशको लागि समाजको लागि कर्तव्य पनि पूरा गरेका छु त ? यदि कसैले कर्तव्यबाट च्यूत भई केवल अधिकारको मात्र खोजी गरिहरन्छ भने त्यसले उसको निहित स्वार्थ र अहंकारी प्रवृत्तिलाई नै उजागर गरिरहेको हुन्छ । यसले कुनै व्यक्ति, वर्ग वा जाति विशेषलाई तत्काल सन्तुष्टि त मिल्न सक्ला तर यसले समग्र समाज वा राष्ट्रलाई सन्तुलित रूपमा अगाडि बढाउन सक्तैन । त्यसैले कुनै पनि एउटा जिम्मेवार नागरिकको आफ्नो समाज र राष्ट्रप्रति कर्तव्य र अधिकार दुवै रहन्छ । निश्चित रूपमा उसले अधिकारको उपयोग गर्दछ भने आफ्नो कर्तव्य वा जिम्मेवारी पनि निर्वाह गर्नुपर्ने हुन्छ ।
क्याटेगोरी : विचार / ब्लग
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
,good article