Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगयुवाहरूको सहभागितासँगै आर्थिक विकास

युवाहरूको सहभागितासँगै आर्थिक विकास


काठमाडौं । अर्थतन्त्र दैनिक आर्थिक क्रियाकलापमा निर्भर हुन्छ । आर्थिक क्रियाकलाप जीविकोपार्जनका लागि गरिने दैनिक क्रियाकलापसँग सम्बन्धित हुन्छ । आर्थिक क्रियाकलापको मलजलले नै अर्थतन्त्र मजबुत बन्ने हो । जोस, जाँगर र नयाँ विचारका साथ उदाएका ताजकी उमेरसमूहका मानिस युवा हुन् । यिनको जोस, जाँगर र नयाँ विचारलाई उत्पादनमूलक आर्थिक क्रियाकलापमा लगाउँदा अर्थतन्त्र समृद्धितर्फ लम्किन्छ । यिनको सम्मान, इज्जत, निर्देशन र प्रयोगबाट परिचालन गरी उत्पादनमूलक क्षेत्रमा लगाउन आवश्यक छ । उनीहरूमा भएको अथाह साहस, जोस, जाँगर, क्षमता नेपालका सन्दर्भमा दिनानु दिन खेर गइरहेको छ । उनीहरू भोलिका कर्णधार मात्र होइनन् आजका आर्थिक सामाजिक परिचालक पनि हुन् ।

नेपालको सन्दर्भमा नेपालको अन्तरिम संविधानले १५ देखि २९ वर्षको उमेरसमूहलाई युवा भनेर परिभाषित गरेकोमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षका उमेरसमूहलाई युवा भनी परिभाषित गरेको छ । नयाँ जोस, जाँगर, उत्साह, उमङ्ग, नयाँ प्रविधि र विचारबाट निर्देशित युथहरूको समूह युवा हुन् । विसं २०६८ को जनगणनाअनुसार नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेरसमूहलाई हेर्दा कुल जनसंख्याको ४० दशमलव ३५ प्रतिशत रहेको पाइन्छ । हाल नेपालमा युवाको संख्या एक करोड २३ लाख, श्रमबजारमा आबद्ध ७१ लाख, वर्षेनी विदेशीने युवा चार लाख रहेका छन् । वैदेशिक रोजगारीमा जाने २२ देखि २८ उमेरसमूहको ७० प्रतिशत रहेको छ भने वैदेशिक रोजगारीबाट फर्केर आएकाको संख्या ५५ प्रतिशत छ । आज युवाको उपस्थिति सबै प्रदेश र जिल्ला तथा स्थानीय तहमा पुगिसकेको छ ।

युवाको उमेर अधिकांश देशमा १५ देखि ३५ वर्षका बीचमा कायम गरिएको पाइए पनि संयुक्त राष्ट्रसंघ र विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाले १५ देखि २४ वर्षको उमेरसमूहलाई युवा मानेको छ । युथभिजन–२०२५ मा १६ देखि २४ वर्ष र २५ देखि ४० वर्षको उमेरसमूहमा विभाजन गरी समूहगत प्राथमिकता निर्धारण गरिएको छ । अन्तर्राष्ट्रिय संस्थाले १२ अगष्ट, २०२० मा प्रकाशित गरेको सर्वेक्षेणमा १५–२४ उमेरसमूहका विश्व जनसंख्याको १८ प्रतिशत र १५–४० सम्मको ४० प्रतिशत युवाशक्ति रहेको देखाएको छ । यसले विश्वमा ३६१ लाख युवाहरू रहेको र नेपालको युवा विकास सूचकाङ्कको स्तर ७७औँ रहेको उल्लेख गरेको छ । सबैभन्दा बढी युवाहरू पूर्वी दक्षिण एसियामा रहेको जनाएको छ ।

संयुक्त राष्ट्रसंघको १७ डिसेम्बर १९९९ मा सम्पन्न ५४औँ साधारणसभाले अगस्ट १२ तारिखलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । युवा दिवस मूलरूपमा युवाका मुद्दाका पक्षमा आवाज मुखरित गर्नु, बनेका राष्ट्रिय अन्तर्राष्ट्रिय संवैधानिक व्यवस्था, ऐन, कानुन तथा घोषणापत्र कार्यान्वय गर्नु, नभएकालाई बनाउनु र आवश्यकताअनुसार समय सापेक्ष संशोधन गर्न वकालत गर्नु नै मुख्य उद्देश्य हो ।

हाम्रा अधिकांश युवा वैदेशिक रोजगारीमा आबद्ध छन् । तथ्यांक विभागको साउन अन्तिम साताको कुल जनसंख्या तीन करोड चार लाख २९ हजार ३० जना रहेको छ । यसलाई आधार मान्दा नेपालमा लभगभ एक करोड २३ लाख युवाशक्ति छन् । जसमा युवा महिला ६६ लाखको हाराहारीमा र युवा पुरुष ५६ लाखको हाराहारीमा रहेका छन् । यिनमा दुई लाख ८२ हजार दुई सय ९६ जना पूर्ण बेरोजगार, ३४ लाख ७४ हजार सात सय पाँच जना अर्धबेरोजगार र कुल स्नातक गरेका युवामा २६ दशमलव एक प्रतिशत बेरोजगार रहेका छन् । ५५ लाख युवा वैदेशिक रोजगारबाट फर्केर आएका बेरोजगार छन् । नेपालको आर्थिक क्षेत्रमा ७२ प्रतिशत पुरुष र ५४ प्रतिशत महिला सक्रिय छन् । प्रतिनिधिसभा तथा स्थानीय चुनाव २०७४ को आधारमा नेपालको राजनीतिक क्षेत्रभित्र प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनबाट १४ र समानुपातिक २२ गरी जम्मा ३६ जना, राष्ट्रियसभामा ४ जना, प्रदेशसभामा एक सय ३० जना र स्थानीय तहमा १३ हजार आठ सय ९३ रहेका छन् ।

ताजा सोच, बढ्दो उमेर र निर्देशित उद्देश्यमा लागि पर्ने युवा समूहमा अवसरहरू लुकिरहेका हुन्छन् । उनीहरूमा रहेको विचार÷योजनालाई प्रोत्साहन गरी अगाडि बढाउँदा समाजले गति लिन्छ । यो गति समाज, राष्ट्र र विश्वकै लागि सकरात्मक परिवर्तनको संवाहक बन्दछ । उनीहरूमा अथाह साहस छ, जोस, जाँगर क्षमता छ जुन आजका दिनमा खेर गइरहेको छ । यो स्रोतसाधनलाई उचित सदुपयोग गर्नु आजको आवश्यक्ता हो । विश्वमा लगभग ७० लाख युवाहरू आफ्नो ऊर्जा खेरफाल्न बाध्य छन् । उनीहरूमा रहेको ऊर्जा शक्तिलाई सदुपयोग गर्ने नीति अवलम्बन नगरिनुको प्रतिफल हो । जुन देशमा युवा परिचालन हुँदैनन् त्यो देशमा आर्थिक विकास सम्भव छैन । आज जति युवाहरूको ऊर्जा शक्ति खेर गइरहेको छ ती सबै विकासोन्मुख र अतिकम विकसित मुलुकहरूमा नै छ । युवाशक्तिहरूलाई परिचालन गरी स्वस्थ र समृद्ध समाज निर्माण गर्ने सरकारसँग योजना हुनु पर्दछ ।

सर्वप्रथम उनीहरूलाई मानव विकास यसका लागि आवश्यक पूर्वाधार आदिको शिक्षा जरुरी छ । दोस्रोमा आर्थिक उपार्जन, सदुपयोग र व्यवस्थापनको स्पष्ट धारणा । तेस्रोमा सामाजिक, राजनीतिक पहुँच यसको मान्यता कानुन, सक्षमता प्रयोगलाई उजागर गर्नु । चौथो सामाजिक–सांस्कृतिक मूल्य मान्यता, चलन, संस्कार र यसको संरक्षण र संवद्र्धनमा युथको भूमिका आदिबाट उनीहरूमा सकरात्मक सोचको विकास गर्न सकिन्छ । यो अवस्था सिर्जना गर्न उनीहरूमा गरिने व्यवहार चुस्त र दुरुस्त हुनुपर्दछ । यसका लागि उनीहरूबीचमा हुने पारदर्शी व्यवहार, आदर, प्रतिभाको सम्मान, सेवाभाव, समाधानको बाटो, मित्रवत् व्यवहार र समावेशीकरण हुन् । यी र यस्ता व्यवहारमार्फत उनीहरूमा विश्वास, जाँगर, सोच, खोज र शाहस सिर्जना हुन्छ । सिर्जित व्यवहारबाट अनुशासन, न्याय, कानुन, कर्तव्य, जिम्मेवारी बोध हुन्छ ।

उनीहरूलाई ताजगी राख्न समय समयमा तालिम, भ्रमण, सुरक्षा आदिमा ध्यान दिनुपर्छ । युवाशक्तिलाई परिचालन गरी आर्थिक क्रियाकलापमा उपयोग गर्दा अर्थतन्त्र सबल बन्दै जान्छ । यसबाट दिगो आर्थिक विकासतर्फ अर्थतन्त्र लम्किन्छ । आवश्यकताअनुरूपको योग्यता, क्षमता र सीपले प्रश्रय पाउँछ । नीति निर्माणतहमा आवश्यक जनशक्ति पु-याउँछ । देशका स्रोतसाधनमा अधिकार जमाउन होइन अवसर सिर्जना गर्न राजनीति गर्ने हो भन्ने चेतना विकास हुन्छ । आज गरिब मुलुकमा १३ प्रतिशत महिला र २२ प्रतिशत पुरुषको मात्र माध्यामिक शिक्षामा पहुँच छ । पुरुषको तुलनामा महिलाको ज्यालादरमा विभेद छ । जातपातको नाममा छुवाछुत छ । यी सबैको कारण गरिबी हो । यो गरिबी हटाउन सक्षम युवाशक्तिलाई नीतिगत ढंगबाटै परिचालन गर्न आवश्यक छ । युवाशक्तिको बेवास्ताले ऊर्जाशील जीवन खेर गइरहेको छ ।

युवाशक्तिलाई आर्थिक क्षेत्रमा सक्रिय राख्न, आर्थिक उत्पादन सिर्जना गर्न युवाऊर्जा निर्धारक सूचकाङ्क तय गर्नु पर्दछ । यसले युवाहरूमा उत्साह, कर्तव्य र जिम्मेवारी बढाउँछ । सेवाभाव सिर्जना गर्दछ । संस्कार, संस्कृति, आदर सम्मानको बोध गराई सामाजिक परिपक्वता प्रदान गर्दछ । युवाशक्तिलाई परिचालन गर्न तथा उनीहरूलाई सक्रिय ऊर्जाशील बनाउन सर्वप्रथम राज्यले उनीहरूको शिक्षामा ध्यान दिनुपर्छ । समयसापेक्ष जीवनोपयोगी व्यावहारिक शिक्षा युवाकेन्द्रित हुनुपर्छ । त्यसैगरी स्वस्थ, खुशी, स्फुर्ति ग्रहणलाई मध्यनजर गर्दै जोखिममुक्त जीवनतर्फ प्रेरित गर्नुपर्छ । उनीहरूमा रोजगारी र आवश्यक अवसर प्रदान गरी योग्यता र क्षमताको कदर गर्ने प्रणाली विकास गर्नुपर्छ ।

राजनीतिकवृत्तमा पहुँचको आधारभन्दा पनि सक्षमता, लक्ष्य, उद्देश्यको मापनमार्फत राजनीतिक सहभागिता बढाउन सकिएन । समाजमा विद्यमान रीतिरिवाज, संस्कार, समाजिक मूल्य मान्यता आदिको बारेमा प्रेरित गर्दै यसको संरक्षण र विकासमा युवाहरूलाई अग्रसर गराउनुपर्छ । लक्ष्यहीन भएर भौतारिने र युवाहरूको प्रयोग गरी व्यक्तिगत उद्देश्य पूरा गर्ने राजनीतिक दल, संघसंस्थालाई बहिस्कार गर्नुपर्छ । यी सबै चरण पूरा भइसकेपछि मात्र युवाहरूमा विश्वासको वातावरण सिर्जना गर्न सकिन्छ । निर्देशित लक्ष्य प्राप्त गर्नतर्फ अग्रसर बनाउन सकिन्छ । अर्थतन्त्र मजबुत बनाउन आर्थिक क्रियाकलापको अवरुद्ध बाटो तोड्न जरुरी भइसकेको छ । अबका दिनमा विदेशिएका युवाहरू फर्किँदाको भयावह सरकारका लागि समस्यागत चुनौती बन्न सक्छ । यसका लागि युथहरूको परिचाल नै एक अचुक उपाय हो ।

युथ निर्देशित कार्यक्रम व्यवस्थापन नभएकै कारण आज युथहरूमा विविध प्रकारको समस्याबाट ग्रस्त हुन पुगेका छन् । देशमा आर्थिक क्रियाकलाप गर्नसक्ने स्तरको शक्ति उत्पादनहीनको अवस्थामा छ यसलाई परिचालन नगरी आर्थिक क्षेत्रको बाटो खुलाउन सकिन्न । गैरकानुनी कामबाट फौजदारी मुद्दा खेप्ने ठूलो जमात युथकै छ, कतिपयले आफ्नो ऊर्जाशील जीवन जेलमा कोचिरहेका छन् । हालका दिनमा नेपालमा सरदर दैनिक १७ जनाको हाराहारीमा हुने गरेको आत्माहत्यामा युथ नै धेरै रहेको बताइएको छ । गैरसामाजिक कार्य शरीर बेच्ने, बेचाउने, विभिन्न प्रकारका दुव्र्यसनमा लाग्नेहरूको समूह युथकै हो । यी समाजका परिचालकहरूको दुरदशा सरकारी नीति र राजनीतिक अपरिपक्वताको परिणाम हो, राजनीतिले यिनलाई राजनीतिक अभीष्ट पूरा गर्न मात्र प्रयोग ग¥यो, संरक्षण र परिचालनमा ध्यान दिएन ।

देशमा विद्यमान दक्ष, अदक्ष, अर्धदक्ष सबैखालका युथहरूलाई एकीकृत गर्दै उत्पादनमा परिचालन गर्न आवश्यक छ । युवाको क्षमता विकास गरी देशभक्त, कर्मठ, अनुशासित र उद्यमशील बनाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणमा युवाको सार्थक सहभागिताका लागि लक्षित कार्यक्रम ल्याइनुपर्छ । उनीहरूलाई परिचालन गर्दा निर्देशित कामको साथै आम्दानीको सिर्जना पनि हुन्छ । भोलिका दिनमा आर्थिक क्रियाकलापको दायरा, उत्पादन, निर्यात आदिमा बढोत्तरी हुन्छ । यसबाट अर्थतन्त्र सबल बन्दै जान्छ, आम्दानीका अवसरहरूमा बढोत्तरी हुन्छ, मानिसहरूको जीवनस्तरमा सुधार ल्याउँछ । विकासको गन्तव्य नागरिकको जीवनस्तरमा हुने सुधार हो । 


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x