धर्म र विज्ञानको अन्तरसम्बन्ध
काठमाडौं । धर्म र विज्ञानको सन्दर्भमा चर्चा गर्दा यी दुई पक्षबीच बेलाबखत विपरीत किसिमका धारणाहरू अभिव्यक्त हुनेगरेको हामी पाउँछौं । जस्तो विज्ञानका पक्षधरहरू खासगरी जो आफूलाई अलि बढी आधुनिक ठान्ने गर्छन् र भन्छन् । आजको युग त विज्ञानको युग हो । विज्ञानले मानिसलाई कहाँबाट कहाँ पु-याइसक्यो । विज्ञानकै चमत्कारले गर्दा मानिस चन्द्रमामा समेत पाइला टेक्ने भइसक्यो । टेलिभिजनको आविष्कारले गर्दा मानिस घरमै बसेर संसार देख्न सक्ने भइसक्यो । सूचना प्रविधिको विकासले गर्दा सिंगो विश्व ग्लोबल भिलेजमा परिणत भइसक्यो । त्यसमा पनि ईमेल र इनटरनेटको विकासले गर्दा घरकै एउटा सानो कोठामा बसेर हामी विश्वको कुना–कुनामा सन्देश आदानप्रदान गर्नसक्ने भइसकेका छौं । यस्तोे जमानामा पनि धर्मकर्मको कुरा गरेर समय खेर फाल्नु हुन्छ ? यी त पुरातनवादीले गर्ने कुरा हुन् ।
त्यस्तै धर्म र अध्यात्मका पक्षधरहरू भन्ने गर्छन् । विज्ञानले त विनाशै पा¥यो नि । खालि भौतिक सुखसुविधाको पछि लागेको छ । जताततै लोभाचार–पापाचार बढिरहेको छ । मानिसमा सुख शान्ति भनेको छैन । जताततै तनाव र चिन्ता छ । न रातमा निद छ, न दिनमा चयन छ । मानिसलाई दुई घण्टा राम्रोसँग निदाउन स्लिपिङ ट्याबलेट खानुपर्ने अवस्था भइसक्यो । विज्ञानले भौतिकरूपमा विश्वलाई साँघुरो तुल्यायो भनिन्छ । तर भावनात्मक रूपमा मानिस–मानिसबीचको दूरी झन्झन् बढ्दै गइरहेको छ ।
यस्ता अभिव्यक्तिहरू सुन्दा कहिलेकाहीं हामी असमन्जसमा पर्ने गर्छौं । सुन्दा दुवै कुरा आ–आफ्नो ठाउँबाट ठीकैजस्तो पनि लाग्छ । कुन सही, कुन गलत हामीलाई छुट्याउन गाह्रो पर्छ । तर जुनसुकै कुरामा पनि सकारात्मक र नकारात्मक पक्ष हुन्छन् । त्यो धर्म र विज्ञानमा पनि छ । हो, विज्ञानले हाम्रो जीवनलाई अत्यन्त सरल र सुगम तुल्याइदिएको छ । विज्ञानकै चमत्कारले गर्दा हिजो मानिसको लागि असम्भव र काल्पनिक ठानिने कतिपय कुराहरू आज सम्भव र यथार्थमा परिणत हुनपुगेका छन् । तर विज्ञानले उपलब्ध गराएका कतिपय भौतिक सुविधाहरूले मानिसलाई अल्छी र विलासी पनि त बनाइदिएको छ नि । जसले गर्दा उसले आफ्नो मानवीय मूल्य र मान्यताहरूलाई समेत बिर्सँदै गएको हो कि भन्ने महसुस हुन थालेको छ । विज्ञानकै देनस्वरूप ठूल–ठूला बम र बारुदको आविष्कारले गर्दा सिंगो मानव समुदाय आज डर र त्रासमा बाँच्नु परिरहेको अवस्था पनि छ ।
त्यस्तै धर्मको मूल आशय पनि मानव हित र कल्याण गर्नु नै हो । तर धर्मको आड लिएर आफ्नो अहम् देखाउने र धर्मलाई आफ्नो स्वार्थअनुकूल व्याख्या गर्ने प्रवृत्तिले गर्दा धर्मको नाममा विश्वमा ठूल–ठूला साम्प्रदायिक युद्धहरू पनि भएका छन् । धर्मकै नाममा हामी बेलाबखत नरबली समेत हुने गरेको घटनाहरू सुन्ने गर्दछौं । त्यसो त धर्मकै नाममा विभिन्न मठ–मन्दिरहरूमा निरीह प्राणीहरूको बली चढाउने प्रथा त हाम्रो समाजमा अहिले पनि चलिरहेकै छ ।
