व्यापारघाटा चुलिएको अर्थतन्त्र
काठमाडौं । नेपालमा हाल सार्वजनिक ऋणको ब्यारोमिटर उच्च रहेको छ । देशमा वर्तमान सरकारले नेतृत्व सम्हाल्नुअघि अर्थात् आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा राष्ट्रको कुल ऋण १७ खर्ब २९ अर्ब पुगेको थियो । यसरी विगत चार वर्षमा सार्वजनिक ऋण डेढ सय प्रतिशतले बढेको भन्ने सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ रहेको पाइन्छ । यसको साथसाथै आर्थिक वर्ष २०७३/७४ मा कुल तिर्न बाँकी सार्वजनिक ऋण छ खर्ब ९८ अर्ब रुपैयाँ थियो । यो सोही अवधिको कुल गार्हस्थ्य उत्पादनको २२ दशमलव ७ प्रतिशत हो । त्यसरी नै गत आर्थिक वर्ष २०७७/७८ मा तिर्न बाँकी सार्वजनिक ऋण जीडीपीको ४० दशमलव ५ प्रतिशत पुगेको छ ।
यसलाई सरसर्ती हेर्ने हो भने जीडीपीका हिसाबले यो हालसम्मकै उच्च अंक हो । यसमा भन्ने हो भने विगत सरकारले अनुत्पादक क्षेत्रमा धेरै रकम खर्च गरेकाले कारणले गर्दा सार्वजनिक ऋण बढेको हो भनेर धेरै अर्थ विश्लेषकहरूले बताउँदै आएका छन् । फलतः भन्सार विभागको पछिल्लो तथ्यांकले साउनदेखि माघ मसान्तसम्म ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँको आयात भएको छ । यही अवधिमा निर्यात भने एक खर्ब ३१ अर्ब ६५ करोड मात्र रहेको छ । निर्यातभन्दा आयात बढी भएपछि व्यापारघाटा उच्च भएको छ । सात महिनाको अवधिमा मुलुकको व्यापारघाटा दश खर्ब रुपैयाँभन्दा बढी भएको देखिएको छ । गत आर्थिक वर्षको यही अवधिमा यो व्यापारघाटाको आँकडा आठ खर्ब रुपैयाँभन्दा केही बढी थियो । मुख्यतया पट्रोलियम पदार्थ डिजेल, पेट्रोल तथा खाना पकाउने एलपीजी ग्याँस आयातमा उच्च हुँदै गएको छ । यो सात महिनाको अवधिमा एक खर्ब ४० अर्बभन्दा बढी रुपैयाँको इन्धन आयात भएको छ । यसरी वर्षेनी पेट्रोलियम पदार्थको आयात बढिरहेको छ ।
जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारको रुपमा रहेको कृषि नेपालको अर्थतन्त्रको एक प्रमुख क्षेत्रको रूपमा रहँदै आएको छ । कृषिको आधुनिकीकरण र व्यवसायीकरणबाट मात्र कृषिलाई उत्थानशील अर्थतन्त्रको प्रमुख आकारको रुपमा विकास गर्न सकिन्छ । देशमा दुई तिहाइ जनता अझै पनि कृषि पेसामा संलग्न छन् । विडम्बना के रहेको छ भने कृषिप्रधान देशमा कृषिजन्य वस्तुको आयात उच्चदरमा बढिरहेको छ । चालू आर्थिक वर्षको छ महिनामा घिउ, तेल र पशुजन्य वस्तुमा ७८ अर्ब रुपैयाँको आयात भएको छ । सो अवधिमै ४२ अर्बको खाद्यान्न आयात भएको छ । त्यसमा पनि २७ अर्बको त चामल मात्र आयात भएको छ ।
