प्रदूषणको घेराबन्दीमा जीवन
काठमाडौं । विषय प्रवेश : विश्वको शून्य दशमलव शून्य शून्य तीन र एसियाको शून्य दशमलव तीन प्रतिशत भू–भाग नेपालले ओगटेको छ, जनसंख्या तीन करोड कम । छिमेकी चीन र भारतको जनसंख्या अर्बमाथि छ र दुवै औद्योगिक देश हुन् । नेतृत्वको अदूरदर्शिताकै कारण विश्वका ५० सहरमध्ये काठमाडौँ प्रदूषणमा पहिलो श्रेणीमा छ र उपत्यकाबाहिर फेवा, वेगनास, रूपा तालहरू समेत आक्रान्त छन् अहिले, भनौँ सबैतिरबाट हामी घेराबन्दीमा परेका छौँ । शरिरमा सिन्थेटिक सामानको अत्यधिक प्रयोग, कस्मेटिक सामानको मोह, बास्नादार अत्तरको प्रयोग, कुलर, फ्रिजर, एसी, ग्याँस गिजर जसबाट हाम्रो सिधै फोक्सो, मुटु, ब्रेनमा असर पर्नाले जीवन निरस मात्रै होइन मृत्युको सिकार पनि बनेको छ । अध्ययनले देखाएको छ, एचआईभी रोगबाट सर्नेभन्दा प्रदूषणका कारण रोग बढी छ । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा नहुँदा संसारका मानिसको औसत आयु दुई दशमलव दुई वर्षले कम भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनको भनाइमा वर्षेनी वायु प्रदूषणका कारण ७० लाख मानिसको मृत्यु हुनेगरेको छ मध्यम र न्यून आय भएका मानिसको संख्या बढी छ यसमा । अस्वस्थकर खाना, फोहोरी वातावरण, धुम्रपान अनेक समस्या छन् । गत कोप २६ ग्लास्गो सम्मेलनमा पनि यी कुरा उठेका हुन्, मानव शरीर खासगरी मुटु र फोक्सोको समस्या आज जटिल बन्दै छ । विश्व स्वास्थ्य संगठनले पीएम २ः५ को मात्रा प्रतिघनमिटर २५ सम्म सामान्य मानेको छ तर संसारभरि उसले यसलाई १० मा झार्ने प्रयास गरेको छ । हाम्रो सरकारी मापदण्ड ४० हो, जुन कार्यान्वयनमा छैन ।
हाम्रो परिदृश्य : सवारीको धुलो, धुवाँ जताततै छ, काठमाडौँलगायत अरु सहरहरू पनि मारमै छन् । विभिन्न रसायनको मिश्रण हुँदा सास फेर्ने हावा विषाक्त बन्छ । प्रदूषणले आक्रान्त छ नजिकैको सहर दिल्ली जहाँ औसत मानिसको आयु घटेको र उत्तर भारत खासगरी कोलकत्तालगायत क्षेत्र बढी जोखिममा छ । यी क्षेत्रमा बस्नेहरूको आयु नौ वर्षसम्म घटेको देखिन्छ । भारतपछि बंगलादेश र पाकिस्तान अनि नेपाल पनि पर्छ जोखिममा । सुन्दर भनिएको सिंगापुरमा समेत मानिसको आयु औसत ३ः३ वर्ष घटेको तथ्य छ, हृदयाघातका कारण धेरैले ज्यान गुमाएका छन् । अलि पर जाँदा दुई वर्षअघि अमेरिकामा ठूलो ढँढेलो लाग्यो, हालै ठूलो आँधीले न्यूयोर्कलगायत पाँच राज्यमा संकटकालको घोषणा भयो । वायु प्रदूषणले अमेरिका मात्र होइन इन्डोनेसियाको जाकार्तामा बस्नेहरूको आयु औसत छ वर्षले घटेको छ । सन् २०१६ मा संसारमा ४१ लाख मानिसको मृत्यु भएकोमा आधाआधीको मृत्यु वायु प्रदूषणका कारण हुन गयो । हाल कोरोनाले ६० लाख मानिसलाई एकै चिहान बनाएको कारण पछि खुल्ला, अहिले एकसरो खोपको अभियान मान्दै हामी फुलिरहेका छौँ, विजयी भयौँ भनेर तर खोप घातक सिद्ध हुने हो कि ? कसलाई के थाहा, यसको लामो परीक्षण त भएको होइन ।
घातक ग्याँस : वायुमण्डलमा अनेकौँ ग्याँस हुन्छ, अक्सिजनले प्राणीलाई जीवन्त बनाउने हो । प्रदूषणको मूल कारण त पेट्रोलियम पदार्थ हो, कोइला, जीवास्म इन्धन, कार्बन मोनोअक्साइड हो जसले सिधै मुटुलाई खाइदिन्छ । अक्सिजन आपूर्तिमा अवरोध गर्छ, परिवर्तित जीवनसँगै उद्योग क्षेत्र, कलकारखाना बढे, यिनमा प्रयोग हुने काठ, कोइला, पेट्रोलियम पदार्थको प्रयोगले नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड उत्सर्जन बढी भयो, यी ग्याँस रहने वायुमण्डलमै हो । कार्यस्थलमा काम गर्दा, घर, परिवार, विद्यालय आदि क्षेत्रमा खुला हावा आवतजावत भएन भने, आर्दता असामान्य हुँदा वा दाउरा, धुम्रपानको धुवाँले र भवन, घरहरका भित्तामा भएका फोहरले भोलाटाइल भन्ने अर्ग्यानिक कम्पाउन्ड निर्माण हुने गर्छ र सिधै मानव शरीर जोखिम बनाउने गर्छ । उद्योगबाट मिथेन ग्याँस पैदा हुन्छ, कार्यस्थलमा फोहोर पदार्थ जलाउने कार्य त देखिएकै हो । दिल्लीमा यस्तो बढी छ, अन्यत्र पनि छ जसले क्यान्सर रोग निम्त्याउँछ, रोग प्रतिरोधी क्षमता घट्छ, नसाको समस्या, नपुंसकता, बाँझोपन धेरै समस्या सिर्जना हुन्छ । सिमेन्टको खारले बाल, वृद्ध, दीर्घरोगीहरू सिधै मारमा पर्छन् । हामीकहाँ यी पनि हाल बढेका र आत्मनिर्भर हुन लागेको भनिएको छ । खेतबारीमा प्रयोग हुने रासायनिक मल, स्प्रे, कीटनाशक औषधि, खाद्य सामग्रीमा प्रयोग हुने रंग, विषादीलाई मानिसले सजिलै पचाउन सक्तैन, जसको प्रयोगमा वृद्धि भएको छ, र विभिन्न रोगको सिकार भएको छ ।
हावामा ग्याँस कस्तो हुन्छ ? हावामा हुने कार्बन मोनोअक्साइड भन्नु कार्बनडाइअक्साइडजस्तै हो, यो पनि रंगहीन र गन्धहीन एक ग्याँस नै हो । एक कार्बन र एक अक्सिजनबराबर कार्बन मोनोअक्साइड हुन्छ, एक कार्बन दुई अक्सिजनबराबर कार्बनडाइअक्साइड हुन्छ । श्वासप्रस्वासमा अक्सिजन लिइन्छ, कार्बनडाइअक्साइड फालिन्छ, अर्थात् इन्पुटमा एक भाग आउटपुटमा दुई भाग । बनस्पतिमा यसको ठीक विपरीत हुन्छ, तिनले अक्सिजन फाल्छन् प्राणीहरूलाई दिन्छन्, कतिपय प्राणीहरूले हामीले उत्सर्जन गरेको फोहोर खाइदिन्छन् । वातावरणमा सघाउँछन् । वात र आवरण शब्दले वातावरण हुन्छ अर्थात् वातको अर्थ हुन्छ हावा र आवरणको अर्थ हुन्छ यसको ढकनी भनौँ हावाको पनि बाह्य भाग ।
हामीले बाहिरबाट अक्सिजन लिँदा शरीरमा भएको हेमोग्लोबिनले अंगअंगमा यसलाई बोकेर लैजान्छ, भनौँ अक्सिजनभन्दा हेमोग्लोबिनको बहाब बढी सक्रिय हुन्छ । कुनै पनि इन्धन जल्दा कार्बनडाइअक्साइड बन्ने हो, श्वासमा हावा लिँदा हेमोग्लोबिनमा गएर यसले मानव कोषलाई मार्छ, बेहोसी बनाउँछ, तर खुला स्थानमा यो रहन सक्दैन । कार्बन मोनोअक्साइडले अक्सिजन पाएपछि कार्बनडाइअक्साइड बनिहाल्छ । धेरै समय कोठाभित्र राखिएका बिरामी भनौँ मर्न लागेकालाई तुलसीको मोठमा ठाउँसारी गरिहाल्नुको अर्थ पनि यही हो, कि उसले अक्सिजन राम्रो पाओस् भनेर । खुला हावामा जलेको इन्धनले कमसेकम मृत्यु नै गराइहाल्दैन । जाडो मौसममा कोठाभित्रै जल्दा वा खुला हावा नपाएर वर्षेनी हामीकहाँ धेरैको मृत्यु भएको छ । दाउरा बालेर झ्यालढोका बन्द गरेर वा हिटर, गिजरको प्रयोगले । हिजोआज अक्सिजन नपुगेकैले सिलिन्डरको प्रयोग बढेको हो । पहिले मानिसहरू जलेर, डढेर धेरै मर्थे, अहिले कार्बन मोनोअक्साइड विष बनेर धेरै मरेका छन् ।
भयभीत छ काठमाडौँ : कार्बन मोनोअक्साइडकोे मात्रा अधिक भएकाले नै आज हाम्रो वाग्मती, विष्णुमती आदि नदीहरूमा जलचरहरू छैनन्, जलचरहरू बाँच्न नसक्ने स्थानमा मानिसको बस्ती भनेको मृत्युसरह नै हो । मन्द विषको रूपमा देखिएको आजको सहर अब फटाफटगाउँ पस्न थालेको छ, पछिल्लो जनगणनाले त्यही देखायो, प्रश्नावलीमा फ्रिज, एसी समेत सोधिएको थियो । सहरको देखासिकी, सोलारभन्दा ग्याँस गिजरको प्रयोग, एसी, फ्रिज, फास्ट फुड, जंकफुडको खाना मन्द विष भएर घुम्दै छ गाउँतिर पनि । विद्युत्लाई इलेक्ट्रोलाइसिस गर्दा अक्सिजन र नाइट्रोजन छुटिन्छ, वायुमण्डलमा नाइट्रोजनको मात्रा ७९ प्रतिशत हुन्छ, हाइड्रोजन र नाइट्रोजन मिलाउँदा एमोनिया ग्याँस बन्छ ।
सिमेन्ट काराखानाबाट उत्पादित कार्बनडाइअक्साइड र नाइट्रोजन मिसाइयो भने कृषिमा प्रयोग हुने रासायनिक मल बन्छ, हिजोआज नेताजीहरूलाई यो मसला बनेको छ यसको कारखाना खोल्ने भन्ने । भनिन्छ एमोनिया ग्याँसको नेपालमा ठूलो बजार छ, एसी, फ्रिज, कुलरमा एमोनियाकै प्रयोग हुने हो । रासायनिक मलको कारखाना, प्लान्टका लागि तयारी ग्याँसको आयात गर्नुपर्छ, समस्या त फेरि उस्तै हुने हो जब कि स्वदेशको बिजुलीबाट नै यसको उत्पादन गर्न सके बेस हुन्थ्यो, यदि कारखाना स्थापना भयो भने, बिजुली हामीकहाँ छ भनिन्छ । काठमाडौँको धुवाँ, धुलो, ट्राफिक जाम, ढल निकासको समस्या, पिउने पानीको अभाव, उपत्यकालाई सरस बनाउने प्रमुख नदीहरूको अवस्था र सिमेन्टका अग्ला रुखहरूले दिन परदिन शुष्क हुँदै छ यो ।
विकीरणयुक्त धुवाँ फैलाउने इँटाभट्टाहरू हाल छैनन् तर ढुंगाखानी, क्रसर उद्योग, बिहानैदेखि यिनमा सुरु हुने धुलो र यातायातको चाप, लेलेस्थित नख्खु खोलाका क्रसरहरू, चापागाउँका ढुंगाखानीहरू, यहाँको बाटो भई गुड्ने ठूला ट्रकहरू, मेलम्चीलगायत पूर्वतिरबाट ओइरो लाग्ने यस्ता सवारीसाधनहरू देखिरहेका छौँ हामीले । क्रसरको धुलोले खोलाको पानी प्रदूषित भएको, किनारा बस्तीहरू मारमा परेका, पानीको मुहान सुकेको, वनक्षेत्र अतिक्रमण भएको र धुवाँ धुलोका कारण दम र छातीको रोग बढ्दै गएको छ । अव्यवस्थित सहरीकरण, सिमेन्टका ठूला भवन तिनबाट निस्कने प्रदूषण, स्रोतभूमि नै विषाक्त अवस्था, नदीहरूमा अक्सिजन शून्य, अन्य सहायक नदीहरूमा अब जीवन नहुनु विकराल समस्या हो । वर्षायाममा पनि यी नदीहरूमा पानी होइन ढल बग्छन् । एउटा अध्ययन प्रतिवेदनअनुसार विसं २०४७ सालसम्म कटुवालदहदेखि थापाथली पुलसम्म मात्र जलचर थिएनन् ।
र अन्त्यमा, ३१ वर्षपछि देशमा राजनीतिक ठूला परिवर्तन भए र त प्रदूषण बढेर पूरै नदीमा चलचर छैनन् । अक्सिजन नभई बाँच्ने काइरोनोमिड र ओलिजोकेड जीव मात्र यहाँ बाँकी छ । जलचर, वनस्पति र अक्सिजन नपाइने पानी प्रयोगयोग्य हुन्न र एक लिटर शुद्ध पानीमा १ दशमलव ५ मिलिग्रामसम्म एमोनिया रहेको पाइएको छ । फलतः महामारी, झाडापखाला आदिको समस्या बढी छ । सामान्यतया पिउनयोग्य एक लिटर पानीमा सात–आठ मि.ग्रा. अक्सिजन हुनु जरुरी छ तर उपत्यकामा बग्ने नदीहरूको पानीमा अक्सिजनको मात्रा शून्यप्रायः छ र त राजधानी केही समयपछि नै मृत्युको सहर हुन बेर छैन । संघीयता भएपछि त यस्तो नहुनुपर्ने थियो नि ।
वातावरण विभागकै भनाइमा पनि देशमा वायु प्रदूषण उच्च छ । त्यसो त हिउँदमा पानी नपर्दा हामीकहाँ वायु प्रदूषण बढी हुने होे । सरकारले काठमाडौँ उपत्यकाको वायुको गुणस्तर व्यवस्थापन कार्य योजना २०७६ स्वीकृत गरेको छ । विद्युतीय गाडीमा भन्सार छुटलगायत केही सहुलियतका योजनालाई अघि सारेको छ । विभिन्नखाले प्रदूषणका कारण विश्व वातावरण बिग्रँदा मानव स्वास्थ्य भनौँ आम जनजीवन संसारमै जोखिममा छ । वातावरणकै कारण मुटु रोग, स्ट्रोक, फोक्सो आदिका समस्याले वर्षेनी धेरैले ज्यान गुमाइरहेका छन् । हामीले सास फेर्ने वायुमण्डलमा आँखाले देख्न नसकिने धुलाका कणहरू हुन्छन् । यति भन्दैमा हाम्रो बेहोसीपन रहिरहनु राम्रो होइन, विदेशीले पैसा खन्याएका छन्, प्रदूषण कर पनि उठाइन्छ, कहाँ खर्च हुन्छ, थाहा छैन । विकासका नाममा मानव जीवन नै जोखिममा राख्नु हुन्न, भोलिको सन्ततिलाई पनि सोच्नुपर्ने हो, विद्युतीय सवारी प्रयोगमा जोड दिन सकिएको छैन, सरकारले दलको काम मात्रै नगरेर मतदाताको स्वास्थ्यलाई पनि ध्यान दिनु पर्छ कि ? देशै भत्किए कहाँ राजपाठ गर्ने हो ?
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
- रास्वपाले दोस्रो चरणको आन्दोलन चलाउने
- साइबर प्रविधिमा आधारित ठगीमा विद्यार्थी बढी संलग्नः राष्ट्र बैंक
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया