Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविद्युत् उत्पादनमा भएको उन्नति

विद्युत् उत्पादनमा भएको उन्नति


काठमाडौं । जलविद्युत्को इतिहासमा फर्पिङ जलविद्युत् आयोजना नेपालकै पहिलो जलविद्युत् आयोजना हो । यसलाई एसियाकै दोस्रो जलविद्युत् आयोजनाको रुपमा चिनिन्छ । नेपालमा सर्वप्रथम विसं २०६८ जेठ ९ गते फर्पिङ जलविद्युत् आयोजना सञ्चालनमा आएको थियो । पाँच सय किलोवाट उत्पादनबाट सुरु भएको जलविद्युत् आज लगभग एक सय १० वर्ष पार गर्दा स्वदेशी लगानीमा निर्माणसम्पन्न भएको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशीले उत्पादनको क्षेत्रमा गौरवमय इतिहास रचेको छ । यसको उत्पादनसँगै देशको उच्चमागको स्तरलाई घटाउन सहयोग पुगेको छ ।

वर्तमान गठबन्धन सरकारको छ महिनामा ऊर्जामा देखिने प्रगति भएको छ । जनतालाई प्रत्यक्षरुपमा राहत प्रदान गर्ने उद्देश्यका साथ सरकारले संविधानप्रदत्त समाजवाद उन्मुख व्यवस्थालाई कार्यान्वयन गराएको छ । वर्तमान सरकार गत असार २९ गते गठन भएको हो । सरकारमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायत दल सहभागी छन् । वर्तमान सरकार गठन भएको छ महिना पुगेको अवसरमा प्रधानमन्त्रीले आफ्नो कार्यकालमा भए गरेका सकारात्मक कामकारबाहीबारे उल्लेख गरेको आधारमा भएको उन्नति विवरण उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीले आफ्नो सम्बोधनका क्रममा देशको ऊर्जा तथा सिँचाइको क्षेत्रमा भए गरेका प्रगतिकाबारे जानकारी दिनुभएको छ । वर्तमान सरकारले झण्डै २५ लाख विद्युत्का उपभोक्तालाई निःशुल्करूपमा २० युनिट बिजुली उपलब्ध गराएको छ । चालू आवमा एक हजार ती सय मेगावाटबराबरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्यको ५० प्रतिशत छ महिनामा नै प्रणालीमा जोडिएको छ । मिस्त्री खोला ४२ मेगावाट र लिखु खोला ५२ मेगावाट विद्युत् उत्पादन राष्ट्रिय ग्रिडमा जोडिएको छ । प्रसारण लाइनतर्फ ५९ सर्किट किलोमिटर थप भएको नेपालको बिजुली भारतमा निर्यात सुरु भएको हिउँदमा झण्डै पाँच सय मेगावाट बिजुली निर्यात गर्ने गरी आवश्यक तयारी भइरहेको जनाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालका अनुसार सरकारले आफ्नो सार्वजनिक दायित्वअन्तर्गत २० युनिट बिजुली निःशुल्करुपमा उपलब्ध गराइएको यसअघि नै सार्वजनिक गरिसक्नु भएको छ । वर्तमान सरकारको प्रमुख उपलब्धिका रुपमा प्रधानमन्त्री देउवाले सो विषयलाई आफ्नो सम्बोधनका क्रममा उल्लेख गर्नुभएको हो । विद्युत्को ग्रार्हस्थ्य खपतमा २० युनिटसम्म उपभोक्तालाई महसुल छुट गरिएको छ । त्यसैगरी सिँचाइ सुविधामा विस्तार गर्नका लागि साबिकको विद्युत् महसुलमा ५० प्रतिशत कम गरी प्रतियूनिट २ रुपैयाँ कायम गरिएको छ । यसबाट कृषि क्षेत्रमा प्रत्यक्ष लाभ पुगेको छ । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकारले सिँचाइतर्फको महसुलमा आकर्षक छुट दिएको हो ।

विद्युत् उत्पादनतर्फ पनि यस वर्ष उल्लेख्य प्रगति भएको छ । सरकारी तथा निजी क्षेत्रका विभिन्न आयोजना सम्पन्न भएका छन् । सरकारले चालू आवमा एक हजार तीन सय मेगावाटबराबरको बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखेको छ । लक्ष्यको ५० प्रतिशत बिजुली वर्तमान सरकार गठन भएको छ महिनामा नै प्रणालीमा जोडिएको छ । यस अवधिमा माथिल्लो तामाकोशी चार सय ५६ मेगावाटको जलविद्युत् आयोजना पूर्णरूपमा सञ्चालनमा आएको छ । आयोजनाले व्यवसायीकरुपमा बिजुली उत्पादन गरेकाले नेपाल विद्युत् प्राधिकरणले छ महिनासम्म भारतबाट बिजुलीसमेत आयात गर्नुपरेन । त्यस्तै अन्य साना तथा मझौला आयोजनाले पनि बिजुली उत्पादन सुरु गरेका छन् । यसबाट बिजुलीमा देश क्रमशः आत्मनिर्भर बन्दै गएको छ ।

प्रसारण लाइनतर्फ ५९ सर्किट किलोमिटर थप भएको छ । त्यस्तै सरकारको निरन्तरको प्रयासका कारण विवादको केन्द्रमा रहेको सोलु कोरिडोर एक सय ३२ केभी क्षमताको प्रसारण लाइनको पनि निर्माणको कार्य सम्पन्न भएको छ । नेपालको बिजुली भारतमा निर्यात सुरु भएको छ । गत लक्षमीपूजाको दिनदेखि नुवाकोटका दुई आयोजनाको ३९ मेगावाट बिजुली भारतमा निर्यात सुरु भएको हो । आगामी हिउँदमा बिजुली निर्यात गर्ने गरी आवश्यक तयारी भइरहेको छ । त्यसका लागि आवश्यक पहल भइरहेको ऊर्जा मन्त्रालयले जनाएको छ । यस अवधिमा औद्योगिक, गार्हस्थ्य तथा विभिन्न प्रयोजनका लागि बिजुली खपतमा वृद्धि गरी निर्बाधरूपमा बिजुली आपूर्तिको व्यवस्था मिलाइएको प्रधानमन्त्रीले जानकारी दिनुभयो । सुनकोशी–मरिन डाइभर्सन, भेरी बबई बहुउद्देश्यीय आयोजना, काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाको निर्माणकार्य समयमै सम्पन्न गर्नेगरी तीव्र गतिमा काम अगाडि समेत बढाइएको उहाँले सम्बोधनका क्रममा उल्लेख गर्नुभयो ।

प्रत्येक वर्ष सरकारको नीति तथा कार्यक्रम र आवधिक योजनामा समेत यति उत्पादन गर्ने भनी कागजी र मुखौली प्रतिबद्धता व्यक्त गरे पनि उत्पादनमा उल्लेख्य वृद्धि हुन सकिरहेको छैन । सरकारको निर्दिष्ट आर्थिक योजनाको दीर्घकालीन सोचमा कमी भएको कारण नेपालको यति ठूलो विद्युतीय ऊर्जा दिनानुदिन खेर गइरहेको छ । सैद्धान्तिक रुपमा ९३ हजार मेगावाट, आर्थिक सहजीकरणका हिसाबले ४२ हजार मेगावाट उत्पादन गर्न सकिने एक अध्ययनले देखाए पनि हालसम्म सामान्य दैनिक जीवनयापनका लागि गरिएको मागलाई धान्न मात्र सफल भएको छ । आजभोलि १८ सय मेगाभन्दा बढी दैनिक विद्युतीय माग रहेको देखिन्छ यसको तुलनामा आपूर्ति कम हुँदा सर्वत्र अभाव देखिएको हो । रातको समयमा विद्युत्को मागलाई व्यवस्थापन गर्न नसक्दा मागमा कमी आई लगभग दुई करोडको विद्युत् खेर गइरहेको अवस्था छ । यसका लागि रात्रिकालीन समयमा विद्युतीय माग बढाउने रणनीति सरकारले अवलम्बन गर्न जरुरी हुन्छ ।

हाल नेपालमा पेट्रोल ६० प्रतिशत, कोइला २० प्रतिशत र विद्युतीय ऊर्जा १४ प्रतिशत प्रयोग भइरहेको छ भने अन्य ऊर्जाको हिस्सा सात प्रतिशत मात्र छ । यी ऊर्जालाई विद्युतीय ऊर्जामार्फत प्रतिस्थापन गर्दा विद्युतीय बजारले अर्थतन्त्रलाई थप सबल बनाउन मदत पु-याउँछ । पेट्रोल र कोइलालाई मात्र विस्थापन गर्नसक्दा लगभग ८० प्रतिशत आयातित इन्धन विद्युत्बाटै परिपूर्ति हुन्छ । दैनिक घर–घरमा खाना पकाउन प्रयोग गरिने ग्याँसको सट्टा विद्युत् ऊर्जा प्रयोग गरिँदा उपभोक्ताको १० प्रतिशतदेखि १५ प्रतिशतसम्म मूल्यमा बचत हुने देखिन्छ । त्यसैगरी विद्युत्लाई सवारीसाधनको ऊर्जाको रुपमा विकास गर्दा प्रतिकिलो सातदेखि १० रुपैयाँ पेट्रोलमा आउने खर्च विद्युतीय सवारीमा प्रतिकिलो एक रुपैयाँ ५० पैसा मात्र लागत आउने एक अध्ययनले देखाएको छ । विद्युतीय सवारीसाधन सुरुमा मँहगोजस्तो देखिए पनि दीर्घकालमा यसले फाइदा पु-याउने देखिन्छ ।

लामो समयसम्म लोडसेडिङमा पिल्सिएका नेपालीलाई माथिल्लो तामाकोसीले ठूलो राहत प्रदान गरेको छ । लगानीको अभाव भन्दै सरकार पन्छिन खोजे पनि सरकारसँग विद्युतीय नीतिगत योजना नै नभएको हो यसको अध्ययन अनुसन्धान गरी उत्पादन र विकासलाई प्राथमिकता दिने वातावरण नै बन्न सकेन । नेपालका खोलानाला बेचबिखन गरी विदेशीबाट उत्पादित विद्युत् खरिद गर्ने योजनामा सरकार रमाउँदा आज विद्युत् निर्यातमार्फत प्राप्त गर्ने ह्वाइट डलर नेपालले गुमाइरहेको छ । अबका दिनमा सरकारले कार्ययोजना नै बनाएर वर्षमा उत्पादन गर्ने दरलाई यसरी निर्धारण गर्दै जाने हो भने ह्वाइट डलरको खेती कठिन छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x