यसरी कृषिजन्य वस्तु आयात बढ्नुमा बेमौसमी वर्षाका कारणले गर्दा पाँच लाख टन धान उत्पादनमा कमी आएकाले हो भन्ने सरकारी दाबी छ । यो दाबीमा आंशिक सत्यता रहे पनि पूर्ण विश्वास गर्ने ठाउँ कम छ । नेपाल सरकारको भन्सार विभागको तथ्यांकअनुसार मुलुकले व्यापार गर्ने एक सय ४८ देशमध्ये २४ देशसँग मात्रै हाम्रो व्यापार नाफामा रहेको छ । यसर्थ २४ राष्ट्रमध्ये पनि चारवटा राष्ट्रसँगको व्यापार नाफा करोडमा छ भने अन्य बाँकी राष्ट्रको व्यापार नाफा केवल लाखमा मात्र सीमित रहेको छ । यसरी पछिल्लो दुई दशकको अवधिमा मुलुकको सार्वजनिक ऋण जीडीपीको २० प्रतिशतको हाराहारीमा थियो तर दुई/तीन वर्षयता ऋण ह्वात्तै बढेर ४० प्रतिशतको हाराहारीमा पुगेको छ । अर्थतन्त्र कमजोर भएको बेला ऋण धेरै तिर्नु पनि घातक हुन्छ । हाल हाम्रो सार्वजनिक ऋण प्रत्येक नेपालीको टाउकोमा ५६ हजार आठ सय ४२ पुगेको छ । जुन भोलिका दिनमा अझ बढ्ने निश्चितप्रायः छ । यसप्रति शासकले बेलैमा सचेत रहनुपर्ने देखिन्छ ।
नेपालको पछिल्लो समय व्यापारघाटा अस्वाभाविकरूपमा बढेको छ । चालू आर्थिक वर्ष २०७८/७९ को ६ महिनाको अवधिमा व्यापारघाटा बढेर आठ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । यसलाई अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापारघाटा ४६ दशमलव ६४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा व्यापारघाटा जम्मा छ खर्ब ४४ करोड ६१ लाख ८१ हजार रुपैयाँ थियो । सो विभागका अनुसार कुल सञ्चालनमा रहेका २४ नाकामध्ये मुख्य पाँचवटा नाकाबाट मात्रै ८० प्रतिशत बढी आयात निर्यात हुनेगरेको छ ।
भन्सार विभागले प्रकाशित गरेको चालू आवको बितेका ६ महिना साउनदेखि पुससम्मको अवधिमा वीरगन्ज, भैरहवा, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, विराटनगर भन्सार र वीरगञ्ज सुक्खा बन्दरगाह भन्सार नाकाहरूबाट सबैभन्दा धेरै सामान तथा वस्तुहरू आयात र निर्यात भएको थियो । जसले गर्दा बढ्दो उपभोग प्रवृत्ति तथा आर्थिक गतिविधिका कारण वस्तु आयात उच्चदरमा बढेपछि व्यापारघाटा चुलिएको हो । गत आर्थिक वर्षको छ महिनामा भएको कुल निर्यातको तुलनामा ५४ दशमलव ८६ प्रतिशत अर्थात् एक खर्ब १८ अर्ब १८ करोड रुपैयाँको वस्तु निर्यात गरेर पनि हाम्रो व्यापारघाटा कम गर्न सकिएन । आयात भएका वस्तुमध्ये सबैभन्दा बढी छ महिनामा एक खर्ब ५३ अर्ब रुपैयाँको धुवाँ भएर उड्ने वस्तु पेट्रोलियम पदार्थ रहेको छ । सरकारले उच्च आयात नियन्त्रण गर्न पुस पहिलो साता नियन्त्रणात्मक प्रावधान ल्याएको भए पनि त्यसको प्रभाव व्यापारघाटा कम गर्ने देखिएन ।
समग्रमा भन्नुपर्दा आर्थिक वर्षको सात महिनामा नेपालबाट एक खर्ब ३१ अर्बभन्दा बढीको निर्यात भएको छ । यो गत आर्थिक वर्षको यही अवधिको दाँजोमा ८८ प्रतिशतले बढी हुँदा निर्यातको दिशा भने सही छ भन्न सकिन्छ तर निर्यातको अंश सानो हुँदा वृद्धिले पनि ठूलो प्रभाव भने पार्न सकेको छैन । तुलनात्मकरूपमा बढी स्वदेशी सीप तथा कच्चा पदार्थमा आधारित गलैँचा तथा जुटबाट बुनिएकालगायतका कपडाको निर्यात निकै कम मात्रामा भएको देखिएको छ । आर्थिक वर्ष समाप्त हुन बाँकी अबका पाँच महिनामा सम्भव भएसम्म निर्यातमा बढी जोड र आयातमा कडाइ गर्ने नीति अर्थतन्त्रका लागि लाभदायक हुनेछ । यतिबेला हाम्रो अर्थतन्त्र सार्वजनिक ऋण र व्यापारघाटाले थलिएको छ । चालू आर्थिक वर्षको सात महिना अर्थात् साउनदेखि माघ मसान्तसम्ममा व्यापारघाटा बढेर १० खर्ब १५ अर्ब रुपैयाँभन्दा धेरैले नाघेको छ ।
हालसालै नेपाल सरकारको भन्सार विभागले प्रकाशित गरेको सार्वजनिक ताजा तथ्यांकअनुसार चालू आर्थिक वर्षको गत माघ मसान्तसम्म राष्ट्रको कुल व्यापारघाटा बढेर १० खर्ब १५ अर्ब ८० करोड ८४ लाख २५ हजार रुपैयाँ पुगेको हो । यसको साथसाथै भन्सार विभागका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा व्यापारघाटा जम्माजम्मी सात खर्ब ३३ अर्ब ७२ करोड ६१ लाख रुपैयाँबराबरको थियो । अहिले गत आर्थिक वर्षको भन्दा झन्डै तीन खर्ब रुपैयाँले वृद्धि भएको छ । सो अवधिमा लगभग साढे ११ खर्ब रुपैयाँबराबरको सामान आयात हुँदा राष्ट्रको व्यापारघाटा ३८ दशमलव ४५ प्रतिशतले बढेको हो । अतः चालू आर्थिक वर्षको सात महिनामा मुलुकले भारतबाट छ खर्ब ९६ अर्ब २४ करोड ४३ लाख रुपैयाँ बढीको वस्तु तथा सामान आयात गरेको छ ।
सोही अवधिमा राष्टले एक खर्ब छ अर्ब ३५ करोड ८३ लाख रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात गरेको छ । यो अवधिमा नेपालको भारतसँग मात्रै पाँच खर्ब ८९ अर्ब ८८ करोड ६० लाख रुपैयाँ बढीको व्यापारघाटा बेहोरेको छ । भारतपछि यसरी धेरै मात्रामा आयात चीनबाट भएको छ । यसरी सरकारी तथ्यांकअनुसार ८८ दशमलव ३० प्रतिशतले स्वदेशी वस्तुको निर्यातमा वृद्धि भएको हो । गत आर्थिक वर्षको सोही अवधिमा मुलुकबाट जम्माजम्मी ६९ अर्ब ९१ करोड १७ लाख रुपैयाँबराबरको मात्र निर्यात भएको थियो । यसरी निर्यातको दाँजोमा आयातदर वृद्धि हुँदा अहिले नेपालको व्यापारघाटा थप चुलिएको छ ।
क्याटेगोरी : विचार / ब्लग
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- सिकलसेल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लै वार्ड
- सामाजिक भ्रष्टीकरण
- बढ्यो खोल्से सुनको भाउ !
- ओलीको चीन भ्रमणमा प्रचण्डको ‘चाइना कार्ड’
- चीन र नेपालको सम्बन्ध जनस्तरमा विस्तार आवश्यक: वरिष्ठ उपाध्यक्ष पोखरेल
- पूर्वप्रधानमन्त्री खनालद्वारा पूर्वसभामुख ढुङ्गानाको निधनप्रति दुःख प्रकट
- राजकीय सम्मानका साथ पूर्वसभामुख ढुङ्गानाको अन्त्येष्टि गर्ने सरकारको निर्णय
- अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकहरूविरुद्ध फौजदारी मुद्दा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
[…] https://www.aarthikdainik.com/view/58222/ […]