त्यसैले धर्म होस् वा विज्ञान । दुवैमा सकारात्मक र नकारात्मक पक्षहरू छन् । मुख्य कुरा यसका अन्तरनिहित सारतत्वलाई हामीले आफ्नो जीवनमा कसरी ग्रहण गरिरहेका छौं, त्यो महत्वपूर्ण कुरा हो । यसको लागि हामीले धर्म र विज्ञानमा भएका सकारात्मक पक्षलाई सदुपयोग गरी मानवहितमा लगाउने र यसमा भएका नकारात्मक पक्ष र कमीकमजोरीलाई हटाउने वा सुधार गर्दै जाने अभ्यास गर्नु पर्दछ । हामीले यदि यस्तो अभ्यास गर्दै जाने हो भने धर्म र विज्ञानबीच अत्यन्त घनिष्ठ सम्बन्ध रहेको पनि हामी पाउँछौं । जस्तो धर्मले हामीलाई सबैप्रति सद्भाव राख्ने र सकारात्मक सोच राख्ने शिक्षा दिन्छ । त्यस्तै विज्ञानले पनि सकारात्मक सोचमै जोड दिएको पाइन्छ । किनकि सकारात्मक सोच राख्नाले हाम्रो मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक असर पर्छ । यसबाट हामी मानसिक र शारीरिक रूपमा स्वस्थ भई बढी मिहिनेत गर्न सक्छौं र बढी मिहिनेत गर्नाले निश्चितरूपमा जीवनमा सफलता हासिल गर्न सकिन्छ । त्यस्तै धर्मले हामीलाई आध्यात्मिक साधनाको लागि आफ्नो शरीर स्वस्थ राख्नुपर्छ भन्ने शिक्षा दिएको छ । विज्ञानले पनि स्वास्थ्य नै धन हो भनेको छ । धर्ममा हामीले हासिल गरेको आध्यात्मिक ज्ञान र चेतनालाई व्यवहारमा नउतारेसम्म त्यसको खासै अर्थ नरहने र यसको लागि हामीले निरन्तर साधनारत रहनुपर्ने कुरा सिकाएको छ । विज्ञानमा पनि आफूले पढेका सैद्धान्तिक कुरालाई व्यवहारमा नउतारेसम्म त्यसको कुने उपलब्धि हुँदैन । र, यसको लागि लामो अध्ययन अनुसन्धान गर्नुपर्ने हुन्छ । धर्मले हामीलाई ज्यादा क्रोध गर्नु हुँदैन भन्ने सिकाउँछ ।
त्यस्तै वैज्ञानिक अध्ययनले पनि ज्यादा क्रोध गर्ने अनि ईर्ष्या डाह गर्ने व्यक्तिलाई उच्च रक्तचाप र मुटुको रोगले आक्रमण गर्नसक्ने देखाएको छ । धर्मले हामीलाई भान्छामा जाँदा लुगा फेरेर जानुपर्ने, कोठा वा मठमन्दिरमा प्रवेश गर्दा जुत्ता फुकाल्नुपर्छ भनेको छ । विज्ञानले पनि हामीले बाहिर लगाएर हिँड्ने लुगामा विभिन्न हानिकारक जीवाणुहरू टाँसिएर रहने हुनाले यसो गर्नु उपयुक्त भएको बताएको छ । हिन्दु धर्ममा हामी गाई पाल्छौं । गाईलाई लक्ष्मीको रूपमा पूजा समेत गर्छौं । किनकि गाईले हामीलाई दुध दिन्छ । गाईको दुध स्वास्थ्यको लागि अमृतसरह मानिन्छ । विज्ञानले पनि गाईको दुधमा मानिसलाई चाहिने सबै प्रकारको पौष्टिक पदार्थ पाइने कुराको पुष्टि गरेको छ । यहाँसम्म कि गाईको गोबर पनि हाम्रो गाउँघरमा लिपपोतको लागि प्रयोग गरिन्छ र यो मलको रूपमा खेतबारीमा लगाउने, गुइँठा बनाएर पकाई–तुल्याई गर्नको लागि समेत प्रयोग गरिन्छ । विज्ञानले पनि गाईको गोवरमा हानिकारक जीवाणु नष्ट गर्ने तत्व निहित रहेको प्रमाणित गरेको छ ।
त्यस्तै हिन्दु धर्ममा पीपल र तुलसीको बोटलाई भगवानको रूपमा पूजा गर्ने चलन छ । वैज्ञानिक रूपमा पनि यस्ता वनस्पति मानव स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुने पुष्टि भएको छ । सामान्यतया अन्य बोट बिरुवाले बिहान कार्बनडाइअक्साइड लिएर अक्सिजन फाल्ने र राति अक्सिजन लिएर कार्बनडाइअक्साइड फाल्ने गर्दछ । तर पीपलको रुखले हामीलाई राति पनि अक्सिजन दिने गर्दछ । त्यस्तै तुलसीको बोट पनि मानव स्वास्थ्य र वरपरको वातावरण स्वच्छ राख्न अत्यन्त फाइदाजनक भएको विज्ञानले पुष्टि गरिसकेको छ । धर्मले हामीलाई कुनै पनि प्राणीको हत्या हिंसा गर्नु हुँदैन भन्छ । त्यस्तै विज्ञानले पनि पर्यावरणीय प्रणाली सन्तुलित राख्न जीवजन्तुहरूको संरक्षण गर्नुपर्ने खाँचो औंल्याएको छ । हामी मठ–मन्दिरमा पूजापाठ आरती गर्दा शंख बजाउने, घण्टा बजाउने गर्छौं । यसरी शंख बजाउँदा श्वासप्रश्वासको लागि अत्यन्त हितकर हुने र घण्टा बजाउँदा पनि टाढाटाढासम्मको हानिकारक जीवाणहरू समेत नष्ट हुने कुरा विज्ञानले पुष्टि गरेको छ ।
यस्ता अनेकन उदाहरणहरू हुन सक्छन् जसले धर्म र विज्ञानलाई परस्पर विरोधीको रूपमा नभई एक आपसमा अन्तरसम्बन्धित बनाएको छ । त्यसैले मुख्य कुरा के हो भने विज्ञानका उपलब्धिहरूलाई दुरूपयोग हुन नदिई यसलाई मानव कल्याणमा लगाउन हामीलाई आध्यात्मिक ज्ञान र चेतनाको आवश्यकता छ भने धर्मका नाममा गरिने अन्धविश्वास र रुढीवादी प्रवृत्तिलाई हटाउन पनि हामीलाई वैज्ञानिक सोच र चिन्तनको खाँचो पर्दछ । यिनै कुराहरूलाई मनन गरेर यदि हामीले धर्म र विज्ञानलाई एक–अर्काको परिपूरकको रूपमा आफ्नो जीवनमा अंगीकार गर्न सक्यौं भने आवश्य पनि हामी आफ्नो जीवनलाई सुखी र सार्थक तुल्याउन सक्नेछौं अनि सिंगो समाजलाई एउटा सकारात्मक दिशातर्फ डोहो-याउन सक्नेछौं । (लेखक नास्टका सेवा निवृत्त वरिष्ठ प्रवर्द्धन अधिकृत हुन् ।)
क्याटेगोरी : विचार / ब्लग
ताजा अपडेट
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
- राष्ट्र बैंकले एक वर्षमा कमायो ७३ अर्ब ७६ करोड सरकारलाई ३७ अर्ब दिने
- ‘शंकास्पद कारोबारमा विद्यार्थीको संलग्नता बढी देखियो’
- मानव तस्करीमा राज्यका दुई विशिष्ट पदाधिकारी: एक जेलमा अर्का पदमा !
- कर्णालीमा आठ पदमा ४४ उम्मेदवारको मनोनयन दर्ता
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया