गैरनाफामुखी शिक्षा विकासको आवश्यकता
काठमाडौं । मुलुकको शिक्षा विकासको सन्दर्भमा मूलतः मुनाफालाई केन्द्रविन्दुमा राखी यसैको सेरोफेरोमा शैक्षिक क्रियाकलापलाई अगाडि बढाउने संस्कृतिको अभिवृद्धिले केही हदसम्म हाम्रा शैक्षिक क्षेत्र समेत विवादको घेरामुक्त हुन नसकेको मात्र हो । यद्यपि शिक्षालयहरूमा ज्ञान आर्जन गर्ने अभिप्रायले अभिप्रेरित रहँदै आउने हरेक समुदाय विशेषलाई समानता एवं सेवाभावले युक्त रहँदै शिक्षादान दिनु यथार्थमा शैक्षिक लक्ष्य समेत हो भन्न सकिन्छ । तथापि मुनाफामुखी कार्य व्यवहारको विकासले अब्बल शैक्षिक गन्तव्य निमार्णको क्षेत्रमा गतिरोध उत्पन्न गराई समस्याहरू निम्त्याउने सम्भावना रहन्छ । तसर्थ : अत्यधिक व्यवसायिकीकरणको विकास नै शैक्षिक दुर्घटनाको सम्भावना समेत रहेको हुँदा सतर्क एंव सचेत रहँदै शैक्षिक गतिविधिहरूलाई अगाडि बढाउनुपर्ने हुन्छ । विपरीत अवस्था तयार भए सम्मुन्नत शैक्षिक भविष्यको क्षेत्रमा ऋणात्मकता छाउने निश्चित छ । तसर्थ मुनाफायोग्य व्यावसायिक सोचबाट पृथक रहँदै गैरनाफामुखी सकारात्मक सोचको विकासलाई व्यवहारतः लागू गर्दा यथार्थमा सम्बद्ध क्षेत्रले उद्देश्यअनुरूपको लक्ष्य हासिल गर्ने अवस्था प्रारम्भ हुने देखिन्छ ।
अन्यथा सेवा एवं सुधारमुखी भावनाभन्दा व्यावसायिक उद्देश्यबाट अभिप्रेरित रहँदै शैक्षिक जगतलाई व्यवसायिकीकरण गर्नेतर्फ अग्रसर हुने प्रवृत्तिको विकासले मुनाफामुखी क्षेत्रको रूपमा रूपान्तरणको बलियो सम्भावना रहन्छ । जसको नकारात्मक प्रभाव भन्नु नै गुणस्तरीय शिक्षा विकासको क्षेत्रमा आम जनमानसलाई द्विविधा उत्पन्न हुने अवस्था पैदा गर्नु हो । अपवादबाहेक केही दशकयता सम्बद्ध क्षेत्रको व्यवहारलाई अध्ययन गर्दा प्रस्तुत प्रवृत्तिबाट मुलुकका शैक्षिक क्षेत्रहरू गुज्रिँदै गएको अवस्था समेत हो । केवल मुनाफालाई मात्र केन्द्रविन्दुमा राख्दा जनचाहनाअनुरूपको शैक्षिक पहुँचमा समेत न्यूनता छाउनेछ भन्दा अत्युक्ति नहोला ।
तसर्थ गुणस्तरीयता प्रदान गर्ने नाममा निजी क्षेत्रबाट सञ्चालनमा आएका शैक्षिक संघसंस्थाहरू तुलनात्मक रूपमा राज्यद्वारा सञ्चालनमा ल्याएको भन्दा राम्रा देखिएकै कारण आम–जनसमुदायको झुकाव पनि यसतर्फ नै बढी मात्रामा केन्द्रीकृत रहन गएको पाइयो । परिणामतः अत्यधिक धनराशि खर्चिएर भए पनि निजी क्षेत्रमा रहेका शैक्षिक प्रतिष्ठानतर्फ गुणस्तर विकास र विश्वसनीयता रहन्छ भन्ने मान्यताले प्रश्रय पाएको देखिन्छ । यसका बाबजुद पनि शिक्षालाई अन्य वस्तुसरह विकाउयोग्य वस्तुको रूपमा लिने संस्कृतिको विकासले निश्चितरूपमा सम्बद्ध क्षेत्रमा ऋणात्मक असर पर्ने नै छ । किनभने शिक्षा वस्तुसरह उत्पादनमुखी कारखानाबाट उत्पादन हुने वस्तु पक्कै पनि होइन भन्ने तथ्यलाई हेक्का राखी कार्य गर्ने हो भने मात्रै सकारात्मक नतिजाको अपेक्षा राख्न सकिनेछ । अन्यथा प्रत्योत्पादक साबित हुनगई शैक्षिक द्वन्द्वको सामना गर्नुपर्ने हुन्छ ।
एवं प्रकारले शिक्षालाई कुनै व्यक्ति वा समुदायले धनको अभिमानले खरिद गर्छु वा गर्न सक्नु भन्नु केवल दिवास्वप्न मात्र हो । बौद्धिक तिष्णता, मिहिनेत तथा निरन्तरको अभ्यासले मात्रै शैक्षिक ज्ञानआर्जन गर्न सकिने भएको हुँदा यसको महत्व धनसँग कुनै पनि हालतमा तुलना गर्न मिल्दैन । अतुलनीय ज्ञान शिक्षा भएकै कारण कुनै पनि शैक्षिक प्रतिष्ठानले अभिभावक वर्गलाई मुनाफामुखी ग्राहकको रूपमा हेर्न वर्तमान प्रवृत्तिलाई त्याग्दै सेवाभावबाट अभिप्रेरित रहँदै यस क्षेत्रको विकासमा लाग्नु सर्वपक्षीय हितकर कार्य मान्न सकिनेछ । वास्तवमा भन्ने हो भने, शैक्षिक ग्राहक भनेका अभिभावकहरूको समूह किमार्थ पनि हुन सक्दैनन्, यिनीहरू केवल सहयोगी यात्री मात्र हुन् भने ग्राहक भनेका त सम्बद्ध क्षेत्रमा ज्ञानआर्जनका लागि भोको रहँदै आएका प्राथमिकस्तरमा अध्ययनरत अबोल विद्यार्थी भाइबहिनीहरूको समूहलाई लिन सकिनेछ ।
जसले निरन्तररूपमा आफ्नो कर्मक्षेत्रमा अगाडी बढ्न हौसला एंव प्रेरणा प्रदान गर्दै आएको पाइन्छ । यसका अतिरिक्त सम्बद्ध संस्थाप्रति आबद्ध रहने आदरणीय गुुरुजन तथा रोजगारदाता समूहको सहयोगीभावलाई पनि कुनै पनि हालतमा अलग राख्न मिल्दैन । उक्त समुदायको सहयोग तथा सद्भावको अभावमा सुखद शैक्षिक यात्राले पूर्णता हासिल गर्न सक्दैन भन्ने मान्यता रहँदै आएको छ । जसले व्यक्ति एवं संस्थालाई एक आपसमा अनुबन्धित गर्दै शैक्षिक पारिवारिक पृष्ठभूमि तयार गर्ने दिशामा निर्णायक भूमिका निर्वाह गर्नेछ भन्दा फरक नपर्ला । प्रस्तुत कदमलाई शैक्षिक विकास तथा अब्बलता प्राप्तिको क्षेत्रमा निकै महत्वका साथ हेरिनुपर्ने हुन्छ । तसर्थ शिक्षामा गरिएको न्यूनतम लगानीको उच्चत्तम प्रतिफल प्राप्तिको चाहना राख्दै गैरनाफामुखी कार्ययोजनाको विकासको अवधारणालाई अगाडि बढाउनुपर्ने हुन्छ ।
साथै नागरिक समाजसहित सामाजिक न्यायको सिद्धान्तमा आधारित रहँदै शिक्षामा विपन्नभन्दा विपन्न वर्गको अत्यधिक पहुँच रहोस् भन्ने सुउद्देश्यअनुरूप ज्यादै नगन्य शुल्कमा गुणस्तरयुक्त शिक्षा विकासको अवधारणालाई अगाडि सार्नुपर्ने हुन्छ । प्रस्तुत कदमले शिक्षार्थीहरूको क्षमता तथा दक्षता विस्तारमा रचनात्मक सुधारको चाहनालाई यथार्थमा पूरा गर्न निकै लाभदायी सिद्ध हुने देखिन्छ । किनकि गुणस्तरयुक्त शैक्षिक सुधारले सम्बद्ध क्षेत्रको साख अभिवृद्धि गर्ने भएकाले मुनाफायोेग्य शिक्षाको स्थान शून्यप्राय अवस्था रहन जानेछ भन्दा फरक नपर्ला । जसले विशेषगरी निम्नमध्यम तथा विपन्न वर्ग लाभान्वित हुने अवसर तयार गर्ने हुँदा बृहत्तर शैक्षिक पहुँचको अवधारणाले मूर्तरूप हासिल गर्दै हरेक समुदायको शैक्षिक जनअधिकार सुनिश्चितताको प्रत्याभूति कायम गर्नेछ । यद्यपि यसप्रकार न्यून मुनाफा केन्द्रित शैक्षिक योजनाहरू कार्यान्वयन गर्न आवश्यक पर्ने स्रोतको अभावका कारण उत्पन्न हुनसक्ने सम्भावित समस्यातर्फ भने सचेत रहँदै रचनात्मक आर्थिक तथा भावनात्मक सहयोगको अपेक्षालाई भने अन्यथा लिन मिल्दैन ।
न्यून मुनाफायुक्त शिक्षा विकासको लागि गैरनाफामुखी वा परोपकारी संस्थाहरूले सम्भव भएसम्म आफ्नै सहभागिता–लगानीमा अथवा राज्यको सहयोगको अपेक्षा राख्ने गरेको देखिन्छ । किनकि सम्बद्ध संस्थाको विकासमा निसन्देह राज्यको प्रत्येक्ष वा परोक्ष निगरानी भने रहेकै हुन्छ । अर्कोतर्फ मुनाफा प्रयोजनार्थ उद्यत रहने समूहले विभिन्न प्रकारको प्रलोभन तथा विज्ञापन आदिको माध्यमबाट शिक्षालाई आकर्षणयोग्य बनाउँदै वस्तुसरह बिक्री गर्न खोज्ने रणनीतिक योजनाको कारण यदाकदा समस्याहरू उत्पन्न हुनेगरेको मात्र हो । तसर्थ गुणस्तरको कसीमा शिक्षालाई मापन गर्दै गैरनाफामुखी कार्ययोजनालाई शैक्षिक विकासको मूलमन्त्र मान्दै व्यवहारमा उतार्नु आजको आवश्यकता हो ।
शैक्षिक क्षेत्रलाई व्यावसायिक प्रतिष्ठानको अभिन्न अंगको रूपमा हेरिनुभन्दा पनि गैरनाफामुखी एवं सेवाभावले अभिप्रेरित संस्थाको रूपमा हेर्ने संस्कृतिको विकास हुनु लाभप्रद देखिन्छ । जसका लागि लोकतान्त्रिक राज्यव्यवस्थाको सल्लाह, सुझाव र सद्भावको सदैव अपेक्षा रहिरहनेछ । किनभने विश्वका कतिपय मुलुकहरूमा निःशुल्क शिक्षाको अवधारणालाई व्यवहारमा लागू गरिएको हुँदा राज्यको तर्फबाट गरिएको शैक्षिक लगानीलार्ई कुनै पनि हालतमा न्यून मूल्याकन गर्न मिल्दैन ।
यसका अतिरिक्त विश्वमा महामारीले सताएको वर्तमान परिस्थितिको उच्च मूल्यांकन गर्दै नाफामुखी शैक्षिक विकासलाई गैरनाफामुखी शैक्षिक गन्तव्यको रूपमा रूपान्तर गर्ने सिलसिलामा कायम रहँदै आएको प्रविधिमुखी शैक्षिक विकासलाई मुलुकभरि नै सञ्चालनमा ल्याउन सक्ने वातावरणको विकास गर्नसके शिक्षाको पहुँचबाट कुनै पनि समुदायले अलग रहनुपर्ने थिएन भन्दा फरक नपर्ला ।
इन्टरनेटजन्य सेवा प्रदायलाई दूरदराजमा अवस्थित विद्यालयहरूमा समेत निःशुल्करूपमा वितरण तथा उपभोग गर्नसक्ने सफल योजनाको विकासमा सरोकारवाला पक्षको अविलम्ब ध्यान केन्द्रित रहनुपर्ने हुन्छ । जसको लागि विद्यालयहाताभित्रको संकुचित परिवेशमा मात्र सीमित नरही घर–घरमा समेत पु-याउन सक्ने परिस्थितिको निर्माणमा यथाशक्य सहयोगको अपरिहार्यतालाई मनन गर्दै व्यवहारतः लागू गर्नु गैहनाफामुखी शिक्षा विकासको रणनीतिक कार्ययोजना मान्न सकिनेछ । आजको युग भनेको भौतिक समुपस्थितिको अतिरिक्त प्रविधिमैत्री अवधारणाको पूर्ण विकासमा आधारित रहँदै शिक्षा आर्जन तथा पहुँचको अभिवृद्धि नै लोककल्याणकारी राज्यको शैक्षिक रणनीतिको सही मार्गचित्र बन्न सक्ने तथ्यलाई अन्यथा लिन मिल्दैन ।
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
- पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- देशभरका मालपोत कार्यालयले उठाए दुई अर्ब ७० करोड राजस्व
- तनहुँ बस दुर्घटनाः बस चालकको मृत्यु
- परिवार नियोजन सङ्घको केन्द्रीय अध्यक्षमा डा श्रेष्ठ निर्वाचित
- रवि लामिछानेविरुद्ध काठमाडौँबाट पक्राउ पुर्जी जारी
- राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतको शपथ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया